नेभिगेशन
एक्सप्लेनर भिडियो
०६४ सालको चुनाव

झापामा ओलीले ब्यहोरेको पहिलो हार

पछिल्ला चुनावहरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्लान् कि नजित्लान् भन्ने प्रश्न हुदैनथ्यो, कति मतान्तरले जित्छन् भन्ने मात्र चासो हुन्थ्यो । 

तर यसपटक उनीसँग काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह चुनाव लड्न गएपछि भने ओलीले जित्छन् र भन्नेहरु पनि छन् । 

ओलीलाई चुनावी ब्याटलमा असफलता भन्दा सफलता नै बढी हात लागेको छ । तर ओलीले यसअघि ०६४ सालमा पनि चुनाव हारेका थिए । 

००० 

२०६४ सालको चुनाव संविधान लेख्ने प्रतिनिधि चयनका लागि थियो । राजाको सक्रिय शासनविरुद्ध आन्दोलनरत ७ राजनीतिक दल र बिद्रोही माओवादीबीच संविधानसभा गठन गरेर संविधान बनाउने समझदारी थियो । त्यही समझदारी अनुसार पहिलो संविधानसभा चुनाव २०६४ साल चैत २८ गते तोकियो । 

२०६३ सालमा बनेको अन्तरिम संविधानले पहिलो पटक मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको थियो । जस अनुसार ६०१ सदस्यीय संविधानसभामा प्रत्यक्ष चुनाव क्षेत्रबाट २४० जना र समानुपातिक पद्धतिबाट ३३५ जना र विशिष्ट व्यक्तिहरु २६ जना चयन हुने व्यवस्था गरियो । 

मुलुक चुनावमा होमियो । तर सशस्त्र बिद्रोह गर्दाका हतियार माओवादीसँगै थियो । उसँग आफ्नै सेना थियो । सेना र हतियारलाई अस्थायी शिविर बनाएर थन्क्याइएको थियो, माओवादी लडाकु त्यही शिविरभित्र बसेका थिए । 

माओवादीसँग डरत्रास र आश दुबै थियो । २०४८ सालदेखि सत्तामा रहेका कांग्रेस एमालेसँग आम मतदाता धेरै खुशी थिएनन् । पटक पटक संसद विघटन, सत्ताका लागि जो सँग पनि मिल्ने, पार्टी नै फुटाउने प्रवृत्ति, भ्रष्टाचार र अनियमितताका अनेक काण्डका कारण कांग्रेस र एमालेप्रति असन्तुष्टि थियो ।

१० वर्ष सशस्त्र संघर्ष गरेर आएको माओवादी नयाँ शक्ति भएकाले यसले पो केही गर्छ कि भन्ने आश थियो । 

अर्कोतर्फ माओवादी हतियारसहितको शक्ति भएकाले डर थियो । माओवादीका नेता कार्यकर्तामा हतियारको दम्भ थियो । विरोधीहरुलाई कुटपिट र आक्रमण गरिहाल्थे । चुनावी भाषणहरुमै आफूसँग सेना र हतियार रहेको धम्की दिन्थे । 

त्यसैले २०६४ सालको चुनाव हतियारसहितको माओवादी र हतियार बिनाका अरु राजनीतिक दलहरुको प्रतिस्पर्धा थियो । 

००० 

त्यतिबेला एमालेको नेतृत्व महासचिव माधवकुमार नेपालले गरेका थिए । ओली विपक्षी खेमाको प्रभावशाली नेता थिए । 

ओलीले २०४८ सालमा पहिलो पटक सांसद बन्दा झापा ६ बाट चुनाव जितेका थिए । ०५१ को मध्यावधिमा पनि त्यहीँबाट चुनाव जिते । ०५६ मा क्षेत्र नम्बर २ र ६ बाट चुनाव लडे । दुबै क्षेत्रबाट जिते । 

संविधानसभाको निर्वाचन क्षेत्र निर्धारण गर्दा ओलीले चुनाव लड्दै आएको क्षेत्र झापा–७ मा पर्‍यो । 

पत्नी राधिका शाक्यले ओलीलाई २०६४ सालको संविधानसभा चुनाव नलड्न सल्लाह दिएकी थिइन् । किनकी ओलीले भर्खरै मृगौला प्रत्यारोपण गरेका थिए । उनको स्वास्थ्य अवस्था धेरै दौडधुप गर्न सक्ने थिएन । त्यसैले चुनाव नलडेर आराम गरे हुन्थ्यो भनेकी थिइन् ।

ओली पत्नी राधिकाले आफ्नो पुस्तक करुणामा लेखेकी छन्, ‘प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा नगर्ने, अरु सहज विकल्प पनि हुन सक्थे तर त्यसका लागि उहाँ तयार हुनुभएन । प्रत्यक्ष निर्वाचनको मैदानमा होमिनुभयो ।’ 

राधिकाले सायद समानुपातिक प्रणालीको कुरा गरेकी थिइन्, तर ओली तयार भएनन् । झापाका एमाले नेताहरुले पनि २०६४ सालको चुनाव जित्न कठिन हुने देखेका थिए । किनकी त्यतिबेला पार्टी कमिटीहरु सक्रिय थिएनन् । 

माओवादीले एमाले नेता कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराइरहेको थियो । कतिपय गाउँका कमिटीलाई नै माओवादीले पार्टी प्रवेश गराएको थियो । माओवादीमा नगएकाहरु पनि डरले निष्क्रिय बसेका थिए । 

जिल्लाका नेताहरुले ओलीलाई चुनाव जित्न सहज नभएको सुनाएका थिए । ओलीले ठीक छ, परिस्थिति हेरेर कदम चाल्नुपर्छ भन्थे । 

तर ओलीले झापा ७ मा उम्मेदवारी दिने निर्णय लिए । कांग्रेसले महेन्द्रकुमारी सुब्बालाई उम्मेदवार बनायो । 

नेकपा माओवादीले विश्वदीप लिङ्देनलाई उम्मेदवार बनायो । लिङ्देन, भर्खर भूमिगत जीवनबाट खुला राजनीतिमा आएका जम्मा ३२ वर्षका युवा थिए । माओवादीको झापा जिल्ला सचिवालय सदस्य थिए ।

ओलीले कांग्रेसलाई नै प्रतिस्पर्धी मानेका थिए । जब चुनाव प्रचार सुरु भयो, माओवादी कार्यकर्ताले ठाउँठाउँमा अवरोध गर्न थाले । कतिपय ठाउँमा त माओवादी र एमाले कार्यकर्ताबीच झडप पनि भयो । 

त्यसबेला ओली सहज रुपमा भेटघाट गर्न पनि सक्दैनथे । एमाले नेताहरुका अनुसार भर्खर मिर्गौला प्रत्यारोपण गरेका कारण संक्रमण नहोस् भनेर चिकित्सकहरुले भीडभाडमा नजान, डिस्टेन्स मेन्टेन गर्न भनेका थिए ।

२०६४ चैत २८ गते देशभर मतदान भयो । मतपत्र संकलन गरेपछि सुरु भएको मतगणनामा सुरुदेखि नै माओवादी उम्मेदवार विश्वदीप लिङ्देनले लिड गरे ।

एमालेले तोपगाछी, धरमपुर र दमकको भोट गन्न थालेपछि ओलीले लिड गर्ने अपेक्षा गरेको थियो । तर तोपगाछी र धरमपुरबाट धेरै भोट नै आएन । 

दमक क्षेत्रबाट पनि ओलीले लिड गर्ने गरी भोट आएन । ओलीले लिङ्देनको अग्रता घटाउँदै एक पटक १४ मा झारेका थिए, तर लिङ्देनले फेरि मतान्तर बढाउँदै लगे । त्यसैले मत गणना नसकिँदै ओली झापाबाट काठमाडौं आइसकेका थिए । आफ्नै पार्टीबाट धोका भएको निष्कर्षका साथ ओली काठमाडौं आए । 

एमाले झापामा ०४८ देखि नै माइखोलाको वारी र पारी अलग अलग गुट थियो । माइ वारी उनको बलियो प्रभाव क्षेत्र मानिथ्यो भने पारी सीपी मैनाली, आरके मैनालीहरुको । ०६४ को चुनाव हुँदा सीपी र आरकेहरु एमालेमा त थिएनन्, तर ओली पक्ष र इतरको नाममा गुटबन्दी थियो । त्यसको प्रभाव चुनावमा प्रष्ट देखियो ।

एमालेका एक नेताका अनुसार अर्को समूहमा भएकाहरुले अरु पार्टीलाई भोट त हालेनन्, तर ओलीलाई पनि दिएनन् । मतगणनाको क्रममा मतपत्रको पछाडिपट्टी स्वस्तिक छाप हानेको थुप्रै मतपत्र भेटिएको थियो । 

त्यसैले चुनावको रिजल्ट नआइसक्दै ओली ‘आफ्नै मान्छेले धोका दिए’ भन्दै तत्कालीन महासचिव माधव नेपालकहाँ पुगेका थिए । 

नभन्दै ११ सय मतान्तरले ओलीले त्यो चुनाव हार्न पुगे । झापा–७ बाट संविधानसभा सदस्यमा माओवादी उम्मेदवार विश्वदीप लिङ्देन १६ हजार ९९ मत ल्याएर निर्वाचित भए । एमाले नेता केपी शर्मा ओलीले १४ हजार ९५९ मत ल्याउँदा कांग्रेसकी महेन्द्रकुमारी सुब्बाले ११ हजार ६०५ मत ल्याएर तेस्रो भइन् । 

त्यो चुनावमा माओवादीका उम्मेदवारहरुले ओली मात्र होइन, कांग्रेस एमालेका थुप्रै प्रभावशाली नेताहरुलाई हराएका थिए । एमाले महासचिव माधवकुमार नेपाल रौतहट र काठमाडौं दुबै ठाउँबाट पराजित भएका थिए । कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला झापा–३ बाट पराजित भए । 

माओवादीले प्रत्यक्षतर्फका २४० सिटमध्ये १२० वटामा जित्यो । कांग्रेसले ३७ र एमालेले ३३ सिटमा मात्र चुनाव जित्यो । समानुपातिकतर्फ माओवादीले १००, कांग्रेसले ७३ र एमालेले ७० सिट पाएको थियो ।

२०६४ सालमा ओलीलाई चुनाव हराउने विश्वदीप लिङ्देन हिजोआज झापामा नै छन् । उनी राजनीतिमा जिल्लास्तर भन्दा माथि उठ्न सकेका छैनन् । अहिले त उनी माओवादीमा पनि छैनन् । 

२०७४ को आम चुनाव अगाडि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । २०७८ सालमा भएको झापा जिल्ला अधिवेशनमा उनले कांग्रेसको झापा जिल्ला सचिवमा प्रतिस्पर्धा गरेका थिए । तर पराजित भए । 

अहिले उनी कांग्रेसको भ्रातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको उपाध्यक्ष छन् । 

ओलीले हारेको त्यही एउटा चुनाव हो । त्यसपछि २०७० को दोस्रो संविधानसभा चुनावमा ओली त्यही क्षेत्रबाट निर्वाचित भए । 

२०७२ सालमा नयाँ संविधान जारी भएपछि निर्वाचन क्षेत्र घटेर १६५ कायम भयो, ओलीको चुनाव क्षेत्र झापा–५ बन्यो । २०७४ को चुनावमा त ओली देशभरमै सबभन्दा धेरै मतका साथ निर्वाचित हुने सांसदको रेकर्ड नै बनाए ।

त्यो चुनावमा एमाले र माओवादीको बाम गठबन्धन नै भयो । झापा–५ मा त ओलीले राप्रपाको पनि साथ लिए । त्यसैले ओलीले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले भन्दा दोब्बर मत पाए । ओलीले ५७ हजार १३९ मत ल्याएर निर्वाचित भए भने अधिकारीले २८ हजार २९७ मत पाए । 

२०७९ सालको चुनावमा चाहिँ कांग्रेस र माओवादी मिलेर चुनाव लडे । झापा–५ मा ओलीलाई राप्रपाले साथ दियो । यो चुनावमा ओलीले ५२ हजार ३१९ मत ल्याएर जिते भने कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए । 

यसपालिको चुनावमा चाहिँ ओलीका लागि बालेनसँगको प्रतिस्पर्धा कस्तो हुन्छ त ? त्यसका लागि फागुन २१ नै पर्खिनुपर्ला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो