नेभिगेशन
एक्सप्लेनर भिडियो

सन्तोष साहमाथि कसरी लाग्यो ठगीको आरोप, रेष्टुरेन्ट किन्दा कहाँ भयो गडबडी ?

नेपालमा मास्टर सेफ सन्तोष साहलाई धेरैले इमान्दार, परिश्रमी र आफ्नै मिहिनेतले ठूलो सफलता हात पार्ने व्यक्तिका रुपमा चिन्छन् । 

उनै सन्तोष साह शुक्रबार जनकपुरमा पक्राउ पर्छन् । रातारात काठमाडौं ल्याइन्छन् । 

उनले मानिसहरुसँग वादविवाद गरिरहेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुन्छन् । 

यो घटनाले धेरैलाई आश्चर्यमा पारेको छ । मास्टर सेफ सन्तोष साह यिनी नै हुन् र ? एउटा लेनदेन विवादले सन्तोष साहमाथि ठगीको आरोप लागेको छ । अदालतले बैंकिङ कसूर मुद्दामा एक महिना जेल सजाय तोकेको छ । 

मास्टर सेफ प्रोफेसनल्सको उपाधि जितेपछि नेपाल फर्केर मिथिला थाली ब्राण्डमा आक्रामक रुपमा रेष्टुरेन्ट विस्तार गरिरहेका सन्तोष साह कसरी फसे लेनदेन विवादमा ? 

०००००

सन्तोष साह सेफ हुन् । अर्को शब्दमा भन्दा खानाको परिकार बनाउने मान्छे हुन् । तर आजको दिनमा विश्वले चिनेका सेफ । सन्तोष जम्मा ४० वर्षका भए । 

उनी सिरहाको कर्जन्हा नगरपालिकामा सामान्य परिवारमा जन्मिएका हुन् । साह परिवारका चार दाजुभाइमध्ये उनी कान्छा हुन् । ५ वर्षको उमेरमै बाबुको मृत्यु भएपछि उनको परिवारले आर्थिक रुपमा धेरै समस्या भोग्नुपर्‍यो । 

सन्तोषले ८–९ वर्षको छँदैदेखि पाउरोटी बेचेर पढाइ खर्च जुटाउँथे । एसएलसीमा अंग्रेजीसहित ३ वटा विषयमा फेल भएपछि उनले पढाइ छाडिदिए । 

मजदुरीका लागि भारतको अहमदावाद गए । त्यहाँ पाँच तारे होटलमा भाँडा माझ्ने काम गरे । 

त्यही होटलमा काम गर्दा सेफको रवाफ देखेपछि उनलाई पनि सेफ बन्न मन लाग्यो । त्यतिबेला उनी ९०० भारु कमाउँथे भने सेफहरुको तलब १५–२० हजार भारु थियो । त्यो भनेको आज भन्दा झण्डै २५ वर्षअघिको कुरा हो । 

त्यसपछि आफूले कमाएको पैसाबाट कुकिङ र कुलिनरी आर्टस्का विभिन्न कोर्सहरु पढे । कम्प्युटर र अंग्रेजी पनि सिके । 

७ वर्षपछि उनी भारतमै होटलको एक्जिक्युटिभ सेफ पनि बने । 

भारतमा काम गर्दागर्दै उनलाई बेलायतबाट पनि कामको अफर आयो । सन् २०१० मा उनी बेलायत गए । बेलायतमा नाम चलेको होटल रेष्टुरेन्टमा काम गरे । त्यही बेला उनी बेलायतको नागरिक बने । 

उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो सन् २०२० र २०२१ । 

सन् २०२० मा बेलायती समाचार संस्था बीबीसीले आयोजना गरेको रियालिटी शो मास्टर सेफ ः द प्रोफेसनल्समा भाग लिए । 

उनी रनर अप भए । सन् २०२१ मा त्यही रियालिटी शो को रिम्याच जिते । त्यो प्रतियोगितामार्फत उनले नेपालको रैथाने परिकारलाई विश्वमा चिनाए । 

विभिन्न चरणमा उनले नेपालको योमरी, सिस्नु र आलुको तरकारी, भाङको चटनी, तामाको अचार, कोदोको हलुवा, विभिन्न प्रकारका तरुवा जस्ता परिकार बनाएर नेपाली परिकारलाई विश्वभर चिनाएका थिए । 

मास्टर सेफ द प्रोफेसनलको उपाधि जितेपछि नेपालमा निकै चर्चा कमाए । त्यसपछि उनी नेपाल फर्किए । यहीँ व्यवसाय गर्ने योजना बनाए । 

नेपालको मधेश खानाका परिकारमा धेरै धनी छ । तर शहरका होटल रेष्टुरेन्टका मेनुमा मधेशका परिकार देखिँदैनथे । सन्तोषले आफ्नो बिजनेसको स्पेस पनि त्यहीँ देखे र मधेशका परिकार बेच्ने गरी रेष्टुरेन्ट खोले । 

नाम राखे, मिथिला थाली । 

पहिलो रेष्टुरेन्ट २०८० असारमा मधेशकै जनकपुरमा खोले । जसमा उनीसँगै उनका दाइहरु श्रीनारायण साह र दिलिप साह पनि जोडिए । मिथिलाका परिकारलाई एउटै थालीमा पस्केर दिने उनको योजनाले काम गर्‍यो । 

जनकपुरमा खुलेको एक वर्षमै मिथिला थाली काठमाडौंमा पनि विस्तार भयो । दोस्रो आउटलेट २०८१ वैशाखमा ललितपुरको झम्सीखेलमा खुल्यो । 

त्यसपछि काठमाडौंकै गौशाला र गैरीधारामा पनि विस्तार भयो । गत जेठदेखि विराटनगरमा पनि मिथिला थाली सञ्चालनमा आएको छ । अब वीरगञ्जमा खोल्ने तयारी छ । विदेशबाट समेत फ्रेन्चाइजी माग आएको छ । 

००००

यो त भयो सन्तोषको प्रगतिको कथा । तर रेष्टुरेन्ट व्यवसायका क्रममा सन्तोष साह पटक पटक लेनदेन विवादमा फसेका छन् । 

त्यसमध्ये एउटा विवादले त उनलाई यो पटक तीन दिन प्रहरी हिरासतमा समेत पुर्‍यायो ।

गैरीधारामा हाल मिथिला थाली सञ्चालन भइरहेको घरमा २ वर्ष अगाडिसम्म ‘शीला’ नामको रेष्टुरेन्ट सञ्चालनमा थियो । 

पोखराका व्यापारी आनन्दराज बतासको करिब २ रोपनी जग्गा भाडामा लिएर आर्जब होल्डिङ्सले शीला रेष्टुरेन्ट चलाएको थियो । 

निकै खर्च गरेर रेष्टुरेन्टको डेकोरेसन भव्य बनाइएको थियो । तर राम्रो व्यापार गर्न सकेन । रेष्टुरेन्ट बनाउँदा लिएको ऋण, घरभाडा र बिजुलीको पैसा समेत तिर्न सकेन । 

झण्डै ४० लाख भाडा नतिरेपछि बतासले रेष्टुरेन्टमा ताला लगाइदियो । अनि घर खाली गराइ पाउँ भनेर वडा कार्यालयमा निवेदन दियो ।

त्यही बेला सन्तोष साह गैरीधारामा रेष्टुरेन्टका लागि लोकेसन हेरिरहेका थिए । त्यो कुरा आर्जब होल्डिङ्सकी सकुन्तला अधिकारी थापाले थाहा पाइन् । 

उनले फेसबुकमा सन्तोषलाई म्यासेज गरिन्, हाम्रो पनि रेष्टुरेन्ट बिक्रीमा छ, एक पटक हेर्नुहोला । 

सन्तोष साहले रेष्टुरेन्ट हेरे । उनलाई पनि मन पर्‍यो । 

आर्जब होल्डिङ्सले सुरुमा त साढे ३ करोड रुपैयाँ मूल्य राखेको थियो । पटक पटकको छलफलपछि २ करोड २५ लाखमा कुरा मिल्यो ।  मिथिला थाली र आर्जब होल्डिङ्सबीच २०८१ जेठ २४ मा रेष्टुरेन्ट खरिद बिक्रीका लागि सम्झौता भयो ।

तर बतासले आफूले लिन बाँकी भाडा नपाएसम्म ताला खोल्न मानेन । अनि २०८१ भदौमा मिथिला थाली र आर्जब होल्डिङ्सबीच अर्को सम्झौता भयो । 

त्यो सम्झौतामा घर भाडा बापतको ३८ लाख ५० हजार रुपैयाँ, बिजुलीको २ लाख ७७ हजार रुपैयाँ र नेपाल बैंकमा रहेको आर्जब होल्डिङ्सको १ करोड ३५ लाख ८१ हजार रुपैयाँ ऋण मिथिला थालीले तिर्ने उल्लेख थियो । 

यो सबै रकम कटाउँदा आर्जब होल्डिङ्सले ३२ लाख ९० हजार ९३५ रुपैयाँ मात्र नगद पाउने भयो । यसमध्ये १५ लाख रुपैयाँ मिथिला थालीले बैनावापत दिने । अनि बाँकी १७ लाख ९० हजार ९३५ रुपैयाँ २०८१ असोजमा तिर्ने सम्झौता भयो । 

सहमति अनुसार सन्तोषको समूहले घरभाडा र बिजुलीको पैसा तिरेर मिथिला थाली रेष्टुरेन्ट सञ्चालनमा ल्यायो ।

आर्जब होल्डिङ्सको नेपाल बैंकमा रहेको ऋणको केही पटक किस्ता पनि तिर्‍यो । तर त्यसपछि विवाद सुरु भयो ।

आर्जब होल्डिङ्सकी सकुन्तला अधिकारी थापाका अनुसार मिथिला थालीले १५ लाख रुपैयाँ जति तिरेपछि बैंकको किस्ता नै तिर्न छाड्यो । 

किस्ता तिर्न छाडेपछि नेपाल बैंकले आर्जब होल्डिङ्सलाई कालोसूचीमा राख्न २०८१ चैत १३ गते अग्रिम ३५ दिने सूचना दियो । 

२०८२ वैशाख २ गते ऋण तिर्न आउन ७ दिनको सूचना निकाल्यो । आफ्नो जग्गा लिलाम हुने भएपछि आर्जब होल्डिङ्सले बैंकको ऋण आफैं तिरिरहेको छ, तर मिथिला थालीबाट पाउनुपर्ने पैसा भने अझै पाएको छैन । 

आर्जब होल्डिङ्सकी सकुन्तला अधिकारी थापाको दाबी छ कि मिथिला थालीसँग अझै डेढ करोड रुपैयाँ लिन बाँकी छ । 

यही विषयमा अहिले मुद्दा मामिला भइरहेको हो । 

पैसा नपाएपछि सकुन्तलाले मिथिला थालीमा पटक पटक ताकेता गर्न थालिन् । पटक पटक पैसा माग्न गइन् । अहिले सामाजिक सञ्जालमा आएका भिडियो त्यही पैसा माग्दाको हो । 

मिथिला थालीले २०८१ भदौ ३१ गते ८ लाखको चेक दियो । २०८१ असोज १० गते एउटा ८ लाख र अर्को ९ लाखको चेक दियो । सबै गरेर २५ लाखको थियो । यी चेकहरु एउटा नविल बैंकको जाउलाखेल शाखाको थियो भने अरु दुईवटा जनकपुर शाखाका थिए । तर खातामा पर्याप्त ब्यालेन्स नभएका कारण ती चेकहरु साटिएनन् । 

चेक नसाटिएपछि सकुन्तलाले खातामा पैसा हाल्न सन्तोष साहलाई ताकेता गरिन् । तर खातामा पैसा आएन । 

२०८१ पुसमा सकुन्तलाले सन्तोष साह, उनका दाइहरु श्रीनारायण साह, दिलिपकुमार साह र मिथिला थालीकै रामहित साहविरुद्ध चेक बाउन्स अर्थात् बैंकिङ कसुरको उजुरी दिइन् ।

२०८२ जेठ २३ गते सन्तोष साहसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा नै पर्‍यो । अदालतले २०८२ फागुन २५ गते सन्तोष साहसहित चारै जनालाई दोषी ठहर गर्‍यो । उनीहरुलाई जनही १ महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइयो । तर २५ हजार धरौटी बुझाएका कारण उनीहरु तारेखमा रिहा भए । 

यो फैसलामा सन्तोष साह पक्षले चित्त बुझाएको छैन । उनीहरु पुनरावेदनका लागि उच्च अदालत जाने तयारीमा छन् । 

सकुन्तलाले २०८२ चैत २५ गते काठमाडौं प्रहरीमा ठगीको उजुरी दिएकी थिइन् । 

मिथिला थालीले सकुन्तला अधिकारी थापालाई दिएका ४ वटा चेकमध्ये एउटा माछापुच्छ्रे बैंकको साढे चार लाख रुपैयाँको चेक थियो र त्यो चेकमा मिथिला थालीले छाप लगाएको थिएन । 

छाप नलगाइ दिएको चेकको कुनै अर्थै भएन । त्यही छाप नलगाइ चेक दिएकामा सकुन्तलाले सन्तोषविरुद्ध ठगीको उजुरी थिइन् । 

त्यो उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंले सन्तोष साह र उनका दाइ श्रीनारायण साह सुडीविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो । त्यही कारण गत जेठ २९ गते शुक्रबार सन्तोष र उनका दाइ श्रीनारायण जनकपुरबाट पक्राउ परे । 

उनी ३ दिन हिरासतमा बसेपछि सोमबार साढे ४ लाख रुपैयाँ पीडितको खातामा जम्मा गरेर रिहा भएका छन् । 

आर्जब होल्डिङ्सकी सकुन्तला अधिकारीले आफूहरु ठूलो आर्थिक संकटमा परेकै कारण रेष्टुरेन्ट बिक्री गरेको बताइन् । तर रेष्टुरेन्ट बिक्री गरेपनि पैसा नपाएका कारण कानुनको सहारा लिनुपरेको उनको भनाइ छ । 

सेफ सन्तोष साहले पनि लेनदेनमा समस्या भएको स्वीकार गरेका छन् । उनका अनुसार सकुन्तला अधिकारीसँग लेनदेन मिलेको छैन । पटक पटक प्रहरी कहाँ पुगेर छलफल पनि भएको छ । उनले दिनुपर्ने रकम दिन्छु पनि भनेका छन् । 

सन्तोषका अनुसार चेक बाउन्सको मुद्दाका कारण बैंकमा २५ लाख रुपैयाँ रोक्का भएको छ । त्यो फुकुवा गरेको दिन लिनु भनेर साढे ४ लाखको चेक दिएका हुन् । 

तर एकाएक प्रहरीले पक्राउ गरेर ठगका रुपमा प्रस्तुत गरेको भन्दै चित्त दुखाए । बुधबार पत्रकार सम्मेलनमा उनी केही भावुक पनि देखिए । जुन स्वभाविक हो ।

सेफ सन्तोष कानुनी रुपमा बेलायतका नागरिक हुन्, गैरआवासीय नेपालीका रुपमा नेपाल बसेर व्यवसाय गरिरहेका छन् । 

२४० जना भन्दा बढीलाई रोजगारी दिएका छन् । सेफका रुपमा नेपाली खाना र संस्कृतिलाई विश्वभर प्रवद्र्धन गरिरहेका छन् । तर प्रहरीले एकाएक पक्राउ गर्दा चर्चित सेफ सन्तोष साह ठगका रुपमा बद्नाम पनि भएका छन् ।

उनलाई जसरी पक्राउ गरियो, त्यसमा चित्त दुखाउनुलाई स्वभाविक मान्नुपर्छ । 

सँगै सन्तोषले पनि के याद गर्नुपर्छ भने व्यवसाय गरेपछि फेमले मात्रै हुदैन । कारोबार मिलाउन सक्नुपर्छ, हरहिसाब क्लियर गर्नुपर्छ । लेनदेन नमिलाउने हो भने कानुनी झमेलामा पर्ने जोखिम त जहिले पनि रहिरहन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो