नेभिगेशन
एक्सप्लेनर भिडियो

चक्रे मिलनको माननीय बन्ने रहर : जिल्लाबाट अनुमोदन, ओलीले के गर्लान्

जब जब चुनाव आउँछ, मिलन चक्रे चर्चामा आउँछन् । 

एमालेले गोरखा जिल्लाबाट उनको नाम उम्मेदवारका लागि सिफारिस गर्छ । गुण्डागर्दी पृष्ठभूमिका कारण विवाद हुन्छ र, केन्द्रले टिकट दिने आँट गर्दैन । 

यसपटक पनि उनलाई एमालेको गोरखा जिल्ला कमिटीले उम्मेदवार सिफारिस गरेको छ । 

टिकट दिन नसक्ने भए बद्नामी कमाउन मात्र मिलन चक्रेको नाम किन सिफारिस हुन्छ ? एमाले र मिलन चक्रेको राजनीतिक कनेक्सन के हो ? 

००० 

गोरखाको सिरानचोक गाउँपालिका, छोप्राकका मिलन चक्रेको असली नाम मिलन गुरुङ हो । तर उनी मिलन चक्रेको नामबाट चिनिएका छन् । खासगरी गुण्डागर्दीका कारण यो नाम बद्नाम छ ।

मिलनको गुण्डागर्दीको सुरुवात र एमालेमा आवद्धता लगभग एकै समयमा भएको देखिन्छ । अझ भनौं, जब गुण्डागर्दी गर्दा पक्राउ हुन थाले, राजनीतिक संरक्षणको खोजीमा एमालेमा आवद्ध भएको हुनुपर्छ । 

मिलन चक्रेले काठमाडौंमा गुण्डागर्दी सुरु गरेको बहुदल आएसँगै हो । त्यसबेला चक्रपथ क्षेत्रलाई केन्द्र बनाएर उनको समूहले हप्ता असुलीदेखि काँठ क्षेत्रका बालुवाखानीबाट कमिसन लिन्थे । एआई

उनले ग्याङफाइट, कुटपिट र चन्दा असुलीको साम्राज्य नै खडा गरे । गुण्डागर्दीमा लागेपछि मिलन चक्रे पहिलो पटक २०४७ सालमा पक्राउ परेका थिए । सार्वजनिक अपराधको मुद्दामा केही दिन हिरासत बसे । 

२०६१ साल वैशाख ३१ गतेमा उनीमाथि सांघातिक आक्रमण नै भयो । उनको एउटा हात नै काटिएको थियो । 

त्यो दिन पानीपोखरीको चुफाङ रेष्टुरेन्टमा उनी र अर्का गुण्डा नाइके दीपक मनाङे ग्याङको ठूलो ग्याङ फाइट परेको थियो । एआई त्यसक्रममा अर्को समूहले हानेको तरबार छेक्ने क्रममा उनको हात काटिएको थियो । बेलैमा अस्पताल पुर्‍याएका कारण काटिएको हात भने जोडियो । 

उनलाई २०५२, २०५५, २०६१, २०६३, २०६४ र २०६५ सालमा गरी ६ पटक ज्यान मार्न खोजेको आरोपमा मुद्दा चलेको थियो । २०६४ मा ज्यान मार्ने उद्योगमा उनी डेढ वर्षसम्म जेल परे । 

२०६६ असारमा प्रहरीले बुटवलबाट लागू औषध कारोबारको आरोपमा समात्यो । त्यो केसमा उनी ५ वर्ष जेल बसे ।

पछिल्लो पटक गएको साउन १५ गते उनी पक्राउ परेका थिए । त्यो दिन काठमाडौंको बाँसबारीस्थित एक होटलमा उनको बर्थ डे पार्टी थियो ।

टेबुलमा दर्जनौं केक राखिएको थियो, अनि उनले केक काट्दै थिए । त्यही बेला पुगेको प्रहरीले मिलन चक्रेसँगै ४७ जनालाई पक्राउ गर्‍यो । 

बर्थ डे मनाउँदा छिमेकीहरुलाई डिस्टर्ब भएको र असुरक्षा महसुस भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । 

मिलन चक्रेसहित १९ जनाविरुद्ध मुद्दा नै चलायो । १३ दिन हिरासत बसेका उनी ३० हजार धरौटी बुझाएर छुटे । 

प्रहरीको क्रिमिनल रेकर्ड सिष्टमअनुसार अहिलेसम्म मिलन चक्रेविरुद्ध १२ वटा मुद्दा लागेको रेकर्ड छ । यसबाहेक अभद्र व्यवहार र गुण्डागर्दी जस्ता केसमा त उनी पटक पटक पक्राउ पर्ने र छुट्ने भइरहन्छ ।

००० 

मिलन चक्रेले काठमाडौंमा गुण्डागर्दी सुरु गर्दा नगर्दै गोरखामा भने एमालेसँग राजनीतिक नाता जोडिसकेका थिए । 

एमाले गोरखाका नेताहरुका अनुसार उनले २०५० सालमा नै एमालेको पार्टी सदस्यता लिएका थिए । 

त्यसबेला उनी विद्यार्थी संगठनमा आवद्ध भएका थिए । तर पार्टी संगठनको काममा खासै सहभागिता जनाएनन् । उनी प्रशासनले दुःख दिएका बेला नेताहरुलाई सम्झिन्थे । नेताहरु पनि उनको अप्ठ्यारो फुकाइदिन्थे । किनकी युवा भेला पार्नु परेको बेला मिलन चक्रेको खुब काम आउँथ्यो । 

२०५४ सालमा एमाले फुटेर माले बनेको बेला त उनले ठुलै गुन लगाए । 

वामदेव गौतम, सीपी मैनालीहरुले पार्टी फुटाउँदा युवा पंक्ति उनीहरुतिर लागेका थिए । तर गोरखामा भने मिलन चक्रेले युवा संघ जोगाइदिए ।

उनी आउने भएपछि धेरै युवाहरु एमालेमा जोडिएका थिए । 

त्यसैले एमालेले २०५५ सालमा भएको युवा संघको अधिवेशनको प्रमुख अतिथि नै मिलन चक्रेलाई बनाएको थियो । त्यही बिन्दुबाट मिलन चक्रे एमाले गोरखाको राजनीतिमा पनि हावी हुन थालेको देखिन्छ ।  

००० 

एमाले गोरखाका एक नेताका अनुसार मिलन चक्रे अहिलेसम्म कुनै कमिटीमा संगठित छैनन् । उनले कुनै कमिटीमा नबस्ने बताउने गरेका छन् । तर चुनाव जितेर सांसद बन्ने चाहना लुकाएका छैनन् ।

त्यो पहिलो पटक २०५६ सालमै प्रकट भएको थियो । २०५६ को आम चुनावमा उनले आफूलाई सांसदको उम्मेदवारमा सिफारिस गर्न आग्रह गरेका थिए । तर एमालेले उनलाई उम्मेदवार बनाएन । प्रेम गुरुङले टिकट पाए । 

त्यसपछि २०६४ र २०७० सालको संविधानसभा चुनावमा उनले टिकटका लागि धेरै जोडबल गरेनन् । पछिल्लो पटक उनले जोडबल गरेको २०७९ सालको चुनावमा हो । 

दीपक मनाङे र गणेश लामाहरु पनि त्यो बेला राजनीतिमा आइसकेका थिए । मनाङे त २०७४ मै प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य भइसकेका थिए । 

त्यसैले मिलन चक्रेले पनि पनि एमालेबाट प्रतिनिधिसभा सदस्य बन्न चाहे । गोरखा–२ बाट उनी उम्मेदवार सिफारिस पनि भएका थिए । तर मतदाता नामावलीमा नाम नै नभएकाले उनले टिकटका लागि धेरै जोड लगाउन सकेनन् । 

अन्तिममा विवेकशील साझा छाडेर आएका अब्दुस मियालाई टिकट दियो । यो क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जिते । 

उम्मेदवार बन्न नपाए पनि मिलन चक्रेले गोरखा आवतजावत बढाइराखे । गोरखा–२ मा सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका अनि पालुङटार नगरपालिकाको पुरै र गोरखा नगरपालिकाको ७ वटा वडा पर्छ । ३ वटा गाउँपालिकामा गुरुङ समुदायको बाक्लो बसोबास छ ।

त्यहाँबाट मिलन चक्रेले राम्रो भोट पाउन सक्ने एमाले नेताहरुको अनुमान छ । 

एमाले नेताहरुका अनुसार मिलन चक्रे गोरखाबाट आएका प्रायः निम्तो छुटाउँदैनन् । गाउघरमा युवा समूहले गर्ने खेलकुद प्रतियोगिता गर्न होस् वा साँस्कृतिक कार्यक्रम सबैमा धेरै थोरै आर्थिक सहयोग गर्छन् । 

किनकी उनको एक मात्र उद्देश्य हो, एक पटक चुनाव लड्ने र सांसद बन्ने । 

०००

भदौ २३ र २४ को जेनजी विद्रोहपछि संसद विघटन भयो र फागुन २१ का लागि प्रतिनिधि सभा चुनाव तय भयो । 

सुरुमा संसद पुनस्र्थापना भनेको एमाले पनि चुनावमा होमियो । जिल्ला जिल्लामा उम्मेदवार सिफारिस प्रक्रिया सुरु भयो । 

एमालेको गोरखा जिल्ला कमिटीले पनि पुस १८ गते बैठक राख्यो । मिलन चक्रे पनि उम्मेदवारका लागि दावी पेश गर्न पुगे । 

उनी तनहुँको आँबुखैरेनीबाट गोरखा प्रवेश गर्दा गाडीहरुको लाँवालस्कर थियो । उनलाई स्वागत गर्न एमालेका युवा कार्यकर्ता मात्र होइन, अन्य पार्टीमा रहेका गुण्डागर्दी पृष्ठभूमिका युवाहरु पनि पुगेका थिए । 

निर्वाचन क्षेत्र समन्वय समिति र जिल्ला कमिटीले गोरखा–२ बाट उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गर्‍यो । पहिलो नम्बरमा मिलनकै नाम छ । त्यसपछि गोरखाका पुराना नेता बाबुराम थापा र २०७९ सालका उम्मेदवार अब्दुस मिया लगायतको नाम राखिएको छ ।

किनकी चक्रेका अगाडि एमालेका अरु नेताले चुनाव लड्छु भन्न पनि सक्दैनन् । अनि, एमालेका जिल्ला नेताहरु गोरखा २ मा सबभन्दा बलियो उम्मेदवार मिलन चक्रेलाई मान्छन् ।

तर पार्टीको केन्द्रीय समितिले उनलाई टिकट दिनेमा आशंका छ । गोरखाका एक जिल्ला नेता भन्छन् ‘हामीले आएका नाम सबै केन्द्रमा पठायौं, केन्द्रमा जसको राम्रो सम्बन्ध छ, उसैले टिकट पाउँछ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो