बालेन ५ वर्ष सरकार चलाऊ, संविधान नचलाऊ
फागुन २१ गते प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसदका लागि चुनाव भएको थियो ।
कतिपय क्षेत्रमा साँझबाट मत गणना सुरु भयो । प्रत्यक्षतर्फको नजिता भोलिपल्टैदेखि आउन थाल्यो र, फागुन २५ गते सोमबारसम्म सबै सिटको नतिजा आयो ।
तर समानुपातिक प्रणालीतर्फ दलहरुले पाएको मत गणना २८ गते मात्र सकिएको छ ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५१ लाख ८३ हजार ४९३ भोट पाएको छ । यो भनेको कुल खसेको सदर मतको झण्डै ४८ प्रतिशत हो । र, अहिलेसम्म कुनै पनि दलले पाएको सर्वाधिक मत हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले रास्वपाले भन्दा ३२ लाख कम भोट पाएको छ । कांग्रेसले समानुपातिकमा पाएको कुल मत हो, १७ लाख ५९ हजार १७२ ।
नेकपा एमालेले १४ लाख ५५ हजार ८५८ भोट पायो । नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ११ हजार ५७७ भोट पायो ।
चौथो स्थानमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी आयो । उसले ३ लाख ८५ हजार ८५६ भोट पाएको छ ।
पाचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ६८४ भोट पायो ।
आयोगका अनुसार समानुपातिकतर्फ मत पाउने दलको संख्या त ५७ छ । तर थ्रेस होल्ड कटाउने दलको संख्या ६ मात्र रह्यो । राजनीतिक दलसम्बन्धी ऐनमा समानुपातिकतर्फ सदर भएको कुल मतको ३ प्रतिशत मत पाउने दलले मात्र सांसदको सिट पाउने गरी थ्रेस होल्ड राखिएको छ ।
यसको अर्थ यो पटक समानुपातिकतर्फ ६ दलले मात्र सिट पाउने भए ।
२०७९ को चुनावमा थ्रेस होल्ड कटाएका जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी यसपटक ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेनन् ।
उनीहरुले प्रत्यक्षमा पनि कुनै सिट जितेका छैनन् ।
कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले समानुपातिक प्रणाली तर्फ उम्मेदवारी दिएको थिएन । समानुपातिकको सूची बुझाउने अन्तिम दिन रास्वपासँग एकता गर्यो, १२ दिनपछि एकता तोडिँदा समानुपातिकमा कुलमानको दल छुट्यो । उसले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर समानुपातिकमा बाँसुरीमा भोट माग्यो । तर बाँसरीको मतले थ्रेस होल्ड कटाउन सकेन ।
देशभरिबाट १ लाख ७२ हजार २३५ मत पायो । यो भनेको कुल खसेको मतको १.५९ प्रतिशत हो ।
अब निर्वाचन आयोगले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएका दलले पाउने सिट बाँडफाँट गर्छ । कसरी हुन्छ भनेर हामीले अघिल्लो भिडियोमा बताएका छौं । हेर्नु भएको छैन भने लिंकमा गएर हेर्नु होला ।
कस्तो बन्यो संसद ?
प्रतिनिधिसभामा ६ वटा दलको मात्र उपस्थिति हुने भएको छ । रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ।
समानुपातिक प्रणालीमा पाएको भोटका आधारमा रास्वपाले समानुपातिक प्रणालीबाट ५७ सिट पाउने देखिन्छ । प्रत्यक्षमा जितेको १२५ समेत जोड्दा कुल १८२ सिट हुनेछ । प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट चाहिन्थ्यो । रास्वपाले यो चुनावबाट दुई तिहाइ पाउन सकेन ।
कांग्रेसले समानुपातिकमा २० सांसद पाउनेछ । उसको कुल सांसद ३८ हुनेछ ।
एमालेले समानुुपातिकमा १६ सिट पाउनेछ, उसको कुल सिट संख्या २५ हुनेछ ।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकमा ९ सिट पाउने देखिन्छ । र, उसको कुल सांसद संख्या १७ हुनेछ । श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सिट पाउनेछ र उसको कुल सांसद संख्या ७ हुनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिकमा ४ सिट पाउनेछ र संसदमा उसको सिट संख्या ५ हुनेछ ।
पाँच दल बाहेक संसदमा अर्का एक स्वतन्त्र सांसद पनि हुनेछन्, म्याग्दीबाट निर्वाचित महावीर पुन ।
अघिल्लो पटक संसदमा रहेका ७ वटा पार्टी यसपटक संसदमा रहने छैनन् । ती हुन् जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा ।
जनताको म्याण्डेट के हो ?
फागुन २१ को चुनावको विजेता हो, रास्वपा । चार वर्ष अगाडि मात्र स्थापना भएको दल रास्वपाले यो पटक पाएको जनमत आफैंमा अभूतपूर्व हो ।
रास्वपाका नेताहरुले समेत यसरी जमत आउनसक्छ भनेर आंकलन गरेका थिएनन् । पुराना दलहरुप्रति नागरिकको असन्तुष्टि थियो, काठमाडौंका मेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि लहर देखिएको थियो ।
त्यसले बहुमत आउनसक्छ, नभए ठूलो पार्टी बन्छ भन्ने रास्वपा नेताहरुको विश्वास थियो । उम्मेदवारी दर्तापछि गरिएको अध्ययनहरुले समेत त्यही देखाएको थियो । अझ कांग्रेसको नेतृत्वमा आएको परिर्वतनले रास्वपाको लहरलाई धेरथोर ब्रेक लगाउनसक्ने विश्लेषण समेत हुन थालेको थियो ।
तर मतदाता, सरकार बनाउने र भत्काउने खेलबाट आजित भइसकेका थिए । अब कम्तिमा ढुक्कका साथ ५ वर्ष सरकार चलोस्, आफ्नो घोषणापत्रअनुसार काम गर्न पाओस् भन्ने चाहे । त्यसैले रास्वपाको पक्षमा मत दिए ।
जब मत पेटिका खुल्यो, रास्वापालाई अभूतपूर्व मत खसेको प्रष्ट देखियो । गणनामा बसेका दलका प्रतिनिधिहरु नै छक्क पर्थे । उनीहरुका अनुसार कसले कति मत पायो भन्ने गणना गर्नुभन्दा अगाडि मतपत्रलाई छुट्याउने गरिन्छ । अरु सबै दलले पाएको मतको पत्र एकातिर, रास्वपाले पाएको मत अर्कोतिर राख्ने हो भने रास्वपाकै अङ्गलो चाङ हुन्थ्यो ।
प्रत्यक्षको गणना नसकिँदै प्रष्ट भयो, रास्वपालाई सरकार बनाउन चाहने १३८ को कुनै दुःख हुन्न ।
प्रत्यक्षतर्फ नै १२५ सिट जित्ने निश्चित भएपछि प्रश्न उठ्यो, दुई तिहाई पुग्छ कि पुग्दैन ?
दुई तिहाई पाएको भए रास्वपाले केके गर्नसक्थ्यो भनेर हामीले अघिल्लो भिडियोमा डिटेलमा बताएका छौं । यदि हेर्न छुटाउनु भएको छ भने लिंक डिस्किप्सनमा छ ।
तर जनताले निकै अड्कलेर मत दिएका रहेछन् । रास्वपालाई ढुक्कले सरकार चलाउन चाहिने मत दिएका छन् । त्यो पनि दुई तिहाईको नजिक पुग्ने गरी ।
तर दुई तिहाई नै चाहिँ दिएनन्, ताकि शासकीय स्वरुप, संघीयता जस्ता मुद्दामा रास्वपाले एक्लै केही गर्न नसकोस्, संविधान बनाउने राजनीतिक दलहरुलाई समेत साथमा लिओस् ।
संविधानविद् वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीका अनुसार यो निर्वाचनले रास्वपालाई दिएको म्यान्डेट हो ।
पहिलो, स्थिर सरकार अर्थात् एकै जना प्रधानमन्त्रीलाई पूर्ण कार्यकाल सरकार चलाउन देऊ ।
दोस्रो, विना अवरोध भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र विकास बजेट परिचालन गर
तेस्रो, नागरिकलाई सेवा सुविधा दिन र मौलिक हक कार्यान्वयन गर्न आफू अनुकुलको नीति र कानुन बनाऊ ।
हाम्रो संविधानअनुसार कानुन बनाउने प्रक्रियामा राष्ट्रियसभाको केही भूमिका त छ, तर प्रतिनिधिसभाले पारित गरेको कानुन राष्ट्रियसभाले रोक्न सक्दैन ।
उसले संशोधन भने गर्न पाउँछ । प्रतिनिधिसभाले पारित गरेर पठाएको कुनै विधेयक राष्ट्रियसभाले संशोधन गरिदियो भने त्यसलाई संयुक्त बैठक बसेर बहुमतले पारित गर्नुपर्छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दा कुल सांसद संख्या ३३४ हुन्छ । संयुक्त बैठकमा बहुमत पुर्याउन १६८ जनाको समर्थन चाहिन्छ । यो संख्या राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ ।
अर्थात सरकार चलाउन चासहने कानुन बनाउन रास्वपालाई कसैले रोकतोक गर्न सक्दैन ।
तर संविधान संशोधन लगायतका राष्ट्रिय महत्वको विषयमा भने अन्य दलको सहमति लिएर काम गर्ने म्यान्डेट जनताले रास्वपालाई दिएको संविधानविद् ज्ञवाली बताउँछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्रमा संविधान संशोधन के के विषयमा गर्ने भन्ने खुलाएको छ । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद भनेको छ । अनि सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरुप ।
प्रत्यक्ष निर्वाचित कार्यकारी जेनजी पुस्ताको माग पनि हो । तर यसका लागि संविधान संशोधन गर्नैपर्छ ।
संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभा, दुबै सदनमा दुई तिहाइको बहुमत चाहिन्छ ।
प्रतिनिधिसभा रास्वपालाई २ सांसद पुग्दैन । यसका लागि श्रम संस्कृति पार्टी वा राप्रपाको समर्थन जु्टाए पनि पुग्छ । राष्ट्रियसभामा त रास्वपा मात्र होइन, श्रम संस्कृति र राप्रपाको उपस्थिति नै छैन । दुई तिहाइ त धेरै पर भयो ।
त्यसैले अब संविधान संशोधन गर्ने हो भने रास्वपाले संविधान बनाउने दलहरु कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई सहमतिमा लिनुपर्छ ।
राष्ट्रियसभामा कांग्रेसका २४ जना, नेपाली कम्युनिस्ट पार्टीका १७ जना, नेकपा एमालेका १० जना, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना रहेका छन् । रास्वपा नेतृवको सरकारले ३ जना मनोनित गर्न पाउँछ ।
राष्ट्रियसभामा दुई तिहाइ पुर्याउन कम्तीमा ४१ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको समर्थन अनिवार्य चाहिन्छ ।
संविधान संशोधन मात्र होइन, जनमत संग्रह, संकटकाल लगाउन र राष्ट्रपति तथा उपराष्ट्रपतिलाई महाअभियोग पास गर्न पनि राष्ट्रिय सहमति चाहिने भएको छ ।
त्यसैले अहिलेको जनमतबाट मतदाताले रास्वपालाई दिएको सन्देश हो, ५ सरकार ढुक्कसँग चलाऊ, संविधान नचलाऊ । चलाउने भए राष्ट्रिय सहमति जुटाएर मात्र चलाऊ ।
जेन-जी माननीयहरु
रास्वपाले संविधान चलाउन सक्छ ? राष्ट्रपति के गर्छ ?
कहिले र कसरी हुन्छ नयाँ प्रधानमन्त्रीको नियुक्ति ?
प्रतिवेदन बुझाउन नपाउँदै जाँचबुझ आयोगलाई सर्वोच्चको झट्का



-1773239709.jpeg)
