स्वर्णिमले तनहुँमा खन्याए बजेट, दोहोरियो पुरानै प्रवृत्ति
नेपालमा सधैं मन्त्रीहरुले गर्दै आएको एउटै काम हो, आफ्नो जिल्ला र क्षेत्रमा मनपरी बजेट खन्याउने ।
विगतमा विष्णु पौडेलले रुपन्देहीमा, डा. प्रकाशशरण महतले नुवाकोटमा, प्रकाश ज्वाले सल्यानमा, रघुवीर महासेठले धनुषामा बजेट थुपारेकै हुन् । केपी शर्मा ओली र पुष्पकमल दाहालले त चितवन र झापामा जे गर्थे, त्यो सधैं राष्ट्रिय चर्चाका विषय बन्थ्यो ।
सुशासनको नारा लगाएर बनेको सरकार अर्थमन्त्री स्वर्णिम वाग्ले पनि अहिले त्यही कित्तामा पुगेका छन्, आफ्नो चुनाव क्षेत्र तनहुँमा उनले यसरी बजेट खन्याएका छन् कि मानौं यो देशमा कुनै दुर्गम जिल्ला र क्षेत्र नै छैनन् ।
पूर्वाधार विकास मन्त्रालयको रेड बुक हेरेपछि मज्जाले भन्न मिल्छ, पात्र फेरियो, तर प्रवृत्ति फेरिएन ।
विद्वान मानिएका अर्थमन्त्री स्वर्णिमले पनि बजेटमा आफ्नो हात जगन्नाथ गरेका छन् ।
उनले आफ्नो जिल्ला तनुहँमा किन र कसरी बजेटको वर्षात गराए त ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सासद हुन् अर्थमन्त्री डा. स्वर्णीम वाग्ले ।
विश्व बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गरिसकेका अर्थशास्त्री बाग्लेलाई प्रधानमन्त्री बालेन शाहले अर्थ मन्त्रीको जिम्मेवारी दिएका छन् ।
अहिले उनको हातमा देशको ढुकुटीको चाबी छ । तर उनले यसपटकको बजेटमा आफ्नो जिल्लालाई भरमग्दुर पोसेका छन् । देशमा सन्तुलित विकासको नारा लगाएको रास्वपा सरकारले पूर्वाधारको बजेटमा कर्णाली जिल्लालाई भन्दा बढी प्राथमिकता अर्थमन्त्रीको निर्वाचन क्षेत्रलाई दिएको छ ।
बजेट भाषणमा अर्थतन्त्रको संरचनागत सुधारको कुरा गरेका वाग्लेले बजेट विनियोजनामा गरेको बदमासी सडक र शहरी विकासतर्फको रेड बुकहरुले छर्लङ्ग पारेका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्र जिल्ला तनुहँमा यस्ता खुद्रे र साना योजनाहरुमा संघबाटै बजेट छरेका छन् कि उनले प्रदेश र स्थानीय तहले गर्ने काम पनि पूर्वाधार विकास मन्त्रालयबाटै गराउने गरी बजेट हालेका छन् ।
तनहुँका कुना–कुनामा रहेका स्थानीय सडक, टोलका बाटोका लागि संघीय बजेटबाट करोडौं रुपैयाँ विनियोजन भएको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकलाई छाड्ने हो भने उनले करिब ४ अर्ब २३ करोडभन्दा बढी रुपैयाँ बजेट जिल्लाका विभिन्न पूर्वाधारका लागि भनेर छुट्याएका छन् । यो भनेको आगामी वर्ष पूर्वाधार मन्त्रालयले पाउने कुल बजेको करिब १.५ प्रतिशत हो ।
यो वर्ष पूर्वाधार विकास मन्त्रालयले ३ अर्ब २ अर्ब ८३ करोड बजेट पाएको छ । यसमध्ये दुई तिहाई बजेट राष्ट्रिय राजमार्गमा खर्च हुन्छ । त्यसबाहेक ४ अर्ब २३ करोड रुपैयाँ बजेट तनहुँमा पुग्नुले देखाउँछ कि अर्थमन्त्री वाग्लेले पनि त्यही गरे, जुन काम विगतमा कांग्रेस, एमाले, माओवादीका मन्त्रीहरुले गर्थे ।
बजेटका अंकहरु नै हेरौं ।
शहरी विकास तथा भवन निर्माणतर्फ तनहुँका स्थानीय तहरुले ठूलो अंकमा अनुदानहरु पाएका छन् । सघन शहरी कार्यक्रम अन्तरगत पनि पूर्वाधार मन्त्रालयमार्फत वाग्लेले तनुहँका लागि बल्कमा ३१ करोड भन्दा बढी बजेट छुट्याएका छन् ।
तनहुँमा स्थानीय तहले २० करोड अर्बान ग्रान्ट पाएका छन् । १२ करोड रुपैयाँ ताल र सडक आयोजनाका लागि छुट्याइएको छ । विभिन्न साना र ग्रामीण सडक योजनामा ७१ करोड बजेट हालिएको छ । अरु सडक र शहरी पूर्वाधार आयोजननाका लागि थप ३९ करोड ४७ लाख बजेट पनि छ ।
झोलुंगे पुलहरुका लागि पुल ७ करोड ७३ लाखसहित साना मोटरेबल पुलहरु बनाउन १० करोड ५६ लाख बजेट तनहुँ लगिएको छ । विभिन्न शहरी तथा ग्रामीण सडकका लागि थप २५ करोड ७० लाख बजेट पनि छ ।
सुरक्षित आवास कार्यक्रमका लागि तनहुँमा १ करोड ४२ लाख बजेट छ । अनि भानु साहित्य उद्यान मुर्ति बाटिका र भानुभक्त भवन निर्माणका लागि एकमुष्ट २४ करोड ८६ लाख बजेट विभिन्न शीर्षक राखेर छुट्याइएको छ । यसरी शहरी विकासतर्फ २ अर्ब ४५ करोडभन्दा बढी बजेट बजेट तनुहँले पाएको छ ।
सडक विभागले कार्यान्वयन गर्ने योजनामा पनि तनहुँले प्राथमिकता पाएको छ । तनहुँका पुल पुलेसा र स्थानीय सडक गर्न ५ करोड बजेट राखिएको छ । तनुहँको सीमा क्षेत्रमा पुलहरुको कास्कीबाट पर्ने गरी ३ करोड ७० लाख बजेट छुट्याइएको छ ।
यसबाहेक विभिन्न राजमार्ग, सहायक राजमार्ग र रणनीतिक १ अर्ब ३९ करोड बजेट राखिएको छ । तनहुँका सडकको पहिरो नियन्त्रण गर्न भनेर १५ करोड ५४ लाख बजेट पनि छुट्याइको छ । तनहुँमा पर्यटकीय राजमार्गका लागि १५ करोड बजेट छ । २८ वटा पर्यटकीय राजमार्गमा बनाउने कार्यक्रमा ३ वटा त तनहुँमा मात्रै राखिएको छ ।
अनि तनहुँका विभिन्न १९ वटा विशेष महत्वका पुलको अध्ययनका लागि पनि बजेट छुट्याइएको छ ।
कुल १ अर्ब ७८ करोड बजेट सडक विभागले तनुहँमा खर्च गर्नेछ ।
यसरी अर्थमन्त्रीले आफ्नो चुनावी क्षेत्र व्यास र बन्दीपुरसहित क्षेत्रमा प्रशस्तै बजेट पारेका छन् । धार्मिक र स्थानीय पर्यटनको नाम दिएर यो ग्रामीण सडकलाई पनि करोडौं बजेट हालेका छन् । खासगरी भानु नगरपालिका र व्यास नगरपालिकाका भित्री ग्रामीण सडकहरु उनको प्राथमिकतामा परेको देखिन्छ । व्यास नगरपालिकाका विभिन्न वडा र भानु नगरपालिकाका भित्रि टोलहरु जोड्ने खद्रे सडक आयोजनाहरु रेड बुकमा सिधै नामै किटेर हालिएका छन् ।
विगतमा पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर र केपी ओलीले झापाको दमकमा जसरी बजेट लैजान्थे, स्वर्णिमले त्यही शैली तनहुँमा दोहोर्याएका छन् । उनले कतिपय खुद्रे आयोजनाहरुका लागि कार्यक्रम नराखी बल्कमा कार्यक्रम बनाएर बजेट राख्न लगाएका छन् । खासमा धेरै साना आयोजनामा बजेट हालेको नदेखाउने गरी छल्न यस्तो जुक्ति लगाएको देखिन्छ ।
अर्थमन्त्री वाग्लेले रणनीतिक महत्व नै नभएका खण्डहरुमा सडक पिच गर्न र मर्मत गर्नका लागि करोडौं रकम विनियोजन गरेका छन् ।
सहरी सडक पूर्वाधार र सौन्दर्यीकरणका नाममा तनहुँका विभिन्न बजारहरु जस्तै दुलेगौंडा, खैरेनीटार, भिमाद र बन्दीपुरबजार क्षेत्रमा फुटपाथ निर्माण, सडक ओभरले, ढल निकास र सडक बत्ती जडानका लागि करोडौंका स–साना कार्यक्रमहरु हालिएका छन् । विभिन्न पालिकाका वडाहरुमा सामुदायिक भवन, पार्क र खेलकुद मैदान निर्माणका लागि साना–साना ‘खुद्रे’ शीर्षकहरुमा बजेट राखिएका छन् ।
उनले तनहुँलाई बजेटमा गरेको अतिरिक्त प्रेमको एउटा बलियो उदहारण हो, भानु साहित्य उद्यान । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिकाको चुँदीरम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण गर्ने भन्दै बृहत् गुरुयोजना र पूर्वाधार निर्माणका नाममा २४ करोड रुपैयाँ बजेट राखिएको छ ।
राष्ट्रिय विभुति सम्मान गर्नु र इतिहास जोगाउनु राम्रो कुरा हो । तर, देश आर्थिक शिथिलताबाट गुज्रिरहेको छ, विकास खर्च जुट्न नसकेर राष्ट्रिय गौरवका आयोजना अलपत्र छन् । यस्तो बेला पार्क निर्माणका लागि छुट्टै कार्यक्रम नै बनाएर संघीय बजेटबाट करोडौं रुपैयाँ खन्याउनु प्राथमिकताको दृष्टिकोणले कति न्यायसंगत छ ? के यो मतदाता रिझाउने अस्त्र हो कि होइन ?
०००
कतिपयलाई लाग्ला, नियमित रुपमा पनि त बजेट त तनुहँमा जान्थ्यो नै । हो, नियमित रुपमा पाउने बजेटको लागि तनहुँ आफैं हकदार पनि हो । तर यसपाली अस्वभाविक रुपमा तनहुँका लागि पूर्वाधार बजेट राखिएको छ ।
खासमा धेरै जनसंख्या भएका काठमाडौं, मोरङ, रुपन्दही, झापा र सुनसरीजस्ता जिल्लाले केही बढी बजेट पाउनु स्वभाविक पनि मानिन्छ ।
तर २ वटा मात्रै निर्वाचन क्षेत्र भएको तनहुँले यसपटक धेरै निर्वाचन क्षेत्र र जनसंख्या भएका कयौं जिल्लालाई बजेटमा उछिनेको छ ।
यो तनुहँले पाएको बजेटको अंकको कुरा मात्रै पनि होइन, यो अर्थमन्त्री वाग्लेको प्रवृत्तिमाथि उठेको गम्भीर नैतिक प्रश्न पनि हो । विगतमा उनले नै संसदमा प्रश्न गरेका थिए, किन बजेट सधैं मन्त्री र पहुँचवालाकै जिल्लामा जान्छ ?
अहिले अर्थ मन्त्रालयको चाबी उनकै हातमा छ । र, उनले हिजो गरेका प्रश्न अहिले उनीतिर नै फर्किएको छ । किन यति विधि तनहुँ प्रेम ?
अर्थमन्त्री वाग्लेले दोहोर्याएको प्रवृत्ति चिन्ताजनक कुरा हो । किनकी रास्वपालाई जनताले विश्वास गरेकै विगतमा दलहरुले गरेका गल्ती दोहोर्याउन्नौं भनेकाले हो । तर बजेट विनियोजनमा स्वर्णिम वाग्लेले जसरी राजनीतिक स्वार्थ देखाएका छन्, त्यो कसैका लागि प्रिय हुन सक्दैन ।
देशको अर्थतन्त्रको अवस्था, गरिबीको रेखामुनि रहेका नागरिकको पीडा र सन्तुलित विकासको सिद्धान्त बुझेका अर्थमन्त्रीबाट भएको यो अन्यायपूर्ण बजेट विनियोजनले मान्छेहलाई थप निराशामा धकेल्नेछ ।
जानाजानी आफ्नो क्षेत्र र भोट बैंक बलियो बनाउन बजेटको दुरुपयोग हुनु दुःखद् कुरा हो स्वर्णिमकै भाषामा भन्दा यो नैतिक विचलन मात्रै हैन, बजेटरी करप्सन हो ।
ईभी किन्ने र चढ्नेले बुझ्नैपर्ने ६ कुरा
माइक्रो ब्रुअरी : खुल्दैछ नेपालमा नयाँ बिजनेसको ढोका
रास्वपा सांसदले नै भने : यो बजेट फुकेको बेलुन हो, लामो समय टिक्दैन
थर्ड पार्टी इन्स्योरेन्सको भ्रम र यथार्थ, किन बढाइँदैछ बिमांक ?







