नेभिगेशन
अर्थ

इन्टरनेट सेवामा कुन कम्पनी अब्बल ?

इन्टरनेट त तपाईं हामी सबैले चलाइरहेकै छौं । कसैले फाइबर इन्टरनेट चलाएका हौंला, कसैले मोवाइल डेटा । शहर बजारमा मात्र होइन, गाउँघरमा पनि इन्टरनेटको एक्सेस पुगिसकेको छ । 

अहिले नेपालका इन्टरनेट सेवा दिने कम्पनीहरुसँग ३३ लाख ४१ हजारभन्दा बढी ग्राहक छन् । त्यसमध्ये झण्डै एक तिहाई ग्राहक त एउटै कम्पनीका छन् । 

नझुक्किनुस् है, हामी मोबाइल डेटाबाट इन्टरनेट चलाउनेहरुको कुरा गरिरहेका छैनौं, तार अर्थात् फाइबर इन्टरनेट जोड्ने ग्राहकको मात्रै कुरा गर्दैछौं । घर–अफिस सबैथरी कम्पनीहरुले करिब साढे ३३ लाख ग्राहक बनाएका छन् । 

नेपालमा अहिले फाइबर इन्टरनेट सेवा दिने ६० भन्दा बढी कम्पनी छन् । त्यसमा कुन–कुन कम्पनी बलिया छन् त ? 

****

सुरु गरौं, १० औं नम्बरबाट । नेपालको इन्टरनेट सेवा प्रदायकको १० औं नम्बरमा छ, सीजी कम्युनिकेसन्स । नाम सुनेरै थाहा पाइसक्नुभयो होला, यो चौधरी ग्रुपको लगानीमा खुलेको इन्टरनेट कम्पनी हो ।

मोबाइल सेवाको लाइसेन्स लिन आतुर रहेका बेला सरकारले लाइसेन्स नदिएपछि विनोद चौधरीले इन्टरनेट प्रोजेक्ट ल्याएका थिए । २०७८ जेठदेखि सीजीले इन्टरनेट सेवा थालेको थियो । अहिले काठमाडौं उपत्यकासहित देशका करिब डेढ दर्जन जिल्लामा सीजीको सेवा उपलब्ध छ । 

तर, ग्रामीण भेगसम्म लगानी गर्न सक्ने सामथ्र्य हुँदा हुँदै सीजीले अहिलेसम्म शहरी क्षेत्रमा मात्रै सेवा केन्द्रित गरेको छ । कभरेजका हिसाबले भन्ने हो भने अहिले सीजीका ८५ हजार ४०० ग्राहक छन् । सीजीले नेपालको इन्टरनेट बजारको २.५३ प्रतिशत हिस्सा ओगटेको छ । 

नवौं नम्बरमा छ, वाइफाइ नेपाल । यो कम्पनी पनि २०७८ सालमै स्थापना भएको हो । वाइफाइ नेपालले सस्तो दरमा इन्टरनेट प्याकेज बेच्दै ग्राहक संख्या बढाइरहेको छ ।

क्रिकेटर पारस खड्कालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेर कम्पनीले आाफ्नो ब्राण्डिङ बलियो बनाउँदै लगेको छ । अहिले वाइफाइ नेपालसँग ९५ हजार ४०० ग्राहक छन् । इन्टरनेटमा वाइफाइ नेपालको बजार हिस्सा २.८३ प्रतिशत छ ।  

आठौं स्थानमा छ, टेक माइन्ड्स । यो खासमा चितवन केन्द्रित रहेको इन्टरनेट कम्पनी हो । तर, यसले पनि देशका विभिन्न शहरहरुमा सेवा पुर्‍याइसकेको छ । यो कम्पनीको ग्राहक १ लाख २३ हजार छन् । नेपालको इन्टरनेट बजारमा टेक माइन्ड्सको हिस्सा ३.६५ प्रतिशत छ । 

सातौं नम्बरमा छ, वेब सर्फर । यो कम्पनी सन् २००१ मै स्थापना भएको हो । यसले कुनै समय बलियो ब्राण्डिङ पनि गरेको थियो । त्यसकै बलमा नेपालको ५० भन्दा बढी जिल्लामा वेब सर्फरले सेवा दिइरहेको छ । पुरानो आईएसपी भएर पनि वेबसर्फरले आक्रामक रुपमा सेवा विस्तार गर्न सकेको छैन । अहिले वेब सर्फरका ग्राहक १ लाख ७६ हजार २०० छन् । इन्टरनेट बजारमा वेब सर्फरको हिस्सा ५.२२ प्रतिशत छ । 

छैठौं नम्बरमा छ, सुबिसु इन्टरनेट । सुविसु सन् २००० मै स्थापना भएको कम्पनी हो । केबल टेलिभिजन र इन्टरनेट सेवा सँगसँगै विस्तार गरेको सुबिसुले एक समय त बजारमा सबैजसो आईएसपीलाई टक्कर दिएको थियो । अहिले सुविसुसँग २ लाख ५५ हजार ८ सय भन्दा बढी ग्राहक छन् ।

देशका प्रमुख शहरहरुमा सेवा दिइरहेको सुबिसुले इन्टरनेट बजारको ७.५७ प्रतिशत हिस्सा ओगट्छ । 

इन्टरनेट बजारको पाँचौं नम्बरमा छ, क्लासिक टेक । यो कम्पनी सन् २००९ मा स्थापना भएको हो । १६ वर्षको अवधिमा क्लासिक टेकले पनि राम्रै ब्राण्ड स्थापित गरेको छ । 

देशभरका शहरी क्षेत्रमा सेवा पुर्‍याएको पनि छ । तर, पछिल्लो वर्षमा क्लासिक टेकको सेवामा अनेकन समस्या देखिए । जसले गर्दा अहिले कम्पनीका ग्राहक वाक्कदिक्क छन् । कम्पनीले दूरसञ्चार प्राधिकरणमा लाइसेन्स नवीकरण समेत गराएको छैन । 

कम्पनीले करिब ५० करोड बक्यौता तिर्न बाँकी छ । ब्यान्डविथको करिब २० करोड रुपैयाँ नतिरेपछि एनसेलले सम्झौता तोडिदिएको छ । कम्पनी समस्यामा भएपनि योसँग २ लाख ६८ हजार ग्राहक छन् । समग्र बजारमा क्लासिक टेकको हिस्सा ७.९४ प्रतिशत छ । 

चौथो नम्बरमा छ, भायानेट कम्युनिकेसन । यो सन् १९९९ मा नै स्थापना भएको कम्पनी हो । यो कम्पनीको पनि देशभर नै सर्भिस नेटवर्क छ । तर समभावना अनुसार यसले पनि ग्राहक विस्तार गर्न भने सकिरहेको छैन । भायानेटसँग अहिले ३ लाख ४० हजार ग्राहक छन् । यो कम्पनीले अहिले इन्टरनेट बजारको १०.०६ प्रतिशत हिस्सा ओगटेको छ । 

इन्टरनेट बजारको टप थ्रीमा छ, नेपाल टेलिकम । नेपाल टेलिकमले विगतमा ल्यान्डलाइन फोनसँगै इन्टरनेट सेवा दिन्थ्यो । टेलिकमले परम्परागत ढंगबाट कपर केबलबाट सेवा दिइरहँदा निजी क्षेत्रले आक्रामक ढंगले फाइबर इन्टरनेट सेवा दिन थालिसकेका थिए । सन् २०१४ देखि टेलिकमले बल्ल फाइबरमार्फत सेवा दिन थालेको छ । टेलिकमले देशभरकै ठूला शहरमा सेवा पुर्‍याएको छ । तर, अहिलेसम्म उसको ३ लाख ७५ हजार मात्रै इन्टरनेट ग्राहक छन् । 

जबकी कम्पनीको क्षमता २२ लाख ३७ हजार ग्राहकलाई सेवा दिनसक्ने छ । अहिले समग्र आईएसपी बजारमा टेलिकमको हिस्सा ११.१ प्रतिशत मात्रै छ । 

इन्टरनेट बजारको दोस्रो नम्बरमा छ, डिसहोम फाइबर नेट । यो कम्पनीको कथा भने अरुको भन्दा अलग छ । कोभिड महामारीका बेला इन्टरनेट प्रयोगकर्ताको संख्या बढिरहेकै समयमा सन् २०२० मा डिसहोमले इन्टरनेट सेवा थाल्यो ।

डिस टिभी चलाएर बसेको कम्पनीले इन्टरनेट सेवा मात्रै थालेन, २ दशकदेखि बजारमा राज गरिरहेका थुप्रै इन्टरनेट कम्पनीलाई माथ खुवायो । डिसहोमले सेवा थालेपछि इन्टरनेट बजारमा चर्को प्राइसवार भएको थियो । 

अहिले डिसहोमको सेवा देशका सबैजसो शहरहरुमा उपलब्ध छ । अहिले डिसहोमसँग ३ लाख ८२ हजार ३०० भन्दा बढी ग्राहक छन् । इन्टरनेट बजारमा डिसहोमले पाँच वर्षमै ११.३२ प्रतिशत हिस्सा ओगटेको छ ।   

अब पालो नम्बर वान कम्पनी चिनाउने । तपाईंले अनुमान गरिसक्नुभयो होला । हो, इन्टरनेट बजारको नम्बर वान कम्पनी हो, वर्ल्ड लिंक ।

सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंक । त्यतिबेला इन्टरनेट बजारमा मर्कन्टाइल कम्युनिकेसनको दबदबा थियो । त्यही बेलामा सेकेन्ड ह्यान्ड कम्प्युटरबाट इन्टरनेट सेवा थालेको वर्लडलिंकले समय अनुकुल आफूलाई परिमार्जित गर्दै लग्यो । 

खासमा प्रविधिमा आएको परिवर्तनलाई तुरुन्तै आत्मसात गरेकै कारण वर्ल्डलिंक सधैं बजारमा ग्राहकको पहिलो रोजाइ बन्न पुग्यो । अहिले वर्ल्डलिंकसँग १० लाख ४४ हजार ५०० भन्दा बढी ग्राहक छन् । इन्टरनेट बजारको ३०.९२ प्रतिशत हिस्सा वर्ल्डलिंक एक्लैले ओगटेको छ । 

यो तथ्यांक हामीले नेपाल दूरसञ्चार प्राधिकरणबाट लिएका हौं । २०८२ मंसिरसम्म कम्पनीहरुले प्राधिकरणमा बुझाएको र प्राधिकरणले प्रकाशित गरेको एमआईएस रिपोर्टको तथ्यांकका आधारमा यो टप–टेन कम्पनीको सूची बनाएका हौं । 

यो त भयो इन्टरनेटको बजार हिस्साका आधारमा गरिएको र्‍यांकिङ । तर, कम्पनी अनुसार ग्राहकका प्राथमिकता भने फरक हुन सक्छन् । राम्रो ग्राहक भएका कतिपय कम्पनीको सेवा झुर छ । कतिपय तल्ला र्‍यांकिङमा रहेका कम्पनीले आफ्ना ग्राहक खुशी बनाएरै राखेका छन् । 

नेपालका धेरैजसो इन्टरनेट कम्पनीको सेवामा समस्या छ । नेट ढिला चल्छ, कम्पनीले भने जति स्पिड दिँदैन । सेवामा समस्या आयो भने गुनासो गर्दा समयमै रेस्पोन्स हुँदैन । मर्मत लगायतका सेवामा भएको ढिलाइले ग्राहक वाक्कदिक्क हुन्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ