नेभिगेशन
एक्सप्लेनर भिडियो

कहिले र कसरी हुन्छ नयाँ प्रधानमन्त्रीको नियुक्ति ?

यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा झण्डै दुई तिहाइ सिट जित्ने देखिएको छ । 

नागरिकको यो अभूतपूर्व विश्वासपछि अब बालेन शाह प्रधानमन्त्री बन्नेछन् । तर यसका लागि एक हप्ता भन्दा बढी समय लाग्न सक्छ । 

अब बालेन प्रधानमन्त्री बन्ने बाटो के हो त ? 

फागुन २१ गते भएको चुनावको प्रत्यक्ष प्रणालीतर्फको मत गणना चलिरहेको छ । अहिलेसम्म जितेका र अग्रता लिएका सिटहरु हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ११५ सिट भन्दा बढी सिट प्रत्यक्षमा नै जित्ने देखिएको छ । 

प्रत्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले १२ देखि २० सिटसम्म जित्न सक्ने देखिएको छ । 

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले केही सिट र राप्रपाले एक सिट जित्ने देखिएको छ । महावीर पुनले स्वतन्त्र हैसियतमै म्याग्दीबाट चुनाव जिते । 

यो त भयो देशभरका १६५ चुनाव क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने सांसदको कुरा । 

प्रतिनिधिसभाका कुल सदस्य २७५ जना हो । प्रत्यक्ष निर्वाचित १६५ बाहेक ११० जना चाहिँ समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । 

देशभर प्रत्यक्षतर्फकै मतगणना भइरहेकाले समानुपातिक प्रणालीतर्फको नतिजा आउन केही दिन लाग्छ । प्रत्यक्षतर्फको मत गणना सकिएको ठाउँबाट समानुपातिक तर्फको मतगणनाको नतिजा पनि आइरहेको छ । 

समानुपातिक तर्फ हालसम्म गणना भएको मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५५ प्रतिशत मत पाएको छ । यही दर अन्तिमसम्म कायम रहेमा रास्वपाले समानुपातिकबाटै ६० सिट भन्दा बढी जित्न सक्छ । कुल मिलाएर रास्वपा प्रतिनिधिसभाको दुई तिहाइ अर्थात १८४ सिटको नजिक पुग्न सक्ने सम्भावना छ । 

सबै मतगणना सकिएपछि निर्वाचन आयोगले समानुपातिकमा पाएको मतको आधारमा कुन दलले कति सिट पाउँछन् भनेर हिसाब निकाल्छ ।

सदर मतको ३ प्रतिशत भन्दा कम मत पाउने दलले समानुपातिक प्रणालीबाट सांसद निर्वाचित गर्न सक्दैन । त्यसरी थ्रेस होल्ड पार नगरेको दलको मत बराबरको सिट संख्या पनि ठूला दललाई भाग लाग्छ । 

निर्वाचन आयोगले समानुपातिकबाट कुन दलले कति सिट पायो भन्ने हिसाब निकालेर दलहरुलाई जानकारी गराउनेछ । त्यसपछि दलहरुले खस आर्य, आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदि सबै समावेशी क्षेत्रबाट समानुपातिक समावेशी सिद्धान्त अनुसार सांसद छनोट गर्नुपर्नेछ । 

दलहरुले आफ्ना कुल सांसदमध्ये ३३ प्रतिशत महिला चयन गर्नैपर्छ । प्रत्यक्षबाट पुरुषहरु धेरै निर्वाचित भएका छन् भने महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउन समानुपातिक प्रणालीबाट महिलाहरु धेरै चयन गर्नुपर्छ । 

दलहरुले आफूले पहिला बुझाएको समानुपातिकको बन्द सूचीको प्राथमिकता क्रम अनुसार नै निर्वाचन आयोगमा नाम पठाउनुपर्छ ।  दलहरुले नाम पठाएपछि निर्वाचन आयोगले समावेशी सिद्धान्त अनुसार भयो कि भएन, प्राथमिकता क्रम मिचिएको छ कि छैन, सबै क्षेत्रको प्रतिनिधित्व भयो कि भएन ? आवश्यक संख्यामा महिलाहरु चयन भए कि भएनन् भनेर हेर्नेछ ।

मिलेको छैन भने पुनः मिलाएर पठाउनू भनेर दलहरुलाई फेरि सूचना पठाउँछ । दलहरुले मिलाएर पठाएपछि उनीहरुलाई समानुपातिक प्रणालीबाट निर्वाचित भएको घोषणा गर्छ । 

यो सबै प्रक्रिया पूरा हुन एक हप्ता भन्दा बढी समय लाग्न सक्छ । प्रतिनिधिसभाका सबै २७५ जना सांसद चुनिइसकेपछि निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको मत परिणाम राष्ट्रपतिलाई बुझाउनेछ । राष्ट्रपतिलाई मत परिणाम बुझाएपछि यो चुनावमा निर्वाचन आयोगको काम सकिन्छ । 

देशले नयाँ संसद पाएपछि संसदबाटै प्रधानमन्त्री चयन हुनेछ । निर्वाचन आयोगले राष्ट्रपतिलाई मतपरिणाम बुझाएपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा गर्नेछिन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव गर्ने म्यान्डेट दिएरै ६ महिनाका लागि प्रधानमन्त्री नियुक्त गरेका थिए । 

कार्कीले चुनावबाट नयाँ संसद गठन भयो, संसदबाट प्रधानमन्त्री चयन होस् भनेर बाटो खाली गर्नेछिन् । 

हाम्रो संविधानले सरकार गठनका लागि धारा ७६ मा विभिन्न विकल्पहरु दिएको छ । जसमध्ये पहिलो विकल्प अर्थात् धारा ७६ (१) मा संसदको सबैभन्दा ठूलो दलको नेतृत्वमा बहुमतको सरकार गठनको व्यवस्था छ । 

निर्वाचन आयोगले मत परिणाम दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नेछन् । 

संसदको पहिलो बैठक ज्येष्ठ सदस्यले चलाउनेछन् । सबै सांसदहरुलाई सांसदको रुपमा शपथ ग्रहण गराउनेछन् ।

शपथ खाएपछि मात्र निर्वाचितहरुले सांसदको रुपमा काम गर्न पाउनेछन् । 

त्यसपछि बल्ल सरकार गठनको प्रक्रिया सुरु हुनेछ । राष्ट्रपतिले निर्वाचन आयोगले दिएको मत परिणाम हेर्नेछन् । र संसदको सबैभन्दा ठूलो दल कुन हो भन्ने निर्क्योल गर्नेछन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदबाट सरकार गठनका लागि आवश्यक बहुमत पुर्‍याएको हुनाले उसको नेतृत्वमा सरकार गठन हुन्छ । 

त्यसपछि राष्ट्रपतिले संसदको ठूलो दललाई सरकार गठनका लागि दाबी गर्न समय दिनेछन् । नेपालमा सरकार गठनका लागि प्राय एक हप्ताको समय दिने प्रचलन छ । 

यो अवधिमा रास्वपाले सरकार गठनका लागि दाबी पेश गर्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाहबीच गत पुसमा नै रास्वपा संसदीय दलको नेता र भावी प्रधानमन्त्री बालेन हुने सहमति भइसकेको छ । 

त्यस अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई संसदीय दलको नेता चयन गरेर राष्ट्रपतिलाई जानकारी गराउनुपर्नेछ । त्यसपछि राष्ट्रपतिले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । 

बालेन प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मध्येबाटै मन्त्रीहरु चयन गर्नेछन् । यसरी बालेन शाहको नेतृत्वमा रास्वपाको एकल सरकार गठन हुनेछ । 

बालेनले एकल बहुमतको सरकार चलाउने भएकाले बालेनले संसदबाट विश्वासको मत पनि लिनुपर्ने छैन । 

सरकार गठनकै प्रक्रियाको कुरा गर्दा विगतमा सांसदहरुले शपथ नै नलिई पनि सरकार गठन गरेको अभ्यास छ । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाम गठबन्धन बनाएर चुनाव लडेका थिए । दुई पार्टीको संसदमा प्रष्ट बहुमत आएको थियो । 

निर्वाचन आयोगले मत परिणाम बुझाएपछि सांसदहरुको शपथ नहुँदै तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । ओलीले आफूलाई एमाले र माओवादी दुबै पार्टीका सांसदहरुको समर्थन रहेको दाबी गरेपछि भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । 

त्यतिबेला सांसदको शपथ नै नलिई प्रधानमन्त्री चयन गरेको भन्दै आलोचना भएको थियो । 

संवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीका अनुसार सांसदहरुले शपथ लिएपछि मात्र दलको संसदीय दल गठन हुन्छ ।

त्यसपछि मात्र सरकार गठनको प्रक्रिया अघि बढाउनु उचित हुन्छ । 

यी सबै प्रक्रिया र यसका लागि लाग्ने समय विचार गर्दा बालेन शाह प्रधानमन्त्री बन्न सबै प्रक्रिया छिटो छिटो हुँदा पनि ७ देखि १० दिन लाग्न सक्ने देखिन्छ । 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देशमा पावर भ्याकुमको अवस्था थियो ।

त्यतिबेला धेरैले बालेन शाहलाई देशको नेतृत्व लिन आह्वान गरेका थिए । तर उनले अन्तरिम सरकारको नेतृत्व लिने इच्छा देखाएनन् । 

जेनजी युवाहरुले डिस्कर्डमा छलफल गरेर सुशीला कार्कीलाई अन्तरिम सरकारका प्रधानमन्त्रीका रुपमा अगाडि सारे । बालेनले उनै सुशीला कार्कीलाई समर्थन गरे । 

त्यतिबेलै कतिपयले बालेनलाई अब ५ वर्षका लागि प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मत राखेका थिए । तर बालेन मौन थिए । गत पुसमा आकस्मिक रुपमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्झौता गरे । 

भावी प्रधानमन्त्री बन्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुन राजी भए । काठमाडौंको मेयर पदबाट राजीनामा गरेर प्रतिनिधिसभा चुनावमा होमिए । मधेशको जनकपुरबाट चुनावी कार्यक्रममा सार्वजनिक भए । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनाव क्षेत्रमा उम्मेदवारी दिए ।

देशका धेरै निर्वाचन क्षेत्र भ्रमण गरे । 

उनकै कारण मधेश लगायत देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा राम्रो माहोल बन्यो र बालेन ३५ वर्षकै उमेरमा देशको प्रधानमन्त्री बन्ने अवस्थामा पुगे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो