शिन्तामणि मुस्ताङ: संसारकै नम्बर–१ लक्जरी होटलको कथा
विश्वको सबैभन्दा विलासी होटल नेपालमै छ ।
त्यो पनि काठमाडौं, पोखरा वा चितवनमा होइन ।
भौगोलिक रुपमा विकट मानिने मुस्ताङमा ।
अमेरिकी लक्जरी जीवनशैली पत्रिका रोब रिपोर्टले सन् २०२६ का सार्वजनिक गरेको ‘फिप्टी ग्रेटेस्ट लक्जरी होटल अन अर्थ’ को पहिलो नम्बरमा छ, शिन्तामणि मुस्ताङ ।
शिन्तामणि होटल मुस्ताङको घरपझोङ गाउँपालिका–३ जोमसोममा छ ।
चीनको तिब्बतसँग जोडिएको मुस्ताङ भूगोलका हिसाबले विकट, अनि विकास निर्माणमा धेरै पछाडि छ ।
तर संस्कृति र सभ्यतामा धेरै अगाडि छ । हजारौं वर्ष पुरानो तिब्बती बौद्ध संस्कति, सयौं वर्ष पुराना गुम्बाहरु, हावाले कुँदिएका अनौठा पहाडहरु । यस्तै यस्तै कारण मुस्ताङको छुट्टै महत्व छ । यहाँको भूगोल, संस्कृति र सभ्यता विदेशीका लागि मात्र होइन, नेपालीकै लागि पनि युनिक छ ।
समुद्र सतहदेखि करिब २८ सय मिटर उचाइमा रहेको मुस्ताङ विशेषत वौद्ध धर्माबलम्बीहरुको बसोबासस्थल हो ।
मुस्ताङ चिसो मौसम भएको ठाउँ हो, यहाँ हिउँदको समयमा अत्यधिक चिसो हुन्छ र हिउँ पनि पर्छ ।
हिमाली क्षेत्र भए पनि त्यहाँ कालीगण्डकी किनारमा ठूलो उपत्यका छ, त्यही उपत्यकामा बनेको छ, विश्वकै लक्जरी होटल शिन्तामणि मुस्ताङ ।
आजको शिन्तामणि सुरुमा यस्तो थिएन ।
यसको सुरुवात त १०० कोठाको पाँचतारे होटल बनाउने महत्वाकांक्षी योजनाबाट सुरु भएको थियो ।
कस्मिक एयरका संस्थापक तथा अध्यक्ष क्याप्टेन आरपी प्रधानले यसको नेतृत्व गरेका थिए । इन्टरनेशनल फाइनान्स कर्पोरेसन आइएफसीले समेत लगानी गरेपछि जोमसोम माउन्टेन रिसोर्ट निर्माण अगाडि बढ्यो । तर कस्मिक एयर आर्थिक संकटमा परेपछि जोमसोम माउन्टेन रिसोर्ट पनि चलेन ।
बरु यति समूहको इन्ट्री भयो । यती समूह त्यही व्यापारिक घराना हो, जसले काठमाडौंमा गोकर्ण फरेस्ट रिसोर्ट चलाएको छ, चितवनमा कसरा होटल, अनि लुम्बिनीमा होक्के होटल छ ।
सगरमाथा, अन्नपूर्ण र मनाङ क्षेत्रमा माउन्टेन लज अफ नेपाल नाममा होटलहरु चलाइरहेको छ । यती एयरलाइन्सका साथै ट्रेकिङ एजेन्सी पनि चलाइरहेको यो समूहले सन् २०११/१२ तिर यो खरिद गर्यो ।
शेर्पा हस्पिटालीले केही समय जोमसोम माउन्टेन रिसोर्टकै नाममा होटल चलायो । तर उसले बुटिक लक्जरी रिसोर्ट बनाउने निर्णय लियो । नेपाली वास्तुकार प्रवल थापाले स्थानीय ढुंगा, काठ र मुस्ताङको परम्परागत शैलीमा डिजाइन तयार पारे । नाम राखियो, मोक्ष मुस्ताङ ।
२०७२ को भूकम्पपछि पुरानो संरचना हटाएर नयाँ अवधारणाअनुसार रिसोर्ट निर्माण थाल्यो । सन् २०१९ तिर मोक्ष संचालनमा आयो । २०२२ को सुरुसम्म पनि मोक्ष मुस्ताङकै नाममा चलेको थियो ।
शिन्तामणिको इन्ट्री
कोरोना महामारीले नेपालको पर्यटनलाई नराम्रो धक्का दियो । केही महिनापछि महामारी त कम भयो, मुस्ताङको होटल कसरी चलाउने ? यति समूहले नयाँ रणनीति बनायो, अन्तराष्ट्रिय ब्राण्डसँग साझेदारी गर्ने ।
अनि, जोडियो शिन्तामणि ।
शिन्तामणि प्रतिष्ठित लक्जरी होटल ब्राण्ड हो । यसको सुरुवात कम्बोडियाली होटल व्यवसायी सोकुन चानप्रेडा र विश्वप्रसिद्ध होटल डिजाइनर बिल बेन्स्लेले गरिब र विपन्न युवाहरुलाई होटल व्यवस्थापनको निःशुल्क तालिम दिने सामाजिक अभियानबाट सुरु गरेका थिए ।
आज विश्वस्तरीय लक्जरी होटल ब्राण्डका रुपमा परिचित छ । शिन्तामणिले होटल होइन, अनुभव बेच्छ । स्थानीय संस्कृति जोगाउँछ, अत्यन्त व्यक्तिगत सेवा दिन्ँछ, प्रकृति र दिगोपनालाई केन्द्रमा राख्छ ।
यति समूह पनि त्यही चाहन्थ्यो । शेर्पा हस्पिटालिटीका प्रमुख नाम्ग्याल शेर्पाले भनेका छन्, ‘हाम्रो सपना हिमालमा विश्वस्तरीय लक्जरी अनुभव दिने थियो । त्यसका लागि उपयुक्त साझेदार शिन्तामणि नै थियो ।
अप्रिल २०२२ मा सम्झौता भयो । विश्वप्रसिद्ध होटल डिजाइनर बिल बेन्स्ले आफैं मुस्ताङ पुगे । विश्वका दर्जनौं चर्चित लक्जरी रिसोर्टको डिजाइन गरेका उनको नियम छ, पहिले ठाउँँलाई बुझ, त्यसपछि भवन बनाऊ । त्यसले मुस्ताङ पुगेका उनले त्यहाँ घरहरु हेरे, गुम्बाहरु पुगे ।
अनि होटलको नयाँ डिजाइन तयार पारे । होटलमा सिमेन्टका वालहरु होइन, स्थानीय ढुंगा प्रयोग गरियो । रंगहरुलाई मुस्ताङको माटोसँग मिलाइयो । कोठाहरुबाट हिमाल हेर्न सकिने गरी डिजाइन बनाइयो ।
अगस्ट २०२३ मा खुल्यो, शिन्तामणि मुस्ताङ ।
होटलको नाम मात्र फेरिएन, पुरै अवधारणा फेरिएको थियो । पहिले मोक्ष मुस्ताङ एक लक्जरी रिसोर्ट थियो । आज शिन्तामणि मुस्ताङ, अल इन्क्लुसिभ एक्सपेरियन्सियल लक्जरी रिसोर्ट बनेको छ ।
यसको लक्ष्य प्रष्ट छ, संसारका धनी पर्यटकलाई नेपाल बोलाउने ।
हिमाल देखाउने मात्र होइन, मुस्ताङ अनुभव गराउने ।
त्यही सोचले सञ्चालनमा आएको छोठो अवधिमा नै शिन्तामणि संसारकै सबभन्दा लक्जरी होटल बन्न सफल भएको छ ।
मुस्ताङको ब्राण्डिङ
शिन्तामणिले आफूलाई आज बास बस्ने ठाउँ होइन, मुस्ताङको अनुभव लिन जाने ठाउँको रुपमा ब्राण्डिङ गरेको छ ।
आफ्नो प्याकेज पनि त्यसै गरी बनाएको छ । यहाँ पर्यटकहरुले कम्तीमा ५ रातको प्याकेज लिनुपर्छ ।
त्यसपछि पर्यटकले एक जना पर्सनल गाइड पाउने छन् । प्याकेज अन्तर्गत तल्लो मुस्ताङको भ्रमण, मार्फा भिलेज, झारकोट झोङ, मुक्तिनाथ र कागबेनीसम्मको पैदलयात्रा गराइन्छ । त्यस्तै ८०० वर्ष पुरानो लुब्रा गाउँको भ्रमण पनि गराइन्छ । अनि माउन्टेन बाइकिङ, घोडचढी, योग तथा ध्यान, आर्चरी खेल खेलाइन्छ ।
होटलमा २९ वटा मात्र कोठा छन् ।
कोठाहरु फराकिलो, एयर कन्डिसन सुविधा, प्राइभेट बाथरुम, गार्डेन, माउन्टेन भ्यू देख्न सकिने खालका छन् । प्रत्येक कोठामा एउटा वर्क डेस्क, घाम लाग्ने बरण्डा, मिनि बार र वाइफाइ सुविधा छ ।
पर्यटकले स्पा, साउना, स्टिम रुम, हट टब, आउटडोर फायर स्पेस जस्ता सुविधा पनि पाउँछन् ।
होटलमा कन्टिनेन्टल, अमेरिकी र एसियन ब्रेकफास्ट पाइन्छ । यदि चाहने हो भने, स्थानीय परिकारको लन्च र डिनर खान पनि पाइन्छ ।
होटलले दुई जना बस्न मिल्ने एउटा कोठाको एक दिनको १८०० अमेरिकी डलर शुल्क लिन्छ । नेपाली रुपैयाँमा हिसाब गर्दा २ लाख ७० हजार रुपैयाँ भन्दा बढी हुन्छ । पाँच दिनको प्याकेजको १२ हजार अमेरिकी डलर अर्थात् १८ लाख नेपाली रुपैयाँ पर्छ । यो पैसामा प्याकेजको सबै कुरा समावेश हुन्छ ।
यदि हेलिकप्टरबाट आउन जानुपर्ने भएमा मात्र छुट्टै पैसा तिर्नुपर्छ । काठमाडौंबाट पोखरा हुँदै पैदल मार्गबाट पनि जान सकिन्छ । पोखराबाट १५१ किलोमिटर टाढा पर्छ । हवाइ मार्गबाट जाने हो भने काठमाडौं र पोखराबाट उस्तै २५ मिनेट लाग्छ । पोखराबाट कारमा ५–६ घण्टामा पनि पुग्न सकिन्छ ।
मुस्ताङ अहिले नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । सडक सुविधा पुगेका कारण नेपाली युवाहरु मोटरसाइकलमै मुस्ताङ पुग्ने गर्छन् । नेपालीहरु धार्मिक उद्देश्यले पनि मुस्ताङ जाने गर्छन्, तर नेपालीहरु गएकै दिन फर्किने वा एक–दुई रात बस्ने गर्छन् । पछिल्लो समय भारतीय पर्यटकहरु पनि उत्तिकै बढेका छन् । भारतीय पर्यटकहरु पनि बढीमा एक–दुई रात मात्र बस्छन् ।
तर शिन्तामणि मुस्ताङको टार्गेट त्यस्ता पर्यटक हुन्, जो युनिक ठाउँमा जाने फरक अनुभव लिने र लामो समय विताउन रुचाउँछन् । उनीहरुलाई पैसाको धेरै चिन्ता हुन्न, अनुभव महत्वपूर्ण हुन्छ ।
दक्षिण एसियामा यस्ता लक्जरी टुरिस्टहरु धेरैजसो भुटान जान रुचाउँछन् । तर शिन्तामणिले भुटान जाने लक्जरी टुरिस्टलाई नेपालमा रोकेको शिन्तामणिका सञ्चालक शेर्पा हस्पिटालिटीको दाबी छ ।
विश्वप्रशिद्ध ट्राभल म्यागजिनहरुमा शिन्तामणिका अनुभवहरु प्रकाशित छन् । पर्यटकहरुले मुस्ताङको अलौकिकताको बयान गरेका छन्, यस्तो ठाउँ अहिलेसम्म भ्रमण नगरेको उल्लेख गरेका छन् ।
त्यहाँको जनजीवन, भूगोल र हावापानीको बयान गरेका छन् । कतिपयले भने पाँच दिनको प्याकेज लामो भएको उल्लेख गरेका छन् र, अलि छोटा प्याकेजहरु भए सजिलो हुने पनि बताएका छन् ।
तर चिन्तामणि मुस्ताङले जे गरिरहेको छ, त्यसबाट उनीहरु मन्त्रमुग्ध छन् । त्यही कारण कन्डे नास्ट ट्राभल, ट्राभल लेजुअर जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका र न्यूयोर्क टाइम्सले सन् २०२४ मै विश्वभरिका उत्कृष्ट ५२ लक्जरी गन्तव्यको सूचीमा राखेको थियो । रोब रिपोर्टको विलासी होटलको सूचीमा पनि पटक पटक परेको छ । तर यस पटक पहिलो स्थानमै आएको छ ।
१० कित्ता आईपीओ किन खोस्न चाहन्छन् ठूला लगानीकर्ता र सरकार ?
१६ खर्ब राजस्व उठाउने अर्थमन्त्रीको मिसन, ट्रयापमा जनता
हेटौंडा कपडा उद्योगको चाबी सेनालाई, कति सजिलो छ चलाउन ?
किसानलाई पेन्सन र क्रेडिट कार्ड बाँड्ने योजना, सम्भव छ ?









