कारोबारी राजनीतिमा डुबेका देउवालाई कसले बचाउने ?
शेरबहादुर देउवा सुदूरपश्चिमको डडेलधुराका हुन् । ठकुरी देउवा परिवार सम्पन्न परिवार नै थियो ।
अध्ययनको सिलसिलामा काठमाडौं आएका देउवा पञ्चायतविरुद्ध राजनीतिक आन्दोलनमा लागे । २५ वर्षमै कांग्रेसको विद्यार्थी संगठन नेविसंघको अध्यक्ष बने । आन्दोलनकै क्रममा जेलनेल समेत भोगे ।
२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि २०४८ सालको चुनावमा डडेल्धुराबाट चुनाव जिते, अनि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भए ।
गृहमन्त्री भएकै बेला ४५ वर्षको उमेरमा आरजु राणासँग विवाह भयो । उनीहरुलाई भेट गराइदिने चाहिँ अमेरिकन राजदूत थिए ।
त्यतिबेला आरजु २९ वर्षकी थिइन्, तर विवाह गरेकी थिइनन् । एउटा पार्टीमा अमेरिकन राजदूत जुनियाले सोधिन्, किन बिहे नगरेको ? आरजुले कोही केटा नभेटेको जवाफ दिइन् ।
अर्को पार्टीमा भेट्नासाथ राजदूत जुनियाले उत्साहित हुँदै आरजुलाई सुनाइन्, मैले तिम्रो लागि कोही भेट्टाएको छु नि । आरजुकी आमालाई ठकुरी केटा खोजिदिएको छु भनेर फकाइन् । तर को भन्ने चाहिँ खुलाइनन् ।
बरु आरजुलाई अमेरिकी दूताबासको कार्यक्रममा बोलाइन् । त्यहाँ गृहमन्त्री देउवालाई देखाएर आफूले भनेको केटा उही हो भनेर चिनाइन् ।
आरजुलाई भने कोही नेतासँग बिहे गर्ने इच्छा थिएन । तर त्यसको झण्डै दुई वर्षपछि उनीहरुको विवाह भयो । उनीहरुका एक छोरा छन्, जयवीर ।
०००
देउवा पहिलो पटक प्रधानमन्त्री २०५२ साल भदौमा भएका थिए । त्यतिबेला उनी जम्मा ४९ वर्षका थिए ।
भयो के भने २०४८ सालमा आफ्नो प्रष्ट बहुमतको संसद भंग गरेर मध्यावधिमा गएको कांग्रेस २०५१ सालको चुनावमा दोस्रो दल भयो, एमाले पहिलो दल बन्यो । त्यसैले गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता बनेनन्, शेरबहादुर देउवाले अवसर पाए ।
एमालेले अल्पमतको सरकार बनायो । तर प्रधानमन्त्री मनमोहन अधिकारीले ६ महिना अल्पमतको सरकार चलाएपछि असहयोग भएको भन्दै संसद विघटन गरेर मध्यावधि घोषणा गरे । सर्वोच्च अदालतले संसद विघटन गर्ने आफ्नो निर्णय उल्टाएपछि प्रधानमन्त्री अधिकारीले राजीनामा दिए ।
आफू प्रधानमन्त्री बन्ने भएपछि कांग्रेस संसदीय दलका नेता देउवा, पार्टी सभापति गिरिजाप्रसाद कोइराला कहाँ गए । ‘मलाई प्रधानमन्त्री बन्ने इच्छा छ, तर तपाईं हुँदाहुँदै म हुन्न’ भन्दै कोइरालालाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरे । तर कोइराला मानेनन्, देउवा प्रधानमन्त्री भए ।
देउवामा स्खलन त्यहीबेला नै सुरु भएको थियो । १७ महिना सरकार चलाउँदा नै देउवाले सरकार टिकाउने नाममा प्राडो पजरो काण्ड मच्चाएका थिए । सरकारले सांसदहरुलाई भन्सार छुटमा प्राडो पजेरो ल्याउन दिए, ती बिलासी गाडीहरु भन्सार छुटमा ल्याएर सांसदहरुले बेच्ने र भाडामा लगाउने काम गरे ।
त्यसपछि देउवा ०५८ मा दोस्रो र ०६१ मा तेस्रो पटक प्रधानमन्त्री भए । देउवा जति पटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुगे, त्यति त्यति आर्थिक मामिलामा विवादित बन्दै गए ।
नेताहरुका अनुसार देउवा, कारोबारी राजनीतिमा चुलुम्म डुबेको चाहिँ २०७८ मा पाँचौं पटक प्रधानमन्त्री भएपछि हो ।
देउवा २०७४ सालमा चौथो पटक प्रधानमन्त्री बन्दा नै तत्कालीन गृहमन्त्री जनार्दन शर्मामार्फत विवादित पृष्ठभूमिका दीपक भट्टसँग जोडिन पुगेका थिए । त्यहाँदेखि भट्ट र शर्माहरु देउवा परिवारसँग जोडिए । २०७८ असारमा देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दा माओवादीबाट शर्मा अर्थमन्त्री भए । त्यसपछि त यो समूहले एकपछि अर्को विवादास्पद कामहरु गर्न थाल्यो ।
राज्यका नियामक निकायहरुमा भट्टको सेटिङ अनुसार नियुक्ति दिलाउनेदेखि पोलिसी सेटिङ समेत भयो ।
चुनावमा सांसदको टिकट बाँड्दा, मन्त्री बनाउँदा र उच्च पदस्थ कर्मचारीको सरुवा बढुवामा समेत आर्थिक लेनदेन गरेको आरोप देउवा परिवारमाथि लाग्थ्यो । पछिल्लो समय छोरा जयवीरको नाममा धेरै जग्गा जमिन जोडेको पाइएको थियो । आरजुको नाममा कैलाली र बर्दियातिर जग्गा भेटिएको थियो ।
२०७४ सालमा आरजुले कैलाली–५ बाट चुनाव लड्दा धनगढीमा ३ करोड रुपैयाँमा घर किनेकी थिइन् । त्यो घरबारे प्रश्न उठेपछि एउटा अन्तर्वार्तामा उनले आफूले ऋणमा किनेको बताएकी थिइन् ।
कैलालीकै टीकापुरमा ३ कठ्ठा ७ धुर जग्गा किनेको भेटियो । स्थानीय सरकारी जग्गा टीकापुर नगर विकास समितिले विभिन्न व्यक्तिको नाममा नामसारी गरेको घटना टीकापुर जग्गा काण्ड भनेर चिनिन्छ ।
आरजुले भने आफूले त्यो जग्गा २०५३ सालमा ५० हजार रुपैयाँमै किनेको स्पष्टीकरण दिएकी थिइन् ।
आफू र आफ्नो परिवारको नाममा जोडिएको सम्पत्तिबारे संसदमा समेत प्रश्न उठेपछि २०८० वैशाखमा आरजुले आफूहरुको सम्पत्ति विवरण सरकारसँगै रहेको भन्दै सार्वजनिक गर्न चुनौती दिएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘मेरो श्रीमान आजसम्म ५ पटक प्रधानमन्त्री भइसक्नुभएको छ, मेरो लगायत हाम्रो सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहन्छु कि हामी जति सांसद छौं, जहिलेदेखि सांसद बनेका छौं, सबै सांसदको सम्पत्ति विवरण प्रकाशित होस्, वेवसाइटमा राखियोस् जनताले देखोस् ।’
नेपालमा सांसद, मन्त्री र प्रधानमन्त्रीले सम्पत्ति विवरण बुझाउनुपर्छ । तर त्यसलाई सार्वजनिक गर्नुपर्ने बाध्यता छैन ।
देउवा पछिल्लो पटक देउवा २०७८ सालमा प्रधानमन्त्री भएका थिए भने आरजु २०८२ भदौ २३ अगाडिसम्म परराष्ट्रमन्त्री थिइन् । दुबै सांसद पनि थिए । त्यसैले उनीहरुले सम्पत्ति विवरण बुझाएका थिए ।
तर उनीहरुको सम्पत्ति विवरण न सरकारले सार्वजनिक गर्यो, न उनीहरु आफैंले । त्यसैले उनीहरुमाथि प्रश्न उठिरह्यो ।
भदौ २४ मा जे देखियो
देउवा दम्पत्ति ६० सालदेखि बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ पञ्चकन्या टोलमा घर बनाएर बस्न थालेका हुन् ।
निकटवर्तीहरुका अनुसार देउवा पत्नी आरजुलाई माइती पक्षले दाइजोको रुपमा करिव ३ रोपनी जग्गा दिएको थियो । त्यसमा केही जग्गा समेत थपेर देउवा दम्पत्तिले त्यहाँ घर बनाए ।
त्यो बेला नै कांग्रेस नेताहरु कानेखुसी गर्थे, देउवाले घर चाहिँ ठूलै बनाएका हुन् । कतिपयले ठठ्टा पनि गर्थे, आरजु राणा प्रधानमन्त्री जुद्धशमशेरकी नातिनी हुन् । माइती खलकलाई पाहुना बोलाउन पनि घर ठूलै चाहिन्छ नि !
पछिल्लो समय यो अझ भब्य बनेको थियो । करिव ६ रोपनीमा फैलिएको थियो । अर्को घर पनि थपिएको थियो ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते अरु थुप्रै नेताहरुको जस्तै देउवाको निवासमा पनि आगजनी भयो ।
तोडफोड तथा आगजनीका क्रममा जे जस्ता दृश्य देखिए, त्यो धेरैका लागि कल्पनाभन्दा बाहिरको थियो । घरका केही कोठामा जलेका नोटका टुक्राहरु जताततै भेटिए । घरभित्रै गहिरो खाल्टो समेत भेटियो । त्यो पैसा वा बहुमल्य बस्तु राख्न प्रयोग भएको हुनसक्ने आशंका समेत भयो ।
देउवाले त्यसलाई सजिलै एआईबाट बनाएको भिडियो भनिदिए । तर अरुले मात्र होइन, उनकै पार्टीका नेताहरु समेत पत्याएनन् ।
उनीहरुका अनुसार पार्टी चलाउने नेताले थोरबहुत पैसाको जोहो गरेकै हुन्छ । पार्टी चलाउनुपर्छ, चुनाव लड्नुपर्छ, कार्यकर्ता पाल्नुपर्छ, त्यसका लागि पैसा चाहिन्छ । गुटको राजनीति गर्दै पार्टीको मुल नेतृत्वमा आइपुगेका देउवाले पनि थोरबहुत स्रोत जोहो गरेका छन् भन्ने अनुमान थियो ।
तर भदौ २४ को आगजनीमा देउवा निवासमा जे जस्तो दृश्य देखियो, त्यो भने कल्पना भन्दाको बाहिरको थियो ।
अब सम्पत्ति शुद्धीकरणको मुद्दा
घरभरी जलेको नोट भेटिएपछि नै देउवा दम्पत्ति सम्पत्ति शुद्धीकरण विभागको राडारमा परेका थिए । विभागले देउवा निवासमा पुगेर जलेको नोट र खरानी संकलन गरेर फरेन्सिक टेष्टमा पठाएको थियो । रिपोर्ट पोजेटिभ आएपछि आरजुका भाइ भूषण राणाको घरमा छापा समेत हानेको थियो ।
नयाँ सरकार बनेपछि अनुसन्धानले गति लियो । चैत १५ गते जिल्ला प्रशासन कार्यालयले देउवा निवास भत्काउन रोक लगायो । २५ चैतमा देउवा दम्पत्तिको नाममा पक्राउ पूर्जी जारी भयो ।
देउवा दम्पत्ति हाल देशभित्र छैनन् । उपचारका लागि भन्दै देउवा दम्पत्ति फागुन १४ गते सिंगापुर थिए । चैत ६ गते देउवा दम्पत्ति सिंगापुरबाट हङकङतर्फ गएको निजी सचिवालयले बताएको थियो ।
पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालबाटै आफू अझै उपचारकै क्रममा रहेको जवाफ दिएका छन् । तर कुन ठाउँमा छन् भन्ने खुलाएका छैनन् ।
अनि कहिले नेपाल फर्किने योजना छ भन्ने पनि खुलाएका छैनन् ।
उनले आफ्नो जीवन खुला किताब जस्तै रहेको बताएका छन् । आफू र आफ्नो परिवारको सम्पत्तिबारे झुटो प्रचार भएको दाबी गरेका छन् । साथै वास्तविकता समयक्रमसँगै खुल्दै जाने बताएका छन् ।
तर देउवा दम्पत्तिमाथि भइरहेको अनुसन्धानले खोजेको जवाफ देउवाको स्पष्टीकरणबाट मिलेको छैन, मिल्नेवाला पनि छैन ।
त्यसैले सम्पत्ति शुद्धीकरण विभागले अध्यागमनबाट उनीहरुको यात्रा विवरण ल्याइसकेको छ । र, आवश्यक परे इन्टरपोलबाट नोटिस जारी हुनेछ ।
इन्टरपोलले रेड, ब्लू, ग्रिन गरी ८ प्रकारको नोटिस जारी गर्छ । त्यसोे भएमा देउवा दम्पत्ति थप अठ्यारोमा पर्नेछ ।
किनकी ब्ल्याक मनी आर्जन गरेर त्यसलाई ह्वाइट बनाउनु नै सम्पत्ति शुद्धीकरण हो । यो गम्भीर अपराध मानिन्छ ।
कुनै बेला प्रजातन्त्रका लागि लडेको, जेलनेल भनेको देउवामाथि यस्तो जघन्य अपराधको आरोप लाग्नु चानचुने कुरा होइन ।
५–५ पटक देशको प्रधानमन्त्री बन्ने व्यक्तिमाथि राजनीतिको उत्तरार्धमा यस्तो गम्भीर आरोप लाग्नु नेपालको राजनीतिकै दुखद पक्ष हो । त्यसमाथि इन्टरपोलमार्फत नोटिस जारी भए थप बद्नामी मात्र हुनेछ । त्यसैले त्यसअघि नै देश फर्किएर अनुसन्धानमा सघाउनु राम्रो हुनेछ ।
बालेन सरकारले किन लियो विदेशी ऋण, नलिए के हुन्छ ?
अब न निलम्बन, न मुद्दाको झञ्झट
ओलीलाई अब जोगिन किन छ मुश्किल ?
चेक प्रणाली हटाउन चाहन्छ राष्ट्र बैंक, सम्भव छ ?





