नेभिगेशन
अर्थ

सुनको भाउ एक वर्षमै किन भयो दोब्बर ? अहिले किन्ने कि बेच्ने ?

२०८२ माघ १५ गते, एक तोला सुनको मूल्य छ, ३ लाख ३९ हजार ३०० रुपैयाँ । यो एकै दिन २० हजार रुपैयाँले बढ्यो सुन । 

१ वर्षअघि २०८१ माघ १५ गते १ लाख ५९ हजार २०० रुपैयाँ थियो । एक वर्षमै सुनको मूल्य तोलामा १ लाख ८० हजार १०० रुपैयाँले बढ्यो । यसको मतलब हो, एक वर्षमा सुनको भाउ ११३ प्रतिशतले बढिसक्यो । 

नेपालमा सुनखानी छैन, सबै सुन विदेशबाट किनेर ल्याउने हो । त्यसैले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपालमा पनि बढिहाल्छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्नुका विभिन्न कारणहरु छन्, पहिलो हो युद्ध र भूराजनीतिक तनाव । अहिले रुस–युक्रेन युद्ध रोकिएको छैन ।

इजरायल–हमास द्वन्द्व रोकिए पनि त्यसको बाछिटाहरु अझै विश्व अर्थतन्त्रबाट हटेको छैन ।

पछिल्ला दिनमा इरान र अमेरिकाबीच तनाव बढेको छ । ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपेली देशको सम्बन्ध चिसिएको छ । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेर न्युयोर्क पुर्‍याएपछि अमेरिकी सरकारमाथि विश्व समुदाय सशंकित छ । 

अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्पले जथाभावी भन्सार शुल्क बढाएर सुरु गरेको ‘ट्रेड वार’ रोकिने छाँटकाँट छैन । तेल भण्डार रहेको मध्यपूर्वमा अस्थिरता कायम छ । यी सबैखालका घटनाले विश्व अर्थतन्त्रलाई अस्थिर बनाइरहेका छन् ।

ठूला सेयर मार्केटहरुमा पहिरो गइरहेको छ, त्यसैले लगानीकर्ताहरु शेयर बजारमा लगानी गर्न डराएका छन् । समग्रमा विश्वव्यापी रुपमै लगानीकर्ताको मनोबल खस्किएको छ ।

अमेरिकी डलरको ‘सुप्रिमेसी’ तोड्न विभिन्न देशले कदम चालेका छन् । यसले गर्दा युरोप र अमेरिकामै महंगी बढिरहेको छ । महंगी बढेपछि बजारमा माग र उपभोग घट्छ, जसले उत्पादन समेत घटाउनुपर्ने अवस्था आउँछ । यस्ता कारण ठूलादेखि साना सबै लगानीकर्ता डराएका छन् । 

त्यसैको नतिजा हो, सुनचाँदी क्षेत्रमा बढ्दो लगानी । लगानीकर्ताले आफ्नो लगानी सुरक्षित राख्न पनि यतिबेला ‘फाइट टू सेफ्टी’मा ध्यान दिइरहेका छन् । संसार असुरक्षित भएका बेला, लगानीकर्ताले सुनमा लगानी नै सबैभन्दा सुरक्षित देख्छन् । 

किनभने सुनमा गरिने लगानी जोखिमको वितरण पनि हो । लगानीकर्ताहरुले अरु क्षेत्रमा हुने जोखिम कम गर्न सुनमा लगानी गरेका हुन्छन् । सुन हेजिङ, सेल्फ इन्स्योरेन्स, लङ टर्म इन्भेष्टमेन्टको साधन पनि हो । त्यसैले यसको मूल्य एकै पटक ठूलो मात्रामा घट्दैन । 

सुनको लगानीलाई मान्छेहरुले दीर्घकालीन बनाएका हुन्छन् । जोखिम कम हुनु नै सुनको विशेषता हो । उनीहरु समय–समयमा सुन किनेर राख्छन् र मूल्य घटिहाले पनि ठूलो घाटा नहुने ग्यारेन्टी गर्छन् । अहिले विश्वव्यापी रुपमा यही ट्रेन्ड छ । 

सुनमा धेरै लगानी हुन थालेपछि त्यसको माग बढ्छ । तर, सुन माग अनुसार बजारमा उपलब्ध छैन । किनकी विश्वमा सुनका खानीहरु सीमित छन् । सुनको उत्पादन एकाएक बढाउन सकिंदैन । 

यही कारण सुनको मागसँगै मूल्य पनि बढ्दै गएको छ । सन् २०२५ मा सुनको कुल माग ५ हजार २ मेट्रिक टन पुग्यो । यो सन् २०२४ को तुलनामा ८४ प्रतिशतले बढी हो ।  यी कारण सुनको मूल्यले लगातार रेकर्ड ब्रेक गरिरहेको छ । 

थप विवरण भिडियोमा हेर्नुहोस् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ