नेपालका शहरमा झन् धेरै छन् गरिब
शहरमा धनीहरु मात्र बस्दैनन् । गरिबहरु पनि उत्तिकै बस्छन् । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको गरिबीको तथ्यांक हेर्दा थाहा हुन्छ, नेपालको गाउँमा भन्दा महानगर र उपमहानगरपालिकामा धेरै गरिब छन् ।
नेपालमा दिनमा २०० रुपैयाँ पनि कमाउन नसक्ने मानिसलाई गरिब मानिएको छ । एक जना मानिसलाई ठिक्कसँग जीविका चलाउन वर्षमा ७२ हजार ९०८ रुपैयाँ चाहिन्छ भन्ने अनुमान गरेर, त्यति खर्च गर्न नसक्नेलाई गरिब भनिएको हो ।
यस हिसाबमा नेपालमा कुल जनसंख्याको २०.२७ प्रतिशत मानिस गरिब छन् । यो भनेको प्रत्येक ५ जना नेपालीमध्ये १ जना गरिब छन् ।
गरिबीको तथ्यांकमा रोचक के छ भने सबैभन्दा धेरै गरिब भएको स्थानीय तह चाहिँ काठमाडौं महानगरपालिका नै छ ।
तथ्यांक कार्यालयले स्थानीय तहका आधारमा गरिबीको तथ्यांक पनि तयार पारेको छ । जस अनुसार काठमाडौं महानगरपालिकामा ५९ हजार २१८ जना गरिब छन् । यो भनेको काठमाडौं महानगरपालिकाकै बासिन्दा हुन् ।
देशका अरु ठाउँबाट आएर यहाँ बसोबास गरेकाहरुको कुरा होइन । काठमाडौं महानगरपालिकाको कुल जनसंख्या ८ लाख ६२ हजार छ । यहाँका स्थायी बासिन्दामध्ये ५९ हजार २१८ जना चाहिँ गरिब छन् ।
काठमाडौं महानगरपालिका देशकै महंगो ठाउँ हो, यहाँको एक आना जमिनकै करोडभन्दा बढी पर्छ । तर यहीँका स्थायी बासिन्दा भएर पनि दिनमा २०० रुपैयाँ र वर्षमा ७२ हजार कमाउन नसक्ने मान्छे पनि रहेछन् भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको कुल जनसंख्या १ लाख ६४ हजार ४२२ जनसंख्यामध्ये ४९ हजार ८७ जना गरिब छन् ।
दाङको घोराही उपमहानगरपालिकाका २ लाख ५२७ जनसंख्यामध्ये ४७ हजार ८०६ जना गरिब छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका ७० हजार १११ जनामध्ये ४५ हजार ३१ जना गरिब छन् । यो भनेको कुल जनसंख्याको झण्डै दुई तिहाइ नै हो ।
पाँचौ धेरै गरिब भएको स्थानीय तह हो, रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका । यहाँका ८७ हजार ३८३ जनसंख्यामध्ये ४३ हजार ९३१ जना गरिब छन् । यो भनेको कुल जनसंख्याको झण्डै आधा हो ।
छैटौं धेरै गरिब भएको स्थानीय तह हो, बर्दियाको गुलरिया नगरपालिका । यहाँका कुल ७४ हजार ५०३ जनसंख्यामध्ये ४२ हजार ९३६ जना गरिब छन् । अर्थात् कुल जनसंख्याको ५७.६३ प्रतिशत गरिब ।
अनि सातौं धेरै गरिब छन्, सिन्धुलीको दुधौली नगरपालिकामा । यहाँका कुल ७० हजार २०७ जनसंख्यामध्ये ४२ हजार ३३२ जना गरिब छन् । यो भनेको कुल जनसंख्याको ६० प्रतिशत हो ।
आठौं धेरै गरिबहरु छन्, कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा । यहाँका ६४ हजार ६४५ जनसंख्यामध्ये ४० हजार ९०४ जना गरिब छन् । यो भनेको ६३.२८ प्रतिशत हो ।
नवौं धेरै गरिब रहेको स्थानीय तह हो, कपिलवस्तुको शिवराज नगरपालिका । यहाँका ८४ हजार ८१० जनसंख्यामध्ये ३८ हजार ५८७ जना गरिब छन् । अनि दशौं स्थानमा छ, कपिलवस्तुकै कपिलवस्तु नगरपालिका । यहाँका ८८ हजार ८७१ जनसंख्यामध्ये ३६ हजार ८२४ जना गरिब छन् ।
पश्चिम सेतीको सबै बिजुली हडप्ने भारतको प्रपञ्च
अन्ततः फुट्यो कांग्रेस, देउवा कि गगन अधिकारिक ?
पेट्रोलमा १० प्रतिशत इथानोल, माइलेज के हुन्छ ?
नागढुंगा सुरुङमार्ग तयार, चिनियाँ रोक्न जापानले हाल्यो तगारो





-1767872172.jpg)