८ लेनको चक्रपथ, माछापोखरीमा आधा किलोमिटरको फ्लाइओभर
कलंकीदेखि बालाजु हुँदै बसुन्धरासम्मको चक्रपथ सडक कस्तो बन्छ भन्ने अन्योल टुंगिएको छ ।
यो सडक ८ लेनमा विस्तार हुने त पहिल्यै टुंगिएको थियो । अब चक्रपथको माछा पोखरीमा झण्डै आधा किलमेमिटरको फ्लाइओभर बन्ने पनि पक्का भएको छ ।
हो, चक्रपथको यो खण्डलाई नयाँ जीवन नै दिने गरी योजना र डिजाइन फाइनल भएको छ ।
फ्लाइओभर, आकाशेपुल र फुटपाथसमेत राखेर चीन सरकारले गरेको डिजाइनमा नेपाल सरकारले सहमति जनाएको छ ।
०००००
चक्रपथ काठमाडौं उपत्यकाको आर्थिक, सामाजिक र दैनिक जीवनको मेरुदण्ड हो । पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको खण्ड आठ लेनमा विस्तार भइसकेको छ । चीन सरकारले पहिलो खण्ड विस्तार गरेर हस्तान्तरण गरेर दोस्रो खण्ड अघि बढाउन तयार रहेको बताएको थियो ।
त्यतिबेलादेखि नै धेरैको चासो थियो, दोस्रो खण्ड कस्तो बन्छ ?
किनकी पहिलो खण्डमा चीनले चोकमा ट्राफिक व्यवस्थापन गर्न कलंकीमा एउटा अन्डरपास मात्रै बनाएको थियो । दोस्रो खण्डमा चाहिँ कहाँ कस्तो पूर्वाधार बन्छ भन्नेमा धेरैको चासो थियो ।
अब जवाफ आएको छ, यो खण्डामा माछापोखरीमा भव्य फ्लाइओभर अर्थात् भायडक्ट बन्नेछ, त्यो पनि झण्डै ५१५ मिटरको ।
सडक विभागमा उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार कलंकीबाट स्वयम्भू, सीतापाइला, बालाजु, माछापोखरी, गोंगबु बसुन्धरासम्मको ८.२ किलोमिटर सडक शहरमैत्री बन्दैछ । यो खण्डको सबैभन्दा आकर्षक, जटिल र महत्वपूर्ण संरचना माछापोखरी र गोंगबु, नयाँ बसपार्कको बीचमा पर्ने विष्णुमती नदीमाथि पर्ने गरी बन्ने करिब ५१५ मिटर लामो ओभरपास अर्थात् फ्लाइओभर हो ।
सडक विभागको दाबी छ कि यसले काठमाडौंको यातायात पूर्वाधारको इतिहासमा एउटा नयाँ अध्याय सुरु गर्नेछ ।
धेरैको मनमा प्रश्न उठ्न सक्छ कि चक्रपथका अरु थुप्रै चोकहरु हुँदाहुँदै माछापोखरी र गोंगबु बसपार्कको बीचमा नै किन ५०० मिटर भन्दा लामो ओभरपास बनाउन लागियो ? यसको जवाफ यो क्षेत्रको भूगोल, सवारी साधनको चाप र राष्ट्रिय यातायात सञ्जालको केन्द्र बिन्दुसँग जोडिएको छ ।
नयाँ बसपार्क नेपालका सातै प्रदेशबाट आउने र जाने लामो दूरीका सार्वजनिक सवारी साधनहरुको मुख्य हब हो । दैनिक दर्जनौं बस, मिनीबस र माइक्रोबसहरु यहाँसम्म आउँछन् र यहीँबाट बाहिरिन्छन् ।
यसका साथै बालाजु र माछापोखरी क्षेत्र औद्योगिक कोरिडोर र व्यापारिक केन्द्र पनि हो, जहाँ स्थानीय सवारी साधन, मोटरसाइकल र पैदलयात्रीको घनत्व अत्यधिक छ । ककनी हुँदै नुवाकोटको त्रिशुली जाने सडक यहीँ आएर जोडिन्छ । अनि यहीँ विष्णुमती करिडोर पनि छ । नेपाल टारजस्ता आवासीय रुपमा विकास भइरहेका क्षेत्रको लाइफलाइन पनि यही चोक हो । चक्रपथको चाप उत्तिकै छ ।
यस्तो ठाउँमा साँघुरो सडक भएकाले चौबीसै घण्टा ट्राफिक जाम हुने अवस्था छ । यो जामले केवल स्थानीय यात्रीलाई मात्र होइन, देशका विभिन्न भागबाट आएका बिरामी, पर्यटक र सर्वसाधारणको समय बर्बाद गरिरहेको छ ।
यही समस्याको दीर्घकालीन समाधानका लागि जमिनभन्दा माथि करिब ५१५ मिटर लामो घुमाउरो ओभरपासको प्रारम्भिक डिजाइन तयार पारिएको छ ।
चक्रपथ विस्तार आयोजनाकी प्रमुख आशिका पोखरेलका अनुसार यो भायडक्ट बनेपछि माछापोखरीको घुम्ती र विष्णुमती नदीमाथि ट्राफिक ‘फ्लो’ सहज हुन्छ ।
ओभरपासको मुख्य उद्देश्य चक्रपथमा सिधा यात्रा गर्ने सवारी साधन र नयाँ बसपार्क वा स्थानीय क्षेत्रमा जाने–आउने सवारी साधनहरुलाई पूर्ण रुपमा अलग गराउनु हो ।
त्यसो भएमा कलंकीबाट महाराजगञ्जतर्फ जाने वा महाराजगञ्जबाट कलंकीतर्फ जाने गाडीहरुले चोक, बसपार्कको भिडभाड वा विष्णुमतीको पुलमा रोकिनै पर्दैन । उनीहरु जमिनको सतहभन्दा माथि बनेको लामो आधुनिक पुलबाट सरर पार हुनेछन् ।
यसले गर्दा चोक वारपार गर्ने सवारीहरु ओभरपासभन्दा मुनिको सडकबाटै पार गर्न सक्नेछन् ।
यो विशाल ओभरपासको दायाँ र बायाँ दुवैतर्फ दुई–दुई लेनका थप ६४ मिटर लामा सहायक पुलहरु पनि बन्ने छ । हाल विष्णुमती नदीमा रहेको पुरानो र जीर्ण पुललाई पूर्ण रुपमा भत्काएर त्यसको ठाउँमा अत्याधुनिक नयाँ संरचना खडा गरिनेछ । त्यसको माथिबाट ओभरपास समेत हुनेछ ।
यी पुलहरुमा चोक क्रस गरेर आउने वा क्रम गर्न आउने सवारीहरु आवात जावत गर्न पाउनेछन् । यो ओभरपास र पुलको नेटवर्कले यस क्षेत्रको ट्राफिक व्यवस्थापन चुस्त बनाउनेछ ।
००००
यसबाहेक चीन सरकारले दोस्रो चरणमा चक्रपथ विस्तारका लागि विभिन्न प्राविधिक मापदण्ड फिक्स गरेको छ ।
यो सडकको डिजाइन स्पिड अर्थात् सवारी साधन गुड्ने गति प्रतिघण्टा ५० किलोमिटर तोकिएको छ । सहरी क्षेत्रको सडकका लागि ५० किमी प्रतिघण्टाको गति प्रभावकारी नै मानिन्छ । यो गतिलाई सुरक्षित र निर्बाध कायम राख्नका लागि समग्र सडकलाई आठ लेनमा विभाजन गरिनेछ ।
मुख्य सडकको प्रत्येक लेन साढे तीन मिटर चौडाइको हुनेछ, जसले ठूला मालवाहक ट्रक र लामो दूरीका बसहरुलाई पनि सहज रुपमा ओभरटेक गर्न वा आफ्नो लेनमा गुड्न पर्याप्त ठाउँ दिनेछ । सडकको बीच भागमा तीन मिटर चौडाइको एउटा बलियो र आकर्षक मेडियन अर्थात् डिभाइडर राखिनेछ ।
यो मेडियनले विपरीत दिशाबाट आउने गाडीहरु एकापसमा ठोक्किने सम्भावनालाई कम गर्नेछ भने रात्रिकालीन समयमा विपरीत दिशाको गाडीको हेडलाइटको प्रकाशले चालकको आँखा तिर्मिर्याउने समस्यालाई पनि कम गर्नेछ ।
मेडियनमा दुबो र विरुवा रापेर हरियाली प्रवद्र्धन गरिने छ । जसले चक्रपथलाई वातावरणमैत्री र सुन्दर बनाउनेछ ।
चक्रपथको यो खण्डमा पैदलयात्रीको सुरक्षा र सुविधालाई पनि ध्यान दिइएको छ । डिजाइन अनुसार सडकको दुवै किनारमा २.७५ मिटर चौडाइको फुटपाथ निर्माण गरिनेछ । चीनले नै विस्तार गरेको कलंकी–सातदोबाटो कोटेश्वर खण्डमा फुटपाथ नहुँदा पैदलयात्रीहरु बाध्य भएर मुख्य सडकमै हिँड्नुपर्ने बाध्यता छ ।
तर, यो नयाँ खण्डमा झण्डै ३ मिटर चौडा फुटपाथ बनेपछि पैदलयात्री ढुक्कसँग, सुरक्षित रुपमा र बिनाकुनै अवरोध हिँडडुल गर्न सक्नेछन् । यो फुटपाथ अपांगतामैत्री समेत हुने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार पारिनेछ ।
तर दुःखको कुरा, चक्रपथको यो खण्डमा पनि साइकल लेन नबन्ने भएको छ । लामो समयदेखि अभियान्ताहरुले साइकल लेन माग गर्दै आएपनि सरकारले साइकल लेनसहितको डिजाइन बनाउन लगाएन ।
तर गाडीहरुको ५० किलोमिटर प्रतिघण्टाको गतिलाई कायमै राख्न र पैदलयात्रीलाई दुर्घटनाबाट जोगाउन यो खण्डमा तीन स्थानमा आधुनिक आकाशे पुल भने निर्माण गर्ने निर्णय भएको छ ।
पुल निर्माणका लागि पैदलयात्रीको अत्यधिक चाप हुने र सडक पार गर्नैपर्ने मुख्य चोकहरुमा छानिएका छन् ।
पहिलो आकाशे पुल सीतापाइला चोकमा बन्नेछ, जहाँ रामकोट र नागार्जुन क्षेत्रबाट आउने यात्रुहरुको ठुलो चाप हुन्छ ।
दोस्रो आकाशे पुल गोंगबु क्षेत्रकै ‘गंगा हल’ अगाडि बन्नेछ, जहाँ व्यापारिक चहलपहल बढी हुन्छ ।
तेस्रो आकाशे पुल ग्रिनसिटी हस्पिटल अगाडि निर्माण हुनेछ । विशेष गरी यो क्षेत्रका स्थानीय, विद्यार्थी र बिरामीलाई सुरक्षित रुपमा सडक पार गराउन यो आकाशे पुल जीवनरक्षक साबित हुनेछ । प्रस्तावित आकाशेपुलहरु पर्याप्त भने हैननन् । किनभने यो खण्डमा यस्ता धेरै चोकहरु छन्, जहाँ आकाशेपुलहरु बन्नैपर्छ ।
आकाशे पुलका अतिरिक्त सडकको दिगोपना र पानीको उचित निकासका लागि चक्रपथ विस्तार आयोजनाले १३ वटा ठुला कल्भर्टहहरु बनाउनेछ ।
अनि सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारणको सुविधाका लागि ११ वटा आधुनिक बस स्टपहरु निर्माण गरिनेछन् ।
हाल चक्रपथमा जहाँ पायो त्यहीँ गाडी रोक्ने र यात्रु चढाउने वा ओराल्ने प्रवृत्ति छ । यसले दुर्घटनाको जोखिम बढाएको छ । ११ ठाउँमा बन्ने बस स्टपले गर्दा सार्वजनिक बसमा यात्रा गर्नेलाई तोकिएको स्थापनमा पुगेर मात्र गाडी रोक्न बाध्य पार्नेछ । यसले गर्दा मुख्य लेनको ट्राफिक प्रवाह बिथोलिँदैन ।
चक्रपथ विस्तार आयोजनाकी प्रमुख आशिका पाखरेलका अनुसार चोकमा क्रसिङहरुलाई आधुनिक ढंगले व्यवस्थापन गरिनेछ । तर, माछापोखरी बाहेक अन्यत्र भने अन्डरपास वा ओभरपास नबन्ने उनको भनाइ छ । यस्तै चोकहरुमा आधुनिक सडकबत्ती समेत जडान गरिनेछ ।
०००
यसरी चीन सरकारको करिब ११ अर्ब अनुदान सहयोगमा चक्रपथको यो दोस्रो चरण विस्तार हुने भएको छ । निसन्देहः यसले काठमाडौं उपत्यकाको जनजीवनमा साकरात्मक परिवर्तन ल्याउनेछ ।
सबैभन्दा ठूलो लाभ भनेको यात्रा समयको बचत हो । कलंकीदेखि बालाजु हुँदै महाराजगञ्ज पुग्न अहिले जामका कारण जति समय लाग्छ, त्यो कम हुनेछ । सडक विस्तार भएर माछापोखरीमा ओभरपास समेत बनेपछि सवारी आवागमन स्मुथ हुन्छ । यसले इन्धनको खपत पनि घटाउन मदत गर्छ ।
अर्को फाइदा भनेको वातावरणीय सुधार र जनस्वास्थ्यसँग जोडिएको छ । चक्रपथको यो खण्डसहित माछापोखरी र गोंगबु क्षेत्र लामो समयदेखि धुँवा धुलोका कारण प्रदुषित क्षेत्रका रुपमा चिनिँदै आएका छन् । आठ लेनको खुला सडक र सरर गुड्ने ओभरपास बनेपछि वायु प्रदुषण र ध्वनि प्रदुषणमा कमी आउँछ ।
अर्को लाभ भनेको सडक सुरक्षाको हो । सडक विस्तारपछि चक्रपथ पैदलयात्रीको पनि हुन्छ । अहिलेसम्म चक्रपथमा पैदलयात्री मैत्री पूर्वाधार नै छैन । सुरक्षित फुटपाथ, आकाशे पुलहरु र व्यवस्थित बस स्टपले पक्कै पनि यात्रीहरुलाई फाइदा पुग्छ । यसले सडक दुर्घटनालाई कम गर्नेछ । तर, चक्रपथकै सडकमा हुने सवारी दुर्घटनालाई कम गर्न भने गतिमा निगरानी गर्ने प्रणाली आवश्यक हुन्छ ।
अर्को लाभ भनेको आर्थिक र व्यापारिक गतिविधिको विस्तार हो । यो खण्डका अधिकांश भाग काठमाडौंको राम्रो व्यापार व्यवसाय हुने ठाउँ हो । यो क्षेत्रको आधुनिकीकारणले यहाँ अझै आर्थि गतिविध बढाउनसक्छ । यहाँको पर्यटन, होटेल व्यवसाय र खुद्रा व्यापारले नयाँ उचाइ लिनसक्छ ।
नेपाल सरकारका लागि यस्तो प्रोजेक्ट सिकाइको ठाउँ पनि बन्नसक्छ । सरकारले चाहेमा यस्ता ठूला र नयाँ पूर्वाधार परियोजनामा नेपाली इन्जिनियरलाई तालिम समेत दिन सकिन्छ ।
समग्रमा भन्दा माछापोखरी र गोंगबु बसपार्कको बीचमा लामोे ओभरपास, आठ लेनको विशाल सडक, आकाशे पुलहरु र सुधारिएको ड्रेनेज प्रणालीले यो खण्डलाई पनि सुन्दर, सुगम र सुरक्षित बनाउनेछ । खासमा काठमाडौंले लामो समयदेखि पर्खिएको आधुनिक विकासको जग यस्तै फ्लाइओभरले हाल्नसक्छ ।
चीन सरकारसँग प्राविधिक रुपमा यस्तो कामको ठूलो अनुभव छ । अब आगामी दशैंपछि फिल्डमा आउने चिनियाँ ठेकेदारलाई नेपाल सरकारले सहज ढंगले काम गर्ने वातावरण बनाइदिनुपर्ने हुन्छ । सामाजिक, प्राविधिक र प्रशासनिक अप्ठेराहरु फुकाइदिनुपर्नेछ । सरकारले जति महत्व दिएर आयोजनामा सहजीकरण गर्छ, यो त्यति नै छिटो बनेर काठमाडौंको चक्रपथले मुहार फेर्नेछ ।
जाँदाजाँदै गणेश नेपालीले छाडेका प्रश्नहरू
नागरिकलाई सैनिक तालिम : देशभक्ति कि सैन्यीकरण ?
ठेक्कामा ‘पीसी’को खेल : मन्त्रीदेखि कर्मचारीले बाँडेर लिन्छन् कमिसन
ठेक्का प्रणालीमा उलटफेर गर्दै सरकार, ई–मार्केटप्लेसदेखि के–के नयाँ व्यवस्था ?






