सिंहदरबार छिरेका नयाँ व्यवसायीहरू
नेपालमा राजनीतिक आन्दोलनको इतिहास हेर्ने हो भने निकै संघर्षपूर्ण देखिन्छ । नेपाली कांग्रेस, नेकपा एमालेजस्ता दलका कार्यकर्ताले लामो समय भूमिगत भएर राजनीति गरे, कतिले वर्षौंसम्म जेल–नेल भोगे ।
त्यसपछि माओवादी १० वर्षसम्म भूमिगत सशस्त्र संघर्षबाट मूलधारको राजनीतिमा आयो । त्यसैले नेपालमा राजनीतिको आदर्श नै त्याग, बलिदान र संघर्ष थियो ।
को लामो समय आन्दोलनमा लाग्यो, कसले धेरै जेल नेल र यातना भोग्यो त्यो आधारमा नेताहरुको मूल्यांकन हुन्थ्यो ।
तर २०६४ सालपछिको राजनीतिमा भने यस्तो त्याग र बलिदानको पक्ष गौण बन्दै गयो । पैसा भयो भने राजनीति गर्न सकिन्छ भन्ने मान्यता स्थापित हुँदै गयो ।
नेपालमा उद्यम व्यवसाय गरेर पैसा कमाउनेहरुलाई अझै पनि राम्रो नजरले हेरिँदैन । उनीहरु नाफाखोरी र कर छली गर्छन् भन्ने गलत मान्यताले समाजमा जरा गाडेको छ ।
२०६४ पछिको संसदमा तीनै उद्योगी र व्यवसायीहरुको संख्या निरन्तर बढिरहेको छ । ठूला घरानाका उद्योगी, निर्माण र म्यानपावर व्यवसायी, बैंकर र क्रसर उद्योगीहरु सजिलै सांसद बनिरहेका छन् ।
जब नेपालमा समानुपातिक निर्वाचन प्रणालीको सुरुवात भयो, त्यसपछि व्यवसायीहरुलाई सांसद बन्न सजिलो हुँदै गयो । यसरी संसद छिरेकाहरुले कानुन बन्ने क्रममा आफ्नो व्यापार व्यवसायलाई अनुकुल हुने गरी हस्तक्षेप गरेको प्रशस्तै उदाहरण छन् ।
ठेकेदारले खरिद कानुन नै मनपरी चलाए, बोर्डिङ र मेडिकल सञ्चालक, बैंक सञ्चालकले पनि आफूखुसी गरे । प्रत्यक्ष राजनीतिमा नआएका धनाढ्य उद्योगी व्यवसायीसँग पनि दल र तिनका नेताहरुको साँठगाठ बलियो भयो । यो जनतालाई मन परेको थिएन ।
जेनजी आन्दोलनमा राजनीति र व्यवसायमा दुबैमा जोडिएकाहरु मुख्य तारोमा परे । भाटभटेनी, सीजी लगायतमा भएको आक्रमणले त्यसलाई प्रष्ट पार्छ, जुन कुरा हालै त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागले गरेको अध्ययनले पनि पुष्टि गरेको छ ।
जेनजी आन्दोलनपछि धेरैलाई लागेको थियो, उद्योगी व्यवसायी र नेताको सम्बन्ध अब पहिला जस्तो हुँदैन । नेता र व्यवसायी अलग अलग देखिएलान् । तर, २१ फागुनको चुनावबाट त झनै धेरै व्यवसायीहरु संसदमा पुगेका छन् ।
कानुन व्यवसायीलाई हिसाब नगर्दा पनि २७५ सांसदमध्ये ६० भन्दा धेरै त उद्योगी, व्यापारीहरु नै छन् । उनीहरुमध्ये धेरैको त राजनीतिक पृष्ष्ठभूमि नै छैन, व्यापार व्यवसायबाट बनाएको छवि र कमाएको पैसाका कारण नै सांसद भएको देखिन्छ ।
चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी र पुराना राजनीतिक दलले थुप्रै व्यापारीहरुलाई टिकट दिएका थिए ।
तर पुराना दलबाट चुनाव लडेकाहरु धेरै पराजित भए । रास्वपाबाट चुनाव लडेका व्यापारीहरु सांसद बने । रास्वपाबाट चुनाव जितेका ६० भन्दा बढी व्यावसायिक पृष्ठभूमिका छन् ।
बदनकुमार भण्डारी, काभ्रे–२ । बदन ई–कमर्स व्यवसायी हुन् । उनी एबीजेड अनलाइन सपिङ साइटका सञ्चालक हुन् । उनी नेपाल राष्ट्रिय व्यवसायी महासंघको उपमहासचिव तथा इ–कमर्श एसोसिएसनको महासचिव हुन् ।
जगदिश खरेल, दोलखा । खरेल हाइड्रोपावर र इन्जिनियरिङ व्यवसाय गर्छन् । माँ शक्ति इन्जिनियरिङ एन्ड हाइड्रोपावर र सिल्क पावर प्रालिमा उनको लगानी छ । उनको कम्पनीले सोलुखुम्बुमा २५ मेगावाटको आयोजना बनाइरहेको छ ।
पारसमणि गेलाल, उदयपुर–१ । गेलाल कोशी प्रदेशका अटोमोबाइल व्यवसायी हुन् । कार/जिपको शो रुम चलाउँछन् ।
रमेशकुमार सापकोटा, सुर्खेत २ । सापकोटा, यातायात कम्पनी चलाउँछन् । काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेशका संयोजक समेत छन् ।
धनञ्जय रेग्मी, स्याङ्जा–१ । रेगमी नेपाल पर्यटन बोर्डमा पूर्व सीईओ हुन्, उनी पर्यटन व्यवसायी हुन् । साथै होटल, हाइड्रो र आटोमोबिल व्यवसायमा समेत उनको लगानी छ ।
झविलाल डुम्रे, स्याङ्जा–२ । उनी इन्टरनेट सेवा प्रदायक कम्पनीका लगानीकर्ता हुन् । उनको कम्पनी टिपी लिंक नेटवर्क हो, जसले गण्डकी प्रदेशमा इन्टरनेट सर्भिस दिँदै आएको छ । पोखरामा उनको कम्प्युटर, प्रिन्टर, सीसीटीभी लगायतका सामग्रीको व्यवसाय छ ।
नीतिमा भण्डारी कार्की, सर्लाही–१ । उनी रेस्टुरेन्ट सञ्चालक हुन् । उनको चर्चित चेन रेष्टुरेन्ट ब्राण्ड ‘बाजेको सेकुवा’ मा उनको स्वामित्व छ ।
अरबिन्द साह, बारा–३ । अरबिन्द आईटी उद्यमी हु्न्, उनी डिजिटल वालेट खल्ती एपका सहसंस्थापक हुन् । स्प्यारो एसएमएसजस्ता कम्पनी पनि उनकै हो ।
बुद्धिप्रसाद पन्त, पर्सा–१ । पन्त होटल व्यवसायी हुन्, उनी वीरगञ्जमा क्लासिक र कन्ट्री इन होटल चलाउँछन् ।
भरत पराजुली, सिन्धुपाल्चोक–१ । उनी हाइड्रोपावर व्यवसायी तथा लगानीकर्ता हुन् । उनको कम्पनीले सिन्धुपाल्चोकमै ४५ मेगावाटको ब्रह्मायणी जलविद्युत् आयोजना आयोजना बनाइरहेको छ । उनी जलविद्युत् कम्पनीहरुलाई सुरुङ बनाउन आवश्यक विस्फोटक पदार्थ उपलब्ध गराउने कम्पनी पनि चलाउँछन् ।
सुशील खड्का, बाग्लुङ । खड्का रेस्टुरेन्ट सहित ग्रीन बिजनेस र रिसाइक्लिङ बिजनेसमा संलग्न छन् । उनले ‘अभ्नी भेन्चर्स’ कम्पनीमार्फत प्लास्टिक रिसाइक्लिङ नेटवर्क चलाएका छन् ।
श्रीराम न्यौपाने, तनहुँ २ । न्यौपानले इन्जिनियरिङ कन्सल्टिङ व्यवसाय गर्छन् । एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको संस्थापक पनि हुन् ।
हरिमोहन भण्डारी, बैतडी । भण्डारी रियलस्टेट व्यवसायी हुन् । उनी घरजग्गा क्षेत्रमा सुदूरपश्चिममा कहलिएका लगानीकर्ता हुन् ।
लालबिक्रम थापा, सुनसरी–२ । लालबिक्रम थापा कलेज सञ्चालक हुन् । उनी होराइजन इन्जिनियरिङ कलेजका संस्थापक हुन् ।
रामविनोद यादव, धनुषा–२ । यादव, उनी निर्माण कम्पनी चलाउँछन् । नेपाली सेनाका लागि रासनको ठेकेदारी पनि गर्छन् ।
प्रकाश गौतम, मकवानपुर–१ । गौतम होटल व्यवसायी हुन् । उनले हेटौंडामा प्रकाश होटल इन्टरनेसन चलाइरहेका छन् ।
शम्भुकुमार यादव, सिरहा–३ । उनी मेडिकल व्यवसायी हुन् । उनी सिरहाको मिर्चैयामा मिर्चैया हेल्थ पोलिक्लिकन चलाउँछन् ।
रमाकान्त प्रसाद चौरसिया, पर्सा–३ । चौरसिया निर्माण व्यवसायी हुन् । उनी मोना कन्स्ट्रक्स्न कम्पनीका सञ्चालक हुन् ।
कन्हैया बानियाँ, रुपन्देही–४ । बानियाँ पेट्रोलियम व्यवसायी हुन् । उनको रुपन्देहीमा पेट्रोल पम्प व्यवसाय छ ।
सागर भुसाल, पर्वत । भुसाल उद्योगी अनि पर्यटन व्यवसायी हुन् । उनको पोखरामा होटल रोमान्टिका र पाँचपाण्डप यूपीभीसी उद्योग सञ्चालनमा छ ।
हरिप्रसाद भुसाल, अर्घाखाँची । भुसाल मिडिया सञ्चालक हुन् । सन्धिखर्कमा आर्टस् व्यवसाय पनि चलाएका छन् । अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव नै छन् ।
रुकेश रन्जित, भक्तपुर–१ । नेपाल मजदुर किसान पार्टीको गढ भत्काएर चुनाव जितेका रुकेश विभिन्न व्यवसायमा संलग्न छन् । उनी रन्जित भक्तपुर उद्योग वाणिज्य संघका महासचिव हुन् ।
प्रशान्त उप्रेती, मकवानपुर २ । उप्रेती पर्यटन व्यवसायी हुन् । उनी काठमाडौंमा ट्राभल एन्ड टुर्स र रेस्टुरेन्ट चलाउँछन् , उनको परिवारले मकवानपुरको मनहरीमा युनाइटेड सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल चलाउँछ ।
रहबर अन्सारी, बारा ४ । पूर्व माओवादी नेता रहेका रहबर अस्पताल सञ्चालक हुन् । वीरगञ्जमा रहबरको परिवारको लगानीमा गण्डक अस्पताल चलिरहेको छ ।
नरेन्द्र साह कलवार, सर्लाही–३ । कलवार निर्माण व्यवसायी हुन् । पछिल्लो समयमा भने उनले अन्य व्यवसायमा समेत हात हालेका छन् ।
प्रमोदकुमार महतो, महोत्तरी १ । उनी स्थानीय क्रसर व्यवसायी हुन् ।
रामजी यादव, सप्तरी २ । यादव इन्जिनियरिङ कन्सल्टिङ व्यवसाय गर्छन् । इजिवल्र्ड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक हुन् ।
माधवबहादुर थापा, पाल्पा २ । थापा मेडिकल व्यवसायी हुन्, उनी बुटवलमा होमियोप्याथी क्लिनिक चलाउँछन् ।
कोमल ज्ञवाली, कैलाली १ । ज्ञवाली कृषि सामग्री व्यवसायी हुन् । उनको कम्पनीले काठमाडौं र कैलालीमा कृषि उपकरण तथा बीउबिजन बिक्री गर्छ ।
धनेन्द्र कार्की, सिन्धुली १ । कार्की यातायात व्यवसायी हुन् । उनले सार्वजनिक यातायातको क्षेत्रमा कम्पनी खोलेर लगानी गरेका छन् ।
श्रीधर पोखरेल, बर्दिया २ । पोखरेल पर्यटन व्यवसायी हुन्, बर्दियाको ठाकुरद्वारामा रेसिसेड रिसोर्ट चलाउँछ । काठमाडौंमा रहेको सेक्रेट नेपाल टुर्स एन्ड ट्राभल्स पनि उनकै हो ।
कृष्णकुमार कार्की, मोरङ २ । कार्की पनि होटल व्यवसायी हुन् । काठमाडौंका विभिन्न होटलमा उनको लगानी छ ।
सोम शर्मा, बागलुङ २ । उनी कम्प्युटर व्यवसायी हुन् । उनी मेगा कम्प्युटर होम चलाउँछन् । अहिले शुभ विजया कृषि कम्पनीमा समेत उनको लगानी छ ।
केपी खनाल, कैलाली २ । खनाल चिया पसल सञ्चालक हुन् । उनी काठमाडौंमा चियादानी नामक चिया पसल चलाउँछन् ।
डोलप्रसाद अर्याल, काठमाडौं–९ । रास्वपाका उपसभापति अर्याल अहिले व्यवसायी भन्दा राजनीतिज्ञ नै ज्यादा हुन् । तर, भुल्न नहुने कुरा उनी ट्राभल, कन्सल्टेन्सी, सहकारी, रेमिटेन्स कम्पनीहरु चलाउँछन् । सुमिरे टुर्स, इजिलिंक रेमिटेन्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी जस्ता कम्पनी उनकै हो ।
गणेश पराजुली, काठमाडौं–७ । रास्वपाको सचिवालय सदस्य रहेका पराजुली ह्याण्डिक्राफ्ट र गार्मेन्ट व्यवसायी हुन् । उनी यस्ता उत्पादन निर्यातमा संलग्न छन् ।
हरि ढकाल, चितवन १ । रास्वपाको सचिवालय सदस्य रहेका ढकाल लगानीकर्ता हुन् । खास व्यवसायमा संलग्न नभएपनि उनी नेपाल स्टल एक्स्चेन्जका ठूला शेयर लगानीकर्तामध्ये एक हुन् ।
रास्वपाको समानुपातिकतर्फमा व्यवसायी संसदहरु
विदूषी राणा । उनी स्थापित उद्यमी हुन्, राणा जुत्ता चप्पल बनाउने गोल्डस्टार कम्पनीकी सञ्चालक हुन् ।
बासुमाया तामाङ । तामाङ अचार उद्योगी हुन् । उनले नेपाली मन उद्योगमार्फत अचार बनाएर व्यवसाय गरिरहेकी छिन् ।
खुस्बु सरकार श्रेष्ठ । श्रेष्ठ स्थापित लगानीकर्ता व्यवसायी हुन् । विभिन्न क्षेत्रमा उनी लगानी गर्छन् ।
मिङ्मा ग्याबु शेर्पा । शेर्पा पर्यटन व्यवसायी हुन् । उनी ट्राभल र एक्पिडिसन कम्पाीहरु चलाउँछन्, निम्स दाइका व्यवसायिक पार्टनर पनि हुन् ।
गंगा छन्त्याल । छन्त्याल गार्मेन्ट व्यवसायी हुन् । उनी युनिक सेवा गार्मेन्ट कम्पानी चलाउँछिन् ।
अनुष्का श्रेष्ठ । पूर्वमिस नेपाल समेत रहेकी श्रेष्ठ पनि व्यवसायी हुन् । उनी पुष्टकारीलाई ‘माक्कुसे’ ब्रान्ड बनाएर बेचिरहेकी छिन् ।
सिर्जना श्रेष्ठ । कम्प्युटर व्यवसायी तथा आईटी कम्पनी सञ्चालक हुन्, उनी लिपफ्रग टेक्नोलोजी कम्पनी चलाउँछिन् । क्यान महासंघमा उपाध्यक्ष छिन् ।
लिमा अधिकारी । रास्वपाको कोषाध्यक्ष समेत रहेकी अधिकारी ठूलो लगानीकर्ता हुन्, उनी र उनको परिवारको हाइड्रोदेखि बैंक र डिसहोमसम्म लगानी छ । रास्वपाले उनको नाम निर्वाचन आयोग नपठाउँदासम्म उनी नेपाल इन्फ्रास्ट्रक्चर ब्यांक सञ्चालक थिइन् ।
शोभा खनाल । खनाल पर्यटन व्यवसायी हुन्, उनी हिमालय समिट ट्रेक एन्ड एक्सिपिडिसन चलाउँछन् । हिमालय डिजिटल सोलुसन पनि उनकै कम्पनी हो ।
अमृता विक । अमृता सुन चाँदी व्यवसायी हुन् । लुम्बिनी प्रदेशमा सुन चाँदी पसल चलाउँछिन् ।
स्मृति सेन्चुरी । सेन्चुरी सौन्दर्य व्यवसायी हुन्, उनी भक्तपुरमा ‘ग्लो अप’ नामक ब्युटी पार्लर लाउँछिन् ।
सुश्मा स्वर्णकार । उनी पनि सुन चाँदी व्यवसायी हुन्, दाङमा उनको सुन पसल छ ।
प्रेमलाल चौधरी । चौधरी लघुवित्त सञ्चालक हुन् । मोरङमा पूर्वाञ्चल ग्रामीण विकास बैंकमा उनको लगानी छ ।
कांग्रेसबाट निर्वाचित व्यवसायी सांसद
विष्णुबहादुर खड्का, सुर्खेत–१ । खड्का यातायात व्यवसायी हुन् । उनी मध्यपश्चिम यातायात कम्पनीमा लगानी गरेका छन् । उनको अस्पताल, पेट्रोल पम्प, मेडिसिन लगायत क्षेत्रमा लगानी छ ।
प्रकाशसिंह कार्की, सोलुखुम्बु । कार्की पर्यटन र कार्गो व्यवसायमा आबद्ध छन् । उनी नेपाल फ्रेट फर्वार्ड एसोसिएसनका अध्यक्ष समेत भइसकेका छन् ।
मोहन आचार्य, रसुवा । आचार्य निर्माण व्यवसायी हुन् । उनको रसुवा कन्स्ट्रक्सन क वर्गको लाइसेन्स पाएको निर्माण कम्पनी हो ।
टेकबहादुर गुरुङ, मनाङ १ । गुरुङ म्यानपावर व्यवसायी हुन्, साथै काठमाडौंको भृकुटीमण्डपको फनपार्कमा उनको लगानी छ ।
०००
नेकपाकाबाट पनि एक जना व्यवसायी संसदमा पुगेका छन् । उनी हुन्, धनबहादुर बुढा, डोल्पा । बुढा निर्माण व्यवसायी हुन् । उनको निर्माण कम्पनी हिमाली निर्माण सेवा हो । पर्यटनको क्षेत्रमा समेत बुढाको लगानी छ ।
नेकपा एमालेकातर्फबाट एमालेका तर्फबाट पनि एक जना मात्रै व्यवसायी सांसद बनेका छन्, उनी हुन् भूमिका सुब्बा लिम्बु, समानुपातिक सांसद ।
साहित्यकार समेत रहेकी लिम्बु उद्यमी पनि हुन् । उनी पूर्वेली अग्र्यानिक कफी प्रशोधन कम्पनीकी सञ्चालक छिन् ।
राप्रपाबाट पनि एक जना मात्रै व्यवसायी सांसद बनेका छन्, उनी हुन्, भरत गिरी, समानुपातिक सांसद । गिरी पनि लगानीकर्ता हुन् । उनको लगानीमा काठमाडौंमा फिनिक्स कलेज सञ्चालनमा छ ।
०००
यसरी उद्योगी व्यवसायी सांसदहरु संसद छिर्दाका फाइदा र बेफाइदा दुबै छ । धेरै सांसदले उद्योग, लगानी, अर्थतन्त्र र डिजिटल इकोनोमी बुझेको अवस्थामा सुखद् हो । यसले आर्थिक मुद्दाहरुमा संसदले बनाउने कानुन प्रभावकारी हुन्छ । व्यावहारिक नीति बनाउन सक्छन् ।
तर, यो भन्दा बढी जोखिम छ । यसरी व्यवसायीहरु संसद पुग्दा स्वार्थको द्वन्द्व अर्थात् कन्फ्लिक्ट अफ इन्ट्रेस्ट देखिन सक्छ ।
किनकी सांसदहरुले विगतमा जस्तै आफ्ना व्यवसायलाई फाइदा हुने कानुन बनाउन सक्छन्, संसदीय समिति मार्फत आफ्ना स्वार्थ लाद्न सक्छन् ।
अहिलेसम्म नेपालमा सांसद बनेपछि आफ्नो व्यवसायसँग जोडिएको समितिमा बस्न नपाउने गरी कानुन बनेको छैन । आफ्नो स्वार्थ बाझिने समिति नबस्ने या त्यस्ता छलफलमा भाग नलिने कुरा व्यवसायी सांसदहरुको नैतिक विषय हो ।
हिजो पुराना दलका सांसदले आफ्नो स्वार्थ बाझिएको ठाउँमा कतैपनि नैतिकता देखाएका थिएनन् । नयाँ सांसदहरुले के गर्छन्, त्यो हेर्न बाँकी छ ।
रास्वपा किन फेर्न चाहन्छ भारुसँगको फिक्स्ड सटही दर ?
नयाँ मन्त्रीहरुलाई छैन क्वार्टर, कहाँ बस्छन् ?
ग्यास संकट : दैलेखको ग्यास निकाल्न मिल्दैन ?
रास्वपाको सरकारले कर घटाउँछ ?

-1773930665.jpeg)



