नेभिगेशन
एक्सप्लेनर भिडियो

रविले जितेको राजनीति

जेनजी विद्रोहपछि धेरैलाई लागेको थियो, ओली देउवाहरुको मात्र होइन, रवि लामिछानेको राजनीति पनि संकटमा पर्‍यो । किनकी बालेन र कुलमानहरु नयाँ पार्टी खोल्दै थिए, रास्वपामा बिग्रह देखिन थालेको थियो ।  

तर ३ महिनामै पासा पल्टिएको छ । रवि बालेन र कुलमानलाई आफ्नो पार्टीमा ल्याउन सफल भएका छन् । त्यो पनि रास्वपा नाम र घण्टी चुनाव चिह्न कायम राखेर । 

भोलि के होला थाहा छैन, चुनाव अगाडिको राजनीति चाहिँ रवि लामिछानेले जितेका छन् ।

रास्वपा सभापति रवि लामिछानेले कसरी बालेन र कुलमानलाई आफ्नो पार्टीमा ल्याए ? के के सम्झौता भयो ? यो सम्झौताबाट कसले के पाए ? 

००० 

भदौ २३ र २४ को जेनजी विद्रोहपछि नेपाली समाज नेताको खोजीमा थियो, तर कोही भेट्टाउन सकेको थिएन । 

केपी ओली, शेरबहादुर देउवा र प्रचण्डविरुद्ध त युवाहरु सडकमा निस्किएका थिए, रवि लामिछानेमाथि पनि जेनजी आन्दोलनको मौका छोपेर जेल बाहिर निस्किएको आरोप लागेको थियो । 

चौतर्फी आलोचना भएपछि ४ दिनमा रवि लामिछाने कारागार त फर्किए, तर रास्वपामा संकट बढ्यो । सुमना श्रेष्ठले रविमाथि प्रश्न उठाउँदै पार्टी छाडिन्, अरु नेताहरु पनि असन्तुष्ट थिए । 

रास्वपाले वैकल्पिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउन भनेर पुकार बमको नेतृत्वमा कार्यदल बनाएको थियो । काठमाडौंका मेयर बालेन शाह र नयाँ पार्टी गठनको तयारीमा रहेका कुलमान घिसिङको टिमसँग पटक पटक वार्ता गर्‍यो, तर सहमति जुटाउन सकेन । 

त्यसपछि रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा उच्च सम्वाद समिति पनि बनायो । नेताहरुले नख्खु कारागार धाउने, रविको सन्देश लिएर कुलमान, बालेनहरुसँग सम्वाद गर्ने गरिरहे । तथापि कुनै सहमति जुट्न सकेन ।

काठमाडौं मेयर बालेनले वैकल्पिक शक्तिहरु एक ठाउँमा आए आफ्नो समर्थन हुने सन्देश दिए । आफूलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष पद केही नचाहिने उनको तर्क थियो ।

बालेनको आशय, कुलमानहरुलाई मनाऊ भन्ने बुझेपछि रास्वपा नेताहरु फकाउन लागे । 

रवि र कुलमान दुबै जना संयोजक हुने र कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्ने जस्ता अनेक प्रस्ताव राखे ।

तर सहमति जुटेन । कुलमानमा यति महत्वाकांक्षा पलाएको थियो कि उनी पार्टी सभापति र प्रधानमन्त्रीको उम्मेदवार दुबै आफैं हुन चाहन्थे । 

कुलमानले सोझै रविलाई सभापति मान्दिन त भनेनन्, तर अदालतमा विचाराधीन मुद्दा नटुंगिएसम्म रविलाई संरक्षकको भूमिकामा बस्ने सुझाएपछि रास्वपा नेताहरु झस्किए ।

किनकी उनीहरुलाई थाहा थियो, रास्वपा रवि लामिछानेको लोकप्रियताका आधारमा बनेको पार्टी थियो । पछिल्लो समय पार्टीको देशभित्रै र प्रवासमा पनि संगठनहरु बनेको छ । 

अनि, जुन मुद्दालाई राजनीतिक प्रतिशोध भनिएको छ, त्यसलाई नै देखाएर रविलाई संरक्षक बस्न भनेपछि स्वर्णिम वाग्ले र शोभिता गौतमहरुले सभापति आयात गर्दैनौं भनेर सार्वजनिक रुपमै बोले । 

त्यसपछि पनि सम्वाद चलिरह्यो, तर सहमति धेरै टाढा थियो । यसबीचमा रास्वपाका सन्तोष परियारले पनि पार्टी छाडे । कुलमान आफ्नै पार्टी बनाउन लागे । विजुलीको चिम चुनाव चिह्न राखेर उज्यालो नेपाल पार्टी दर्ता गराए । उनी आफैं पार्टीको कुनै पनि पदमा बसेनन्, आफ्नो विश्वास पात्र पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्षको रुपमा अघि सारे । 

मेयर बालेन पनि आफ्नै दल बनाउने तयारीमा जुटे । लौरो चुनाव चिह्न भएको हाम्रो नेपाली पार्टी पहिल्यै दर्ता थियो । बालेनले त्यो दलको नाम परिर्वतन गरेर अगाडि बढाउने तयारी गरे । दलको अध्यक्षमा सन्ध्या खनाल आइन्, नाम देश विकास पार्टी राखियो ।

यो बीचमा बालेन र कुलमानहरु निरन्तर सम्वादमा थिए । उनीहरुले रास्वपालाई छाडेर आफू आफू मिलेर अगाडि बढ्ने गरी कुराकानी अगाडि बढाए । नेताहरुका अनुसार बालेनले दलको नाम र चुनाव चिह्न मिलाए कुलमानको नेतृत्व मान्न सकिने संकेत पनि गरेका थिए ।

त्यही बेला जेलमा रहेका रवि बाहिर आए । 

उनले सहकारी ठगीको मुद्दामा आफ्नो भागको धरौटी बुझाएर रिहा हुन अदालतमा निवेदन दिएका थिए । पुस ३ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई धरौटीमा छाड्न आदेश दियो । करिव ३ करोड ७५ लाख धरौटी बुझाएर भोलिपल्ट छुटे ।

छुटेलगत्तै बालेनसँग वार्ता गरे । पुस ७ गते राति कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालयमा रवि र बालेनबीच करिब ६ घण्टा कुराकानी भयो । मध्यरातमा दुबै जना एउटै गाडीमा निस्किएर एकताको सन्देश पनि दिए ।

तर रास्वपा नेताहरुका अनुसार पहिलो भेटबाट रवि र बालेनको कुरा मिलेको थिएन । 

झन् बिग्रेलाजस्तो भएको थियो । खासमा बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्न चाहन्थे । रास्वपाको नाम र चुनाव चिह्न पनि संशोधन चाहन्थे । 

तर जेलबाट छुटेपछि आफ्नो समर्थनमा उर्लिएको भीड देखेर रवि पनि निकै हौसिएका थिए । चितवन पुगेर रविले प्रधानमन्त्रीबारे कुराकानी नै भएको छैन भनिदिएपछि बालेन झन् रुष्ट बने ।

उनले आफ्नै नेतृत्वमा दल बनाउने तयारी तीव्र बनाए । पुस १० गते ललितपुरको ज्वागलमा करिव १२ घन्टा लामो म्याराथन मिटिङ गरे । उनले जेनजी अभियन्तादेखि अरु दलका नेताहरुलाई बोलाएर भेटे ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपाका ज्ञानेन्द्र शाही, कांग्रेसका सुनिल शर्मा, जनमतका सीके राउत, नागरिक उन्मुक्तिका रेशम चौधरी सबैलाई बोलाएर छलफल गरे । आफू दलीय राजनीतिमा आउन लागेको भन्दै सहयोग गर्न आग्रह गरे । 

बालेनको म्याराथन बैठकले रास्वपा नेताहरु दबावमा आए । शिशिर खनाल, असिम शाहलगायतले बालेन पक्षसँग निरन्तर छलफल गरिराखे ।स्वर्णिम वाग्लेलगायत नेताहरुले बालेनको चाहना बुझिदिन रवि लामिछानेलाई सम्झाए । 

बालेनसँग मिल्दा दल ठूलो बन्न सक्ने, नमिल्दा अहिलेको भन्दा पनि कमजोर अवस्था हुन सक्ने तर्फ सचेत गराए । किनकी बालेनले छुट्टै दल खोल्ने र त्यसमा कुलमान पनि मिसिने हो भने चुनावी परिणाम निकै प्रतिकुल आउनसक्छ भन्ने रास्वपा नेताहरुको आंकलन थियो । 

त्यसपछि रवि पनि सहमतिको लागि तयार भए । दुबै पक्षका दोस्रो तहका नेताहरुले सहमतिको मस्यौदा तयार पारे । 

त्यसमा पार्टीको नाम रास्वपा र चुनाव चिह्न घन्टी नै रहने, प्रधानमन्त्रीको उम्मेदवारमा भने बालेनलाई अगाडि सार्ने उल्लेख थियो । यसैगरी कुलमानलाई वरिष्ठ नेता बनाउने प्रस्ताव थियो । 

तर उज्यालो नेपालले यो प्रस्ताव अस्वीकार गर्‍यो । पार्टीको नाम वा चुनाव चिह्नमा पुनर्विचार गर्नुपर्ने उनको माग थियो । कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवारमा अगाडि सारिसकेकाले बालेन र उनीबीच आधा आधा कार्याकाल बाँडफाँट होस् भन्ने चाहेका थिए । 

तर रवि, दलको नाम र चुनाव चिह्न चलाउन तयार थिएनन् । बालेनले जेनजी आन्दोलनको म्याण्डेट नै आफू ५ वर्ष प्रधानमन्त्री होस् भन्ने रहेको प्रष्ट भनेका थिए । त्यसैले बालेन र रवि अगाडि बढे, कुलमान छुटे । 

पुस १३ गते बिहान साढे ४ बजे बालेनले घण्टी चिह्नको इमोजीसहित सामाजिक सञ्जालमा लेखे, शुभप्रभात । 

उनले शेयर गरेको तस्वीरमा बालेन र रवि सातबुँदे सहमतिमा हस्ताक्षर गर्दै गरेको देखिन्थ्यो । 

रवि र बालेनको सहमतिले कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी पनि दबावमा पर्‍यो । किनकी उज्यालो नेपालमा बालेनको टिमकै नेताहरु समेत थिए, जेनजी अभियन्ताको पनि दबाव थियो ।

एक्लै चुनाव लड्दा प्रतिकुल परिणाम आउने जोखिम पनि थियो । त्यसैले पुस १४ गते राति त कुलमान पनि रास्वपामै जाने निर्णय लिए । उनी पहिलो वरियताको उपसभापति बन्न तयार भए । 

यसरी बालेन, रवि र कुलमानहरु एकठाउँमा आए । देश विकास पार्टी र उज्यालो नेपाल रास्वपामा विलय भयो । 

यो एकताले बालेन शाहलाई काठमाडौंको मेयरबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । 

आलोचकहरुले यसलाई उधारो सहमति पनि भनेका छन् । विगतमा कांग्रेसका गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको उम्मेदवार बनाएर कृष्णप्रसाद भट्टराईलाई धोका दिएको सम्झिएका छन् । राजनीति हो, जे पनि हुन सक्छ । 

तर व्यवहारिक रुपमा हेर्ने हो भने छुट्टै पार्टी बनाउँदा बालेन प्रधानमन्त्री बन्ने सम्भावना जति हुन्थ्यो, एकतापछि त्यो सम्भावना धेरै बढेको छ । रास्वपाका नेताहरु त सहजै बहुमत आउने दाबी गरिरहेका छन् । 

चुनावको परिणाम अनुमान गर्न गाह्रो छ, तर अहिले भएका दलहरुमध्ये सम्भावना रास्वपाकै हो, बालेनकै हो । 

यो एकता प्रक्रियामा कुलमानले राजनीतिक चतुरता देखाउन सकेनन् । यदि समयमै सही निर्णय लिएको भए बालेनको सट्टा उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्थे । शायद बालेनमा धेरै भर परे वा आफ्नो वास्तविक शक्ति कति हो भन्ने बुझ्न ढिला गरे । 

यद्यपि अहिले पनि रास्वपामा रविपछि दोस्रो वरियतामा रहने गरी उपसभापतिको जिम्मेवारी पाएका छन् । 

यो समग्र प्रक्रियाको असली विजेता भने रवि लामिछाने हुन् । हो, उनका समर्थकहरु रविलाई प्रधानमन्त्रीका रुपमा हेर्न चाहन्छन् । उनमा पनि एक पटक देशको नेतृत्व गरौं भन्ने हुटहुटी छ । सँगसँगै राजनीतिमा आउनुभन्दा अगाडिको कर्मका कारण उनका केही ब्यागेजहरु पनि छन् । 

राजनीतिमा आउनसाथ नागरिकता विवादमा मुछिए । दोहोरो पासपोर्टको विषय अझै टुंगिएको छैन । सहकारी ठगी मुद्दामा कास्की, काठमाडौं, रुपन्देही, चितवन र पर्सामा मुद्दा चलिरहेकै छ । 

अहिले उनी धरौटीमा छुटेका मात्र हुन् । अदालतमा चलिरहेको मुद्दामा कुन बेला के फैसला आउँछ, थाहा छैन ।

अनि, बालेन र कुलमान बिना चुनावमा जाँदा रवि त जित्थे होला, तर समग्र चुनावी परिणाम प्रतिकुल आउन सक्थ्यो । पुरानै दलहरुले धेरै सिट जित्न सक्थे, वैकल्पिक शक्तिहरु फेरि सहयोगी हैसियतमा मात्र रहन सक्थे । 

तर अब रवि नेतृत्वको पार्टी वैकल्पिक शक्ति होइन, राष्ट्रिय शक्तिकै रुपमा आउने सम्भावना बढेको छ । र, रास्वपा ठूलो बन्दा रवि कुनै पनि बेला देशको बागडोर सम्हाल्ने ठाउँमा पुग्न सक्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो