युवा, उद्यमी र विदेशमा बस्ने नेपाली रिझाउने प्रयास
एमालेले भदौ २३ र २४ मा जे भयो, त्यसलाई जेनजी विद्रोह भन्दैन, देशी विदेशी षड्यन्त्र भन्छ ।
अनि फागुन २१ को प्रतिनिधिसभा चुनावलाई देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह भनेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका अनुसार भदौ २४ मा विध्वंश गर्नेहरु नयाँ शक्तिको मुखुण्डो लगाएर चुनावमा आएका छन् । एमाले चाहिँ देश बनाउने पार्टी हो ।
चुनावी घोषणापत्रमा एमालेले विगतमा के के काम गरेँ भनेर बताएको छ, भोलि आफ्नो नेतृत्वमा सरकार बन्दा के के काम गर्छु भनेर समेत उल्लेख गरेको छ ।
००००
एमालेले आफ्नो नेतृत्वमा देशमा राम्रो काम भइरहेको थियो, त्यसलाई रोक्न मात्र भदौ २३ र २४ को घटना गराएको जिकिर गरेको छ । चुनावबाट बहुमत ल्याएर देश बनाउनुपर्छ भन्ने उसको घोषणापत्रको सार छ ।
एमालेले गलत सूचना, झुटा समाचार, डिप फेक अल्गोरिदमिक पूर्वाग्रहले सत्यलाई विकृत बनाएको, समाजलाई विभाजित गरेको र राष्ट्रिय सुरक्षामा खलल पुर्याएको दाबी गरेको छ । त्यसैले यस्तो अवस्थाको अन्त्य गर्ने भनेको छ ।
एमालेले भ्रष्टाचारविरुद्ध उदाहरणीय र प्रभावकारी कानुनी कारबाहीको अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने, आधुनिक प्रविधि र सशक्त कानुनी संयन्त्रमार्फत कठोर रुपमा कार्यान्वयन गर्ने भनेको छ ।
विगतमा राजनीतिक हस्तक्षेपको आरोप खेपेका निकाय, संवैधानिक परिषद र न्याय परिषदका कानुनमा सुधार गर्ने भनेको छ । न्यायालय र अनुसन्धान गर्ने निकायहरुको स्वतन्त्रतालाई कसैले अतिक्रमण गर्न नसक्ने बनाउने उसको घोषणा छ ।
भ्रष्टाचारको निगरानी र अनुसन्धानका लागि एआईमा आधारित डिटेक्सन प्रणालीको प्रयोग गर्ने पनि एमालेको घोषणा छ ।
०००
एमालेले घोषणापत्रमा चुनावलगत्तै गर्ने ११ वटा काम र ५ वर्ष अवधिमा गर्ने २५ वटा काम सार्वजनिक गरेको छ ।
चुनावपछि बन्ने मन्त्रिपरिषदको पहिलो बैठकबाटै ११ वटा निर्णय गर्ने भनेको छ । जसमा उसले युवा, विद्यार्थी, वैदेशिक रोजगारीमा रहेकाहरु र नवउद्यमीलाई सम्बोधन गर्ने केही प्रयास गरेको छ ।
पहिलो छ, १८ देखि २८ वर्षका युवालाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डेटा फ्रीमा दिने ।
दोस्रो छ, युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड दिने । सूचना प्रविधि क्षेत्रमा अनुसन्धान र उत्पादन गर्ने स्टार्ट अपलाई अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन डलर कार्ड दिने उसको घोषणा छ ।
तेस्रो छ, वैदेशिक रोजगारीमा रहेका र नेपालमा रेमिट्यान्स पठाउने नागरिकको सम्मान स्वरुप उनीहरुको खातामा वर्षमा ५ हजार रुपैयाँ थपिदिने ।
चौथो छ, प्राविधिक धारमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निब्र्याजी ऋण दिने । अनि सरकारी र निजी क्षेत्रमा न्यूनतम तलब पाउने गरी इन्टर्नसीपको व्यवस्था गर्ने ।
पाँचौ छ, सबै किशोरीलाई निःशुल्क स्यानिटरी प्याड दिने । १० कक्षासम्मका सबै विद्यार्थीलाई दिवा खाजा दिने पनि एमालेले घोषणा गरेको छ ।
अहिले पनि सरकारले किशोरीलाई निशुल्क स्यानिटरी प्याड दिँदै आएको छ । अनि ५ कक्षासम्म दिवा खाजा दिँदै आएको छ ।
छैटौं छ, श्रमिकको न्यूनतम तलब २५ हजार रुपैयाँ पुर्याउने । यो भनेको अहिलेको न्यूनतम तलब भन्दा झण्डै ८ हजार रुपैयाँ बढी हो ।
सातौं छ, स्वास्थ्य स्वयंसेविकालाई वर्षमा २० हजार रुपैयाँ भत्ता दिने । हाल सरकारले स्वास्थ्य स्वयंसेविकालाई वार्षिक भत्ता बापत १२ हजार रुपैयाँ दिँदै आएको छ ।
आठौं छ, शिक्षकको मर्यादाक्रम तोक्ने र सबै शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने ।
नवौं छ, उद्यम गर्ने महिलालाई २० लाख रुपैयाँसम्म निब्र्याजी ऋण दिने । सुत्केरी महिलालाई २० हजार सुत्केरी भत्ता दिने । अनि गर्भवतीको ५ लाख रुपैयाँसम्मको जीवन बिमा गरिदिने ।
दशौं छ, गरिब घर परिवारको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गरिदिने । अनि गरिब परिवारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने पनि भनेको छ ।
११ औं छ, सुरक्षाकर्मीहरुको बारेमा । सुरक्षाकर्मीको पेशागत मर्यादा, सेवा सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्य उपचार र सीप विकास गर्ने एमालेको घोषणा छ ।
००००
अब एमालेले पाँच वर्ष अवधिमा गर्ने समृद्धिका २५ स्तम्भबारे कुरा गरौं ।
एमालेले नेपालको अर्थतन्त्रको आकार ५ वर्षमा १०० खर्ब रुपैयाँको पुर्याउने भनेको छ । अनि १० वर्षमा २०० खर्ब पुर्याउने ।
हाल नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब रुपैयाँको छ । वर्षमा ७ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धि गरेमा ५ वर्षमा अर्थतन्त्र १०० खर्ब पुग्ने उसको दाबी छ ।
एमालेले प्रतिव्यक्ति आय ५ वर्षमा ३ हजार डलर पुर्याउने लक्ष्य राखेको छ । हाल नेपालको प्रतिव्यक्ति आय करिब १५ सय डलर छ । यसलाई ५ वर्षमा दोब्बर बनाउने एमालेको दाबी छ ।
एमालेले सरकारले ऋण लिएको पैसा राष्ट्रिय प्राथमिकताका आयोजनामा मात्र खर्च गर्ने घोषणा गरेको छ ।
एमाले सरकारमाथि लाग्दै आएको आरोप के हो भने उसले सरकार चलाएका बेला सार्वजनिक ऋण बेस्सरी बढ्छ । नेपालमा २०७४ सालदेखि सार्वजनिक ऋण ह्वात्तै बढेर २८ खर्ब रुपैयाँ पुगेको छ ।
त्यसैले उसले घोषणापत्रमा जथाभावी ऋण नलिने प्रतिवद्धता जनाएको छ र ऋणलाई निश्चित सीमा भन्दा बढ्न नदिने पनि भनेको छ ।
एमालेले देशभित्रै हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । अन्य क्षेत्रमा ४ लाख र सूचना प्रविधि क्षेत्रमा मात्र १ लाख रोजगारी दिने उसको घोषणा छ । सूचना प्रविधि क्षेत्रको विकासका लागि टेक पार्क र इनोभेसन हबहरु बनाउने योजना पनि घोषणापत्रमा उल्लेख छ ।
भूमिहीन सुकुम्बासी र कमजोर आयस्रोत भएकाहरुलाई आवास सुविधा दिने भनेको छ । विपद पीडित, जोखिममा रहेका नागरिक र ज्येष्ठ नागरिकका लागि नागरिक आवास बनाउने घोषणा गरेको छ ।
एमालेले दैलेखको ग्यासको व्यापारिक उत्पादन सुरु गर्ने घोषणा गरेको छ । अनि नवलपरासी धौवादीको फलाम खानीको पनि व्यापारिक उत्पादन सुरु गर्ने भनेको छ ।
हरेक प्रदेशमा उद्योग व्यवसाय सञ्चालनका लागि एउटा विशेष आर्थिक क्षेत्र सेज सञ्चालन गर्ने पनि एमालेको घोषणा छ ।
एमालेले ३ वर्षमा नेपालबाट हुने सामान निर्यात दोब्बर बनाउने दाबी गरेको छ । अनि ५ वर्षमा तेब्बरले बढाउने भनेको छ ।
भन्सार कार्यालयहरु २४ घण्टा सञ्चालन गर्ने घोषणा गरेको छ । भन्सार कार्यालयबाट ४८ घण्टामै सामानहरुको जाँचपास गराउने भनेको छ ।
एमालेले ५ वर्षभित्र ३ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने दाबी गरेको छ । बबई, भेरी–बबई, सुनकोशी–मरिण, रानी–जमरा–कुलरिया र सिक्टा सिँचाइ आयोजना पूरा गर्ने पनि भनेको छ । एआईको प्रयोग गरेर स्मार्ट सिँचाइ प्रणाली सुरु गर्ने घोषणा गरेको छ ।
एमालेले प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा एक जना एमडीजीपी डाक्टर, नर्स, ल्याब र फार्मेसी सेवा दिने भनेको छ ।
एमालेले सबै गाउँपालिकालाई सबै मौसममा चल्ने सडकले जोड्ने घोषणा गरेको छ । जिल्ला सरदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गमा जोड्ने भनेको छ । अब बन्ने सडक डबल लेन भन्दा घटीको नहुने भनेको छ ।
पूर्वपश्चिम राजमार्गलाई एक्सप्रेस हाइवे बनाउने एमालेको घोषणा छ । मध्यपहाडी लोकमार्गलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने भनेको छ ।
१० वर्षभित्र पूर्वपश्चिम विद्युतीय रेलमार्ग पूरा गर्ने दाबी गरेको छ । वीरगञ्ज काठमाडौं रेलमार्ग र केरुङ काठमाडौं रेलमार्गको पूर्वाधार तयारी अघि बढाउने भनेको छ ।
नेपाल भारत अन्तरदेशीय रेलमार्ग निर्माण पाँच वर्षभित्र पूरा गर्ने दाबी गरेको छ । प्रमुख आन्तरिक विमानस्थल दैनिक १८ घण्टा चलाउने दाबी गरेको छ ।
भदौ २३ र २४ गते आगजनी र तोडफोड भएको सिंहदरबार, सर्वोच्च अदालतलगायत संरचना एक वर्षभित्रै पुननिर्माण गर्ने घोषणा गरेको छ । तोडफोड गर्ने व्यक्तिको पहिचान गरेर कारबाही गर्ने भनेको छ ।
बाढी पहिरो र भूकम्पले क्षति पुर्याएका संरचना दुई वर्षभित्र पुनर्निर्माण गर्ने घोषणा छ ।
अघिल्लो संसदमा विचाराधीन विधेयकहरु ३ महिनाभित्र पारित गर्ने दाबी गरेको छ ।
निर्वाचन प्रणाली स्वतन्त्र, स्वच्छ र कम खर्चिलो बनाउन कानुनी सुधार गर्ने भनेको छ । तर कसरी निर्वाचन प्रणालीलाई स्वच्छ र कम खर्चिलो बनाउने भन्ने खुलाएको छैन ।
राष्ट्रिय सुरक्षा, कुटनीतिक संवेदनशीलता र व्यक्तिको गोपनीयतासँग सम्बन्धित सूचना बाहेक सबै खाले सूचना सार्वजनिक गर्न ओपन डेटा एक्ट ल्याउने भनेको छ ।
००००
एमालेले सम्बोधन गरेको अर्को क्षेत्र हो डायस्पोरा ।
डायस्पोरालाई राष्ट्र निर्माणको अभियन्ता बनाउने उसको घोषणा छ । नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरुलाई खास प्राकृतिक लगानीकर्ता (सुप्रिम अर्गानिक इन्भेस्टर) को स्थानमा राख्ने भनेको छ ।
पूर्वाधार क्षेत्र र निर्यातमूलक उद्योगमा लगानी गर्न वार्षिक १ खर्बको डायस्पोरा बन्ड जारी गर्ने घोषणा गरेको छ ।
विदेशमा रहेका नेपालीको नेपालमा रहेको सम्पत्तिको संरक्षण गर्ने भनेको छ । नेपालमा लगानीबाट आर्जित मुनाफा फिर्ता लैजान पाउने कानुन बनाउने घोषणा गरेको छ ।
राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गर्ने गैर आवासीय नेपालीलाई कर छुट दिने भनेको छ ।
पहिलो पुस्ताका डायस्पोराका लागि ‘सेवा निवृत्तिपछि मातृभूमि फर्कौं प्याकेज ल्याउने घोषणा गरेको छ । एमालेले देश समृद्ध बनाउन, नागरिकलाई सुखी बनाउन र देशको स्वाभिमान जोगाउन यो निर्वाचनमार्फत आफूलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन अपिल गरेको छ ।
माधव र अनिलको चुनावी प्रतिस्पर्धामा गेम चेन्जर घन्टी
पहिले प्रचण्डलाई 'भित्ते राष्ट्रपति' बनाए, अहिले घोषणापत्रबाटै गायब
ज्ञानेन्द्र शाहीलाई कठिन छ नरेश भण्डारीसँगको प्रतिस्पर्धा
कसले कहाँ अड्कायो काठमाडौंको मेट्रो रेल ?



-1771076614.jpeg)



