प्रचण्डलाई रुकुम पूर्वमा पनि चुनाव हार्ने डर !
चुनाव लड्न सुरक्षित क्षेत्र खोज्दै प्रचण्ड यो पटक सशस्त्र यु्द्धको उद्गमथलो रुकुम पूर्व पुगे ।
पहिलो पटक २०६४ मा रोल्पा र काठमाडौं दुई स्थानबाट चुनाव जितेका प्रचण्ड त्यसपछि सिराहा, चितवन हुँदै गोरखा पुगे । त्यहाँ पनि सुरक्षित नदेखेपछि यो पटक रुकुम पूर्वबाट उम्मेदवारी दिए ।
तर प्रचण्डको कुरा सुन्दा त, रुकुम पूर्वमा उनलाई हारिन्छ भन्ने डर रहेछ । किनभने उनले मलाइ हराउन किन हतार भयो भनेर ओलीसँग गुनासो नै गरे ।
रुकुम पूर्वमा २०६४ यताका कुनै पनि चुनाव माओवादीले हारेको छैन । तर प्रचण्ड किन डराइरहेका छन्, उनी कोसँग डराएका छन्, अनि कसलाई भन्दैछन् आफूविरुद्ध खडा गरेको पात्र ?
०००००
मलाई हराउन किन हतार गरेको भनेर प्रचण्डले ओलीसँग गुनासो गर्नुको कारण हो, माघ ११ गतेको यो सहमति ।
नेकपा एमालेले बाबुराम भट्टराई र जनार्दन शर्माहरुको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीसँग ३ बुँदे सहमति गरेको थियो । यो सहमति अनुसार एमालेले रुकुम पश्चिम र रुकुम पूर्वमा प्रलोपाका उम्मेदवारलाई समर्थन गर्ने छ ।
त्यसको बदलामा प्रलोपाले दाङसहित लुम्बिनीका अधिकांश र कर्णालीका केही जिल्लामा एमालेलाई समर्थन गर्ने छ ।
यद्यपि यो सहमति धेरै दिन टिकेन । एमालेले रुकुम पूर्वमा आफ्नो उम्मेदवारी कायमै राखेको छ ।
रुकुम पूर्वमा यसपटक प्रचण्डसहित ११ जना उम्मेदवार छन् । नेपाली कांग्रेसबाट पूर्वसांसद कुसुमदेवी थापा, एमालेबाट लीलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा उम्मेदवार छन् । यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीबाट जुद्धबहादुर बुढामगर पनि उम्मेदवार बनेका छन् ।
तर प्रचण्डले प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनलाई आफूविरुद्ध खडा गरिएको पात्र भनेर आरोपित गरेका छन् ।
को हुन् सन्दीप पुन ?
सन्दीप पुन पूर्वमाओवादी कार्यकर्ता हुन् । माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्षसम्म भए । जम्मा २८ वर्षका युवक । उनले जम्मा ३ वर्षको उमेरमै बाबु र आमा दुबै गुमाए ।
सन्दीपका आमा परम्परा गौतमको २०५९ जेठ १४ गते र बाबु सूर्यप्रकाशको जेठ २३ गते बझाङमा सैन्य कारबाहीमा मृत्यु भएको थियो ।
त्यसपछि उनी आफन्तहरुको आश्रयमा हुर्किए । कहिले भारत, कहिले नेपालगञ्ज त कहिले दाङमा आफन्तहरुको आश्रयमा बसे । काठमाडौंमा होस्टलमा बसेर बी टेकसम्मको अध्ययन पूरा गरे ।
अध्ययनकै सिलसिलामा अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरे । सशस्त्र द्वन्द्वकालमा ज्यान गुमाएका र वेपत्ता भएकाहरुको सन्न्तानलाई संगठित गरेर आफ्नै नेतृत्वमा शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन खोले । यहाँसम्म आइपुग्दा उनी प्रचण्ड नेतृत्वको पार्टीमा नै आवद्ध थिए ।
गत कात्तिक १८ मा सन्दीपले बाटो मोडे । माओवादी र एकीकृत समाजवादी सहितका विभिन्न कम्युनिस्ट घटकबीच एकता हुँदा माओवादी नेता जनार्दन शर्मा भने अलग भए । माओवादीबाट २०७२ सालमै अलग्गिएका डा. बाबुराम भट्टराई र जनार्दन शर्मा एक ठाउँमा आए, प्रगतिशील लोकतान्त्रिक पार्टी बनाए ।
सन्दीप पनि प्रगतिशील लोकतान्त्रिक पार्टीमा जोडिए । अनि, प्रलोपाले उनलाई रुकुम पूर्वको टिकट दिएको छ ।
०००
२०७२ साल अगाडिसम्म रुकुम पूर्व र रुकुम पश्चिम एउटै जिल्ला थियो । अनि, त्यो जिल्लाबाट माओवादीको पदाधिकारी थिए जनार्दन शर्मा ।
प्रदेशहरु बनाउने क्रममा रुकुम दुई जिल्लामा विभाजित भयो । रुकुम पूर्व लुम्बिनीमा पर्यो भने रुकुम पश्चिम कर्णालीमा । त्यसपछि पनि उनको प्रभाव उस्तै रह्यो ।
हालै मात्र पुनर्गठन भएकाले प्रलोपाले गाउँ तहसम्म संगठन बनाउन सकेको छैन । तर जर्नादनको प्रभाव छ ।
उनी आफैं रुकुम पश्चिममा उम्मेदवार छन् भने पूर्वमा प्रचण्डसँग चुनाव लड्न सन्दीपलाई अगाडि सारेका छन् ।
प्रलोपाबाट उम्मेदवार बनेपछि सन्दीपसँग माओवादी नेताहरु रिसाएका छन् । हिजो शहीद परिवारको सदस्य भनेर सहानुभूति देखाउनेहरुले अहिले शहीदको ब्याज खान आयो भनेर पनि आरोपित गरेका छन् ।
सन्दीपलाई नेपाली कम्युनिस्ट पार्टीका नेताहरुको प्रश्न छ, प्रचण्ड नै रुकुम पूर्व आएका बेला तिमी किन उठेको ?
रुकुम पूर्वका पूर्वसांसद पूर्णबहादुर घर्तीका अनुसार सन्दीप र उनी एउटै गाउँका हुन् । ‘सम्भावना भएको मान्छे हो, भोलि पार्टीबाटै अवसर आउन सक्थ्यो, शहीद परिवारमा ऊ जस्तो जुझारु मान्छे धेरै छैनन्, पार्टीले प्रमोट गर्न सक्थ्यो’ घर्तीले नेपाल शो सँग भनेका छन् ।
सन्दीपले उम्मेदवारी दिएपछि उनले सम्झाउने प्रयास गरेका थिए, तर उम्मेदवारी फिर्ता लिन मानेनन् ।
सन्दीपको तर्क छ, प्रचण्ड बाहिरको मान्छे हुन्, उनले समस्या बुझ्न सक्दैनन् । रुकुम पूर्वकै नागरिकसँग रहने आफूले समस्या बुझ्नसक्ने उनी बताउँछन् । प्रचण्ड नेतृत्वको पार्टीसँग उनको गुनासो पनि छ, यसले शहीदको सपना पूरा गर्न सकेन, त्यसैले पनि उनले उम्मेदवार बन्ने निर्णय गरेका हुन् ।
०००
आफ्नै कार्यकर्ता सन्दीप उम्मेदवार बन्दा माओवादीको गढ मानिएको क्षेत्रमा प्रचण्ड किन डराउनु पर्यो त ?
यसका लागि २०७९ को नजिता हेर्नुपर्छ ।
२०७९ सालको चुनावमा तत्कालीन माओवादीबाट पूर्णबहादुर घर्ती १२ हजार २६२ मतका साथ निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाशकुमार मल्लले ५ हजार २११ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमाओवादी नेता चक्रबहादुर झाक्रीले ८९६ मत ल्याएका थिए ।
तर पूर्णबहादुरले पाएको सबै मत माओवादीको होइन । त्यो चुनावमा माओवादी र कांग्रेसले गठबन्धन गरेका थिए ।
त्यसैले समानुपातिक मत हेर्नुपर्छ । समानुपातिकतर्फ माओवादीले ८ हजार २७१ मत मात्र पाएको छ ।
कांग्रेसले ५ हजार ६९२ मत पाएको थियो । एमालेले ३ हजार ६५९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४६६ मत ल्याएको थियो । यसरी हेर्दा माओवादी त्यहाँ बलियो हो, तर कांग्रेस र एमाले प्रतिपर्धी दल पनि हुन् ।
००००
रुकुम पूर्वमा २०७९ सालमा भन्दा करिब १२ सय मतदाता थपिएका छन् । यो चुनावमा ३४ हजार ७७२ मतदाता छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता घर्तीका अनुसार २०७९ सालमा भन्दा अहिले पार्टी सुदृढ भएको छ ।
२०७९ सालमा एमालेबाट प्रतिस्पर्धा गरेका कैलाशकुमार मल्ल अहिले नेकपा प्रवेश गरेका छन् । एमालेकै पूर्व जिल्ला अध्यक्ष टोपबहादुर ओली पनि नेकपा प्रवेश गरेका छन् । अनि २०७९ सालको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका चक्रबहादुर झाँक्री पनि नेकपामै फर्केका छन् ।
त्यसैले नेकपालाई रुकुम पूर्वमा प्रचण्डले चुनाव जित्नेमा शंका छैन । तर पार्टी संयोजक नै उम्मेदवार बनेर आएका बेला धेरै मतान्तरले जिताउन पाए हुन्थ्यो भन्ने नेताहरुलाई लागेको पूर्व सांसद घर्ती बताउँछन् ।
प्रतिस्पर्धी उम्मेदवारहरु भने यो मान्न तयार छैनन् । कांग्रेसले यो पटक कुसुमदेवी थापालाई उम्मेदवार बनाएको छ ।
कुसुमदेवीका अनुसार त्यहाँ ८० प्रतिशत मगर समुदायको बसोबास छ । प्रचण्डले मगर समुदायलाई राजनीतिक रुपमा प्रयोग गरेपनि उनीहरुको अपेक्षा पूरा नगरेका कारण यो पटक आफूले मत पाउने उनको बुझाइ छ । प्रचण्डले रुकुम पूर्वको समस्या बुझेका छैनन् । आफू त्यहीँ हुर्केको र संसदमा रुकुम पूर्वको समस्या पटक पटक उठाएकाले पनि आफूले नै मत पाउने उनको दाबी छ ।
रुकुम पूर्वमा एमालेले लीलामणि गौतमलाई उम्मेदवार बनाएको छ । गत मंसिरको महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गौतम ३८ वर्षका युवा हुन् । माघ ११ गते नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच तालमेलको सहमति हुँदा गौतमले समेत थाहा पाएका थिएनन् ।
सहमतिबारे थाहा पाउनेवित्तिकै चुनावी अभियान छाडेर काठमाडौं हान्निए । अध्यक्ष केपी शर्मा ओलीलाई भेटे ।
एमालेले विगतमा ल्याएको मत र अहिले पार्टीको अवस्थाबारे जानकारी गराएर रुकुम पूर्वमा आफ्नो उम्मेदवारी कायम हुनुपर्ने अडान सुनाए ।
‘जसलाई सहमति दिएका छौं, उसको राजनीतिक पोजिसन र सांगठनिक पोजिसन बलियो नभएकाले सहयोग गर्न सकिँदैन भन्ने कुरा राखेँ’, गौतमले नेपाल शोसँग भने ।
जवाफमा ओलीले जानुस्, तपाईंचुनाव लड्नुस् भनेर पठाए । उनी पनि जित्ने लक्ष्यका साथ चुनाव प्रचारमा होमिएका छन् ।
यसका बाबजुद धेरैले स्वीकारेको कुरा हो, प्रचण्ड रुकुम पूर्वमा सुरक्षित छन् । नतिजाका लागि त फागुन २१ नै कुर्नुपर्ला ।
झापामा ओलीले ब्यहोरेको पहिलो हार
चितवन ३ मा रेनु कि सोविता ?
दल बदलु उम्मेदवारको बोलवाला भएको एउटा क्षेत्र
चितवन २ मा रविलाई पहिलाजस्तो छैन सजिलो


-1770390804.jpeg)


