उबरको सरप्राइज इन्ट्री, कति दबाबमा पठाओ, इन्ड्राइभ र यांगो ?
उबरले काठमाडौंका लागि आफ्नो एप कस्टमाइज गर्दै प्रयोगकर्ताहरुलाई एउटा सन्देश पठाएको छ, हेलो नेपाल, योयर उबर ह्याज एराइभ्ड ।
यो खबरले नेपालको टेक र ट्रान्सपोटेसन मार्केट तातेको छ ।
धेरैलाई त खुशी नै बनाएको छ । किनभने अब उबर जस्तो प्रतिष्ठित कम्पनीले पनि नेपालको बजारलाई रोजेको छ ।
काठमाडौंको सडकमा टुटलले राइड सेयरिङको जग बसालेको हो । टुटलको बजार खोसेर पठाओ फैलियो । अनि इनड्राइभले बार्गेनिङ अप्सन दिएर नयाँ ट्रेन्ड सेट गर्यो । अहिले यांगोले सस्तोमा सेवा दिएर पठाओ र इन्ड्राइभको ग्राहक खोस्दैछ ।
यही बेलामा संसारकै सबैभन्दा ठूलो प्लेयरले मार्केटमा इन्ट्री मार्दैछ । अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘उबर’ नेपाल आउने तयारी लगभग अन्तिम चरणमा पुगेको छ । कम्पनीले सेवा थाल्न नेपाली ग्राहकलाई एपमा जोड्न थालिसकेको छ । उबरले ड्राभइभ पार्टरका रुपमा सवारीलाई पनि दर्ता गर्न अनलाइन रजिष्ट्रेसन खुलाइसकेको छ ।
अब तपाईंको मनका प्रश्न हुनसक्छ, सेवा कहिलेदेखि सुरु हुन्छ ? यसबारे चाहिँ उबरले केही पनि खुलाएको छैन ।
अनि उबरको सेवा कस्तो हुन्छ, कसरी सञ्चालन हुन्छ भन्ने पनि स्पष्ट छैन । तर, उबरले ग्राहक र राइडर खोज्न थालिसकेकाले अब धेरै समय लाग्दैन भन्ने अनुमानसम्म गर्न सकिन्छ ।
सन् २००९ मा स्थापना भएको हो, उबर । अहिले विश्वका ७० भन्दा बढी देशमा यसले सेवा दिन्छ ।
अब यसले नेपालललाई पनि आफ्नो नेक्ट डेस्टिनेसन बनाएको छ ।
खासमा उबरले नेपाल किन रोज्यो त ? नेपालमा राइड सेयरिङ सुरु भएको एक दशक भयो । यो एक दशकका बीचमा नेपालको संघीय कानुनले त अझै पनि यस्ता राइड सेयरिङ प्लाटफर्मलाई मान्यता दिएको छैन ।
रातो नम्बर प्लेटले भाडा लिएर यात्रु बोक्न नपाउने नियम यातायात व्यवस्था ऐनमा कायमै छ । त्यो कानुन संशोधन नभएपनि नेपालमा सरकारले राइड सेयरङ प्लाटफर्मलाई चल्न रोकेको छैन । यस्ता करिब ३० वटा एपहरु अहिले पनि सेवामा छन् ।
अझ विभिन्न प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था ऐन जारी गरेर यस्तो सेवालाई वैधानिकता दिएका छन् । बाग्मती र गण्डकीले नियमावली र कार्यविधि समेत बनाएर यस्ता प्लाटफर्महरु दर्ता गरेर चल्न दिने व्यवस्था गरेका छन् । यसले गर्दा उबरलाई नेपाल आउन कानुनी अड्चन छैन ।
अनि उबरले नेपाल रोज्नुको अर्को कारण हो, विदेशी लगानी नीतिमा खुकुलोपना । नेपालमा अहिले राइड–सेयरिङ क्षेत्रमा ७० प्रतिशतसम्म विदेशी लगानी ल्याउन पाइन्छ । बाँकी ३० प्रतिशत हिस्सा नेपाली साझेदारको हुनुपर्छ ।
उबरले अहिले नेपालका केही ठुला व्यवसायी र कम्पनीहरुसँग ३० प्रतिशत साझेदारी गरेर नेपाल आउने निर्णय गरेको हुनसक्छ ।
अहिलेसम्म उबरको नेपाल साझेदार को हो भन्ने खुलेको छैन । स्रोतका अनुसार नेपालको प्रतिष्ठित र पुरानो घराना यसमा सामेल छ ।
अनि उबर नेपाल आउनुको अर्को कारण परिपक्व राइड सेयरिङ मार्केट पनि हो । अहिले नेपालीहरु राइड सेयरिङ लिन पोख्त छन् । शहरी जीवनमा यो दैनिकीको हिस्सा बनेको छ । घर, कार्यालय, अफिस वा अन्य कुनै गन्तब्यसम्म आउन–जान राइड सेयरिङ नै लिनेहरु धेरै छन् ।
उबरले अब आएर बजार तयार गर्नुपर्दैैन । बरु उपभोक्ता नै उबरलाई कुरिरहेका छन् । अनि धेरैजसोले डिजिटल भुक्तानी नै गर्छन् । यही म्याचुअर्ड डिजिटल मार्केटले पनि उबर नेपाल तानिएको हो ।
०००
अब कुरा गरौं, उबरसँग नेपालीको अपेक्षाबारे ।
अहिले उबरले काठमाडौंमा मात्रै सेवा थाल्ने भनेको छ । काठमाडौं त उबरलाई वेलकम गर्न रेडी छ ।
तर, उबरले के लिएर आउँछ ? सेवा कति सस्तो हुन्छ ? अनि सर्भिसमा के युनिकनेस हुन्छ ?
नेपालमा राइड सेयरिङ सेवा लिनेहरुले अहिलेसम्म बेस्ट अप्सनहरु पाएका छन् । टुटलले सेवा सुरु गर्दा यात्रुको एक्सपिरियन्स नै नयाँ थियो । जब पठाओ आयो, त्यसले सेवमा चुस्तता दियो । अझ भनौं, व्यावसायिक राइड–सेयरिङलाई स्थापित गर्यो । लटरपटर सेवा दिने हैन, यात्रुको समस्या सुन्ने, सुल्झाउने र सुरक्षाका लागि बीमा सुविधासम्म दिन तयार हुनुपर्छ भनेर देखायो ।
इनड्राइभले ड्राभइरसँग लिने कमिस कम गर्यो । यात्रु आफैंले भाडा तोक्न पाउने फिचर दियो । बार्गेनिङको सुविधा दियो । यात्रुले सस्तोमा राइड पाए । त्यसैले छोटो समयमै यसले बजारको ठूलो हिस्सा कब्जा गर्यो ।
२०२५ मा आएको यांगोले अफरको वर्षात नै गर्यो । राइडरहरुलाई टास्क पुरा गरे बोन दिने व्यवस्था गर्यो । पठाओ र इन्ड्राइभ भन्दा सस्तो राइड दियो । यसले पनि बजार आक्रामक ढंगले विस्तार गर्यो ।
अब यो भीडमा यो भिडमा उबरको इन्ट्री हुँदैछ । त्यसैले उबर के विशेष रणनीति लिएर आउँछ भन्ने चासोको विषय हो ।
उबरसँग विश्वासिलो नाम र ब्रान्ड मात्रै छैन, विश्वव्यापी अनुभव छ । अर्बौं डलरको बजेट छ । त्यसैकारण मान्छेहरुलाई आशा छ, उबरले कही नयाँ लिएर आउँछ । के लिएर आउँछ भन्ने प्रवेशपछि नै थाहा हुनेछ ।
उबर आएपछि के बदललिन सक्छ भन्ने चाहिँ अनुमान गर्न सकिन्छ । नेपालमा उबर भेट्दा सबैभन्दा धेरै खुशी विदेशी पर्यटक हुनेछन् । किनभने उनीहरु धेरैजसो उबरका लोयल कस्टमर हुन्छन् ।
नेपाल आउने हजारौं अन्तर्राष्ट्रिय पर्यटकहरुका लागि यहाँ प्रचलित एप डाउनलोड गरेर चलाउनु झन्झटिलो छ । त्यसैले उनीहरु ट्याक्सी चालकहरुसँग भाडा बार्गेनिङ गर्न बाध्य हुन्छन्, बेलाबेला ठगिन्छन् पनि ।
उबर विश्वव्यापी रुपमै विश्वासिलो एप हो । भारतीय, अमेरिकी वा युरोपेली पर्यटकले काठमाडौं ओर्लिने बित्तिकै मोबाइलबाट उबर एप खोलेर ढुक्कसँग सुरक्षित राइड बुक गर्न सक्छन् ।
यसले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक छाप छोड्ने पक्का छ ।
उबर आएपछि सेवाको गुणस्तर र सुरक्षाको मुद्दा पनि पेचिलो बन्नसक्छ । उबर आफ्नो कडा सुरक्षा मापदण्ड र सेफ राइड ट्रयाकिङका लागि चिनिन्छ । यसको सेवाको स्तर अरुको भन्दा फरक र विश्वासिलो हुन्छ ।
त्यसैले उबरको आगमनले नेपालका पुराना राइड सेयरिङ एपलाई पनि सुरक्षा र ग्राहक सेवाको स्तर सुधार्न बाध्य पार्नेछ । आफ्ना राइडरहरुलाई प्रशिक्षित गर्न र मार्गदर्शन गरिरहन पक्कै उबरले अरुलाई पनि बाध्य पार्नेछ ।
विभिन्न देशमा उबरले भविष्यमा ‘उबर इट्स’ मार्फत फुड डेलिभरी र ‘उबर फ्रेट’ मार्फत कार्गो वा पार्सल ढुवानी सेवा पनि दिन्छ ।
नेपालमा पठाओले यो काम गरिरहेको छ । उबरले पनि नेपालमा यस्तो सेवा थाल्यो भने बजारमा प्रतिस्पर्धा बढ्छ । हेल्दी कम्पिटिसन भयो भने यस्ता सेवाहरु सस्तो र थप विश्वसनीय बन्नसक्छन् ।
अनि उबर आएपछि नयाँ रोजगारी सिर्जना त हुने नै छ । अहिले राइड सेयरिङ गर्नेहरुमा रहेको हेजिटेसन पनि कम हुनेछ । उनीहरु खुलेर उबर चलाउँछु भन्न सक्छन् । यो यसको ब्रान्डले दिने प्रतिष्ठा नै हो ।
उबरले डिजिटल पेमेन्टमा जोड दिन्छ । यसले गर्दा नेपालको डिजिटल इकोनोमीको प्रोमोसन हुन्छ ।
उबर नेपालमा ठूलो लगानी पनि गर्छ । यस्तो प्रतिष्ठित कम्पनी नेपाल आउँदा त्यसले नेपालमा लगानीको वातावरण राम्रो छ भन्ने सन्देश पनि दिन्छ ।
००००
अब कुरा गरौं, उबरसामू रहेको चुनौतीको ।
उबर नेपाल आउने खबर ‘वाउ’ नै लाग्छ । तर उबरका लागि नेपाली बाटो र बजार त्यति सहज भने छैन । उबरले यहाँ केही यस्ता चुनौतीहरुसँग लड्नुपर्ने छ, जसलाई जित्न सहज छैन ।
अहिलेसम्मको अन्तर्राष्ट्रिय अभ्यास हेर्दा उबरले सामान्यतया ‘डाइनामिक’ वा ‘फिक्स’ प्राइस निर्धारण गर्छ ।
जुन अलि प्रिमियम अर्थात् महँगो हुनसक्छ । ‘इनड्राइभ’ ले अहिले नेपाली यात्रुहरुलाई ५–१० रुपैयाँ बार्गेनिङ गर्न बानी पारेको छ । त्यसैले यात्रुहरु शुल्क कम्प्यारिजन गरेर जहाँ सस्तो छ, त्यही राइड लिन्छन् ।
राइडरहरु पनि पठाओ, इनड्राइभ र यांगोमा बाँडिएका छन् । जहाँ कम कसिमन र बढी बोनस छ, त्यही एप चलाउँछन् ।
अब उबरले नेपालमा कस्तो मोडलमा मूल्य तोक्ने प्रणाली ल्याउँछ ? राइडरहरुलाई कसरी आफ्नो प्लेटफर्ममा कसरी ल्याउँछ ? पुराना राइडर तान्ने हो भने सुरुमै भारी बोनस वा कम कमिसनको लोभ नदेखाई सुख छैन । जबकी लङटर्म बिजनेस गर्ने हो भने यो मोडल उपयुक्त हुँदैन ।
पैसा बाँडेर लामो समयसम्म कम्पनी टिकाउन सकिँदैन भन्ने पठाओ, इन्ड्राइभ र यांगोले देखाइसकेको छ ।
अनि नेपाली बजारमा उबरले आफ्नो स्टान्डर्ड मेन्टेन गर्न पनि गाह्रो छ । किनकने नेपालका सवारीसाधनहरु सुरक्षा र सुविधाका हिसाबले ग्लोबल स्टान्डर्डका छैनन् । तीनको नियमित मर्मत सम्भार पनि भएको हुँदैन । यसले उबरलाई आफ्नो ग्लोबल ब्रान्ड इमेज जोगाउन सहज छैन ।
अनि काठमाडौंका सडक, गल्ली र चोकहरु विश्वका अन्य विकसित सहरजस्ता व्यवस्थित छैनन् । यहाँ उबरको विश्वव्यापी जीपीएस अल्गोरिदमले कसरी काम गर्छ, त्यो पनि हेर्न बाँकी नै छ ।
समग्रमा भन्दा उबरको आगमनले बजारमा प्रतिस्पर्धा बढाउने पक्का छ । प्रतिस्पर्धा जति धेरै हुन्छ, त्यसको लाभ उपभोक्ता र चालक दुवैले पाउँछन् । त्यो प्रतिस्पर्धा हेल्दी हुन सक्यो भने लाभ दिगो पनि हुन्छ ।
अनि उबर जस्ता ठूला प्लेयरहरुको प्रवेशले नेपालको राइड हेलिङ बजारलाई मर्यादित र व्यवस्थित गर्न पनि सहयोग पुग्छ । यात्रुले ठगिनु पर्दैन, राम्रो गुणस्तरको सेवा सुनिश्चित हुन्छ । सरोकारवालाहरुले यस्तो सेवाको महत्व बुझ्छन्, समस्याहरु समाधानमा अग्रसर हुन्छन् ।
त्यसैले उबरको आगमनले नेपालको व्यवसायिक लगानीका सम्भावनाहरुको अर्को ढोका पनि खोल्छ ।
युवा वर्गलाई देशभित्रै गरिखाने अवसर पनि सिर्जना गर्छ ।
सरकारले कर्मचारीको तलब बढाउला ?
सम्पत्ति छानबिनमा क–कसलाई उन्मुक्ति ? ज्ञानेन्द्रको के हुन्छ ?
रास्वपाले किन रोज्यो मध्यम वर्ग, खुशी पार्न के-के ल्याउँदैछ ?
बूढीगण्डकीमा नयाँ मोडल खोज्दै स्वर्णिम, बजेटमा के ल्याउलान् ?


-1779014786.png)



