नेभिगेशन
एक्सप्लेनर भिडियो

नागढुंगा सुरुङमार्ग तयार, चिनियाँ रोक्न जापानले हाल्यो तगारो

नागढुंगा सुरुङ मार्ग नियमित गाडी चलाउन रेडी छ । 

अहिले धमाधम गाडी गुडिरहेको हुनुपर्ने यो सुरुङमार्ग कहिले खुल्छ टुंगो छैन ।

बनिसकेको सुरुङमार्गमा तगारो हालेको छ, जापानले । 

सुरुङमार्गको २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो, कोभिड महामारीको कारण काम ढिला गरी सुरु भयो । बल्लतल्ल २०८१ वैशाख ३ गते काम सकियो । त्यसको डेढ वर्षमा सुरुङमार्ग तयार भयो । 

यो सुरुङमार्ग जापान सरकारको २२ अर्ब ऋण सहयोगमा बनेको हो । नेपाल सरकारले आफ्नो स्रोतबाट थप ६ अर्ब रुपैयाँ खर्च गरेको छ । सुरुङ खन्ने ठेकेदार पनि जापानी कम्पनी हाजमा–आन्दो जेभी थियो । 

सरकारले गत जेठतिरै २०२६ को जनवरी १ सम्म सबै काम सकेर नागढुंगा सुरुङमार्ग चलाउने घोषणा गरेको थियो । तर, भनेजस्तो भएन ।

खासमा सुरुङमार्ग चलाउने कम्पनी छनोटमा ढिलाइ भएकाले रेडी भइसकेको सुरुङ पनि नचलाई राखिएको छ । 

सुरुङमार्गको सञ्चालन र व्यवस्थापन हेर्ने कम्पनी खोज्न सडक विभागले १६ कात्तिकमै ग्लोबल टेन्डर आह्वान गरेको थियो । सुरुमा ४५ दिनको समय दिएको सडक विभागले दुई पटक गरेर अरु ३० दिन समय थपिसक्यो । 

यो टेन्डरबाट छानिने कम्पनीले नै सुरुङमार्गको सञ्चालन, रेखदेख, मर्मत सम्भारको सबै कामको जिम्मा पाउँछ । टेन्डरअनुसार विदेशी कम्पनी एक्लैले सुरुङ मार्ग चलाउन पाउँदैन, कुनै नेपाली कम्पनीसँग मिलेर काम गर्नुपर्छ । छानिएको कम्पनीले सुरुको ५ वर्ष सुरुङ मार्गको जिम्मा लिनेछ ।

नेपालीसँग सुरुङमार्ग चलाएको अनुभव र योग्यता नभएकाले विदेशी कम्पनीको खोजी गर्न टेन्डर आह्वान गरिएको हो । ५ वर्षसम्म नेपाली कम्पनीलाई पनि सिकाउने गरी विदेशी कम्पनी ल्याउन लागिएको हो ।   

जाइकाले सुरुङमार्ग चलाउन चिनियाँ कम्पनी नआओस् भन्ने चाहेको छ । उसले सीधै चिनियाँ कम्पनीलाई निषेध गर्न भनिरहेको छैन । तर टेन्डरमा घुमाउरो किसिमले चिनियाँ कम्पनीलाई रोक्ने शर्त घुसाउन खोजेको छ । 

जाइकाको प्रस्ताव छ कि सुरुङमार्ग चलाउन आउने सेवा प्रदायक कम्पनी विदेशका सरकारी वा सरकारी लगानी भएको हुनुहुँदैन । चीनका धेरैजसो यस्ता कम्पनीहरुमा त्यहाँका सरकार र सरकारी एजेन्सीको धेरैथोरै स्वामित्व हुन्छ नै ।

सडक विभागलाई यो टेन्डरका कारण जाइका भड्किने डर पसेको छ । त्यही कारण टेन्डरको म्याद थपिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो