जेन-जी माननीयहरु
धेरै पहिलादेखि उठेको आवाज हो, निर्णायक तहमा युवा सहभागिता । तर, पुराना दलहरुले यो आवाज सुनेनन् ।
युवालाई भोट बैंक र आफ्नो तागतका रुपमा मात्रै प्रयोग गरिरहे । राजनीतिमा सन्यास नै हुँदैन र यो बाचुन्जेल गर्ने पेशा हो भनेजस्तो बनाए । युवालाई राजनीतिक अवसर दिने कुरै गरेनन् ।
२०८२ भदौ २३ र २४ त्यो आन्दोलन । जसलले दलहरुको त्यो प्रवृत्ति र मान्यतालाई जबरजस्ती भत्काइदियो । यो आन्दोलनले युवामात्रै सहभागिता मात्रै हैन, निर्णय तहमा युवाभित्रको जेन–जी समूहको प्रतिनिधित्व माग्यो । हाल १३ देखि २८ वर्षको रहेको जेन–जी उमेर समूह भविष्यका कर्णाधार हैन, वर्तमानकै निर्णायक बन्न चाहे ।
हुन त जेनजीहरुले आफूहरुलाई सांसद बनाउन माग गरेका थिएनन्, देशमा सुशासन मागेका थिए, पुराना नेताहरुको विदाइ चाहेका थिए । तर, गोलीले आवाज दबाउन खोज्दा यो पुस्ता जबरजस्ती राजनीतिमा पनि तानिन पुग्यो ।
आन्दोलनकै प्रभावका कारण राजनीतिक दलहरुले फागुन २१ को चुनावमा थोरै भएपनि युवा र जेनजी उम्मेदवारहरुलाई मौका दिए । र, चुनावमा जनताले जेनजी उम्मेदवारहरुमाथि पनि अभूतपूर्व विश्वास जनाए ।
यी हुन् सांसद बनेका जेनजी
१. प्रशान्त उप्रेती
अब बन्ने संसदको सबैभन्दा कान्छा सांसद हुनेछन्, प्रशान्त उप्रेती । उमेर मात्रै २५ वर्ष । उनी गत जेठ १० मा मात्रै सांसद बन्न योग्य उमेर, २५ वर्ष पूरा गरेका हुन् ।
मकवानपुरको मनहरीमा २०५७ सालमा जन्मिएका प्रशान्त पेशाले पर्यटन व्यवसायी हुन् । अहिले पनि सार्वजनिक प्रशासनमा स्नातक अध्ययन गरिरहेका छन् ।
चुनावअघिसम्म मकवानपुरमा उनी परिचित नाम हैनन् । चुनाव लड्न टिकट पाउँदासम्म रास्वपा मकवानपुरका तत्कालीन सभापति भरतराज पराजुलीले समेत उनलाई चिनेका थिएनन् । जब उनी टिकट लिएर मकवानपुर पुगेका थिए, त्यतिबेला रास्वपा पंक्तिकै लागि उनी नयाँ थिए ।
गत भदौमा भएको जेनजी आन्दोलनमा सहभागी थिए, प्रशान्त । त्यसैकारण राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई मकवानपुर–२ मा उम्मेदवार बनाएर पठाएको थियो ।
२५ वर्षको ठिटोले कसरी चुनावी अभियान सम्हाल्लान् भन्नेमा आशंका थिए । जनताले यति सानो उमेरको युवामाथि भरोसा राख्ने हुन् कि हैनन् भन्ने पक्कै थियो ।
तर, यो चुनावी लडाइँ प्रशान्तले निडर र कुशल ढंगले लड्ने आँट देखाए । उनका प्रतिस्पर्धी कमजोर थिएनन्, नेकपा एकालेको संसदीय दलका प्रमुख सचेतक भइसकेका युवा उमेरकै महेश बर्तौलासँग उनले चुनाव लड्नु थियो । बर्तौला केपी ओलीका विश्वासपात्र थिए । उता कांग्रेसबाट बुद्ध लामा थिए, लामा बाग्मतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका प्रिय थिए ।
त्यसैले २५ वर्षका प्रशान्तले कसरी चुनावी रणनीति बुनेर जित हासिल गर्लान् भन्ने अन्योल थियो । झन् चुनावको मुखमै रास्वपा मकवानपुरका जिल्ला सभापति भरत पराजुली कांग्रेस फर्किए । प्रशान्तका चुनावी कमाण्डर निराजन बर्तौला पनि कांग्रेस प्रवेश गरे ।
यसले ठूलो झड्का लागेपनि अन्तिमसम्म डटेर उप्रेतीले चुनावी प्रचार गरेका थिए । उनका लागि अनेकन प्रतिकुलता थिए, तर रास्वपाको लहर अनुकुल थियो । जनताले देखाएको विश्वास उनको साहस बन्यो ।
अहिले उनको मिहिनेतले सार्थकता पाएको छ । प्रशान्तले ३० हजार ५० मत ल्याएर चुनाव जितेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका महेश बर्तौलाले १८ हजार ८४६ मत मात्रै पाएका छन् । योसँगै प्रशान्त शानदार जितसहित २५ वर्षकै उमेरमा जेनजी माननीय बनेका छन् ।
२. मनिष खनाल
अर्का जेन–जी सांसद हुन्, मनीष खनाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रहेका मनिषले नवलपुर–२ बाट चुनाव जितेका छन् ।
उनको घर मध्यविन्दु नगरपालिका–६, टाँडी हो । २०५६ असार ११ गते जन्मिएका खनालले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक पूरा गरेका छन् । उनी अहिले २६ वर्षमा मात्रै भए ।
उमेर सानो भएपनि उनका लागि राजनीतिक एकदमै नयाँ विषय हैन । किनकने उनको राजनीतिक यात्रा विवेकशील नेपाली दलबाट सुरु भएको थियो ।
उनी विवेशकील साझाले गर्ने राजनीतिक अन्दोलनदेखि सामाजिक अभियानका मुद्दाहरुमा सक्रिय सहभागी हुन्थे । २०७६मा विवकेशील साझा दलको जनकपुर महाधिवेशनबाट उनी पार्टीको कान्छो केन्द्रीय सदस्य बनेका थिए ।
२०७९ पछि उनी रास्वपा सांसद असिम शाहको स्वकीय सचिव थिए । त्यसैले उनी राजनीतिमा सिधासिधी जोडिएका थिए । संसदीय अभ्यासहरुका विषयमा जानकार पनि थिए । उनी गत भदौ २४ को जेनजी आन्दोलनमा सक्रिय सहभागी थिए ।
त्यही कारण रास्वपाले नवलपुर–२ मा जेनजी मनिषलाई टिकट दिएर पठायो । यहाँ पनि ठ्याक्कै प्रशान्तकै जस्तो अवस्था भयो । त्यहाँ रास्वपाका स्थानीय नेताहरु टिकटको आकांक्षी थिए । तर, काठमाडौंबाट एक्कासी मनिष चुनाव लड्न जाँदा रास्वपाभित्र मनिषप्रति संशय थियो । उनी राजनीतिक पावर प्रयोग गरेर आए भन्ने भाष्य निर्माणको प्रयास भयो ।
तर, यहाँ पनि मनिषले स्थानीय नेता कार्यकताहरुलाई विश्वासमा लिए । रास्वपाको लहर पनि उनका लागि सहयोगी बन्यो । यो चुनाव मनिषले ४१ हजार ३४७ मत ल्याएर जितेका छन् । उनका निटतम् प्रतिद्वन्द्वी एमालेका तिलबहादुर महतले १५ हजार ७५५ मत मात्रै पाए ।
यसरी मनिष २६ वर्षको उमेरमै सांसद बनेका छन् ।
३. केपी खनाल
यो संसदमा निर्वाचित भएका अर्का जेन–जी हुन्, केपी खनाल । २६ वर्षका खनाल सोसल मिडिया इन्फ्ल्युएन्सर हुन् । उनको जन्म २०५६ सालमा अछामको रामारोशनमा भएको हो ।
बाल्यकालमै उनी रेडियोमा बाल कार्यक्रम चलाउँथे । खनाल १७ वर्षको उमेरदेखि नै सरसफाइ अभियन्ता बने । उनले काठमाडौंमा ‘क्लिन काष्ठमण्डप’ अभियान चलाएका थिए । बाजुरामा बाल गृह बनाउनेदेखि विभिन्न सामाजिक काममा पनि जोडिँदै गए ।
सामाजिक अभियन्ता भएकाले उनी विभिन्न राजनीतिक व्यक्तिहरुसँग पनि निकट थिए । पछिल्लो समयमा उनले काठमाडौंमा चियाको व्यवसाय समेत सुरु गरेका थिए ।
सामाजिक सञ्जालमा सक्रिय उनी इन्फ्ल्युएन्सरको भूमिकामा पनि देखिन्थे । यही कारण उनी काठमाडौंका मेयर बालेन शाहसँग पनि निकट भए । भदौ २३ को जेनजी आन्दोलनमा पनि उनी पनि अग्रमोर्चामा सहभागी थिए ।
त्यही कारण राष्ट्रिय स्वतन्त्र पार्टीले उनले प्रतिनिधिसभा सदस्यको चुनाव लड्न टिकट दियो, उनी कैलाली २ बाट चुनाव लड्न गएका थिए । उनका लागि पनि यो चुनाव सजिलो थिएन । पुराना दलहरुको दबादबा रहेको कैलाली २ मा उनले राम्रो मत ल्याएर चुनाव जितेका छन् ।
उनले १९ हजार ५७ मत ल्याएर चुनाव जितेका छन् । उनका निकटम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत मात्रै पाए । यसरी विगतमा सामाजिक क्षेत्रमा सक्रिय खनालले अब संसदमा जेनजीको प्रतिनिधित्व गर्नेछन् ।
४. बब्लु गुप्ता
उनी हुन्, बब्लु गुप्ता । उनी सिरहा–१ बाट सांसद निर्वाचित भएका छन् । लहानका स्थायी बासिन्दा रहेका गुप्ताको उमेर हो, २८ । उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाटै चुनाव जितेका जेनजी युवा हुन् ।
गुप्ता चुनावी सरकारमा जेनजीकै तर्फबाट युवा तथा खेलकुद मन्त्री थिए । स्नातकसम्मको अध्ययन गुप्ता पनि सामाजिक काममा सक्रिय हुँदै राजनीतिमा आएका हुन् ।
उनी सामाजिक सञ्जालमा हन्ड्रेड्स ग्रुप चलाउँथे । त्यसमार्फत उनले गरिबका क्लथ बैंकदेखि कोभिड महारीका बेला विपन्नका लागि निःशुल्क खाना अभियानसम्म चलाए । भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउन समेत यो ग्रुप सक्रिय थियो ।
उनी यही ग्रुपमार्फत जेन्जी आन्दोलनमा जोडिए । जेनी आन्दोलनको अग्रमोर्चमा उनी र उनको समूह पनि थियो । यहीका कारण जेनजी समूहको प्रतिनिधित्व गर्दै चुनावी सरकमरमा युवा तथा खेलकुद मन्त्री बने ।
तर, चुनावको मुखमा उनी मन्त्री पद छाडेर रास्वपा प्रवेश गरे । अनि सिराह–१ बाट चुनाव लड्न गएपछि उनी आलोचनाको शिकार भए । जेनी आन्दोलन र त्यसको जगमा बनेको चुनावी सरकारलाई धोका दिएको भन्दै उनको चर्को आलोचना भयो ।
आलोचनाकै बीचमा चुनावी अभियानमा होमिएका उनले यो बाजी जितेका छन् । जनताले उनलाई जिताएर संसद पठाएका छन् । उनी ४१ हजार ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामसुन्दर चौधरीले जम्मा ९ हजार ७७४ मात्रै मत पाएका छन् ।
५. सुलभ खरेल
संसदमा पुगेका अर्का जेनजी युवा हुन्, सुलभ खरेल । उनी रुपन्देही २ बाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका खरेल २८ वर्षको भए । २०५४ साल भदौमा जन्मेका खरेलको घर बुटवल उपमहानगरपालिका–१६ हो ।
उनले कानुनमा स्नातकोत्तकर गरेका छन् । नेपाल ल क्याम्पसमा बीए–एलएलबी पढ्दा उनी नेकपा (एमाले) निकट अनेरास्ववियुको सदस्य थिए ।
उनी वकालत पेशामा सक्रिय थिए । २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यविरुद्ध उनी पनि रिट लिएर सर्वोच्च गएका थिए ।
वकालतकै क्रममा उनी रास्वपासँग नजिक भएका थिए । रास्वपाका सांसदहरुले लड्ने मुद्दादेखि सभापति रबि लामिछाने विरुद्धको मुद्दामा उनले बहस गरे ।
राप्रपाका तत्कालिन सांसद दीपक बोहराको निधनपछि रुपन्देही–३ हुने भनिएको उपनिर्वाचनमा उनी रास्वपाबाट चुनाव लड्ने दौडमा थिए । प्राइमरी इलेक्सनमा सहभागी भएपनि उनी छानिएनन् ।
भदौमा जेनजी आन्दोलन भयो । यो आन्दोलनमा पनि सुलभ सक्रिय सहभागी थिए । सर्वोच्च अदालत जलेकामा म दुखी छैन भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परे ।
एउटा मुद्दामा बहस गर्न जाँदा प्रधानन्यायधीश प्रकाशमान सिंह राउतले उनलाई यो विषय सम्झाएका थिए । त्यति बेलाउ उनी इजलासमै बेहोस भएर ढलेका थिए ।
उनी रुपन्देही–२ बाट यो चुनाव लड्न चाहन्थे । तर सुरुमा बालेन शाह निकटका आशिष सुवेदीले टिकट पाए । तर, पछि रास्वपाले सुलभलाई नै उम्मेदवार बनायो । तर, सुलभ पनि रुपन्देहीमा पार्टी संगठन निर्माणमा सक्रिय नभएकाले असन्तुष्टि थियो ।
सुलभले पार्टी पंक्तिलाई विश्वासमा लिए । उनका साथी समेत रहेका निकोलस भुसालले समेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनावअघि सुलभले निकोलसको पनि साथ पाए ।
सुलभका लागि यो चुनाव सजिलो थिएन । हेभीवेट उम्मेदवार मानिएका एमाले उपाध्यक्ष विष्णु पौडेलसँगको चुनावी टक्कर चुनौतीपूर्ण थियो । पौडेलले पटक–पटक अर्थमन्त्रीका भएर आफ्नो क्षेत्रमा धेरै काम गरेका थिए ।
तर, सुलभका लागि एउटा अनुकुलता के थियो भने सुरुमा पौडेलले पाल्पाबाट चुनाव लड्ने निर्णय गरेका थिए । तर, रुपन्देहीबाट भागेको भन्ने भाष्य बनेपछि उनी ब्याक भएका थिए । त्यसैले मनोवैज्ञानिक रुपमा पौडेललाई सुलभले हराइसकेका थिए ।
सुलभलाई पनि यो चुनाव जित्न त्यति कठिन भएन । सुलभले ५६ हजार ५५० मत ल्याएर जितेका छन् । विष्णु पौडेलले १२ हजार ८६१ मात्रै भोट भए ।
यसरी पौडेलको राजनीतिक जीवनभन्दा पनि कम उमेरका सुलभलाई जिताएर जनताले नवपुस्ताप्रति व्यापक विश्वास देखाएका छन् । अब सुलभहरुले यो विश्वासलाई सांसदका रुपमा नतिजामा कसरी कन्भर्ट गर्छन् भन्ने हेर्न बाँकी छ ।
रास्वपाले संविधान चलाउन सक्छ ? राष्ट्रपति के गर्छ ?
कहिले र कसरी हुन्छ नयाँ प्रधानमन्त्रीको नियुक्ति ?
प्रतिवेदन बुझाउन नपाउँदै जाँचबुझ आयोगलाई सर्वोच्चको झट्का
जग्गा कारोबारमा एजेन्ट राख्नैपर्ने, के फरक पर्छ ?



-1772635654.jpeg)
-1772707909.jpeg)

