किन भयो ग्यास अभाव ?
फेरि ग्यासको हाहाकार !
बजारमा फेरि ग्यास पाइन छाडेको छ ।
करिब ४ महिना आधा सिलिण्डर ग्यास बेचिरहेको सरकारले असार ३१ गतेदेखि भरि सिलिण्डर ग्यास दिने निर्णय गरेपछि फेरि ग्यास पाइन छाडेको छ ।
उपभोक्ताहरु ग्यास कहिले आउँछ भनेर बिक्रेतालाई सोधिरहेका छन् । के कारण अभाव भएको हो भनेर जवाफ खोजिरहेका छन् । बिक्रेताहरु भने आफूकहाँ पनि ग्यास नै आएको छैन भन्दैछन्, अनि कहिले आउँछ भन्ने जवाफ पनि दिन सकिरहेका छैनन् ।
आयल निगमले भने दैनिक रुपमा माग अनुसारकै ग्यास आइरहेको दाबी गरेको छ ।
नेपालमा एउटा कुरा के छ भने जहिले पनि ग्यास अभाव हुँदा आयल निगम, ग्यास उद्योगी ग्यास बिक्रेता कोही पनि जिम्मा लिन तयार हुँदैनन् ।
त्यसको दोष खाली उपभोक्तामाथि लगाइन्छ । उपभोक्ताले अनावश्यक स्टोर गरेका कारण ग्यास अभाव भयो भनिन्छ । अहिले पनि आयल निगमले ग्यास अभाव नरहेको भन्दै धेरै भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेका छन् ।
उपभोक्ताको भने एउटै सवाल छ, ग्यास चाहिएको दिन पसलले खुरुक्क दिन्छ भने ग्यास स्टोर गर्ने रहर कसलाई हुन्छ र ?
ग्यास उद्योगीहरु भने ४ महिनासम्म आधा सिलिण्डर ग्यास बेच्दाखेरिको असर देखिएको बताउँछन् ।
नेपालमा ठूला व्यवसायी र घरायसी ग्राहकले समेत ग्यास सिलिण्डर जगेडा राख्ने गरेको सबैलाई थाहा भएकै कुरा हो । पहिले आधा सिलिण्डर मात्र जगेडा राख्थे भने भरि सिलिण्डर बेच्न थालेपछि भरि सिलिण्डर नै जगेडा राखिन्छ ।
आधा सिलिण्डर बेच्दा लामो समय खाली रहेका सिलिण्डरहरु भर्नका लागि सरकारले नर्मल अवस्थामा भन्दा धेरै ग्यास आयात गर्नुपर्ने ग्यास उद्योगीको भनाइ छ ।
ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द भन्छन्, ‘एक पटक सबै सिलिण्डर नभरिएसम्म नेपालमा ग्यास अभाव भइरहन्छ ।’ सबै सिलिण्डर भरिन करिब दुई महिना लाग्छ ।
किनकी सरकारले नर्मल अवस्थामा जत्तिकै दिनमा १०० बुलेट मात्र ग्यास आयात गरिरहेको छ । तर अहिले बजारमा ग्यासको हाहाकार नै भने नरहेको उद्योगी दिवान चन्दको भनाइ छ ।
उपत्यकामा केही उद्योगको ग्यास वितरणमा कमजोरी भएका कारण अभाव जस्तो देखिएको हो । त्यसैले नेपाल ग्यास, एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासको सिलिण्डिर साउन १६ देखि टेकुस्थित आयल निगमको कार्यालयबाट साट्न थालेको छ । तर टेकुमा ग्यास लिन जानेहरुले पनि ग्यास पाएका छैनन् । कसैले दिनभरि प्रतीक्षा गरेर बल्ल बल्ल ग्यास पाएका छन् ।
अब मानिसहरुले खाना पकाउने र जगेडा राख्ने दुबै सिलिण्डर नभरिएसम्म ग्यास अभाव जस्तो देखिने उद्योगी चन्दको भनाइ छ ।
फ्लाइट डिले भए यात्रुलाई क्षतिपूर्ति !
सरकारी वितरण केन्द्रमै ग्यास अभाव, रित्तै फर्किंदै उपभोक्ता
शिन्तामणि मुस्ताङ: संसारकै नम्बर–१ लक्जरी होटलको कथा
१० कित्ता आईपीओ किन खोस्न चाहन्छन् ठूला लगानीकर्ता र सरकार ?

-1785335722.png)






