नेपाली अर्बपतिसँग म्यारियटको दोस्ती
काठमाडौंको लैनचौरमा बनिरहेको शानदार हाइराज बिल्डिङ ।
यसमा केही महिनाभित्रै झुण्डिनेछ, ‘द लक्जरी कलेक्सन बाइ म्यारियट’को बोर्ड ।
नेपाली मूलका अष्ट्रेलियन अर्बपति शेष घलेले बनाइरहेको यो होटलमा मात्रै हैन ।
म्यारियट इन्टरनेसनल नेपालमा धेरै होटलहरुमा व्यवस्थापन सम्हाल्न आउँदैछ ।
वर्ल्ड हस्पिटालिटी क्षेत्रको जाइन्ट हो, ‘म्यारियट इन्टरनेसनल’ । सन् १९२७ मा स्थापना भएको र विश्वका १४० भन्दा बढी देशमा ९ हजार ९ सयभन्दा बढी प्रोपर्टी सञ्चालन/व्यवस्थापन गरिरहेको यो अमेरिकी बहुराष्ट्रिय ब्रान्ड हो ।
अहिले यही समूह नेपालमा आफ्नो प्रभुत्व तीव्र रुपमा विस्तार गर्दैछ ।
नेपालमा ४० अर्ब रुपैयाँभन्दा बढीको लगानीमा निर्माण भएका ६ वटा ठूला होटलहरु म्यारियटको इन्टरनेसनल सञ्जालभित्र सञ्चालनमा आइसकेका छन् ।
जसमा काठमाडौं म्यारियट, फेयरफिल्ड बाइ म्यारियट काठमाडौं, अलोफ्ट काठमाडौं ठमेल, मोक्सी काठमाडौं र द सोल्टी काठमाडौं अटोग्राफ कलेक्सनमा म्यारियट ग्रुपले व्यवस्थापन सम्हालिरहेको छ ।
केही समयअघि म्यारियट इन्टरनेसनलका उच्चपदस्थ अधिकारीले नेपालको भ्रमण गरे । यहाँ थप साझेदारहरुसँग रणनीतिक सहकार्य बढाए ।
यसले एउटा स्पष्ट सन्देश दिएको छ, म्यारियट नेपालको पर्यटन र हस्पिटालिटी क्षेत्रप्रति निकै विश्वस्त र उत्साहित छ ।
म्यारियटको इतिहास
अमेरिकी म्यारियट इन्टरनेशनल इन्क विश्वप्रसिद्ध हस्पिटालिटी कम्पनी हो । यो दर्जनौं अन्तर्राष्ट्रिय होटल चेन ब्रान्डको माउ कम्पनी हो । यसले विभिन्न देशमा बनेका होटलको सञ्चालन र व्यवस्थापन सम्हाल्छ ।
अहिले यो ग्रुपले अहिले १४६ देश तथा क्षेत्रहरुमा ९ हजार ९०० भन्दा बढी होटलहरु सञ्चालन गर्दैछ ।
म्यारियट लक्जरी, प्रिमियम, मिडस्केल, एक्सटेन्डेड स्टे तथा अल–इन्क्लुसिभ श्रेणीका होटल, रेसिडेन्स, टाइमसेयर, याट तथा अन्य आवास सेवाहरु सञ्चालन गर्छ ।
धेरैलाई लाग्न सक्छ, म्यारियट भनेको एउटा मात्रै होटल हो । तर वास्तविकता फरक छ । म्यारियट इन्टरनेशनलसँग दर्जनौं होटल ब्रान्ड छन् । यसैले एउटै शहरमा पनि फरक ग्राहकलाई लक्षित गर्दै धेरै ब्रान्ड सञ्चालन गर्छ ।
अहिले म्यारियट नेपालमा पनि यही रणनीति देखिन थालेको छ ।
म्यारियट ग्रुपको नेपाल प्रवेशको इतिहास धेरै पुरानो छैन । यसको सुरुवात एमएस ग्रुपअन्तर्गतको एभरेष्ट हस्पिटालिटीसँगको सहकार्यबाट भएको हो ।
२०७३ तिर एमएस ग्रुपले ठमेलमा करिब १ अर्ब रुपैयाँको लगानीमा ११५ कोठाको होटल निर्माण गर्यो । त्यही होटलमा व्यवस्थापन खोजिरहेका लगानीकर्ता शशिकान्त अग्रवालको कुरा म्यारियट ग्रुपसँग भयो ।
हुन त त्यतिबेला भूकम्प र नाकाबन्दीले नेपालको पर्यटन क्षेत्र थला परेको थियो, तर, नेपाल आउने कुरामा म्यारियट हिच्किचाएन । ३० वर्षका लागि ‘फेयरफिल्ड बाइ म्यारियट’को व्यवस्थापनको जिम्मा लियो । यो नै म्यारियट ग्रुपको नेपालमा औपचारिक र प्रत्यक्ष पहिलो प्रवेश थियो ।
एमएस ग्रुप नै काठमाडौंको नागपोखरीमा अर्को होटल बनाइरहेको थियो । साढे ४ अर्ब रुपैयाँ लगानीमा २१५ कोठाको पाँचतारे होटल । यसमा पनि म्यारियट नै भित्रियो । उसकै व्यवस्थापनमा काठमाडौं म्यारियट होटल २०७६ साउनबाट सञ्चालनमा आयो । फेयरफिल्डको सफलता र काठमाडौं म्यारियटको औपचारिक सुरुआतले नेपालको हस्पिटालिटी बजारमा नयाँ तरंग पैदा गर्यो ।
त्यसपछि ठमेलमा बनिरहेको छाँया कम्प्पलेक्समा खुल्ने पाँच तारे होटलमा पनि म्यारियटकै ब्रान्ड अलफ्ट आउने तय भयो ।
एमसएस ग्रुपले कमलादीमा बनाइरहेको होटलमा पनि म्यारियटकै मोक्सीलाई पार्टनर रोज्यो । काठमाडौं म्यारियटपछि म्यारियट ग्रुपले सोल्टीसँग अटोग्राफ कलेक्सन ब्रान्डमार्फत सहकार्य गर्यो ।
म्यारियटको नेपाल प्रोजेक्ट
नेपालमा म्यारियटको विस्तारसँग जोडिएको नयाँ प्रोजेक्ट हो, गैरआवासीय नेपाली व्यवसायी शेष घलेको लैनचौरस्थित लक्जरी होटल ।
घलेले म्यारियट अन्तरगतकै शेराटन ब्रान्डलाई भित्र्याउने गरी २०७० सालदेखि नै होटलको निर्माण थालेका थिए । तर यो परियोजनामा धेरै ढिलाइ भएपछि शेराटन बाहिरियो । करिब १३ अर्ब रुपैयाँको लगानीमा बनिरहेको यो अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल अझै निर्माणकै चरणमा छ ।
शेराटनसँगको सम्झौता रद्द भएपछि शेष घले र उनको समूहले म्यारियटसँगको सम्बन्ध तोडेका छैनन् । बरु म्यारियटकै लक्जरी ब्रान्डअन्तर्गत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । नेपालकै सबैभन्दा ठूलो लगानीको यो होटलमा म्यारियटको ‘लक्जरी कलेक्सन’ ब्रान्ड आउनेछ ।
यो निर्माणाधीन होटलको निरीक्षण म्यारियट ग्रुपका अध्यक्ष डेभिड म्यारिटले नै गरिसकेका छन् । यो होटल सञ्चालनको औपचारिक घोषणा केही समयभित्रै हुनेछ । म्यारियटको अर्को एउटा विशाल लक्जरी ल्यान्डमार्क थपिनेछ ।
ठमेलको छेउमै १४ रोपनी क्षेत्रफलमा १७ तलाको होटल बनेको छ । यो होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्ट रुम रहनेछन् । यहाँ २१८ वटा गेष्टरुम तथा सुइट रुम रहने छन् । हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा यो होटलमा उपलब्ध हुनेछन् ।
होटलभित्रै रिटेल सपिङ सुबिधा हुने छ भने स्थानीय र अन्तर्राष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ । विवाह तथा सभा समारोहका लागि करिव एक हजार सिट क्षमताको सभाकक्ष रहने छ । यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि रहनेछन् । यो होटलमा अब निकट भविष्यमै म्यारिट ब्रान्डको प्रवेश हुनेछ ।
चौधरीको प्रोजेक्टमा पनि म्यारियट
गत जेठको अन्तिम साता नेपाल आएका म्यारिट ग्रुपका अध्यक्ष डेभिडले भनिसकेका छन्, नेपालमा म्यारियटको यात्रा अहिलेका होटलमा मात्र सीमित रहनेवाला छैन । त्यसअनुसार सीजी र एमएस ग्रुपसँग अरु होटलहरुमा पनि व्यवस्थापन सम्हाल्ने गरी समझदारी भइसकेको छ ।
आउँदा केही वर्षभित्रै म्यारियटले कम्तीमा ५ वटा नयाँ विश्वप्रसिद्ध ब्रान्डहरु नेपालमा भित्र्याउने तयारी गरेको छ ।
म्यारियटकै सबैभन्दा माथिल्लो दर्जाको अल्ट्रा–लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ । यो अल्ट्रा–लक्जरी ब्रान्ड यो चौधरी ग्रुपको सीजी हस्पिटालिटीले १५ अर्ब रुपैयाँ लगानी ठमेलमा बनाउने होटलमा भित्रिने छ ।
यो होटलमा ३० वटा विशाल सुइटसहित १५० वटा आकर्षक रुम रहनेछन्, जसलाई उच्चस्तरीय तथा परिष्कृत अनुभव प्रदान गर्ने गरी डिजाइन गरिनेछ ।
पाहुनाहरुले पाँचवटा फरक रेस्टुरेन्ट तथा बारमार्फत उत्कृष्ट खानाको अनुभव लिन सक्नेछन् । मनोरञ्जन सुविधाअन्तर्गत आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर तथा द रिट्ज–कार्लटन स्पा रहनेछ ।
साथै, होटलमा ११०० वर्गमिटरभन्दा बढी क्षेत्रफलमा सम्मेलन तथा कार्यक्रमका लागि अत्याधुनिक सुविधासम्पन्न हल उपलब्ध हुनेछ, जुन व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि उपयुक्त हुनेछ ।
नेपाल आउने तय भएको म्यारियटको अर्को ब्रान्ड हो, द वेस्टिन । द वेस्टिन पर्यटकको स्वास्थ्य तथा सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिने ब्राण्ड हो । सीजी हस्पिटालिटीले ललिपपुरको बखुण्डोलमा बनाउने वेस्टिन होटल तथा रिसोर्टमा यसलाई भित्रउने छ । होटलमा १५० वटा प्रिमियम रुम तथा सुइट रहने छन् ।
तीन वटा डाइनिङ स्थल, वेस्टिनवर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाई वेस्टिन, रुफटप स्विमिङ पुल तथा नेचुरल लाइट र स्मार्ट प्रविधियुक्त ७०० वर्गमिटरभन्दा बढीको बैठक तथा बैंक्वेट सुविधा रहने छ ।
सीजीसँग म्यारियट जोडिन लागेका ब्रान्डका होटलहरुमा चौधरी ग्रुप मात्रै हैन, नेपालका अग्रणी व्यावसायिक घरानाहरु आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीले पनि लगानी गर्नेछन् ।
१७० कोठाको ले मेरिडियन
नेपाल आउन तय भएको अर्को म्यारियट ब्रान्ड हो, ‘ले मेरिडियन’ । काठमाडौं र पोखरामा यही ब्रान्ड लिने गरी २ वटा पाँच तारे होटल बन्दैछन् । पोखराको पाँच तारे होटलमा १३० वटा कोठा रहनेछन् । आयोजनाको कुल अनुमानित लागत २ अर्ब ७७ करोड रुपैयाँ छ । कर्मा तेन्जिङले बनाइरहेको यो होटलमा क्यासिनो, पौडी पोखरी, स्पा, हेल्थ क्लब र ठूला सम्मेलन कक्षहरू रहने छन ।
काठमाडौंको महाराजगञ्जमा १७० कोठाको अर्को पाँचतारे होटल ‘ले मेरिडियन’ पनि बनिरहेको छ । यसमा पनि ४ अर्ब २ करोड रुपैयाँ लगानी हुँदैछ ।
अर्को नेपाल आउने म्यारियट ब्रान्ड हुनेछ, जेडब्ल्यू म्यारियट । यो ब्रान्ड एमएस ग्रुपअन्तर्गतको एभरेष्ट हस्पिटालिटीले भक्तपुरमा बनाउने ३ सय कोठाको पाँचतारे होटलमा भित्रिनेछ । सुपर–लक्जरी जेडब्ल्यू म्यारियट निर्माणको घोषणा भइसकेको छ ।
व्यापारिक घराना एमएस ग्रुपको भगिनी संस्था क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडले नेपालमा पहिलो पटक जेडब्लू म्यारिअट’ ब्रान्ड भित्र्याउने भएको छ ।
काठमाडौंमा सन् २०३१ को सुरुवातसम्म जेडब्लू म्यारिअट होटल सञ्चालन गरिसक्ने लक्ष्य छ । यसमा २२१ लक्जरी कोठा रहनेछन् । होटेलमा विभिन्न प्रकारका डाइनिङ आउटलेट, स्पा, फिटनेस सेन्टर, स्विमिङ पुल, ‘जेडब्लू गार्डेन’ र १,६०० वर्ग मिटरभन्दा बढीको हल उपलब्ध हुने छ ।
म्यारियटले भविष्यमा आफ्ना होटलहरुमा मोबाइल किलेस इन्ट्री, हाई–स्पीड एआई–ड्रिभन हस्पिटालिटी सर्भिस र व्यक्तिगत प्राथमिकतामा आधारित आतिथ्य सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।
यस्तै भारत र दक्षिण एशियाली देशहरुबाट ठूला सम्मेलन, अन्तर्राष्ट्रिय कार्यक्रम र लक्जरी विवाह समारोहलाई नेपालमै गराउन म्यारियटले आफ्ना सभा–हल र ब्यांक्वेट सुविधाहरुलाई विश्वस्तरीय बनाउने बताएको छ ।
अनि काठमाडौंमा मात्रै हैन, पोखरा, चितवन, झापाको मेचीनगर र बुटवल जस्ता व्यावसायिक तथा सीमावर्ती शहरहरुमा नयाँ प्रोपर्टीहरुमा समेत म्यारियटले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने सोच बनाएको छ ।
नेपालीले किन रोजे म्यारियट
म्यारियटले त एकपछि अर्को होटलहरुको व्यवस्थापन जिम्मा लिएर नेपाल मोह देखाइरहकै छ । तर, आखिर किन नेपालका ठूला होटलहरुले पनि म्यारियट ब्रान्ड रोजे त ? ययको समूल कारण हो, ग्लोबल लोयल्टी नेटवर्क ।
हो, म्यारियटको ‘म्यारियट बोभोय’ नामको लोयल्टी प्रोग्राम छ ।
जसमा २० करोडभन्दा बढी अन्तर्राष्ट्रिय ग्राहक आवद्ध छन् । उनीहरू नेपाल आउँदा म्यारियटकै होटल रोज्छन् । इन्टरनेसनल चेन ब्रान्डका लोयल कस्टमर हुन्छन्, उनीहरुले विदेश यात्रामा आफ्नो बेस्ट होटल ब्रान्ड नै रोज्छन् ।
नेपालमा आउने विदेशी पर्यटकहरुमध्ये धेरै म्यारियटको लोयल कस्टमरका रुपमा यो ब्रान्डमा स्पेसल सुविधा पनि लिन पाउँछन् ।
अर्को कारण भनेको भारत र चीनका ग्राहकसमेत तान्ने म्यारियटको खुबी पनि हो । चीनसहित भारतका दिल्ली, मुम्बई र छिमेकी शहरबाट आउने कर्पोरेट, क्यासिनो प्रेमी, र डेस्टिनेस वेडिङका पर्यटकहरुका लागि म्यारियट पहिलो रोजाइ बन्ने आधारहरु छन् ।
खासमा चीनमा म्यारिटको व्यवस्थापनमा ५०० भन्दा बढी र भारतमा २०० भन्दा बढी होटलहरु छन् । ती होटलहरुमा जोडिएका आन्तरिक ग्राहकलाई नेपालमा पनि जोड्न म्यारियट प्रभावकारी छ । अझ नेपालमा म्यारिटका होटलहरुमा उच्च अनुभवी व्यवस्थापकहरु भारतीय नै हुन्छन्, उनीहरुको नेटवर्कले पनि यहाँ ग्राहक बढाउन सघाउँछ ।
अनि नेपालकै पुरानो पाँचतारे होटल ‘द सोल्टी काठमाडौं’ले समेत विश्वव्यापी बजारीकरण र लोयल्टी प्रोग्रामका लागि म्यारियटको ‘अटोग्राफ कलेक्सन’ सँग साझेदारी गरेको छ । यसले म्यारियटको ब्राण्ड भ्यालु कति छ भन्ने स्पष्ट पार्छ । यस्ता कारणले समेत अहिले धेरै होटलहरु म्यारियटसँग नै जोडिन खोजिरहेका छन् ।
होटल एसोसिएसन नेपालका हानका अध्यक्ष विनायक शाहका अनुसार कुनै शहरमा अन्तर्राष्ट्रिय चेन होटल पुग्दा त्यहाँको पर्यटकीय सम्भावना थप उजागर हुने मानिन्छ । चेन ब्रान्डहरुको गर्ने मार्केटिङ र त्यसको बलमा गन्तब्यमा विभिन्न गतिविधिहरु बढ्छ ।
त्यसले खर्चालु पर्यटकको संख्या बढाउँछ र गन्तब्यको प्रवद्र्धनमा ठूलो मद्धत पुग्छ । जति खर्चालु पर्यटकहरु गन्तब्यमा आउँछन्, त्यहाँ प्रतिस्पर्धाको वातावरण बढ्ने र थप आर्थिक लाभ हासिल हुने वातावरण तयार हुन्छ ।
चेन होटलहरु लगानी र व्यवस्थापनका संलग्न भएमा त्यसले सेवास्तर उकास्न र गन्तव्यप्रतिको धारणामा परिवर्तन गर्न पनि सहयोग गर्छ । सेवा पनि अन्तर्राष्ट्रिय स्तरको हुने हुँदा जतिसक्दो धेरै अन्तर्राष्ट्रिय चेन भित्रिनु लाभदायक मानिने विज्ञहरु बताउँछन् ।
यसले नेटवर्किङ बलियो हुने भएकाले ब्रान्ड रुचाउने र त्यसप्रति प्रतिवद्ध ग्राहकलाई गन्तब्यसम्म लयाउन र स्तरीय सेवा दिन उनीहरुको महत्वपूर्ण भूमिका हुन्छ ।
पहिलो पटक म्यारियटलाई नेपाल भित्र्याएका व्यवसायी शशिकान्त अग्रवाल होटलमा चेन ब्रान्डलाई जोड्दा हुँदा विदेशी पर्यटकलाई आकर्षण गर्न सहज हुने बताउँछन् । विश्वव्यापी रुपमा पर्यटकले चर्चित ब्रान्डका होटल नै खोज्ने क्रम बढेको भन्दै यस्ता ब्रान्डले होटल र गन्तब्यप्रतिको विश्वासलाई बढाउन सघाउने उनको भनाइ छ ।
व्यवसायीलाई आफ्नो लगानीको प्रतिफल पनि राम्रो र छिटो पाउन अन्तर्राष्ट्रिय चेन ब्रान्ड सहयोगी हुने उनको भनाइ छ । अग्रवालका अनुसार चेन होटल जति धेरै आउँछन्, त्यसले सबै पक्षलाई फाइदा हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा पनि चेन होटलहरुको उपस्थितिले राम्रो सन्देश दिन्छ ।
ठमेलको फेयरफिल्डबाट सुरु भएको म्यारियटको यात्रा द सोल्टी, काठमाडौं म्यारियट, अलफ्ट, मोक्सी हुँदै अब लक्जरी कलेक्सनसम्म जोडिन पुगेको छ । अरु ब्रान्डहरुमा पनि म्यारिट नेपाल आउँदैछ ।
यसले के देखाउँछ भने नेपाल अब सस्ता र ब्याक प्याकरहरुको मात्र गन्तव्य रहेन, यो विश्वका धनाढ्य र उच्चस्तरीय पर्यटकहरुका लागि पनि उत्तिकै आकर्षक गन्तव्य बनिसकेको छ ।
म्यारियट जस्ता विश्वका लेन्ड्री ब्रान्डको यो आक्रामक विस्तारले नेपाली आतिथ्य उद्योगलाई नयाँ उचाइमा पुर्याउने निश्चित छ ।
फ्लाइट डिले भए यात्रुलाई क्षतिपूर्ति !
सरकारी वितरण केन्द्रमै ग्यास अभाव, रित्तै फर्किंदै उपभोक्ता
किन भयो ग्यास अभाव ?
शिन्तामणि मुस्ताङ: संसारकै नम्बर–१ लक्जरी होटलको कथा

-1785335722.png)






