ज्ञानेन्द्र शाहीलाई कठिन छ नरेश भण्डारीसँगको प्रतिस्पर्धा
२०७९ सालको चुनावमा कर्णालीबाट अप्रत्यासित नजिता आयो, जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित ।
अघिल्लो चुनावमा २ हजार भन्दा कम मत पाएको राप्रपाको उम्मेदवारले कांग्रेस–माओवादीको गठबन्धनका उम्मेदवारलाई, त्यो पनि झण्डै १० हजार मतले पराजित गरेका थिए ।
त्यसको ३ वर्षपछि फेरि चुनाव हुँदैछ । जुम्लाको चुनावी इतिहास हेर्ने हो भने कुनै पनि उम्मेदवारले दोहोर्याएर चुनाव जितेका छैनन् ।
२०४८ यता नेपाल मजदुर किसान पार्टी, कांग्रेस, एमाले, माओवादी र राप्रपा सबैले चुनाव जितिसके ।
यसपटक कांग्रेसले दीपबहादुर शाही, एमालेले शान्तिलाल महत, नेपाली कम्युनिस्ट पार्टीले नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीले विनिता कठायतलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट ज्ञानेन्द्र शाही नै दोहोरिएका छन् ।
कुल १० जना उम्मेदवार छन्, तर मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी र राप्रपाका ज्ञानेन्द्र शाहीबीच हुने देखिएको छ ।
००००
यहाँ एउटा मात्र चुनाव क्षेत्र छ, यस वर्ष ७१ हजार ७३९ मतदाता छन् ।
२०४८ सालदेखि हरेक पटक नयाँ उम्मेदवारले चुनाव जितिरहेका छन् । २०४८ सालमा नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत सांसद बने । २०५१ सालको मध्यावधि चुनावमा कांग्रेसका भक्तबहादुर रोकायले जिते ।
२०५६ सालको चुनावमा एमालेका देवीलाल थापाले जिते भने २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी चुनिए ।
२०७० मा कांग्रेसका ललितजंग शाही निर्वाचित भए भने २०७४ मा माओवादीका गजेन्द्र महत निर्वाचित भए ।
२०७९ सालमा भने राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भए ।
यहाँ अरु उम्मेदवारको जित भन्दा २०७९ मा ज्ञानेन्द्र शाहीको जित अलि अप्रत्याशित थियो । किनकी यहाँ राप्रपाको संगठन बलियो छैन । सांगठनिक रुपमा कांग्रेस, एमाले र माओवादी नै बलियो हो ।
तर भ्रष्टाचार विरोधी अभियानबाट सामाजिक सञ्जालमा चर्चा कमाएका ज्ञानेन्द्रmले २०७९ मा कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा पनि चुनाव जिते ।
शाहीले २२ हजार ८१९ मत ल्याएर चुनाव जिते । गठबन्धनबाट चुनाव लडेकी माओवादीकी गोमा गौतम कुँवरले जम्मा ११ हजार ९५९ मत मात्र ल्याइन् ।
यसपटक दलहरु एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।
राप्रपा उम्मेदवार शाहीले ‘मैले जितिन भने जुम्ला र कर्णालीको आवाज रोकिनेछ’ भन्दै भोट मागिरहेका छन् ।
जबकी २०७९ सालको चुनावमा दलहरुले प्रत्यक्ष र समानुपातिकतर्फ पाएको मत हेर्दा ज्ञानेन्द्र शाहीले सबै दलका समर्थकको मत तानेको देखिन्छ ।
उनले २२ हजार ८१९ मत पाएर जिते पनि राप्रपाले समानुपातिकमा जम्मा ५ हजार ७९६ मत पाएको थियो ।
समानुपातिकतर्फ एमालेले १० हजार ५४८ मत पाएपनि प्रत्यक्षमा उसका उम्मेदवार एमालेका रतननाथ योेगीले जम्मा ६ हजार ५२८ मत पाएका थिए ।
कांग्रेसले प्रत्यक्षमा माओवादीलाई सघाएको थियो भने समानुपातिकमा १० हजार ४७६ मत पायो । माओवादी केन्द्रले समानुपातिकमा ८ हजार ९६० र एकीकृत समाजवादीले २ हजार ६४८ मत ल्याएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ८९९ मत पाएको थियो ।
यसबाट देखिन्छ, कि अघिल्लो पटक गठबन्धनमा कांग्रेसको भोट ट्रान्सफर भएन । गठबन्धन गरेपनि त्यसको लाभ ज्ञानेन्द्र शाहीले पाएको देखिन्छ । त्यसरी हेर्ने हो भने यमे पटक राप्रपा उम्मेदवारलाई चुनाव सहज नहुनसक्छ ।
उनी भने यो पटक पनि मतदाताले उनलाई नै जिताउने दाबी गर्छन् । उनको भनाइ छ, ‘अघिल्लो पटक गठबन्धन गर्दा त मैले चुनाव जितेँ, यसपटक त मैले गरेको काम समेत जनताले देखेका छन्, मलाई झन् मलाई हुन्छ ।’
यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वमाओवादी नेता नरेश भण्डारी उम्मेदवार छन् । भण्डारीले २०६४ सालमा पनि संविधानसभा सदस्यको चुनाव जितेका थिए ।
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नमा उनको भूमिका महत्वपूर्ण छ । उनैले नै कर्णालीमा सरकारी मेडिकल कलेज खोल्र्नुपर्छ भनेर गैरसरकारी विधेयकका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक बनाएका थिए ।
संसदमा सरकारले नियमित विधेयक ल्याउँछ । तर सांसदहरुले व्यक्तिगत रुपमा ल्याउने विधेयकलाई गैरसरकारी विधेयक भनिन्छ । जुन सामान्यत पास हुन्न । तर भण्डारीले ल्याएको विधेयकलाई सरकारले अपनत्व लियो र संसदबाट पारित भयो । त्यही कानुन अनुसार २०९६८ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयो ।
पहिले दुर्गम भनेर डाक्टर जान नमान्ने कर्णालीले अहिले आफैंले डाक्टर उत्पादन गरिरहेको छ । जटिल रोगको उपचार पनि अहिले कर्णालीमै हुन थालेको छ ।
यसको जस धेरैले नरेश भण्डारीलाई नै दिन्छन् । यसरी हेर्ने हो भने जुम्लामा भण्डारीको निकै बलियो प्रभाव छ ।
२०७९ सालको चुनावमा माओवादीबाट नरेश भण्डारी टिकटको आकांक्षी पनि थिए । तर तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले मनऋषि धिताललाई टिकट दिएर पठाए । तर कर्णाली प्रदेश समितिले मनऋषि धिताललाई स्वीकारेन ।
उनको टिकट खोसियो र, गोमा गौतम कुँवर उम्मेदवार बनिन् । यही कारण २०७९ को चुनावमा माओवादी नै एक ढिक्का भएन ।
कांग्रेसभित्र पनि गठबन्धनको टिकट माओवादीलाई दिएकामा असन्तुष्टि थियो । प्रदेशसभा चुनावमा जुम्ला (क) बाट कांग्रेसका ललितजंग शाहीले टिकट पाए । तर कांग्रेसकै नेता देवेन्द्रबहादुर शाहीले बागी उम्मेदवारी दिएर चुनाव जिते ।
प्रतिनिधिसभामा ज्ञानेन्द्र शाहीले चुनाव जित्नुमा कांग्रेस र माओवादीभित्रको असन्तुष्टि नै मुख्य कारण रहेको जुम्लाका नेताहरु बताउँछन् ।
यो पटक नरेश भण्डारीलाई टिकट दिएकाले जुम्लामा चुनाव जितिने नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बताउँछन् । भण्डारी पनि आफूले विगतमा गरेको काम र माओवादीको संगठनको बलमा चुनाव जित्ने दाबी गर्छन् ।
अघिल्लो पटक ज्ञानेन्द्र शाहीले चुनाव जिते पनि जुम्ली जनता उनीसँग खुशी नरहेका भण्डारीको दाबी छ । भण्डारीको भनाइ छ, ‘जुम्लामा भिजनरी पोलिटिक्स स्थापित भएको छ, त्यसैले मतदाताले मलाई नै खोजेका छन् ।’
उनले आफू जितेर गएपछि संसदमा जुम्लाका लागि कानुनी लडाइँ नै लड्ने बताएका छन् । ठूला नेताको क्षेत्रमा मात्र बजेट लैजाने प्रचलन हटाउन नीतिगत हस्तक्षेप नै गर्नुपर्ने उनको मत छ । अब जनसंख्या, भूगोल, मानव विकास सूचकांक र पूर्वाधार विकासको अवस्था हेरेर बजेट छुट्याउने कानुन बनाउनुपर्ने उनको मत छ ।
त्यस्तै सिँजा सभ्यता विधेयक पारित गर्ने र जुम्लाको सिँजालाई विश्वभरका खस आर्य समुदायको आस्थाको केन्द्रको रुपमा विकास गर्ने सोच पनि उनले अगाडि सारेका छन् ।
जुम्लामा सांगठनिक रुपमा बलियो दल नेपाली कांग्रेस पनि हो । कांग्रेसले ६६ वर्षका दीपबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।
उनी २०४९ र २०५४ को स्थानीय चुनावमा तत्कालिन कालिकाखेत गाविसको अध्यक्ष थिए । उनी पनि पार्टीको पूर्व जिल्ला सभापति हुन् ।
अघिल्लो पटक गठबन्धनका कारण टिकट नपाएकामा कांग्रेस भित्रको असन्तुष्टि थियो । यसपटक आफ्नै उम्मेदवार भएकाले असन्तुष्टि छैन ।
एमालेले जिल्ला अध्यक्ष शान्तिलाल महतलाई उम्मेदवार बनाएको छ । उनी २०७४ को स्थानीय तह चुनावमा जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा पराजित भएका थिए ।
२०७९ सालको प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फको मत हेर्ने हो भने एमाले जिल्लामा पहिलो दल हो । एमालेले पनि त्यही आधार देखाएर यसपटक चुनाव जित्न सक्ने दाबी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वसांसद विनिता कठायतलाई उम्मेदवार बनाएको छ । रास्वपाले जुम्लामा प्रत्यक्ष चुनाव लडेको यो पहिलो पटक हो ।
विनिता २०७९ सालमा समानुपातिक प्रणालीबाट सांसद चुनिएकी थिइन् । जुम्लामा उनको परिवार राजनीतिक विरासत भएकै परिवार हो । उनका हजुरबाहरु पञ्चायतको राजनीतिमा सक्रिय थिए । तर रास्वपाले विनिताको विरासतको मत पाउने नपाउने टुंगो छैन ।
उनले भोट माग्दा त्यस क्षेत्रबाट जितेका ज्ञानेन्द्र शाहीतिरै औंला उठाएकी छन् । ज्ञानेन्द्र शाहीको गाउँ सिँजाको एउटा चुनावी भाषणमा उनले भनेकी छन्, ‘कसलाई पठाउनुभयो, अहिले सिँजाको अवस्था के छ ?’
उनले देशैभरि रास्वपाको माहोल रहेको भन्दै जुम्लामा मात्र जितेन भने के होला भनेर भावनात्मक कुरा गर्दै भोट मागेकी छन् ।
जुम्लामा दलहरुको सांगठनिक मत, उम्मेदवारको लोकप्रियता मात्र होइन, भेगीय भोटको पनि उत्तिकै महत्व हुन्छ ।
जुम्लाको सिँजा क्षेत्रमा धेरै मानिसको बसोबास छ । तर राजनीतिक प्रतिनिधित्वको हिसाबले कमजोर छ । ज्ञानेन्द्र शाही सिँजा गाउँपालिकाकै बासिन्दा हुन् । सिँजाकै उम्मेदवार भएकाले २०७९ को चुनावमा ज्ञानेन्द्रले धेरै मत पाएका थिए ।
बाबुराम भट्टराई र जनार्दन शर्माहरुको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सिँजाकै बासिन्दा मनऋषि धिताल पनि उम्मेदवार बनेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको सांगठनिक मत धेरै नभएकाले उनी चुनाव जित्ने तहकै प्रतिस्पर्धामा छैनन् । बरु उनले सिँजाबाट धेरै मत ल्याएमा ज्ञानेन्द्र शाहीलाई नै असर पर्ने विश्लेषण गरिएको छ ।
२०४८ सालदेखि हरेक पटक नयाँ–नयाँ व्यक्ति चुनेर पठाइरहेको छ । यसपटक पनि नयाँ आउँछन् कि पुरानै दोहोरिन्छन्, त्यो त फागुन २१ गतेको चुनावले देखाइहाल्छ ।
कसले कहाँ अड्कायो काठमाडौंको मेट्रो रेल ?
प्रचण्डलाई रुकुम पूर्वमा पनि चुनाव हार्ने डर !
झापामा ओलीले ब्यहोरेको पहिलो हार
चितवन ३ मा रेनु कि सोविता ?



-1770390804.jpeg)
-1770820002.jpeg)

