नेभिगेशन
अर्थ

भारतबाट यसरी आउने छ पाइप लाइनबाट चितवनसम्म पेट्रोल

आजसम्म पनि नेपालको इन्धन ढुवानी ट्यांकरमै निर्भर छ । नेपालमा एउटा पेट्रोलियम पाइपलाइन त छ, तर त्यसको क्षमताले नेपाललाई पुग्दैन । 

नेपालका ट्यांकरहरु भारतीय आयल कर्पोरेसन (आईओसी) का डिपोहरुमा पुग्छन्, तेल भर्छन् र नेपाल आयल निगम (एनओसी) को तेल डिपोहरुमा ल्याएर खन्याउँछन् । 

आयल निगमका डिपोहरुले पेट्रोल पम्पको मागअनुसार फेरि ट्यांकरमा भरेर तेल पठाउँछ । भारतको मोतिहारीबाट वीरगञ्ज नाका हुँदै अमलेखगञ्जसम्म एउटा मात्रै ३७ किलोमिटरको पेट्रोलियम पाइपलाइन छ । 

यही कारण ट्यांकरमार्फत नै तेल ढुवानी गर्नु बाध्यता बनेको छ । तर, यसका कारण महँगो ढुवानी खर्च ब्यहोर्नु परिरहेको छ । 

सडकमा दुर्घटना र आगलागीको जोखिम उच्च छ । अनि ट्यांकरबाट तेल चोरी र चुहावट पनि भइरहेकै छ । ट्राफिक जाम र प्रदूषण बढाउन पनि यसले केही न केही भूमिका खेलेकै छ । 

यही समस्या कम गर्न भनेर नेपालले पहिलो पटक भारतसँग मिलेर मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बनायो ।

यो पाइपलाइन छोटो छ । नेपालको माग धान्ने गरी यसबाट अमलेखञ्जमा तेल आउँदैन । यो पाइपलाइनबाट नेपालको मध्य क्षेत्रको माग धान्न पुग्ने डिजेल मात्रै आइरहेको छ । 

तर, भारत गएर तेल भरेर आउने ट्यांकरको संख्या घटेको छ । ढुवानीको लागत कम भएको छ । तेल आपूर्ति सुरक्षित बनेको छ । अनि तेल चुहावट पनि घटेको छ । 

यस्ता लाभ देखेपछि सरकारले नेपालभित्र पेट्रोलियम पाइपलाइन विस्तार गर्नुपर्ने महसुस गर्‍यो । सरकार आफैंले यो काम गर्न सक्ने अवस्था थिएन । फेरि भारतसँग सहयोग माग्यो । 

भारत–नेपालभित्र पेट्रोलियम पाइपलाइन विस्तार गर्न तयार देखिएपछि अघि बढेको हो, अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन । भारतीय आयल कर्पोरसनले नै यो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार पार्‍यो ।

अमलेखगञ्ज पहिलादेखि नै निगमको ठूलो भण्डारण केन्द्र हो । वीरगञ्ज नाका भएर आउने तेल यहीँ भण्डारण गरेपछि अन्य डिपोहरुमा आवश्यकताअनुसार पठाउने गरिन्छ । 

मुख्य गरी काठमाडौं र पोखराको डिजेल–पेट्रोलको मागलाई यही डिपोमार्फत नै व्यवस्थापन गरिँदै आएको छ । भारतबाट पहिलो चरणमा मोतिहारीदेखि यही अमलेखगञ्ज डिपोसम्म नै पाइपलाइन बिछ्याइएको थियो । २०७६ सालदेखि यो पाइपलाइनबाट तेल आपूर्ति भइरहेको छ । 

अब कथा बदलिने चरणमा छ, अमलेखगञ्जदेखि चितवनको लोथरसम्म नयाँ पेट्रोलियम पाइपलाइन बिछ्याउने तयारी हुँदैछ । 

लोथर मकवानपुर र चितवनको सीमा क्षेत्र हो । अहिले निगमले चितवनको राप्ती नगरपालिकातर्फको भागमा नयाँ तेल डिपो बनाउन लागेको छ । 

यो डिपो बनाउन भनेर निगमले २०७४ मै यहाँ २३ बिघा १२ कठ्ठा जग्गा किनेको थियो । त्यहाँ एक लाख ७० हजार वर्गमिटर क्षेत्रफलमा भव्य डिपो बनाइनेछ । 

लोथर तेलको आपूर्तिका हिसाबले एउटा रणनीतिक स्थान हो भन्दा हुन्छ । यहाँ बन्ने डिपोबाट चितवन, पूर्वी नवलपरासी, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, काठमाडौं, भुक्तपुर, ललितपुरसहित भविष्यमा पोखरा र गण्डकी प्रदेशका लागि आवश्यक तेल आपूर्ति गराउन सजिलो हुन्छ । अब अमलेखगञ्जबाट यही लोथरसम्म पाइपलाइन बन्ने छ । यसपछि लोथर मध्य नेपालका लागि एउटा ठूलो इन्धन हब बन्नेछ । 

विशेषगरी काठमाडौंका लागि तेल आपूर्ति गर्दा अहिले लाग्ने समय घट्छ । त्यसको लागत पनि घट्छ । साथै तराई–मधेशमा कुनै कारणले तनाव उत्पन्न भएपनि पहाडी क्षेत्रमा तेल आपूर्ति रोकिँदैन । मधेशमा हड्ताल, जाम, दुर्घटना कारण तेल आपूर्ति प्रभावित हुन पाउँदैन । 

ट्यांकर गुडाउन नपर्दा निगमको लागत घट्यो भने उपभोक्तालाई फाइदा नै हुन्छ । दीर्घकालमा इन्धन मूल्य समेत थोरै मात्रामा भएपनि स्थिर राख्न सघाउँछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ