बालेन 'एक्सन'को लेखाजोखा : कति बदले काठमाडौं ?
२०७९ को स्थानीय चुनाव घोषणा हुँदासम्म बालेनको छवि एउटा र्यापरको थियो । पढाइले इन्जिनियर हुन्, तर उनको छवि भने इन्जिनियर होइन, र्यापरकै बन्यो ।
स्थानीय चुनावभन्दा अघि नै ‘गरिबको चमेली बोल्दिने कोही छैन’ बोलको र्याप गीत सार्वजनिक भएको थियो, जसले निकै भ्युज र चर्चा कमाएको थियो ।
बालेनले उम्मेदवारी घोषणा गर्दा र दर्ता गर्दासम्म पुराना राजनीतिक दल र नागरिक समाजले खासै ठूलो कुरा मानेका थिएनन् ।
काठमाडौं महानगरपालिकामा कांग्रेस–एमालेजस्ता पुराना पार्टीहरुकै बलियो पकड थियो । २०७४ सालको स्थानीय चुनावमा निर्वाचित भएका मेयरमा एमालेका विद्यासुन्दर शाक्य र उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी धेरै आलोचित थिए । २०७९को चुनावमा उम्मेदवारी घोषणालगत्तै युवा पुस्तामाझ र सामाजिक सञ्जालमा बालेनको ठूलो क्रेज बढ्यो ।
२०७९ को चुनावमा एमालेले काठमाडौंका पपुलर मेयर केशव स्थापितलाई उम्मेदवार बनाएको थियो, कांग्रेसले नेता प्रकाशमान श्रेष्ठकी श्रीमती सिर्जना सिंहलाई । तर बालेनले दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले भन्दा २३ हजार बढी भोट पाएर जिते । उनले पाएको मत थियो, ६१ हजार ७३७ ।
यो चानचुने जित मात्रै थिएन, राजनीतिक दल र नेताका कार्यशैलीप्रति नागरिक असन्तुष्टिको विस्फोट थियो । अनि, एउटा स्वतन्त्र युवामाथि काठमाडौंका जनताले देखाएको अभूतपूर्व भरोसा थियो ।
मेयरका रुपमा बालेनले सुरुमै गरेको काम थियो, फुटपाथ व्यापार हटाउने । उनले काठमाडौंको फुटपाथ खाली गराएरै छाडे । फुटपाथलाई मान्छे हिँड्ने ठाउँ हो, व्यापार गर्ने होइन भन्ने स्थापित गरे ।
बालेनले शहरभित्र रहेका कवाड संकलन केन्द्रहरु पनि हटाए । साइकलमा कवाड संकलन गर्न समेत रोक लगाए । साइकलमा तरकारी, फूलफूल भाडाकुडा बेच्दै हिँड्न पनि निषेध गरे ।
हिजो चुनाव प्रचारमा प्रयोग भएको गरिबको चमेली बोल्दिने कोही छैन’ बोलको र्याप गीत उननको आलोचनामा प्रयोग भयो ।
अन्डर ग्राउन्ड पार्किङ स्पेसलाई काठमाडौंका धेरै घरधनीले पसल चलाउन भाडामा दिएका थिए । बालेनले भवनको नक्सा हेर्दै त्यस्ता भवनमा पसल राख्न रोक लगाए । त्यसपछि सुरु भयो, डोजर परिचालन । महानगरले पास गरेको नक्साभन्दा विपरीत बनेका घर टहराहरुमा डोजर चलाए ।
टुकुचा खोलामा समेत डोजर लगाए । टुकुचालाई वर्षौैं पहिलेदेखि हात्तीसार क्षेत्रमा अन्डरग्राउण्ड गरिएको थियो र खोलामाथि भएको जग्गा व्यक्तिको नाममा थियो । त्यहाँ ठूलाठूला घर समेत बनेका छन् ।
यही हालत छ, कपन क्षेत्रमा पनि । खोलालाई सानो बनाएका कारण हरेक वर्ष सडक जलमग्न हुन्थ्यो । महानगरले अध्ययन नगरी डोजर चलायो, तर अनेक विवादका कारण त्यसलाई पूर्णता दिन सकेको छैन ।
बालेन मेयर भएपछि काठमाडौं महानगरले सार्वजनिक जग्गाको संरक्षणमा उल्लेख्य काम गरेको छ ।
बागमती, विष्णुमती, धोबिखोला लगायतका नदी किनारमा अतिक्रमणमा परेका सार्वजनिक जग्गा खाली गराइएको छ । कतिपय ठाउँमा पार्क बनेको छ । अतिक्रमित सार्वजनिक भवन खाली गराइएको छ ।
थप विवरणका लागि भिडियो हेर्नुहोला
चितवन ३ मा रेनु कि सोविता ?
दल बदलु उम्मेदवारको बोलवाला भएको एउटा क्षेत्र
चितवन २ मा रविलाई पहिलाजस्तो छैन सजिलो
सुदनको इन्ट्रीले माओवादी गढमा फेरिएको हिसाब किताब
बहालवाला प्रधानमन्त्री हारेको त्यो चुनाव





