एमाले अध्यक्षमा ओली कि ईश्वर पोखरेल ? यस्तो छ अंक गणित
२०७१ सालको नवौं महाधिवेशनबाट एमालेको नेतृत्वमा आएका थिए केपी शर्मा ओली । २०७८ मा चितवनमा भएको दशौं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि मात्र चुनिएनन्, आफ्नो कम्फर्टेबल केन्द्रीय कमिटी बनाए ।
अनि, फेरि ओलीलाई अध्यक्ष हुन सहज हुने गरी एमालेले विधान महाधिवेशनबाट दुई कार्यकाल र ७० वर्षे उमेर हद हटायो ।
भदौ २२ मा विधान महाधिवेशन सकेर गोदाबरीबाट उठ्दै गर्दा केपी शर्मा ओलीको रोडम्याप प्रष्ट थियो, फागुन–चैतमा महाधिवेशन गर्ने र फेरि निर्विरोध अध्यक्ष बन्ने ।
त्यसका लागि उनले केन्द्रीय कमिटीबाटै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गराइसकेका थिए । योगेश भट्टराईहरु पनि ठीकै छ, ओलीकै नेतृत्वमा जाउँ भनेर मानिसकेका थिए ।
तर भदौ २३ र २४ पछि देशको अवस्था उस्तै रहेन । एमाले पनि उही रहेन ।
दुई ठूला दलको सरकारको नेतृत्व गरिरहेका ओलीले प्रधानमन्त्री पद त्याग्नु पर्यो, बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपर्यो । एमालेमा नेतृत्व परिर्वतनको माग उठ्यो । असोज तेस्रो साता बसेको सचिवालय बैठकमा त ओली प्रष्ट अल्पमतमा परे ।
एमाले सचिवालयमा १९ जना छन् । ओलीको पक्ष उनी बाहेक साढे ४ जना देखिए । साढे यसकारण भनिएको हो कि उपमहासचिव प्रदीप ज्ञवालीले ओलीले नेतृत्व छाडे पनि हुन्छ, नछाडे पनि हुन्छ भन्ने भाषा बोलेका थिए । चार जनाले ओलीलाई समर्थन गरे । १३ जनाले ओलीले राजीनामा दिनुपर्छ भन्ने मत राखे ।
अल्पमतमा परेपनि ओली पद छाड्न तयार भएनन् । बरु भनिदिए, म त महाधिवेशनबाट चुनिएको अध्यक्ष हुँ, महाधिवेशन फेस गर्छु । सक्छौ भने त्यहीँबाट हटाऊ ।
सचिवालयबाट पार्टीको ११ औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गराए । त्यसपछि केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति मंसिर २७–२८ र २९ गतेलाई तोक्यो ।
ओली यो महाधिवेशनबाट फेरि अध्यक्ष चुनिएर आफूमाथि लाग्न लागेको दाग पखाल्न चाहन्छन् । भदौ २३ को बर्बर दमनका कारण आफूमाथि लाग्न सक्ने सम्भावित अभियोगको प्रतिकारका लागि शक्ति सञ्चय गर्न चाहन्छन् ।
अनि, पार्टीमा आफ्नो राजीनामा माग्नेहरुलाई सबक सिकाउन चाहन्छन् ।
तर ईश्वर पोखरेलको नेतृत्वमा संगठित भएको समूह एमालेलाई ओलीको एकलौटी शासनबाट मुक्त गराउन अवसरका रुपमा यो महाधिवेशनलाई उपयोग गर्न चाहन्छ ।
सजिला – अठ्याराहरु
आजको दिनमा केपी शर्मा ओलीले समाजको ठूलो हिस्साको विश्वास गुमाएका छन् । जेनजी विद्रोहपछि जस्ता अभिव्यक्ति दिइरहेका छन्, त्यसले धेरैलाई त इरिटेट नै गराएको छ । पार्टीभित्र पनि उकुसमुकुस बढ्दो देखिन्छ ।
तैपनि एमालेमा अरुभन्दा उचाइ भएका नेता हुन् ओली । पार्टीको स्रोत साधन उनकै नियन्त्रणमा छ ।
कुनै समय एमाले यस्तो पार्टी थियो कि प्रधानमन्त्रीको स्वकीय सचिव समेत केन्द्रीय कमिटीमा छलफल गरेर छान्थ्यो । तर जब ओली नेतृत्वमा आए, सबै बदलियो । पावर उनमा सेन्ट्रलाइज भयो । चुनावमा कसलाई टिकट दिने, कसलाई नदिने भन्ने निर्णय पार्टी कमिटीले होइन, ओलीले गरे । प्रदेश र केन्द्रमा सरकारहरु बने, ओलीले चाहेकाहरु मात्र मन्त्री/मुख्यमन्त्री बन्न पाए ।
पार्टीमा उनैले मनोनित गरेका कमिटी छन्, उनैले मनोनित गरेकाहरु विभागहरु छन् । महाधिवेशनलाई आफ्नो अनुकल बनाउन ओलीलाई सहज छ ।
ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न चाहेका ईश्वर पोखरेल पनि एमालेका पहिलो पुस्ताका नेता हुन् । उनले कोअर्डिनसेन केन्द्र, माले हुँदै एमाले सबै कालखण्डमा संस्थापन पक्षमा रहेका काम गरेका छन् । २०६५ देखि २०७५ सम्म दुई कार्यकाल एमालेको महासचिव रहे । दशौं महाधिवेशनयता वरिष्ठ उपाध्यक्ष छन् ।
सबभन्दा महत्वपूर्ण पोखरेलको उम्मेदवारीलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै उम्मेदवारी सरह लिएकी छन् । पोखरेलको टिम निर्माणमा जुटेकी छन् । सम्भवतः, एकाध दिनमा खुलेर पोखरेलको समर्थनमा आउने छिन् ।
को कता ?
सुरुमा ओली पक्षकै कुरा गरौं । नेताहरुका अनुसार ओलीलाई सबभन्दा गाह्रो महासचिवको उम्मेदवार छनोटमा हुने देखिन्छ ।
अहिलेकै महासचिव शंकर पोखरेल स्वभाविक दाबेदार हुन् । ओलीको चाहना पनि पोखरेललाई नै दोहोर्याउने छ । तर उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको पनि महासचिवमा दाबी छ । कतिसम्म भने ज्ञवालीले त यदि आफू महासचिवको उम्मेदवार नबनाउने हो भने केन्द्रीय सदस्य मात्र उठ्छु भनेका छन् ।
नेताहरुका अनुसार शंकर महासिचवको उम्मेदवार बन्ने हो भने गुटको भोट त जोगाउने छन् । तर न्युट्रल प्रतिनिधिहरुको मत तान्न गाह्रो छ । किनकी यो चार वर्षमा उनको राम्रै टेस्ट भइसकेको छ । उनले चार वर्ष जसरी पार्टी चलाए, त्यसलाई लिएर थुप्रै प्रश्नहरु उठेका छन् । ज्ञवालीलाई उम्मेदवार बनाउँदा न्युट्रल भोट तान्न सक्छन् ।
त्यो भन्दा महत्वपूर्ण चाहिँ विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङकोे व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न छ ।
किनकी विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ लगायतका नेताहरुलाई एमालेमा तेस्रो समूह समेत भन्न सकिन्छ । पार्टीमा उनीहरुको राम्रै होल्ड छ । उनीहरु ओलीको विकल्प खोज्नुपर्छ त भनिरहेका छैनन्, तर आफ्नो समूहबाट महासचिवमा दाबी गरेका छन् । हाल उपमहासचिव रहेका पृथ्वीसुब्बा गुरुङले सार्वजनिक रुपमै आफू महासचिवकोे दाबेदार भएको बताएका छन् ।
अनि, ईश्वर पोखरेल पक्ष पनि विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठहरुलाई आफूतिर ल्याउने प्रयासमा छ । महासचिव पद नै दिन पनि तयार छ ।
हुन त ईश्वर पोखरेल समूहबाट महासचिवका आकांक्षी सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट हुन् । तीन जनामध्ये पनि भट्टराईको सम्भावना बढी छ ।
तर अर्को समूहबाट विष्णु पौडेल वा पृथ्वीसुब्बा गुरुङ आए तीनै जना महासचिव छाडेर अर्को पदमा बस्न तयार छन् ।
पोखरेलको समूहबाट विन्दा पाण्डे, कर्ण थापा, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, अरुण नेपाल, परशुराम मेघी गुरुङ, विद्या भट्टराई, रचना खड्कामध्येबाट पदाधिकारीको उम्मेदवार बन्ने छन् । नेताहरुका अनुसार पदाधिकारी मात्र होइन, केन्द्रीय सदस्यको समेत प्यानल बनाउनेमा पोखरेल समूह प्रष्ट छ ।
अंक गणित
एमाले महाधिवेशनमा करिव २२ सय प्रतिनिधि हुनेछन् । एकाध जिल्लामा बाहेक महाधिवेशन प्रतिनिधि छनोट भइसके । कतिपय जिल्ला वा क्षेत्रमा चुनाव गरेर नै प्रतिनिधि छनोट गरिएको छ । धेरै जसो जिल्लामा सर्वसम्मत प्रतिनिधि चुनिएका छन् ।
नेताहरुका अनुसार मतदान भएर होस् वा सर्वसम्मत । पोखरेको पक्षमा खुलेर नै प्रतिनिधिहरु आएका छन् । महाधिवेशन प्रतिनिधिको संख्या हेर्दा नेताहरुले अध्यक्षमा ओलीको सहज जित हुने देखेका छन् ।
२०७८ मंसिरमा चितवनमा भएको दशौं महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा रोजेका भीम रावलको जे अवस्था भएको थियो, ईश्वर पोखरेलको त्यही हुन्छ भन्ने भ्रममा त ओली पनि छैनन् ।
ओलीले आफ्ना निकटवर्तीहरुलाई सुनाउने गरेका छन्, मेरो विपक्षमा ४/५ सय भोट खस्ला ।
त्यसो भन्दा नेताहरुले फेरि सोध्छन्, यता समेटिन नसकेका नेताहरु उता जान्छन् नि ?
ओलीको सहज जवाफ हुन्छ : थप १/२ सय थपिन सक्छ ।
तर ओली समूहकै नेताहरु भने यो पटकको प्रतिस्पर्धा ओलीले सोचेजस्तो साह्रै सहज नहुने स्वीकार गर्छन् ।
किनकी पछिल्लो ११ वर्षमा ओलीले एमालेको नेतृत्व गर्दा, मुल मुद्दाहरुमा असफलता हात लागेको छ ।
माओवादीसँग एकता गरेर नेकपा बनाए, जोगाउन सकेनन् । दुईदुई पटक प्रतिनिधिसभा विघटन गरे, दुबै पटक अदालतले उल्टायो । त्यसले पार्टीमा बिग्रह मात्र ल्यायो । पछिल्लो पटक कांग्रेसको समर्थनमा सरकार बनाए, जेनजी विद्रोह खेप्नुपर्यो ।
नेताहरुका अनुसार अब पनि फेरि ओलीलाई नै नेतृत्व दिने हो भने एमाले आकर्षणविहीन र रुखो पार्टी बन्नसक्छ । उत्तेजना वा बाहुबलको राजनीति गर्नसक्छ ।
ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका ईश्वर पोखरेल आफैंमा करिस्मेटिक लिडर होइनन् । तर यथार्थ के हो भने एमालेमा ओली बाहेक जो कोही अध्यक्ष भए पनि पार्टी सामूहिक नेतृत्वमा फर्कनेछ, कमिटी प्रणालीमा जानेछ । अनि चुनावमा जनतामाझ जाँदा सच्चिन्छौं भनेर आशा देखाउनसक्छ ।
रोजाइ एमालेजनको हातमा छ ।
प्रदीप अधिकारीको पैसा, पावर र पतनको कथा
ओलीलाई आफैंले अध्यक्ष बनाए, अब हटाउन चाहन्छन्
सरुवाले शिक्षकलाई रुवायो
राजनीतिक भ्रष्टाचारमा अख्तियारको आँखा




-1765982600.jpg)


