नेभिगेशन
एक्सप्लेनर भिडियो

पृथ्वीनारायण शाहको प्यारो देवीघाटको दु:खद अवशान

नुवाकोट सदरमुकाम विदुरदेखि गल्छीतर्फ करिब १० किलोमिटर अगाडि बढेपछि आउँछ देवीघाट । भदौ १० अगाडिसम्म देवीघाट बजार निकै सुन्दर र उदीयमान बजार थियो । त्रिशुली किनारको यो बजारमा भूकम्पपछि पक्की भवन बन्ने क्रम तिब्र रुपमा बढेको थियो । 

पृथ्वी राजमार्गको गल्छीदेखि चिनियाँ नाका रसुवागढीसम्म पक्की सडक जोडिएपछि यो ठाउँ ट्रान्सपोर्ट हबको रुपमा विकास भएको थियो । विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका कतिपय गाउँको सामान किनमेलका लागि पायक पर्ने बजार थियो । 

देवीघाटमा त्रिशुली नदी किनारमा जालपा देवीको मन्दिर थियो । यो मन्दिरको निकै ठूलो धार्मिक र साँस्कृतिक महत्व छ । धेरै टाढा टाढादेखि मानिसहरु घुम्न र पूजा गर्न आउँथे । ५०–६० घर परिवारले यहीँ फूल प्रसाद बिक्री गरेर जीविका चलाएका थिए । बाहिरका मानिसहरु धेरै आवतजावत गर्ने हुनाले होटल रेष्टुरेन्ट व्यवसाय पनि राम्रो चलेको थियो । वर्षमा १–२ वटा ठूलो मेला लाग्थे । 

देवीघाट बजार पृथ्वी नारायण शाहको पनि मन पर्ने ठाउँ थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तारका क्रममा नुवाकोट र काठमाडौं उपत्यका पनि जिते । 

आफ्नो जीवनको उत्तरार्धमा उनी राजकाज छाडेर नुवाकोटको देवीघाटमा बसेका थिए । उनले त्यहीँ मृत्युवरण गरेका थिए । पृथ्वी नारायण शाहको अन्त्येष्टि गरिएको ठाउँ पनि देवीघाटमा संरक्षण गरेर राखिएको थियो । 

भदौ १० गतेको बाढीपछि अहिले देवीघाट बजार धुजाधुजा भएको छ । यहाँको जालपादेवी मन्दिरको नाम निशान देखिँदैन । सबै बगरले पुरेको छ । जलपा देवी मन्दिरको गजुरको उचाइमा अहिले त्रिशुली नदी बगिरहेको छ । 

त्रिशुली किनारमा देवीघाटको पुरानो बजार थियो । त्यो बजारका सबै घरहरु बाढीले बगाएको छ, नदीले धार परिवर्तन गरेर घर भएकै ठाउँबाट बगिरहेको छ । नदीले धार परिवर्तन गरेको र पहिले भन्दा उकास भएका कारण अहिलेसम्म देवीघाटका कुनै पनि घरमा बस्न सम्भव छैन । कतिपय घर बाढीबाट थोरै मात्र क्षति भएका छन् । ती घर सरसफाइ गरेर बस्ने कि नयाँ ठाउँमा जाने भन्नेमा स्थानीय बासिन्दा अन्योलमा छन् । 

देवीघाटका बासिन्दाको भनाइ छ, सरकारले देवीघाट बजारमा कहाँसम्म बस्न योग्य छ र कहाँसम्म जोखिम छ भन्ने छुट्याइदेओस् । अनि पुनर्बास गर्नुपर्ने मान्छेका लागि आधारभूत पूर्वाधारसहितको ठाउँ देखाइदेओस् । 

भिडियो हेर्नुहोस् : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो