विपद्को साथी दूरसञ्चार : टेलिकम कम्पनीहरू यसरी बने सहारा
विपद्का बेला सबैभन्दा महत्वपूर्ण कुरा हो, सूचना । प्रभावितका लागि मात्रै हैन, खोज, उद्धार र राहतमा खटिने प्रत्येकका लागि सञ्चार सुविधाको महत्व सबैभन्दा ठूलो हुन्छ ।
विनाशकारी भोटेकोशी बाढीले दूरसञ्चार क्षेत्रमा पनि ठूलो क्षति गर्यो । हात हातमा सेवा पुर्याउने मोबाइल टावरदेखि त्यस्ता टावरहरु जोड्ने अप्टिकल फाइबरहरु नै भेलमा बग्यो ।
तर, टेलिकम कम्पनीहरु निजी क्षेत्रको एनसेल र सरकारी नेपाल टेलिकमले आफैं विपद ग्रस्त भएर पनि विपद प्रभावितका लागि निःशुल्क सेवा दिए । महत्वपूर्ण सूचनाहरु अलर्टका रुपमा दिइरहे ।
उनीहरुले टेलिफोन र र इन्टरनेट सेवाको आवश्यकता र सम्वेदनशीलता बुझेर फिल्डमै खटिएर काम गरे । सडक सञ्जाल क्षतविक्षत भएपनि एक हप्ताको समयमा नै प्रभावित क्षेत्रमा लगभग पूर्णतः सेवा पुनस्र्थापित गरे । यो काम पटक्कै सजिलो थिएन । तर, एनसेल र नेपाल टेलिकमले गरेरै देखाए ।
विपदमा फ्रन्टलाइनर भएर काम गरेका टेलिकम कम्पनीहरुले अप्ठेरा चुनौतीको पहाड पन्छाउँदै गरे
०००
विनाशकारी भोटेकोशी बाढीले सिकाएको एउटा पाठ हो, विपदका बेलमा सबैभन्दा महत्वपूर्ण हुन्छ, पूर्वसूचना । तर, जब विपद आइलाग्छ त्यसपछि मान्छेहरुलाई चाहिने अधारभूत कुरा हो, प्रभावकारी ढंगको सूचना र सञ्चार सुविधा ।
रसुवाको टिमुरेका स्थानीयले त चीनको सीमा क्षेत्रतिरबाट बाढी आउँदैछ भन्ने सूचनासम्म पाएनन् । तर, टिमुरेमा जसोतसो बचेकाहरुले डाँडामा उक्लिएर तल्लो तटीय क्षेत्रमा फोन गरे । कतिले तल्लो तटीय क्षेत्रमा रहेका आफ्ना आफन्तर, साथिभाइ र छरछिमेकलाई कल गरेरै घर छाडेर भागिहाल्न भने । कतिले डेटा खोलेर फेसबुकमा चेतावनीसहितको फोटो भिडियो र स्टाटस पोस्ट गरे ।
उनीहरुको एउटै उद्देश्य थियो, नदी किनारका मान्छेलाई विनासकारी बाढीको पूर्वसूचना दिनु र ज्यान बचाउन सहयोग गर्नु । कतिले त यसका लागि फेसबुकबाट लाइभ स्ट्रिमिङ समेत गरे ।
जब सरकारले बाढी नेपाल पसेको सूचना पायो, त्यसपछि टेलिकम कम्पनीहरुले सोही दिन बिहान सबा ९ बजे तटीय क्षेत्रमा सक्रिय मोबाइलमा फ्लड अलर्ट पनि पठाए ।
यति हुँदा हुँदै पनि सबैसम्म सूचना पुग्न सकेनन्, कतिले सूचनालाई बेवास्ता पनि गरे । तर, सूचना पाएर बेलैमा भाग्न भ्याएकाहरुको जीवन जोगियो पनि ।
भोटेकोशीको बाढीपछि स्थानीय क्षेत्रमा बिजुली अवरुद्ध भयो । बिजुली लाइनसँगै कति ठाउँमा टेलिफोनका टावर र अप्टिकल फाइबर पनि बगे । दर्जनौं टेलिकम टावरसम्मको अप्टिकल फाइबरका कनेक्सन टुटे ।
बिजुली लामो समयसम्म नआएपछि टेलिकम कम्पनीका कतिपय बीटीएस टावरहरुको सेवा अवरुद्ध भए । मान्छेका मोबाइलमा चार्ज पनि सकिए । यो अवस्थामा बाँचेका प्रभावितहरुको सकस झन् बढ्यो । आफ्ना मान्छेको खोजखबर राख्न कठिन भयो ।
फेरि बाढीले निम्त्याएको विनास यति भयावह थियो कि अझै कति दिन बिजुली आउँदैन, मोबाइल चल्दैन भन्ने यकिन गर्न पनि गाह्रो थियो । बाढीले पुर्याएको क्षतिको आँकलन समेत गर्न सकिने अवस्था थिएन ।
अनि सबैजसो पुल बगाएकाले विपदग्रस्त नदी किनार क्षेत्रमा मात्रै हैन, रसुवा र नुवाकोटका ग्रामीण भेगमा पुग्न हेलिकप्टरको विकल्प थिएन । सरकारले सबै हेलिकप्टरलाई उद्धारका लागि खटाएको थियो । त्यसैले तुरुन्तै बिजुली र सञ्चार सुविधा रिस्टोर गर्न सकिने सम्भावना समेत निकै कठिन देखिन्थ्यो ।
तर, रसुवा र नवाकोटमा बाढीमा यी सेवाहरु पुरन्स्थापित गर्न टेलिकम कम्पनीहरु एनसेल र टेलिकम खुबै मिहिनेत गरे । बाढीका बीचमा त्यहाँसम्म उपकरकण पुर्याउन, प्राविधिकलाई फिल्ड पुग्न र काम गर्न कठिन र चुनौतीपूर्ण थियो ।
तर, टेलिकम कम्पनीहरुले हात बाँधेर बसेनन् । तत्कालै सेवा पुरन्स्थापित गर्न कुनै कसर नराख्ने गरी प्लान बनाए । तुरुन्तै प्राविधिक टिम विपदग्रस्त क्षेत्रमा डिप्लोय गरे । जब काम गर्न प्राविधिकहरु फिल्ड पुगेर सेवा पुनः सञ्चालन गरे, आफ्ना आफन्त सम्पर्कविहान भएकाहरुले ठूलो राहत महसुश गरे ।
कतिलाई सेवाको गुणस्तर राम्रो नभएको गुनासो थियो । वास्तवमा अप्टिकल फाइबर बगाएपछि तत्काल पुनः फाइबर तान्न वा बिछ्याउन समय लाग्नेभएपछि कम्पनीहरुले पुराना माइक्रोवेभको प्रयोग पनि गरेका छन् । फाइबरको तुलनामा यसरी माइक्रोवेबमार्फत प्राप्त हुने सेवा अलि कमजोर हुन्छ । यो प्राविधिक विषय भएकोले धेरैले बुझेनन् ।
यसरी काम गर्दा सरकारी कम्पनी भएकाले नेपाल टेलिकमलाई सरकारले बढी सघाउनु स्वभाविक नै थियो । तर, निजी सेवा प्रदायक एनसेलका लागि यो अझै बढी चुनौतीपूर्ण थियो, बाढीग्रस्त क्षेत्रमा सेवा पुनः सञ्चालन गर्न नेपाली सेना र सुरक्षा निकायसँग अधिकतम् समन्वय र मिहिनेत गर्नुपर्ने अवस्था थियो ।
बाढी आएकै बेलादेखि टेलिकम कम्पनीहरुले जहाँ–जहाँ सेवा अवरुद्ध भएका थिए, त्यस क्षेत्रमा आफ्ना प्राविधिक टिम पुर्याउन काम थाले । जतिसक्दो छिटो प्राविधिक तयारी गरेर प्रभावितहरुका लागि निःशुल्क भ्वाइस कल, एसएमएस र डेटा सेवा दिए । यसले गर्दा पीडित तथा प्रभावितहरुबीच सम्पर्क गर्न सहज भयो ।
विपदमा धेरैसँग सम्पर्क गर्नुपर्छ । सम्पर्कमा रहिरहनुपर्छ । सूचना लिइरहनुपर्छ । अहिलेको युगमा कुनै कारणले फोन र इन्टरनेट चलाउन नपाउँदा सूचनाविहीन हुुनुपर्छ । मान्छे सूचनाविना अध्यारो सुरुङमा पुगेजस्तै हुन्छ ।
विपदमा बेलमा मान्छेसाग फोन रिचार्ज गर्ने पैसा नहुनसक्छ । पैसा नै भएपनि रिचार्ज कार्ड किन्ने वा टपअप गर्ने विकल्प समेत नरहन सक्छ । त्यसैले टेलिकम कम्पनी एनसेल र नेपाल टेलिकमले दिएका यी सेवा धेरै प्रभावितहरुका लागि निकै सहयोगी बन्यो ।
००००
एनसेलकै कुरा गर्ने हो भने उसले ३ लाख भन्दा बढी प्रभावित क्षेत्रका ग्राहकलाई निःशुल्क दूरसञ्चार सेवा दिइरहेको छ । कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी भदौ १० देखिदेखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ ।
बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकहरु निःशुल्क सेवाका लागि योग्य हुने व्यवस्था गरेको छ । कम्पनीले सुरुमा भदौ १० देखि तीन दिनका लागि निःशुल्क सेवा उपलब्ध गराएको थियो भने पछि सेवा अवधि थप सात दिनका लागि बढाएको थियो । तेस्रोपटतक फेरि अर्को एक सातामा लागि यो सेवा थप गरिएको छ ।
कम्पनीका अनुसार, पहिलो ६ दिनसम्ममा ग्राहकहरुले १ करोड २० लाख भन्दा बढी मुल्य बराबरको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गरेका थिए । डाउन भएका मोबाइल टावरको संख्या घटेसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्ेको एनसेलले जनाएको छ ।
भोटेकोशी बाढीले एनसेलको टिमुरे, रसुवामा रहेको एक वटा मोबाइल टावरका साथै ६१ किमि अप्टिकल फाइवर लाइनमा पुर्णरुपमा क्षति पुर्याएको छ । प्रारम्भिक आकलन अनुसार, यो क्षतिका कारण कम्पनीलाई ९ करोड बढीको आर्थिक हानी भएको छ ।
विपद्का कारण आएको बाढी तथा पहिरोले फाइबर लिंकमा क्षति पुर्याउँदा नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा टावर प्रभावित भएका थिए । कम्पनीले भदौ १७ गतेसम्ममा २७ मध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकेको छ ।
बाँकी तीनमध्ये रसुवाको घट्टेखोला, टिमुरेको एउटा पूर्ण रुपमा क्षति भएको छ भने नुवाकोटको त्रिशूली, बिदुरस्थित रहेको एउटा टावर र तिरु, रसुवाको टावर पुनः सञ्चालनमा ल्याउन प्राविधिकहरु फिल्डमा खटाएर आवश्यक काम भइरहेको जनाएको छ । साथै कम्पनीले अहिलेको कठिन घडीमा कसरी अन्य सहयोग पुर्याउन सकिन्छ हेरी रहेको जनाएकोछ ।
संकटको समयमा ग्राहकहरु निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजार भन्दाबढी ग्राहकहरुलाई कुनै कारणले ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएको वा आउटगोइङ् र इनकमिङ् दुवै सेवा बन्द अवस्थामा रहेका सिमहरूलाई समेत सेवाहरु पुनः सक्रिय गरिदिएको थियो । यसले गर्दा थुप्रै ग्राहकहरुलाई अहिलेको आपतकालीन अवस्थामा सञ्चार सेवा सहज बनेको छ ।
यी ग्राहकहरुले पनि एनसेलले उपलब्ध गराइरहेको निःशुल्क सेवाको सुविधा पाएका छन् । यसबाट विपद्को यस कठिन समयमा उनीहरु आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आवश्यक सहयोग लिन सक्षम भएका छन् ।
एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामुलक कल टोन र एसएमएस पनि सम्प्रेषण गर्दै आएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको लागि रकम पठाउनुअघि खाता, क्यूआर, लिंक आधिकारिक हो वा होइन भन्ने सुनिश्चित गर्न अपिल जनतासम्म पुर्याइँदैछ ।
सरकारको आग्रह बमोजिम सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिन र राखेको भएपनि तुरुन्त हटाउन समेत एसएमएसमार्फत सूचित गरेको छ । एनसेलले त प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा समेत गरेको छ ।
यसरी एनसेलले विगतका विपदमा जसरी काम गरेको थियो, यसपटक पनि उही खालको तत्परता देखाएको छ । पीडित र प्रभावितहरुका लागि दिइएको यस्तो सुविधा साँच्चकै नै प्रशंसायोग्य छ ।
००००
अनि नेपाल टेलिकमको काम गराइ पनि यसपटक प्रभावकारी देखिएको छ । टेलिकमले बाढी प्रभावित जिल्लाहरुमा मोबाइल बीटीएस साइट पुन सञ्चालन गरी प्रभावित स्थानहरुमा नेटवर्क पहुँच कायम गरेको छ ।
बाढीका कारण नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १२० साइटमार्फत सञ्चालित सेवा मध्ये ८३ साइटमार्फत सञ्चालित सेवाहरु अवरुद्ध भएका थिए । टेलिकमका टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ साइट पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए ।
बाढीबाट प्रभावित धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङको भाल्चे र बुधसिंह साइट पुनः सञ्चालन गरेसँगै नेपाल टेलिकमका सबैजसो साइटहरु पुनः सञ्चालनमा आएका छन् । क्षतिग्रस्त भएका साइटहरुबाट उपलब्ध सेवाहरु अहिले अन्य साइटहरुबाट उपलब्ध गराइएका छन् । मोबाइल सेवाको थप प्रभावकारिताको लागि उक्त क्षतिग्रस्त साइटहरुलाई प्राथमिकतामा राखी पुनःनिर्माण गरी सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ ।
००००
टेलिकम कम्पनीका अनुसार कतिपय स्थानका साइटहरु विद्युत सेवा आपूर्ति भएसँगै सहज रुपमा सञ्चालनमा आएका छन् । कतिपय साइटमा भने बिजुली जेनेरेटर चलाएर सेवा दिइँदैछ । अहिले पनि टेलिकम र एनसेलका प्राविधिकहरु निरन्तर रुपमा बाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्षमार्फत सेवा पुनः सञ्चालन गर्न खटिएका छन् ।
यसरी बाढीले सडक तथा विद्युत अवरुद्ध भएका स्थानहरुमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधकहरु सहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराई सबै ठाउँमा सेवा पुनः सञ्चालन गर्नु निकै नै असजिलो थियो । तर, नेपालका टेलिकम कम्पनीहरुले यो असम्भव लाग्ने काम गरेर देखाएका छन् ।
आज मात्रै हैन, नेपालका टेलिकम कम्पनीहरुले विपदमा बेलामा प्रभावित क्षेत्रलाई यसै गरी सेवा दिइरहेका हुन्छन् । खसमा विपदमा बेलामा हिलो र बाढीमा फसेर र भग्नावेशषमा जोखिम मोलेर उद्धार गर्नेहरु सबैको लागि प्रेरणादायी र जीवनदायी हिरो हुन्छन् । त्यो स्वभाविक पनि हो ।
तर विपदमा बेलामा त्यसैगरी आफ्नो जीवन दाउमा राखेर स्वास्थ्य, सञ्चार र बिजुली सेवा दिन खटिने फ्रन्टलाइनरहरु पनि हुन्छन्, जो पर्दा पछाडिका हिरो हुन् । जसलाई हामी कमै देख्छौं, उनीहरुको कथा कमै सुन्छौं । तर, उनीहरुले गरेको कामको पनि मूल्यांकन गर्नुपर्छ ।
विपदका बेलामा टेलिकम कम्पनीहरु एनसेल र टेलिकमले गरेको कामको पनि इतिहासले मूल्यांकन गर्ने नै छ । यो विपदका घडीमा फ्रन्टलाइनमा उभिएर काम गरेका कामका लागि धन्यवाद भन्नु हामी आमनागरिकको पनि कर्तव्य हो ।
भिडियो हेर्नुस्
बग्यो बेत्रावतीको सन्धि ढुंगा
२५ वर्षपछि कृष्णभीरमा फर्कियो पहिरो, दशैंमा के होला ?
पुरिएको सुरुङमा एउटा प्वालले जगाएको आशा
चीनले रेल समेत ल्याउन रोजेको केरुङ नाकाको दुःखान्त






