ओलीलाई आफैंले अध्यक्ष बनाए, अब हटाउन चाहन्छन्
माधवकुमार नेपाल ।
झलनाथ खनाल ।
अनि, केपी शर्मा ओली ।
ईश्वर पोरखलले पालैपालो नेपाल, खनाल र ओलीलाई एमालेको मुख्य नेता बनाउन भूमिका खेले त्यसैले उनलाई किङमेकर पनि भनिन्छ ।
यस पटक उनी अरुलाई नेता बनाउने होइन, आफैं नेता बन्ने प्रयासमा छन् । त्यो पनि शक्तिशाली केपी शर्मा ओलीसँग चुनाव लडेर ।
००००
ओखलढुंगामा जन्मेका पोखरेलको परिवार उनी १० वर्षको हुँदा जनकपुर झरेको थियो । उनको प्रारम्भिक शिक्षादीक्षा जनकपुरमा नै भयो । एसएलसी दिएपछि केही समय विराटनगरमा पढे ।
पछि फर्केर जनकपुर नै आए, रामस्वरुप रामसागर क्याम्पसमा पढ्न थाले । २०२९ सालमा भएको स्ववियु चुनावमा उनले अनेरास्ववियूबाट सदस्य जिते । पोखरेलले २०२९ सालमा नै कम्युनिस्ट पार्टीको सदस्यता लिए ।
२०३० सालदेखि भूमिगत भए । २०३३ सालमा अखिल नेपाल कम्युनिस्ट कोअर्डिनेसन केन्द्र, जसलाई को के भनेर पनि चिनिन्थ्यो, त्यसको केन्द्रीय सदस्य भए ।
२०३५ सालमा कोअर्डिनेसन केन्द्र नै नेकपा माले बन्यो । ईश्वर पोखरेल नेकपा मालेको संस्थापक केन्द्रीय सदस्य बने ।
२०३० सालदेखि १६ वर्ष भूमिगत राजनीति गरेका पोखरेल अरु नेताहरुजस्तै २०४६ सालको जनआन्दोलन सफल भएपछि सार्वजनिक भए । २०४७ सालमा नेकपा माले र नेकपा माक्र्सवादी पार्टीबीच एकीकरण भएर नेकपा एमाले बन्यो । पोखरेल एमालेको पनि केन्द्रीय सदस्य रहे ।
२०५४ सालमा एमालेको स्थायी कमिटी सदस्य भए । २०५९ सालमा केन्द्रीय सचिवालयको सचिव बनेका उनी २०६० मा संगठन विभाग प्रमुख भए ।
पुराना सहकर्मीहरुका अनुसार ईश्वर पोखरेल माले कालदेखि नै कुशल संगठक हुन् । एमालेमा पनि कुशल संगठकको छवि बनाएका गिनेचुनेका नेतामध्ये एक हुन् पोखरेल । त्यसैले के भन्ने गरिन्थ्यो भने एमालेमा ईश्वर पोखरेलले नभेटेको र नचिनेको नेता कार्यकर्ता कमै छन् ।
०००
ईश्वर पोखरेलबारे एमालेमा अर्को पनि किस्सा छ, उनी कहिल्यै संस्थापन खोज्दै हिँडेनन्, उनी जहाँ उभिए, त्यही संस्थापन भयो । उनी आफैं भन्छन्, ‘म जहाँ उभिएँ, त्यो नै पार्टीको संस्थापन हुन्छ ।’
२०३६ सालमा तत्कालीन राजाले अघि सारेको शान्ति क्षेत्रको प्रस्तावको आलोचनात्मक समर्थन गर्नुपर्छ भन्नेलाइनमा उभिएका तत्कालीन महासचिव सीपी मैनालीको सुरुमा विरोध गर्नेहरुमा ईश्वर पोखरेल पनि थिए । २०३९ मा मैनाली नै पार्टी नेतृत्वबाट पदमुक्त भए ।
२०५० मा मदन भण्डारीको निधन भएपछि झलनाथ खनाल कि सीपी मैनालीलाई महासचिव बनाउने भन्ने बहस सुरु भयो । ईश्वर पोखरेलहरु, माधवकुमार नेपालको पक्षमा उभिए । नेपाल नै महासचिव भए । नेपाल करिव १५ वर्ष पार्टीको नेतृत्वमा रहँदा पोखरेल हस्र्ताकर्तामध्ये एक थिए ।
२०६५ सालको आठौं महाधिवेशनबाट एमाले बहुपदीय प्रणालीमा गयो । चुनावी प्रतिपर्धाबाट नेतृत्व छानियो ।
झलनाथ खनाल अध्यक्ष निर्वाचित हुँदा पोखरेल महासचिव बने । जब २०७१ सालमा नवौं महाधिवेशन आयो, ईश्वर पोखरेल केपी ओली प्यानलको महासचिवको उम्मेदवार भए । दुबैले चुनाव जिते । त्यही कारण पनि हो, पोखरेल जहाँ उभिन्छन्, त्यही संस्थापन हुन्छ भन्ने गरिएको ।
तर त्यसको असली परीक्षा यो पटक हुनेवाला छ । किनकी उनले केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा रोजेका छन् ।
ओली र पोखरेलको सम्बन्ध
ओली र ईश्वर पोखरेल एमालेमा पहिलो पटक २०४६ भदौको चौथो राष्ट्रिय सम्मेलनबाट बनेको केन्द्रीय कमिटीमा थिए ।
२०३३ को झापा विद्रोहपछि पक्राउ परेका ओली, जेलबाट छुटेपछि मालेको केन्द्रीय सदस्य बनेका थिए । १० वर्ष एउटै कमिटीमा रहेका ओली र पोखरेल २०५९ को सातौं महाधिवेशनबाट अलग भएका थिए ।
जनकपुरमा भएको त्यो महाधिवेशनमा ओलीले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धी अवधारणा अगाडि सारेका थिए । तर पोखरेल, माधव नेपालको पक्षमा उभिए ।
कतिसम्म भने महाधिवेशनको मतदान अगाडि माधव नेपाल पक्षले केन्द्रीय सदस्यमा जिताउनुपर्नेहरुको लिस्ट बाँडेको थियो । केन्द्रीय कमिटीले महासचिवमा माधव नेपाललाई चयन गरेको थियो ।
केन्द्रीय कमिटीमा अधिकांश माधव नेपाल पक्षकाले जितेका थिए, त्यो महाधिवेशनमा माधव नेपाललाई बलियो बनाउने प्रमुख व्यक्ति ईश्वर पोखरेल नै भएको एमालेजन बताउँछन् ।
आठौंमा प्यानल बनाएर प्रतिस्पर्धा नै गरे, तर पोखरेल ओलीका प्रतिस्पर्धी झलनाथ खनालको प्यानलमा थिए । त्यतिबेला ओलीको महासचिवका उम्मेदवार प्रदीप नेपाल थिए । ओली र पोखरेल नजिकिएको २०७१ साल साउनमा भएको नवौं महाधिवेशनबाट हो ।
१५ वर्षको प्रयासका बाबजुद नेतृत्वमा पुग्न नसकेपछि ओली पक्षले पोखरेलले साथ खोजेको थियो । नभन्दै जब पोखरेल, ओली समूहको महासचिवको उम्मेदवार बने, दुबैले चुनाव जिते पनि ।
अर्को प्यानलबाट माधवकुमार नेपाल अध्यक्ष र सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार थिए । तर दुबैले हारे ।
त्यसपछि १० वर्षसम्म ओली–पोखरेलको जोडी जम्यो । पोखरेलले कहिल्यै ओलीको नेतृत्वलाई चुनौती दिएनन् । सहकार्यकै क्रममा पोखरेलले पटक पटक अपमान ब्यहोरे, तर ओलीको साथ छाडेनन् ।
२०७४ सालको आम चुनावपछि ओली सरकारमा पोखरेल उपप्रधानमन्त्री तथा रक्षामन्त्री थिए । उनी मन्त्रिपरिषदमा ओलीपछिको वरियतामा थिए । तर ओलीले २०७७ असोजमा उनले सम्हालिरहेको रक्षा मन्त्रालय खोसिदिए । प्रधानमन्त्री कार्यालय हेर्ने गरी विना विभागीय उपप्रधानमन्त्री बनाइदिए ।
२०७५ साल जेठमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भयो । पार्टीमा ओली र प्रचण्ड दुबै जना अध्यक्ष रहे । एमालेको महासचिव रहेका ईश्वर पोखरेलले नेकपामा पनि महासचिवको स्वभाविक आकांक्षी थिए । तर ओलीले एमालेका तत्कालिन उपमहासचिव विष्णु पौडेललाई महासचिव बनाए । पोखरेलको भूमिका सचिवालय सदस्यमा सीमित भयो ।
अदालतबाट नेकपा खारेज भएर एमाले पुनस्र्थापित भएपछि पोखरेलले छोटो समय महासचिवको जिम्मेवारी पाए ।
२०७८ मंसिरमा एमालेले दशौं महाधिवेशन गर्यो । ओेलीले आफ्नो बोली नर्बिसिएको भए अध्यक्षमा पोखरेललाई अगाडि सार्नु पर्ने हो ।
किनकी २०७१ सालको नवौं महाधिवेशनका बेला नै उनले आफूपछि पोखरेललाई अध्यक्ष बनाउँछु भनेका थिए । अनि, सार्वजनिक मञ्चहरुबाटै कक्षा नदोहोर्याउने अभिव्यक्ति दिने गरेका थिए ।
तर दशौं महाधिवेशन हुँदा भर्खर माधव नेपालहरुले पार्टी विभाजन गरेका थिए । ओलीले आफैं दोहोरिन चाहेपछि पोखरेलले हुन्न भनेनन् । वरिष्ठ उपाध्यक्षमा चित्त बुझाए ।
तर यस वर्ष जब पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउन चाहिन्, पोखरेलले साथ दिए ।
गत असार १४ गते मदन भण्डारी स्मृति दिवसको दिन पारेर भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको घोषणा कार्यक्रम राखेका थिए । त्यहाँ पोखरेलले खुलेर ओलीको प्रतिवाद गरे ।
ओलीले भण्डारीको सदस्यता नै नवीकरण नगर्ने निर्णय गराएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल प्रतिवादमै उत्रिए ।
भदौ २३ र २४ को जेनजी विद्रोहपछि ओलीले अर्ली महाधिवेशनको बाटो रोजे, पोखरेल ओलीसँग चुनाव लड्न तयार भए । ओली अन्तिमसम्म पनि सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे, तर पोखरेल पछाडि हटेनन् । बरु छुट्टै दस्तावेज लेखे र आफ्नो प्यानल नै बनाए ।
करिव २३ सय महाधिवेशन प्रतिनिधिले कसलाई रोज्छन्, भन्न हतारो हुन्छ ।
तर जे परिणाम आएपनि राजनीतिक जित चाहिँ पोखरेलको हुन्छ । किनकी पाखरेल २०५६ र २०७४ मा गरी दुई पटक सांसद भए, मन्त्री, उप्रधानमन्त्री भइसके । २०६१ सालमा पहिलो पटक मन्त्री बनेका उनी २०६९ सालमा बाबुराम भट्टराई सरकारमा एक हप्ता उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । ओली सरकारमा करिव तीन वर्ष उपप्रधनमन्त्री रहे ।
पार्टीमा पनि वरिष्ठ उपाध्यक्ष भइसके । ओलीसँग प्रतिस्पर्धा नगर्दा पनि उनी एमालेको नेतृत्व तहबाट बाहिरिनुपर्ने थियो । किनकी एमालेको भदौको विधान महाधिवेशनबाट पदाधिकारीको संख्या हेरफेर गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाइसकेको छ ।
ओलीसँग प्रतिस्पर्धा गर्ने निर्णयले उनलाई जिते एमालेको अध्यक्ष बनाउँछ, हारे संस्थापन इतर समूहको नेता बनाउँछ ।
सरुवाले शिक्षकलाई रुवायो
राजनीतिक भ्रष्टाचारमा अख्तियारको आँखा
नेपालको एक असफल परियोजना, कायापलटको सपना अधुरै
अनियमितताले उठ्न नसकेको महानगरको भवन



-1765351207.jpg)


