किन डुबिरहन्छ माइतीघर ? थापाथली क्याम्पसभित्र छ रहस्य
काठमाडौं । काठमाडौंको माइतीघर क्षेत्रमा सानो वर्षा हुँदा पनि हुने डुबानमा पर्छ ।
यसको मुख्य कारण प्राकृतिक पानी थाम्ने क्षेत्रको विनाश, ढल प्रणालीको अपर्याप्त क्षमता, टुकुचा खोलाबाट आउने ब्याकप्रेसर र ढलमाथिको अतिक्रमण रहेको एक प्राविधिक प्रतिवेदनले देखाएको छ।
प्रतिवेदनअनुसार माइतीघर क्षेत्रमा पहिले वर्षाको पानी केही समय थाम्ने प्राकृतिक खाली क्षेत्र रहेको थियो। तर, त्यहाँ सरकारी वकिलको कार्यालय र प्रहरी कार्यालयहरू बने ।
ती क्षेत्र भवन र कंक्रिट संरचनाले ढाकिएपछि जमिनको पानी सोस्ने क्षमता घटेको छ। फलस्वरूप वर्षाको अधिकांश पानी एकैपटक ढल प्रणालीमा पुग्छ । त्यसैले थोरै वर्षामै पनि ढलमा अत्यधिक चाप पर्ने गरेको छ ।
माइतीघरको मुख्य ढल अहिलेको पानीको बहाव धान्न नसक्ने अवस्थामा पुगेको छ। वर्षाको पानीसँगै घरायसी फोहोर पानी पनि एउटै ढल प्रणालीमा मिसिँदा ढलको क्षमता चाँडै भरिने र पानी निकास हुन नसक्ने अवस्था सिर्जना हुन्छ। केही स्थानमा ठूलो व्यासको पाइप सानो व्यासको पाइपसँग जोडिएकाले ‘बोटलनेक’ बनेर बहाव अझ अवरुद्ध हुन्छ।
डुबानको अर्को प्रमुख कारण टुकुचा खोलाबाट आउने ‘ब्याकवाटर इफेक्ट’ पनि रहेको प्रतिवेदनको निष्कर्ष छ। ठूलो वर्षाका बेला टुकुचाको जलस्तर बढ्दा मुख्य ढलबाट पानी बाहिर निस्कन नसकी उल्टै ढलभित्र दबाब बढ्ने र म्यानहोलबाट समेत पानी सडकमा फर्किने अवस्था हुने उल्लेख गरिएको छ।
प्रतिवेदनले ढलको बहाव हुने मार्गमाथि बनेका विभिन्न संरचना र अतिक्रमणले पनि समस्या जटिल बनाएको जनाएको छ। थापाली क्याम्पस र तथ्यांक कार्यालयका संरचना ढलमाथिबाटै बनेका छन् ।
ढल निरीक्षण, मर्मत तथा सफाइ गर्न कठिन हुने भएकाले निकास प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिन्छ। काठमाडौं महानगरपालिका, सडक विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच प्रभावकारी समन्वय नहुँदा समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन ।
सरकारी प्रतिवेदनले समाधानका रूपमा ढलको क्षमता विस्तार, साँघुरा पाइप परिवर्तन, टुकुचा खोलाको नियमित सफाइ तथा चौडाइ सुधार, ढलको आउटलेटमा ब्याकफ्लो रोक्ने फ्ल्याप गेट जडान, भूमिगत डिटेन्सन ट्याङ्क निर्माण तथा वर्षाको पानी र घरायसी ढललाई छुट्टाछुट्टै प्रणालीमार्फत व्यवस्थापन गर्न सिफारिस गरेको छ।
प्रतिवेदनको निष्कर्षअनुसार माइतीघरको डुबान कुनै एक कारणले होइन, प्राकृतिक पानी थाम्ने क्षेत्रको अभाव, बढ्दो कंक्रिटीकरण, कमजोर ढल प्रणाली, टुकुचाको ब्याकप्रेसर, अतिक्रमण र निकायबीच समन्वय अभावजस्ता कारण एकसाथ सक्रिय हुँदा सानो वर्षामै पनि माइतीघर डुबानमा पर्ने गरेको हो।
यसबारेको एक फिल्ड रिपोर्ट
गौशालामा सुरुङ, महाराजगञ्जमा अन्डरपास, विष्णुमतीमा फ्लाइओभर
अब बाँझो जग्गा-जमिन भूमि बैंकमा, स्थानीय तहले लगाइदिन्छ भाडामा
काठमाडौंमा कुन ठाउँमा कति छ जग्गाको भाउ ?
कांग्रेसमा कसले लेख्दैछ फुटको स्क्रिप्ट ?






