नेभिगेशन
अर्थ

रास्वपा सांसदले नै भने : यो बजेट फुकेको बेलुन हो, लामो समय टिक्दैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले आगामी आर्थिक बजेट कार्यान्वयन हुनेमा आफूलाई विश्वास नभएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यो बजेटलाई फुकेको बेलुनको संज्ञा दिए । 

‘दक्षिण एसियामा कुनै देश छैन जहाँ जीडीपी (कुल ग्रार्हस्थ्य उत्पादन) को ३२/३३ प्रतिशत बजेट बनाइन्छ । त्यसैले यो फुकेको बेलुन हो, फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्वयन हुनेमा अरुलाई त विश्वास होला, तर मलाई विश्वास छैन’, उनले भने । 

सरकारले ऋण तिर्नका लागि ऋण लिइरहेको भन्दै ७ खर्बको घाटा बजेटबाट मुलुकको विकास हुने आशा गर्न नसकिने बताए । 

सरकारले निजी स्कुल पढाउने अभिभावक र निजी अस्पतालमा उपचार गर्ने सर्वसाधारणलाई कर थपेकामा पनि सांसद सिंहले आपत्ति जनाए । 

‘संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, मौलिक अधिकारमा ट्याक्स लगाउन पाइँदैन’, उनले  भने । 

अर्थमन्त्री स्वर्णिम वाग्ले पढेको बूढानीलकण्ठ स्कुलको पूर्वविद्यार्थीहरुको ठूलो नेटवर्क रहेको भन्दै सांसद सिंहले कम्तीमा ७ प्रदेशमा बूढानीलकण्ठजस्तै स्कुल बनाउने आशा आफूले गरेको सांसद सिंहले बताए । 

‘७ प्रदेशमा ७ वटा बूढानीलकण्ठ जस्तै स्कुल खोल्न सकेको भए उहाँहरुजस्तै नेतृत्वमा आउने आउँदो पुस्ता पैदा हुन्छ भन्ने विश्वास थियो, त्यो कहिँ पनि भेटिएन’, उनले भने । 

सांसद सिंहले यो बजेटबाट कति प्रतिशत खुशी भएका छन् भनेर पनि प्रश्न गरे । ‘आजको दिनमा व्यापार गर्ने वातावरण छैन, डरको माहोल छ, डरले शासन चल्ला डरले विकास हुँदैन’, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ