नेभिगेशन
एक्सप्लेनर भिडियो

कहाँबाट चुनाव लड्छन् प्रचण्ड ?

 

फागुन २१ गतेको चुनाव नजिकिँदै छ । नयाँ र पुराना सबै दलहरु चुनावको तयारीमा लागिसके । 

चुनाव नजिकिँदै जाँदा धेरैको मनमा उठेको एउटा प्रश्न हो, प्रचण्ड कहाँबाट चुनाव उठ्लान् ? 

अघिल्लो संसदको ३ ठूला नेतामध्ये शेरबहादु्र देउवा र केपी शर्मा ओलीको चुनाव क्षेत्र फिक्स छ, डडेल्धुरा र झापा–५ । तर प्रचण्डको कहाँ हो त ?

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा, ओली र प्रचण्ड दबाबमा छन्, यही बेला प्रचण्डलाई नयाँ निर्वाचन क्षेत्र खोज्नुपर्ने झमेला छ ।

*****

जेनजी विद्रोहपछि देउवा र ओलीभन्दा पहिला नै चुनावको तयारीमा लागेका नेता हुन् प्रचण्ड । 

माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत १० भन्दा धेरै वामपन्थी शक्ति मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनाए । प्रदेश–प्रदेशमा ठूला आमसभा गरिसके ।

चुनावका लागि जिल्ला र क्षेत्रहरुबाट उम्मेदवारको नाम सिफारिस भइरहेका छन् । प्रचण्डकै नाम १० क्षेत्रबाट सिफारिस भएको छ । सुनसरी–४, महोत्तरी ४, रामेछाप, सिन्धुली–२, नुवाकोट १, कास्की ३, काभ्रे, गोरखा– १, रोल्पा, रुकुम पूर्व र कैलाली ३ । 

प्रदेशको हिसाब गर्दा उनी कर्णाली प्रदेशको चुनाव क्षेत्रबाट मात्र सिफारिसमा परेका छैनन् । अरु ६ वटै प्रदेशका कुनै न कुनै क्षेत्रबाट सिफारिस भएका छन् । 

यति धेरै चुनाव क्षेत्रबाट सिफारिस भएका उनको आफ्नो चुनाव क्षेत्र चाहिँ कुन हो त ? 

उनको कुनै निश्चित चुनाव क्षेत्र नै छैन । अनि, उनको विगतले भन्छ कि हरेक पटक चुनाव क्षेत्र फेर्दै लड्नुपर्ने बाध्यता छ । 

२०६३ मा सशस्त्र युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि माओवादीले पहिलो पटक चुनाव लडेको २०६४ साल चैत २८ गतेको संविधानसभा चुनाव हो । 

त्यतिबेला प्रचण्डले काठमाडौं–१० र रोल्पा–१ बाट चुनाव लडे । दुबैमा भारी मतान्तरले चुनाव जिते । तर दुईमध्ये एक क्षेत्र रोज्नुपर्ने भएकाले उनले रोल्पा छाडे, काठमाडौं रोजे । 

२०७० सालमा दोस्रो संविधानसभा चुनाव भयो । यो पटक प्रचण्ड काठमाडौं–१० र सिरहा–५ बाट चुनाव लडे । काठमाडौं–१० मा कांग्रेस उम्मेदवार राजेन्द्र केसीसँग करिब ५ हजार मतान्तरले पराजित भए । सिरहा–५ बाट भने झिनो मतान्तरले निर्वाचित भए । 

२०७२ सालमा संविधान बनेपछि निर्वाचन क्षेत्र २४० बाट घटेर १६५ मा झर्‍यो । 

अनि, दुई क्षेत्रमा उम्मेदवार बन्ने व्यवस्था पनि हट्यो । त्यसपछिका दुईवटा चुनाव माओवादीले एक्लै लडेको छैन । 

२०७४ को चुनावमा प्रचण्डले एमालेसँग गठबन्धन गरे । आफू चितवन–३ बाट उठे, कांग्रेसको समर्थन पाएका राप्रपा उम्मेदवार बिक्रम पाण्डेलाई ९ हजार ३२७ मतान्तरले पराजित गरे । 

२०७९ को चुनावमा कांग्रेस–माओवादी गठबन्धन भयो । प्रचण्ड चुनाव लड्न गोरखा–२ मा पुगे । उनले त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १३ हजार मतान्तरले पराजित गरे । 

यसरी हेर्दा प्रचण्डले हरेक चुनावमा निर्वाचन क्षेत्र फेरेका छन् । यसलाई लिएर उनको आलोचना पनि हुन्छ । उनी भने केन्द्रीय नेता भएकाले एउटै निर्वाचन क्षेत्रमा केन्द्रित हुनुहुन्न भन्ने जवाफ दिएर टारिदिन्छन् । वास्तविकता भने जनमत खस्किनु नै हो । 

२०७० सालको संविधानसभा चुनावमा उनी २०६४ मा निर्वाचित भएकै  चुनाव क्षेत्र काठमाडौं १० मा उठेका हुन् । तर चुनाव हार्न पुगे । 

२०७९ को चुनावमा चितवन–३ बाटै प्रतिस्पर्धा गर्न चाहेका थिए । अझ भनौं उनी चितवन–३ लाई आफ्नो स्थायी चुनाव क्षेत्र बनाउन चाहन्थे । उनको हालको स्थायी ठेगाना पनि चितवन–३ नै हो । 

आफूलाई चुनावमा सपोर्ट हुने गरी उनले २०७४ सालको स्थानीय तह चुनावमा कांग्रेससँगको तालमेलमा छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाए । २०७४ सालको चुनावपछि केन्द्रमा एमाले–माओवादी मिलेर बनेको नेकपा सरकार, अनि भरतपुरमा प्रचण्डकी छोरी रेनु मेयर । 

भरतपुरले संघीय सरकारबाट अत्यधिक बजेट पनि पायो । भरतपुरका विकास निर्माणका काम पनि धेरै भए । त्यही विकास निर्माणको जस लिएर चुनाव जित्ने प्रचण्डको दाउ थियो । 

तर उम्मेदवार मनोनयन गर्ने बेलामा उनले चितवनबाट चुनाव जित्न गाह्रो हुने रिपोर्ट पाए । किनकी चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनाव लड्ने तयारीमा थियो । यद्यपि उनले अन्तिम समयमा ३ को साट्टा २ रोजे । 

तर त्यसबेलासम्म प्रचण्ड गोरखा पुगिसकेका थिए । 

संयोग कस्तो पर्‍यो गोरखामा उनलाई आफ्नो चुनाव क्षेत्र छाडिदिन तयार भए उनकै पूर्व सहकर्मी बाबुराम भट्टराई । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीसँग चुनावी तालमेल गर्‍यो । बाबुराम आफैं प्रचण्डको प्रस्तावक बसे । 

यता बाबुरामकी छोरी मानुषी भने माओवादीबाट काठमाडौं–७ मा उम्मेदवार बनेकी थिइन् । त्यसैले प्रचण्ड र बाबुरामबीच क्षेत्र लेनदेन भएको आरोप पनि लाग्यो । 

प्रचण्डले २०७९ को चुनावमा गोरखा २ बाट चुनाव त जिते । तर चुनाव लड्दैमा कतिपयले प्रचण्डलाई कटाक्ष गरेका थिए, अब अर्को चुनावमा रोल्पामा लड्ने होलान् । 

यसो भन्नुको कारण के हो भने माओवादीले चुनाव जित्ने क्षेत्र घट्दै गइरहेको छ । 

२०६४ सालको संविधानसभा चुनावमा २४० निर्वाचन क्षेत्रमध्ये १२० वटामा प्रत्यक्ष चुनाव जितेको थियो । 

२०७० सालको संविधानसभा चु्नावमा जम्मा २६ सिटमा प्रत्यक्ष चुनाव जित्यो । 

२०७४ सालमा निर्वाचन क्षेत्र २४० बाट घटेर १६५ कायम भयो । 

त्यो चुनाव माओवादीले एक्लै लडेन, एमालेसँग गठबन्धन गर्‍यो । 

त्यतिबेला ३६ क्षेत्रमा मात्र प्रत्यक्ष चुनाव जित्यो । 

२०७९ सालमा पनि माओवादीले कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्यो । तर उसले १८ क्षेत्रमा मात्र प्रत्यक्ष चुनाव जित्यो । 

माओवादीले आफ्नै बलमा जित्ने चुनाव क्षेत्र घट्दै गइरहेको छ । रोल्पा, रुकुम, जाजरकोट, कालीकोट, गोरखा, सिन्धुली, महोत्तरी, बर्दिया जस्ता औलामा गन्न सकिने जिल्ला मात्र देखिन्छन् । त्यसैले पनि प्रचण्डले अर्को चुनाव रोल्पाबाट लड्छन् भनेर कटाक्ष भएको हो । 

यसपटक पनि प्रचण्ड गोरखा–२ मा दोहोरिने सम्भावना देखिएन । किनकी त्यो उनको नियमित चुनाव क्षेत्र पनि होइन । गोरखा जिल्ला समितिले उनलाई गोरखा–२ मा दोहोर्‍याउन चाहेन । 

त्यसको सट्टा उनलाई गोरखा–१ मा सिफारिस गरियो । 

*****

१० वटा क्षेत्रमध्ये प्रचण्ड कहाँबाट उम्मेदवार होलान्, वा त्यो भन्दा नयाँ ठाउँबाट होलान् । 

प्रचण्डले मुख खोलेका छैनन् । तर अनुमान के गर्न सकिन्छ भने उनले हार्ने चुनाव लड्दैनन् । त्यसैले माओवादीको जनमत जहाँ बलियो छ उनले त्यहीँबाट चुनाव लड्नेछन् । 

त्यसो हुँदा उनले चुनाव जित्ने क्षेत्र सीमित छ । 

त्यो भन्न सकिन्छ, रोल्पा, रुकुम पूर्व, सिन्धुली–२, गोरखा–१ र नुवाकोट–१ । 

रोल्पा र रुकुम माओवादीको प्रभाव क्षेत्र नै हो । सशस्त्र युद्धको उद्गम थलो, युद्धकालमा माओवादीको आधार इलाकासमेत रहेकाले यो ठाउँमा माओवादीको ठूलो जनमत छ । २०६४ सालपछिको चुनावमा यहाँ माओवादी बाहेक अरु पार्टीले चुनाव जितेका छैनन् । 

सिन्धुली–२ पनि माओवादीको प्रभाव क्षेत्र नै हो । २०६४ सालपछि यो क्षेत्रमा पनि माओवादी बाहेक अरुले चुनाव जितेको छैन । 

२०६४ मा यो क्षेत्रबाट चन्द्रप्रसाद गजुरेलले, २०७० र २०७४ मा हरिबोल गजुरेलले चुनाव जिते । २०७९ को चुनावमा भने लेखनाथ दाहालले चुनाव जिते । 

गोरखा पनि माओवादीको जनमत राम्रो भएको जिल्ला हो । गोरखा–१ बाट २०६४, २०७० र २०७४ मा माओवादीले नै चुनाव जित्यो । २०७९ को चुनावमा भने कांग्रेससँग चुनावी तालमेल गर्दा यो क्षेत्र कांग्रेसको भागमा परेको थियो । 

नुवाकोट–१ बाट २०६४ सालमा माओवादीकी विमला सुवेदीले चुनाव जितेकी थिइन् । 

२०७० सालमा कांग्रेसका अर्जुन नरसिंह केसीले जिते । २०७४ र २०७९ मा हितबहादुर तामाङले चुनाव जिते ।

गोरखा जिल्ला समितिले यस पटक प्रचण्डलाई गोरखा–२ बाट सिफारिस गरेन । बरु गोरखा–१ बाट सिफारिस गर्‍यो । 

हुनत २०७९ सालमा पनि प्रचण्डलाई गोरखा–१ बाटै उठाउन खोजिएको थियो । तर कांग्रेससँगको गठबन्धन थियो । कांग्रेसले राजेन्द्र बजगाईंका लागि गोरखा १ रोज्यो, माओवादीले गोरखा–२ पायो । 

गोरखा–२ माओवादीमा हुँदा बाबुराम भट्टराईको चुनाव क्षेत्र हो । बाबुरामले पार्टी छाडेपछि त्यस क्षेत्रका नेता नारायणकाजी श्रेष्ठ र हितराज पाण्डे हुन् । 

२०७० सालमा बाबुराम भट्टराई गोरखा १ बाट चुनाव लडे भने गोरखा २ बाट हितराज पाण्डेले चुनाव जितेका थिए । 

२०७४ सालमा गोरखा–२ मा माओवादीबाट नारायणकाजी श्रेष्ठ उम्मेदवार भए । तर कांग्रेसको समर्थनमा तत्कालिन नयाँ शक्ति पार्टीका बाबुराम भट्टराईले चुनाव जिते । 

नारायणकाजी श्रेष्ठको यही फागुनमा राष्ट्रियसभा सदस्य पदको पदावधि सकिँदैछ । त्यसैले उनले आउँदो चुनावमा गोरखा–२ बाट लड्न चाहेका छन् । उनलाई माओवादीको गोरखा जिल्ला समितिले गोरखा–२ बाट पहिलो नम्बरमै सिफारिस गरेको छ । 

त्यसैले प्रचण्डलाई गोरखा–१ बाट प्रतिस्पर्धा गराउने माओवादी गोरखाको तयारी छ । 

गोरखाका एक माओवादी नेताका अनुसार बूढीगण्डकी आयोजना बनाउन र चिनियाँ नाकासम्म सडक पुर्‍याउन प्रचण्डलाई नै जनप्रतिनिधि बनाउनुपर्नेछ । 

गोरखा–२ बाट प्रचण्डले चुनाव जितेकै कारण त्यो क्षेत्रमा विकास निर्माणका धेरै काम भएको माओवादीको बुझाइ छ । 

अब छिट्टै गोरखाको माओवादी टोली काठमाडौं आएर प्रचण्डलाई भेट्ने र चुनाव लड्न अनुरोध गर्ने तयारी छ । 

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य प्रचण्डले चुनाव उठ्ने निर्वाचन क्षेत्र टुंगो लागिनसकेको बताउँछन् । 

‘सबै क्षेत्रबाट उम्मेदवार सिफारिस भइसकेपछि पार्टीले जुन क्षेत्रमा निर्णय गर्छ, त्यहीँबाट उठ्नुहुन्छ’, आचार्यको भनाइ छ । 

प्रचण्ड निकट स्रोतका अनुसार गोरखा–१ र महोत्तरी–४ बाट धेरै जोड छ । 

यद्यपि पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मधेश प्रदेशकै रौतहटबाट चुनाव लड्ने हुनाले प्रचण्ड महोत्तरी नजान पनि सक्छन् । त्यो हुँदा उनको सम्भावना गोरखा–१ मा धेरै देखिएको छ । 

माओवादी नेताहरुका अनुसार प्रचण्डका लागि अर्को सुरक्षित विकल्प भनेको रोल्पा वा रुकुम नै हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो