नेभिगेशन
एक्सप्लेनर भिडियो

जनकपुर चुरोट र याक ब्राण्ड हडप्ने प्रपञ्च

जनकपुर चुरोट कारखाना । याक, देउराली, गैंडा चुरोट । कुनै बेला यी सिग्रेट ब्रान्डले बजार खाएको थियो । तर त्यही ब्रान्ड हत्याउन के–के भएन ? 

प्लान अनुसार सबै भइदिएको भए जनकपुर चुरोट कारखाना सरकारको होइन, श्रीराम टोबाको प्रालिको भइसक्थ्यो । 

उद्योगको जग्गा मात्रै होइन, याक, देउराली, गैंडा ब्रान्ड कौडीका भाउमा दीपक भट्ट, कमल मालपानी र चुन्नु पौडेलहरुको हातमा पुग्थ्यो । 

कसरी रचिएको थियो त जचुकालिलाई विचौलियाको हातमा सुम्पिने खेल ? को–को यसमा मतियार बनेका थिए ? अनि अहिले यसको पोल कसरी खुल्यो । 

जनकपुर चुरोट काराखाना रुसी सहयोगमा ६० वर्षअगाडि खुलेको उद्योग हो । २००७ सालमा प्रजातन्त्र आएपछि थुप्रै देशले नेपालको विकासमा सहयोग गर्न चाहे । 

अहिलेको रुस, जसलाई त्यतिबेला सोभियत संघ भनिन्थ्यो, उसले पनि दुई ठूला परियोजनामा अनुदान दिन चाह्यो । तराई क्षेत्रमा उखु खेती हुन्थ्यो भने सुर्ती पनि लगाइन्थ्यो । त्यसले चिनी र चुरोट कारखाना खोल्ने सहमति भयो ।

चुरोट कारखाना कहाँ खोल्ने ? २०१५ सालको बीपी कोइरालाको सरकारमा एकमत थिएन । उद्योगमन्त्री रामनारायण मिश्र जनकपुरमा खोल्न चाहन्थे भने कांग्रेस प्रमुख सचेतक विश्वबन्धु थापा पहाडमा । 

सुर्ती उत्पादनका लागि कमला नदी पारी पट्टीको क्षेत्र उपयुक्त भएकाले सिराहामा खोल्नुपर्ने मत पनि थियो । तर उद्योगमन्त्री मिश्रले राजीनामा नै दिएपछि तत्कालीन प्रधानमन्त्री बीपीले राजीनामा अस्वीकृत गर्दै जनकपुरमा चुरोट कारखाना खोल्न सहमति दिए । 

तर, उद्योग खोल्न नपाउँदै राजा महेन्द्रले २०१७ साल पुस १ गते शासन सत्ता हातमा लिए । पञ्चायत सरकारले २०१९ सालमा चुरोट कारखानाको शिलान्यास भयो, २ वर्षपछि २०२१ सालमा तत्कालीन राजा महेन्द्रले चुरोट कारखानाको उद्घाटन गरे ।

३३७ जना कर्मचारी राखेर सुरु गरेको कारखानाले वर्षमा २ अर्ब खिल्लीसम्म चुरोट उत्पादन गर्न सक्थ्यो । 

देउराली, याक, गैंडा लगायतका नाममा चुरोट बजारमा आयो, निकै लोकप्रिय भयो । आर्थिक वर्ष २०४४/४५ मा पुग्दा त वर्ष दिनमा ५ अर्ब खिल्लीसम्म चुरोट उत्पादन भयो । तर, यही कारखाना २०६८ सालबाट एकाएक पूर्ण रुपमा बन्द भयो ।

पूर्व कर्मचारीहरुका अनुसार दरबारको बक्रदृष्टि परेसँगै जचुकालीको अप्ठ्यारा सुरु भएको थियो । भयो के भने २०३८ सालमा ज्ञानेन्द्रका जेठान सौर्य शम्शेरले भारतीयसँग मिलेर सूर्य टोबाको कम्पनी खोले । सूर्य टोबाकोले लाइसेन्स पाएपछि जचुकालीको नेतृत्वले विरोध गर्‍यो । 

जवाफमा सरकारले तत्कालीन महाप्रबन्धक राजनारायण सिंह थापालाई हटाएर दरबारका विश्वास पात्र देवेन्द्रबहादुर शाहलाई नियुक्त गर्‍यो । उनले जचुकालीका भवन र जमिनहरु जभाथावी बाँडे, पञ्चायतका समर्थकलाई भटाभट कर्मचारीका रुपमा भर्ती गरे । 

सबभन्दा धेरै कर्मचारी २५०२ जना २०४७/०४८ मा थिए, जबकी उत्पादन घटेर ४ अर्ब १९ करोड खिलीमा आइपुगेको थियो । २०४८ को चुनावपछि बनेको कांग्रेस सरकारले खुला बजार नीति लियो, निजी चुरोट कम्पनीहरु पनि खुले ।

दुई दशक पुराना मेसिन, बढ्दो प्रतिस्पर्धा, नेपाली सुर्तीको गुणस्तरमा कमी जस्ता कारणले जनकपुर चुरोट कारखानाले प्रतिस्पर्धा गर्न गाह्रो हुन थाल्यो । त्यो बेलामा सरकारमा भएकाहरुले पनि मेसिन अपग्रेड गरेर बजारमा प्रतिस्पर्धा गर्न सक्नु बनाउनुको साटो कार्यकर्ता भर्तीमा ध्यान दिए । विस्तारै चुरोट कारखाना धरासायी बन्दै गयो । चुरोट प्रवद्र्धन नगर्ने नीति लिएपछि त ५ दशक लामो इतिहास बोकेको जनकपुर चुरोट करखाना वि.स. २०६८ मा पूर्ण रुपमा बन्द भयो ।

महेश बस्नेत, नविन्द्रराज जोशी र मातृका यादव उद्योग मन्त्री भएका बेला जचुकाली पुनः सञ्चालनमा ल्याउने प्रयास भयो । तर मन्त्रीको घोषणा, भाषणमै सिमित भयो ।

अझ २०७४ मा देश संघीयतामा गएपछि तत्कालीन प्रदेश २, जसको नाम अहिले मधेश प्रदेश भइसक्यो, त्यसको मुख्यमन्त्रीको कार्यालय र निवास जनकपुर चुरोट कारखानाको भवनमा राखियो । त्यसपछि त चुरोट कारखानालाई निजी क्षेत्रलाई लिजमा दिने वा बिक्री गर्ने छलफल सुरु भयो ।

जब जनकपुर चुरोट कारखाना बन्द भयो, नेपालको चुरोट बजारमा सूर्य टोबाकोको एकछत्र राज हुन थाल्यो । विजुली, चौतारी, खुकुरी, सूर्य, पाइलट जस्ता चुरोट उत्पादन गर्ने यो कम्पनीले आजको दिनमा वर्षमा ३० अर्बको कारोबार गर्छ ।

तर, पछिल्लो दिनमा एउटा उद्योगले फड्को मारेको थियो । त्यो हो श्रीराम टोबाको उद्योग प्रा ली । २०७२/०७३ मा बुटबल उपमहानगरपालिका–११ रुपन्देहीमा खुलेको यो उद्योगले ठूला पान मसला, गुट्टा र सुगन्धित सुपारी उत्पादन गर्छ ।

वार्षिक ८/१० अर्बको कारोबार गर्ने कम्पनीको नाफा मात्र ५०/६० करोड हुन्छ । आर्थिक वर्ष २०७९/०८० मा मात्र यो उद्योगले ९ अर्ब ९९ करोडभदा बढीको कारोबार गरेको थियो । जसमा ६४ करोड ६५ लाख भन्दा बढी नाफा भएको छ । 

श्रीरामसँग चुरोट चाहिँ थिएन । त्यसैले श्रीरामका सञ्चालकहरुले जनकपुर चुरोट काराखानामा आँखा लगाए । यदि याक, गैंडा जस्ता लोकप्रिय ब्राण्ड हात पार्ने हो भने चुरोटको बजारमा प्रवेश गर्न निकै सहज हुने थियो । त्यसैले उनीहरुले जनकपुर चुरोट कारखाना र यसका ब्राण्ड हत्याउने प्रयास गरेको देखिन्छ । 

नेपालमा गुट्टा उद्योगमा नाफा छ, तर चलाउन सहज पनि छैन । किनकी गुट्टा उद्योगका लागि सुपारी चाहिन्छ ।

नेपालमा करिव १४ हजार मेट्रिक्टन सुपारी उत्पादन हुन्छ । झापा लगायतका तराईका केही जिल्लामा सुपारी खेती हुन्छ । 

तर इण्डोनेसिया, मलेसिया, क्यानडा लगायतका देशबाट वर्षिक करिव १० देखि २५ हजार टन आयात पनि हुन्छ । कुनै पनि उद्योगले आफूले चाहे जसरी सुपारी आयात गर्न पाइन्न, सरकारले कोटा तोकिदिन्छ । 

अर्को भनेको सरकारी निकायले बेलाबेला छापा हान्छ, राजश्व चुहावटको मुद्दा लगाउँछ । 

तर २०७६ देखि २०७८सम्म श्रीराम टोबोकाले दुबै समस्या एकसाथ भोग्नुपर्‍यो । राजश्व छली गरेको आशंकामा राजश्व अनुसन्धान विभागले पटक पटक छापा मार्‍यो, राजश्व चुहावटको मुद्दा नै लग्यो । सुपारी आयातको कोटामा घट्यो ।

त्यो बेला प्रधानमन्त्री केपी शर्मा ओली थिए भने उनकै दलका विष्णु पौडेल अर्थमन्त्री । रुपन्देही २ बाट चुनाव जित्दै आएका पौडेलसँग श्रीराम टोबोकोका सञ्चालकहरु मालपानी र चुन्नुप्रसादहरुको राम्रै चिनजान थियो । त्यसैले अर्थमन्त्री पौडेललाई भेट्न पुगे ।

मालपानी र चुन्नुप्रसादका अनुसार त्यो भेटमा उनीहरुले राजस्व अनुसन्धान विभागले दुःख दिएको भन्दै सहजीकरण गरिदिन अनुरोध गरेका थिए । तर अर्थमन्त्री पौडेलले आफूसँग विभागका महानिर्देशको फोन नम्बर समेत आफूसँग नभएको बताए । बरु अर्कै व्यक्ति भेटाइदिए । उनी थिए, दीपक भट्ट । 

शीर्ष राजनीतिक नेतृत्वसँग सहज पहुँच बनाएका भट्ट विचौलियाका रुपमा परिचित थिए । सानेपास्थित घरमा भएको त्यो भेटमा पौडेलले भट्टबारे भनेका थिए, उहाँ धेरै काम गर्ने मान्छे हो, सहयोग हुन्छ, उहाँसँग सम्पर्कमा रहनु होला ।’

विष्णु पौडेलले मालपानी र चुन्नुप्रसादलाई भेटेको स्वीकार गरेका छन्, तर दीपक भट्टलाई भेटाएको स्वीकार गरेका छैनन् । तर मालपानी र चुन्नुले दीपकसँग भेटेको मात्र स्वीकार गरेननन्, व्यापार व्यवसायमा समेत संलग्न गराउन थाले । 

त्यसपछि उद्योग मन्त्रालयले श्रीराम टोबाकोलाई दिने सुपारी आयातको कोटा पनि बढ्यो । २०८० भदौ २४ मा आयात हुने सुपारीको ५० प्रतिशत श्रीराम टोबाकोले पायो । त्यो बढेर असोजमा ५३ प्रतिशत र मंसिरमा ६२ प्रतिशत पुग्यो । 

२०८० चैत १५ गते त भट्ट श्रीराम टोकाबाको शेयरहोल्डर बने । भट्टको नाममा रहेको हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिले ३ करोड ७५ लाख रुपैयाँमा उद्योगको २० प्रतिशत शेयर लियो ।

श्रीराम टोबाकोको नाफा अनुसार प्रतिकित्ता शेयरको आम्दानी नै ४२६ रुपैयाँ ७३ पैसा थियो । तर प्रतिकित्ता शेयर १०० रुपैयाँमा बेचिएको थियो । शेयर सदस्य भए लगतै कम्पनीको सञ्चित नाफाबाट लाभांश वापत तत्काल १० करोड रुपैयाँ दिने काम भयो । 

मालपानी र चुन्नप्रसादले अनुसन्धान अधिकृतहरुसँग स्वीकार गरेका छन् कि विचौलिया दिपक भट्टलाई साझेदार बनाउनु पछाडिको विश्वास थियो, व्यापार व्यवसाय विस्तार गर्न सहज हुन्छ । कम्पनीलाई अझै विकास गर्न सहज हुन्छ । 

र, त्यो विस्तारमा जनकपुर चुरोट कारखाना हत्याउने खेल समेत रहेको सहजै बुझिन्छ । 

जब कांग्रेस र एमाले गठबन्धनमा विष्णु पौडेल फेरि अर्थमन्त्री भयो, त्यो खेल भएको देखिन्छ । 

अर्थ मन्त्रालयले एउटा प्रस्ताव मन्त्रिपरिषद्मा लग्यो, जनकपुर चुरोट कारखानाको लगानी व्यवस्थापन गर्ने । २०८२ वैशाख १५ गते बसेको मन्त्रिपरिषद्ले अर्थको प्रस्ताव स्वीकृत समेत गरेको थियो । जसमा जचुकाली सहित ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृत प्रदान गर्ने उल्लेख छ । 

जनकपुर चुरोट कारखाना बन्द भएपनि भौतिक सम्पत्ति छ । जनकपुरमा मात्र ३३ विघा जमिन छ । महोत्तरी, पोखरा, पर्वत लगायतका स्थानमा पनि घरजग्गा छ । लगानी सरकारी लगानी व्यवस्थापनको प्रक्रिया अघि बढाउँदा उद्योगको जग्गा र भवन र सम्पत्ति बेच्न वा त्यसको सम्पत्तिलाई कुनै हिसाबले पूँजीकरण सरकारलाई बाटो खुल्थ्यो । याक लगायतका ब्रान्डहरुको पनि एउटा मूल्यांकन हुन्थ्यो । त्यसपछि उद्योगसँगै ब्राण्ड सरकारले निजी क्षेत्रलाई बेच्न सक्थ्यो । 

त्यो बेला श्रीराम टोबाकोमार्फत जनकपुर चुरोट कारखानाको सम्पत्ति र ब्रान्ड कौडीको भाउमा हत्याउने खेलको सबै प्लेट तयार थियो । यसका लागि विचौलिया दिपक भट्टसँगै मालपानी र चुन्नुप्रसादहरु एक ठाउँमा आइसकेका थिए । 

चुन्नुप्रसादले अनुसन्धान अधिकृतसँग स्वीकार गरेका छन् कि जनकपुर चुरोट कारखानाको लाइसेन्ससँगै याक ब्राण्ड लिने र छुट्टै कारखना खोल्ने छलफल भएको थियो ।

यदि यो प्रक्रिया धामधम अघि बढेको भए जनकपुर चुरोट कारखानाको भएको सम्पत्ति स्वार्थ समूहको कब्जामा पुग्ने निश्चित थियो । यसबाट राजनीतिक नेतृत्वले अदृश्य लाभहरु लिने पक्कापक्की थियो ।  किनभने दीपक भट्टले नै रुची देखाएपछि तत्कालीन सत्ताधारी दलले उनलाई कुनै हालतमा रोक्नसक्ने अवस्था थिएन ।

उनी आफू अनुकुल नभए सरकार ढालेर नयाँ सत्ता गठबनधन बनाउनसक्ने भइसकेका थिए । कुनैबेला एमाले र माओवादीको एकीकरण गराएका दीपक भट्टले आफूले भनेअनुसार काम नभएपछि कांग्रेस–एमालेको गठबन्धन समेत गराए । उनको साथमा थिए, कांग्रेसका व्यापारी नेता चुननुप्रसाद पौडेल, अनि सत्तालाई जे गरी भएपनि खुशी राख्न माहिर कमल मालपानी । उनीहरुको साँठगाँठले जनकपुर चुरोट कारखाना सरकारको हातबाट उम्किने पक्कापक्की नै थियो ।  

तर, जेनजी आन्दोलनले पुराना दलहरुको रजगज समाप्त गर्‍यो । दीपक भट्ट र मालपानीहरुको या सबै प्लान भत्काइदियो । 

सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा अर्थमन्त्री भए पूर्व सचिव रामेश्वर खनाल । त्यही बेला सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थ मन्त्रालय मातहत ल्याइयो । विभागको नेतृत्व परिर्वतन भयो, दिपक भट्ट लगायतका पुराना फाइनलहरुमा पुनः अनुसन्धान हुन थाल्यो । 

अनुसन्धानमा गम्भीर तथ्यहरु भेटियो । हिमालयन रि इन्युरेन्स, नेपाल रिइन्सुरेन्सको हकप्रद शेयर र हिल्टन होटलसँग जोडिएको कारोबारमा संलग्नता देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले दिपक भट्टसँग पनि बयान लियो ।

फागुन २१ को चुनाव रास्वपाले जित्यो, चैत दोस्रो साता बालेन शाह नेतृत्वमा सरकार बन्यो । सरकार बनेको एक सातामै विचौलिया दिपक भट्ट पक्राउ गरे । 

रिइन्सुरेन्समा चुन्नुप्रसादहरुको लगानी थियो भने श्रीराम टोबाकोमा दिपक भट्टको । त्यसैले मालपानी र चुन्नप्रसादहरु पनि छानबिनको रडारमा आए । उनीहरुकै बयानका आधारमा पूर्व अर्थमन्त्री विष्णु पौडेल समेत पक्राउ गरे ।

दिपक भट्टको सम्पत्ति शुद्धीकरणको मतियारका अभियोगमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा समेत दायर भइसक्यो । यद्यपि उनी साधारण तारेखमा छुटेका छन् । 

अनुसन्धान अधिकृतहरुकाअनुसार विचौलिया दिपक भट्टलाई सम्पत्ति शुद्धीकरण गर्न कमल किशोर मालपानी र चुन्नुप्रसाद शर्माहरुले पनि  अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए । उनीहरुमाथि पनि लाउण्डरिङ ऐन अनुसार सजाय हुनुपर्ने हो ।

तर अनुसन्धान अधिकृतलाई सहयोग गरी मुद्दामा सरकारी साक्षी बस्न तयार भएकाले मुद्दा नचलाइएको विशेष अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ । तर आलोचकहरु मालपानीहरुमाथि मुद्दा नचल्नुमा प्रधानमन्त्री बालेन शाहसँग भएको सम्बन्धले त काम गरेको छैन भन्ने प्रश्न गरेका छन् । किनकी चुनाव प्रचारका बेलामा बालेनले व्यापारी मालपानीको गाडी चढेका थिए ।

अब यो भन्दा महत्वपूर्ण प्रश्न चाहिँ जनकपुर चुरोट कारखाना हत्याउने खेलमाथि छानबिन हुन्छ कि हुन्न भन्ने हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो