हिल्टनको बीमामा चलखेल, आफ्नै जालमा फसे लगानीकर्ता
–लगानीकर्ताबारे अपुष्ट हल्लाका कारण जेनजी आन्दोलनमा हिल्टन होटल जल्न पुग्यो ।
–साढे ८ अर्ब लगानी गरेको होटल चल्न थालेको डेढ वर्षमै खरानी हुँदा लगानीकर्तामाथि ठूलो बज्रपात पर्यो ।
–अहिले धमाधम होटल पुनर्निर्माण भइरहेको छ । तर होटलमा भएको क्षतिको कभरेजका लागि गरिएको बीमा पनि विवादमा परेको छ । यसको पुनर्बिमा नै अवैध ढंगले भएको खुलेको छ ।
–होटल जलेपछि बीमाको दायित्व सरकारी पुनर्बिमा कम्पनीमाथि थोपर्न खोजिएपछि लगानीर्ताहरु नै फसेका छन् । अब हिल्टनले कसरी पाउँछ त बीमाको रकम ?
००००
काठमाडौंको नक्सालमा २०८१ साउनदेखि सञ्चालनमा आएको थियो, हिल्टन होटल ।
यो होटलको लगानीकर्ता हो शंकर समूह । यो समूहका संस्थापक हुन् शंकर अग्रवाल ।
अनि उनका छोराहरु सुलभ र साहिल अग्रवालले शंकर समूहको बिजनेश सम्हाल्दै आएका छन् ।
सुलभ तिनै व्यक्ति हुन्, जो कोरोना महामारीमा कूटनीतिक नम्बर प्लेटको गाडीमा थर्मल गन तस्करी र कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।
शंकर समूह अन्तर्गत जगदम्बा होल्डिङ्स र जगदम्बा ग्रुप गरी २ वटा समूह छन् ।
यी दुई ग्रुप अन्तर्गत जगदम्बा स्टिल्स, ऋद्धिसिद्धि सिमेन्ट, टीभीएस बाइक बेच्ने जगदम्बा मोटर्स, प्रोटोन गाडीको डिलरसिप, बलेफी हाइड्रो, मोदी इनर्जी, हेनेसी रक्सी जस्ता उद्योग व्यवसाय सञ्चालनमा छन् ।
यो समूह विभिन्न खाद्य प्रडक्टदेखि विद्युतीय समग्रीसम्मको आयातकर्ता पनि हो । बीमा कम्पनी युनियन लाइफ इन्सुरेन्स र पुनर्बिमा कम्पनी हिमालयन रिमा पनि यो समूह मुख्य लगानीकर्ता हो ।
यति धेरै बिजनेस भएको यो समूहमा पछिल्लो समय विवादास्पद व्यवसायी दीपक भट्ट पनि जोडिएका छन् । दीपक जोडिएपछि यो समूह धेरै विवादमा आइरहेको छ ।
किनकी भट्टलाई पावर ब्रोकरका रुपमा चिनिन्छ । उनी सरकारलाई नै प्रभावमा पारेर अनुचित र ठूला नीतिगत निर्णय गराउने ल्याकत राख्छन् । उनी नेपालमा हुने हतियार खरिद, ठूला जलविद्युत आयोजनाका लाइसेन्सदेखि पोलिसी क्याप्चर गर्ने निर्णयहरुमा पर्दा पछाडिका ठूला खेलाडी मानिन्छन् ।
बिमा प्राधिकरण, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक जस्ता नियामक निकायका प्रमुखहरुको नियुक्तिमा यो समूह सोझै हाबी भएको थियो ।
धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठ र बीमा प्राधिकरणमा शरद ओझालाई नियुक्त गर्न यो समूहले गरेको चलखेल लुकेको थिएन । यही कारण जगदम्बा ग्रुप बिजनेशमा अब्बल र सफल भएपनि उसमाथि आशंका पनि उत्तिकै छ ।
यो त भयो हिल्टनको लगानीकर्ताबारेको संक्षिप्त परिचय ।
अब हिल्टनको विगतमा फर्कौं । अन्तर्राष्ट्रिय चेन होटल ब्राण्ड हिल्टन नेपालमा २०७३ सालमा निर्माण सुरु भएको थियो ।
जग खन्न सुरु गर्नासाथ यो होटल विवादमा परेको थियो । वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) समेत नगरी जग खन्न थालिएको थियो ।
जग खन्दा खन्दै नक्सालको मूल सडक नै भासिन थालेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिए, संसदमा समेत उठ्यो ।
त्यसपछि काठमाडौं महानगरपालिकाले गरेको छानबिनमा हिल्टनको नक्सा पास गर्दा माटो परीक्षण रिपोर्ट समेत नहेरिएको भेटियो । जग खन्दा साइट प्रोटेक्सन समेत नगरिएको खुल्यो, सँधियारहरुसँग छलफल समेत नगरेको र जग भासिँदा केही घरहरुमा क्षति पुगेको देखियो ।
छानबिनबाट यति कुरा त पत्ता लाग्यो, तर हिल्टनमाथि कुनै कारवाही गरिएन ।
होटलको निर्माण ३ वर्षभित्र सक्ने भनिएको थियो । तर, ८ वर्षपछि २०८१ मा मात्र तयार भयो ।
७ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने भनिएको थियो, निर्माणमा भएको ढिलाइले ८ अर्ब ३५ करोड लगानी भयो ।
होटलका लागि नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, नेपाल एसबीआई, माछापुच्छ्रे, कृषि विकास, नेपाल बैंक र मुक्तिनाथ विकास बैंकले ५ अर्ब २ करोड ऋण दिएका थिए ।
होटलमा १७२ वटा कोठाहरु थिए । ५ वटा डाइनिङ भेन्युहरु थिए । सभाहलदेखि स्विमिङ पुल अनि जिम, साउना र सबै फाइभस्टार सुविधा उपलब्ध थिए ।
त्यसैले हिल्टन नक्साल क्षेत्रको शोभा नै बनेको थियो । नक्सालमा थपिएको यो होटलमा ३ सय जना भन्दा बढीले रोजगारी पाएका थिए ।
होटलमा नियमित इभेन्टहरु भइरहेका थिए, अन्तर्राष्ट्रिय चेन ब्राण्ड भएकाले विदेशी पाहुना पनि पाइरहेको थियो ।
०००
तर, यो हिल्टनबारे एउटा आफवाह फैलियो, यसमा शेरबहादुर देउबाको छोरा जयवीरको लगानी छ ।
यो अपुष्ट सूचना एक समय सामाजिक सञ्जालमा भाइरल भयो । केही सञ्चार माध्यमले अपुष्ट सूचनाकै आधारमा समाचार बनाए ।
जसले हिल्टन होटलमा भ्रष्टाचारको पैसा लगाइएको छ भन्ने भाष्य स्थापित भयो । लगानीकर्ताबारे भ्रमपूर्ण र मिथ्या सूचना फैलिएपछि हिल्टनले त्यसको खण्डन पनि गर्यो, तर मिस इन्फर्मेसन यसरी फैलिएको थियो कि यो होटलबारे धेरैको बुझाइ बदलिन सकेको थिएन ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते यो होटलमा बर्बरतापूर्ण आक्रमण भयो । ठूलो समूहले सुरुमा होटलमा ढुंगामुढा गर्यो । पछि भीड नै छिरेर लुटपाट र आगजनी गर्यो ।
यो होटल भदौ २६ गतेसम्म पनि जलिरहेकै थियो । साढे ८ अर्ब लगानीको गगनचुम्बी होटलको जलेको रुप नेपालको जेनजी आन्दोलनमा पर्यटन क्षेत्रमाथि भएको आक्रमणको ज्वलन्त उदाहरण नै बन्यो ।
यो घटनाले शंकर समूह मात्रै हैन, धेरै लगानीकर्तालाई स्तब्ध बनायो । निजी लगानीको सुरक्षाबारे हिल्टनको आगोले गम्भीर प्रश्न जन्माएकै छ । सँगै पर्यटकीय होटलमा भएको आगजनीले नेपालका होटलहरुको सुरक्षामा समेत आशंका बढाएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन क्षेत्रबारे नकारात्मक धारणा पनि बढाएको छ ।
००००
जलेर नष्ट भएको होटल अहिले धमाधम पुनर्निर्माण भइरहेको छ । यति ठूलो लगानीमा बनेको होटल ध्वस्त हुँदा पनि लगानीकर्ता छिटै उठ्न लागेकामा सकारात्मक धारणा पनि सञ्चार भएको छ ।
यो होटल जलेपछि धेरैको मनमा प्रश्न थियो, यसको बिमा त गरिएको होला नि ? अनि कति पैसा पाउला त ?
यति ठूलो लगानीमा बनाएको होटलको बीमा नगर्ने कुरै थिएन । झन् शंकर समूह त आफैं पनि बीमा र पुनर्बिमा बिजनेसमा छ । नेपालमा बीमा र पनुर्बिमा क्षेत्रको ठूलो खेलाडी नै हो भन्दा हुन्छ । २०७५ यता बीमा क्षेत्रको नियामक बिमा प्राधिकरणमा यो समूहको ठूलै प्रभाव छ ।
बीमाका लागि हिल्टनले रोजेको थियो, दि ओरियण्टल इन्स्योरेन्स ।
होटल जलेपछि हिल्टनले ६ अर्ब रुपैयाँको बीमा दाबी गरेको थियो । यसअनुसार एक जापानी कम्पनीले क्षतिको मूल्यांकन गरेको थियो । त्यो कम्पनीले ४ अर्ब रुपैयाँ दाबी भुक्तानी दिन सिफारिस गर्यो ।
जब बीमा वापत पाउने रकम फिक्स भयो, त्यसपछि भने हिल्टनको बीमा रकम कसलाई तिराउने भन्ने खेल सुरु भयो । किनभने हिल्टनको बीमा त ओरियन्टलमा गरिएको थियो ।
तर ‘हुलदंगा तथा आतंकवाद जोखिम’ को पुनर्बिमा भने शंकर ग्रुपकै लगानी रहेको हिमालय–रिमा गरिएको थियो ।
कुनै पनि बीमा कम्पनीले सबै जोखिम एक्लै बोक्दैन, त्यसैले बीमा कम्पनीहरुले पनि आफूल गरेको बीमाको पुनर्बिमा गराएका हुन्छन् । नेपालमा अहिले सरकारी स्वामित्वको नेपाल रि र निजी स्वामित्वको हिमालयन–रि गरी २ वटा पुनर्बिमा कम्पनी छन् ।
नेपाली कम्पनीले जोखिम लिनसक्ने पुनर्बिमा नेपाली कम्पनीहरुमै गराउन पर्ने गरी नियमहरु पनि बनाइएका छन् ।
जस अनुसार ‘हुलदंगा तथा आतंकवाद जोखिम’ को पुनर्बिमा सरकारी कम्पनी नेपाल रिमा मात्र गर्नुपर्ने व्यवस्था छ ।
खासमा माओवादी द्वन्द्वकालमा नेपालमा पुनर्बिमा कम्पनी नै थिएन । विदेशी पुनर्बिमा कम्पनीले हुलदंगा तथा आतंकवादजन्य क्षतिको पुनर्बिमा गर्न मान्दैनथे । २०६१ सालमा आकस्मिक बिमा कोषको स्थापना गरेर यस्तो पुनर्बिमाको अभ्यास भएको थियो ।
यही कोषलाई २०७१ मा नेपाल पुनर्बिमा कम्पनी बनाइएको थियो । त्यसबेला नै सरकारले हुल दंगा र आतंकवाद जोखिमको बीमा नेपाल पुनर्बिमा नै गनुपर्ने नीति बनाएको थियो ।
२०७८ असारमा निजी क्षेत्रबाट हिमालयन रि–इन्स्योरेन्स पनि स्थापना भयो । नेपाल रिले गरिरहेका अरु पुनर्बिमा हिमालयन रि ले पनि गर्न सक्ने भयो । तर, हुलदंगा तथा आतंकवादको जोखिम भने नीतिगत रूपमै नेपाल पुनर्बिमा कम्पनीमै राखिएको थियो ।
तर, यहाँ बदमासी के भयो भने हिल्टनको बीमा गरेको ओरियन्टल इन्स्योरेन्सले एउटा ब्रोकर कम्पनी हातमा लियो, एलियन्ट रि–इन्स्योरेन्स ब्रोकर ।
अनि सरकारी कम्पनीलाई दिनुपर्ने हुलदंगा तथा आतंकवादको पुनर्बिमाको बिजनेस त्यही ब्रोकर कम्पनी मार्फत निजी क्षेत्रको हिमालयन रिलाई दिने काम भयो ।
यहाँ थाहा पाउनै पर्ने कुरा के छ भने एलियन्ट ब्रोकर्स, शंकर समूहको साझेदार रहेका दीपक भट्टको कम्पनी हो । अनि हिमालय रि चाहिँ शंकर समूहको मुख्य लगानी रहेको पुनर्बिमा कम्पनी ।
तर, जब होटेलमा क्षति पुग्यो, त्यसपछि शंकर समूहकै लगानी रहेको हिमालयन रिलाई ठूलो रकम तिर्नबाट जोगाउने खेल सुरु भयो । बिमाको दायित्व सरकारी पुनर्बिमा कम्पनीमा सार्न नेपाल रिका सीईओ सुरेन्द्र थापालाई मनाइयो ।
रोचक के छ भने कानुनतः सरकारी कम्पनीले नै यो जोखिमको पुनर्बिमा गर्नुपर्ने अवस्था थियो ।
ओरिएन्टल इन्स्योरेन्सले हिल्टन होटलको पुनर्बिमा हिमालयन रि इन्स्योरेन्समा गर्न अनुमति माग्दै नेपाल रि इन्स्योरेन्स कम्पनीमा निवेदन दिएको थियो । जसलाई नेपाल रिले स्वीकृत गरेको थियो ।
नेपाल रि को त्यही अनुमतिका आधारमा हिल्टनको पुनर्बिमा ओरियन्ट रि–इन्स्योरेन्स ब्रोकर्समार्फत हिमालयन रिमा गरिएको थियो ।
तर, होटल जलेर खरानी भइसकेपछि फेरि सरकारी कम्पनीलाई पनि यसमा जिम्मेवार बनाउन खोजियो । हिल्टनलाई हिमालयन रि–ले २ अर्ब २५ करोड, ओरियन्टल इन्स्योरेन्सले १ अर्ब र नेपाल रि ले ७५ करोड रुपैयाँ दाबी भुक्तानी गर्ने तय भइसकेको थियो ।
तर, यो चलखेलबारे अख्तियारमा उजुरी पर्यो । अर्थमन्त्री रामेश्वर खनालले पनि यसको सूचना पाए ।
पहिले नै सरकारी कम्पनीमा गर्नुपर्ने बीमा निजी कम्पनीलाई बिजनेस दिने गरी हिमालयन–रिमा गरेको र ठूलो क्षति भएपछि सरकारी कम्पनीलाई भारी बोकाउन खोजेको विषयमा अख्तियारले नै छानबिन थाल्यो ।
अर्थमन्त्री र अख्तियारको निर्देशनपछि बिमा प्राधिकरणले निर्देशक ध्रुब तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गर्यो । अहिले समितिले दिएको प्रतिवेदनको निष्कर्ष छ, हिल्टनको बीमामा चलखेल र कानुन विपरीत काम भयो ।
समितिको सिफारिस अनुसार प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनी, हिमालयन इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिलाई कारवाही गरेको छ ।
सुरुमा यसबारे स्पष्टीकरण सोधिएको थियो, तर प्राधिकरणले कम्पनीहरुबाट चित्त बुझ्दो जवाफ नपाएपछि कारबाही नै गर्यो ।
बरु छानबिनबाट खुल्यो कि हिल्टनको बीमामा हिमालयन रिलाई बचाउन सरकारी स्वामित्वको नेपाल रिमा दायित्व सार्ने प्रपञ्च भएको छ ।
प्राधिकरणकी निर्देशक पुजन ढुंगेलका अनुसार छानबिन प्रतिवेदनका आधारमा बीमा प्राधिकरणले एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्सलाई तीन महिनाका लागि निलम्बन गरेको छ ।
अनि हिमालयन रि इन्स्योरेन्स र दि ओरियण्टल इन्स्योरेन्सलाई २/२ लाख रुपैयाँ जरिवाना गरेको छ । नेपाल रिका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई सुधारका लागि कबुलियत गराइएको छ ।
यसरी शंकर ग्रुपले सरकारी कम्पनीमै गर्नुपर्ने पुनर्बिमा पनि आफ्नो लगानीमा रहेको कम्पनीमा गरेको कुरा हिल्टनमा भएको आगजनी पछि मात्र बाहिर आयो ।
अनि जब क्षति भयो, त्यसको दायित्व चाहिँ सरकारी कम्पनीलाई नै बोकाउन खोजेको देखिन्छ । यो खेलमा अरु कोही नभई शंकर समूहका साझेदार दीपक भट्टकै कम्पनी एलियन्ट ब्रोकर संलग्न हुनुले नेपालमा बीमा व्यवसायमा कतिसम्म विकृति झांगिएको छ भन्ने पुष्टि गर्छ ।
अब शंकर ग्रुपकै हिल्टनमा लागि उसकै हिमालयन रिले नेपाल रिमा नाममा थोपर्न खाजिएको दायित्व पनि भुक्तानी गर्नुपर्नेछ । खासमा आफ्नै लगानीको कम्पनीलाई बिजनेश दिने चक्करमा हिल्टनका लगानीकर्ता फस्न पुगेको स्पष्ट देखिन्छ ।
नयाँ सरकारले खोल्न सक्छ बन्द उद्योग ?
सिंहदरबार छिरेका नयाँ व्यवसायीहरू
रास्वपा किन फेर्न चाहन्छ भारुसँगको फिक्स्ड सटही दर ?
नयाँ मन्त्रीहरुलाई छैन क्वार्टर, कहाँ बस्छन् ?

-1773930665.jpeg)





