मीनबहादुरको दरबारमार्ग प्रोजेक्ट, अन्नपूर्ण स्क्वायर कस्तो बस्दैछ ?
राजाकी छोरीको बिहे हुँदैथियो, तर पाहुना राख्न नेपालमा होटल नै थिएन । त्यो बेला दरबारमार्गमा बनिरहेको एउटा अपार्टमेन्टलाई नै होटल बनाइयो ।
पछि त्यो होटल नेपालकै प्रसिद्ध पाँच तारे होटल बन्यो । त्यो होटल त्यतिबेला खुलेको थियो, जतिबेला नेपाल बल्ल संसारको आँखामा पर्न थालेको थियो ।
त्यो होटल हो, होटल डेला अन्नपूर्ण । जुन होटल ६ वर्षदेखि बन्द छ, तर त्यही ठाउँमा अत्याधुनिक र सुविधासम्पन्न होटल बन्दैछ ।
अन्नपूर्ण होटलका आर्किटेक्ट रोबर्ट वाइजका छोरा काई वाइजका अनुसार १९६३ मै आधुनिक होटल स्थापना गर्ने उद्देश्यले निर्माण थालिएको थियो ।
सुरुमा ४० कोठाको होटल बनाउने योजना थियो । निर्माणका क्रममा २० वटा कोठा थपिएको थियो ।
होटल कसरी खुल्यो भन्ने रोचक दाबी पनि छ । त्यो बेला राजा थिए महेन्द्र । उनकी छोरी राजकुमारी शान्तिको बझाङका कुमार दीपक जंग बहादुर सिंहसँग विवाह हुने भयो । उनी बझाङ्गी राजा ईश्वर जंगबहादुर सिंहका छोरा थिए, जो २०३० सालमा बझाङका ६० औं राजा समेत भएका थिए ।
राजकुमार र राजकुमारीको विहेमा विदेशी पाहुनाहरु आउने नै भए । तर त्यतिबेलासम्म नेपालमा पाँचतारे होटल एउटा पनि थिएन । तर राजा महेन्द्रकी भाइबुहारी हेलेन शाहले दरबारमार्गमा सुविधासम्पन्न अपार्टमेन्ट बनाइरहेकी थिइन् । आर्किटेक्ट रोबर्ट वाइजले ४० कोठाको अपार्टमेन्टको डिजाइन तयार पारेका थिए ।
राजा महेन्द्रले त्यही अपार्टमेन्टलाई होटलको रुप दिन आग्रह गरे । त्यसपछि २० कोठा थपेर होटल बनाइएको थियो भनिन्छ । १९६५ मा राजकुमारी शान्तिको विवाह भएको केही समयपछि अन्नपूर्ण होटलको उद्घाटन भएको थियो ।
१९६० को दशकमा काठमाडौमा आधुनिक पूर्वाधार निर्माण गर्नु आफैंमा साहसिक काम थियो । त्यो समयमा नेपालमा सिकर्मी, डकर्मी र तालिमप्राप्त कालिगढहरु थिएनन् । रोबर्ट वाइजले लेखेका ऐतिहासिक पत्रहरुअनुसार होटल निर्माणमा खटिएका कामदारहरुले जीवनमा कहिल्यै त्यति ठूलो र आधुनिक भवन देखेका सम्म थिएनन् ।
बेलायतबाट कलकत्ता हुँदै ल्याउनुपर्ने ट्रान्सफर्मर र बालाजु काष्ठ कलाबाट आउनुपर्ने फर्निचर वर्षातका कारण सडक हिलो भएर रोकिएको थियो । यसले गर्दा होटलको उद्घाटन केही समय ढिलो भएको थियो ।
विश्व बैंकको एक प्रतिवेदनमा उल्लेख भए अनुसार जतिबेला होटल सञ्चालनमा आयो, कान्ति राज्यलक्ष्मी देवी शाह, ईश्वरी राज्यलक्ष्मी देवी शाह र हेलेन शाह शेयर सदस्य थिए ।
कान्ति राजा त्रिभुवनका पहिलो पत्नी हुन् भने र ईश्वरी दोस्रो । हेलेन चाहिँ त्रिभुवनका छोरा बसुन्धराकी श्रीमती हुन् ।
कस्तो थियो होटल अन्नपूर्ण ?
अन्नपूर्ण होटल दरबारमार्गमा करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलको डिजाइन स्वीस वास्तुकार रोबर्ट वाइजले गरेका थिए । उनले आधुनिक शैलीलाई स्थानीय वास्तुकलासँग मिलाउने प्रयास गरेका थिए । भवनमा झ्यालहरु आधुनिक थिए । तर छानाको शैली र भवनको आकारमा भने काठमाडौंको परम्परागत वास्तुकला थियो ।
होटलको माथिल्लो भागमा परम्परागत नेपाली प्यागोडा शैलीको छाना बनाइएको थियो, जसले नेपाली पहिचान झल्काउँथ्यो । होटलको लबी र कोठाहरुमा भक्तपुर र पाटनका स्थानीय कालिगढहरुले कुँदेका टुँडाल र कलात्मक मूर्तिहरु सजाइएका थिए ।
समयक्रमसँगै होटल विस्तारका काम पनि भए । कोठा, कफी सप र अन्नपूर्ण आर्केडका संरचनाहरु थपिए । होटललाई अन्तर्राष्ट्रिय व्यवस्थापनमा सञ्चालन गर्ने प्रयास पनि भयो ।
सन् १९७० को दशकमा होटल विस्तार र व्यवस्थापनका लागि हिल्टन इन्टरनेशनलसँग सम्झौता पनि भएको थियो । तर सफल भएन । यद्यपि होटल विस्तारको काम निरन्तर चलिरह्यो ।
केबल कोठाहरु मात्र थपिएन, नयाँ लबि, रेष्टुरेन्ट, स्वीमिङ पुल लगायतका सुविधा पनि विस्तार भयो । १९९० मा ताज ग्रपले व्यवस्थापन सम्हाल्यो । तर विस्तारको योजनामा मतभेद भएपछि २००४ डिसेम्बरमा ताज ग्रुप बाहिरियो ।
ताज ग्रुप, मुम्बईका आर्किटेक्ट पीजी पाट्कीको डिजाइनमा काम गर्न चाहन्थ्यो, होटलका मुख्य स्टेकहोल्डर कपिल शम्शेर राणा सहमत भएनन् । होटलमा कपिल राणा र उनको परिवारको ८५ प्रतिशतभन्दा बढी शेयर थियो ।
ताज बाहिरिएपछि कपिलले आफ्नो योजना अनुसार पुनर्निर्माणको काम गरे ।
दरबारमार्गको रणनीतिक स्थान होटल अन्नपूर्णको सबैभन्दा सबल पक्ष थियो । नारायणहिटी राजदरबारको ठीक अगाडि दरबारमार्गमा ५.५ एकडको फराकिलो भूभागमा खुलेको होटल धेरैको आकर्षणमा थियो । होटल स्थापनापछि नै दरबारमार्ग काठमाडौंको सबैभन्दा प्रिमियम, सुरक्षित र आधुनिक व्यापारिक केन्द्रको रूपमा विकसित भएको थियो ।
पाँच दशकभन्दा बढी समयसम्म होटल अन्नपूर्ण नेपालको राजनीतिक, कूटनीतिक र सामाजिक गतिविधिहरुको मुख्य केन्द्र बन्यो ।
नारायणहिटी दरबारको नजिकै भएकाले नेपाल भ्रमणमा आउने राष्ट्रप्रमुख, विदेशी राजदूत, शाही पाहुनाहरु र हलिउड/बलिवुडका चर्चित कलाकारहरुको पहिलो रोजाइ होटल अन्नपूर्ण नै हुने गर्थ्यो ।
विदेशी प्रतिनिधिमण्डलका लागि आयोजना गरिने राजकीय भोज र उच्चस्तरीय बैठकहरु यहीँ गरिन्थे । राजनीतिक दलका नेताहरु, उद्यमी र नागरिक समाजका प्रतिनिधिहरुका लागि यो एउटा साझा राजनीतिक मञ्च जस्तै बनेको थियो ।
नेपालमा क्यासिनो पर्यटन भित्र्याउन पनि अन्नपूर्णको योगदान रह्यो । होटल परिसरभित्र सञ्चालित ‘क्यासिनो अन्ना’ काठमाडौंको सबैभन्दा चर्चित र व्यस्त क्यासिनोमध्ये एक थियो, जसले विशेष गरी भारतीय र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गथ्र्यो ।
होटलमा १५५ भन्दा बढी सुविधासम्पन्न कोठाहरु, प्रेसिडेन्सियल सुइटहरु, फिटनेस सेन्टर, र आधुनिक सभाहलहरु थिए । अन्नपूर्ण समूहले अन्य पर्यटकीय क्षेत्रमा पनि आफ्नो सञ्जाल विस्तार गर्यो । पोखरामा फिस्टेल लज र चितवनमा जगतपुर लज पनि चलायो ।
तर, २०६२ पछि अन्नपूर्ण होटलमा भने अनेकन समस्याहरु देखिन थालेका थिए । यहाँ माओवादी निकट मजदुर संगठनको आन्दोलन चर्कियो । यसैपनि माओवादी विद्रोहको असर पर्यटन क्षेत्रमा परेको थियो ।
त्यसमाथि मजदुरहरुले विदेशी लगानी भएका उद्योग र फाइभ स्टार होटलहरुमा आन्दोलन गरेपछि थप संकट आयो । केही पुराना होटल बन्द नै भए ।
अन्नपूर्ण जसोतसो रिब्राण्डिङ र विस्तारको प्रयासमा लागिरह्यो । तर सन् २०२० मा कोरोना महामारीले पर्यटन क्षेत्रलाई नराम्रो धक्का दियो । त्यो बेला अन्नपूर्ण होटलमा १४९ कोठा थिए, करिव ३६० कर्मचारी थिए । तर महामारीका कारण अन्तर्राष्ट्रिय यात्राहरु रोकिए, पर्यटक आगमन बन्द भयो ।
अरु होटलहरु जस्तै अन्नपूर्ण पनि बन्द भयो । महामारी कम भएपछि अरु होटलहरु खुल्न थाले, अन्नपूर्ण भने बन्द नै रह्यो ।
मीनबहादुरको इन्ट्री
लकडाउनले होटल बन्द भएको बेला मुख्य लगानीकर्ता कपिल शम्शेर र उनकी पत्नी सिर्जनाले करिव ३६० कर्मचारीलाई अनिवार्य अवकाश दिए । सपिङ कम्प्लेक्स सहितको होटल बनाउने योजना बनाए । तर होटल बन्द भएपछि आम्दानी भएन, बैंकको किस्ता तिर्न सकेनन् ।
होटलले हिमालयन बैंकबाट एक अर्ब ३० करोड रुपैयाँ ऋण लिएको थियो । त्यो बढेर डेढ अर्ब पुग्यो । सञ्चालकहरुले ऋण तिर्न ६ रोपनी जग्गा बेच्न खोजे । प्रति आना २ करोडमा किन्ने ग्राहक पनि भेटियो । तर हदबन्दी भन्दा बढीको जग्गा भएका कारण बिक्री गर्न कानुनी बाधा आइपर्यो ।
कपिल र सिर्जना दम्पती संकटमा परे । त्यही बेला भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ र अर्का व्यवसायी उमेश श्रेष्ठको इन्ट्री भयो ।
लामो नेगोसिएसनपछि व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठको समूहले होटल अन्नपूर्णको ३० प्रतिशत शेयर किन्ने भए । त्यो डिलमा होटलको कुल भ्यालुएसन ९ अर्ब रुपैयाँ गरिएको थियो । यसअनुसार मीनबहादुर र उमेशको समूहले करिव २ अर्ब ७० करोड रुपैयाँ दिने भए ।
शेयर मात्र खरिद बिक्री भएन, त्यहाँ परियोजना पनि नयाँ बनाउने सहमति भयो । उनीहरुबीच भएको सम्झैताअनुसार अन्नपूर्ण स्क्वायर नामको नयाँ कम्पनी बनाइने भयो । जसमा होटल डेला अन्नपूर्णको १५ प्रतिशत मात्र शेयर रहने भयो । भाटभटेनी ग्रुपको ६० प्रतिशत र उमेश श्रेष्ठ समूहको २५ प्रतिशत शेयर रहनेछ ।
यो नयाँ कम्पनीले होटल डेला अन्नपूर्णसँग ३५ वर्षको लिज सम्झौता गर्ने भयो । पुरानो सबै संरचना भत्काउने र ८ अर्ब रुपैयाँ लगानी गरेर नयाँ संरचना बनाइने भयो । जहाँ भाटभटेनीको फ्यागसिप सुपरमार्केट खोल्ने, मलभन्दा माथि २६ तलासम्म जाने गरी ४०० बेडको होटल खोल्ने योजना बन्यो ।
भारतीय ब्राण्ड आईटीसी वेलकम होटल समूहलाई व्यवस्थापकका रुपमा भित्र्याउने सम्झौता समेत भयो । पुरानो संरचना भत्काइयो । नयाँ संरचना बनाउन २०८१ साल मंसिर ३ गते भूमिपूजा समेत भयो ।
योजना अनुसार काम भएको भए अहिले अन्नपूर्ण स्क्वायरले आकार लिइसक्थ्यो । २०८५ वैशाखमा त होटल सञ्चालनमा ल्याउने योजना थियो, तर योजना अनुसार काम भएन ।
बालेनको चासो
अन्नपूर्ण स्क्वायर निर्माणका लागि पहिलो अठ्यारो यसको उचाइ नै भयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन सुरक्षा नियमका कारण देखाएर दरबारमार्गमा २६ तला अग्लो भवन बनाउने योजनामा अब्जेक्सन जनायो । १९ तलाको मात्र अनुमति दियो ।
त्यसपछि डिजाइन नै पनि परिर्वतन गर्नुपर्ने भयो । सर्भिस अपार्टर्मेन्ट बनाउने योजना हटाइयो । एउटा होटल र अर्को सपिङ मल र कार्यालय रहने गरी २ वटा १९ तले टावर बनाउने प्रस्ताव तयार भयो ।
तर यसको फाइल काठमाडौं महानगरपालिकामा अड्किएको छ । महानगरले आर्किटेक्ट डिजाइन स्वीकृत गरेको थियो, तर केही सुधार गर्नुपर्ने भन्दै विस्तृत स्ट्रक्चर डिजाइन स्वीकृत गरेन । साढे २ वर्षदेखि नक्सा पास नभएको यो विषयमा हालै मात्र प्रधानमन्त्री बालेन शाहले समेत चासो देखाएका थिए ।
गत असोजको सुरुमा प्रधानमन्त्री बालेन शाहले लगानीको वातावरणबारे छलफल गर्न केही व्यवसायीलाई बोलाएका थिए । त्यसमा उमेश श्रेष्ठ पनि थिए । उनले विदेशी मात्र होइन, स्वदेशी लगानीकर्ता समेत निरुत्साहित भएको बताएपछि प्रधानमन्त्रीले सोधेका थिए, तपाईंहरुको अन्नपूर्ण स्क्वायरको काम किन रोकिएको हो ?’
श्रेष्ठले महानगरपालिकाबाट नक्सा पास नभएको लगायत अहिलेसम्म के कसो भएको हो सबै बेलिविस्तार लगाए ।
लगत्तै प्रधानमन्त्रीको सचिवालयले होटल अन्नपूर्णको नक्सा पास किन नभएको हो भनेर महानगरसँग जानकारी समेत माग्यो । अहिले महानगरपालिकाले नक्सापास गर्न एकदमै राम्रोसँग कोअपरेट गरिरहेको बताउँछन्, लगानीकर्ता उमेश श्रेष्ठ ।
उनका अनुसार अबको एक हप्तामै नक्सापासको प्रक्रिया पूरा हुनेछ । त्यसपछि होटलको पुनर्निर्माणले गति लिने उनको भनाइ छ ।
‘साढे २ देखि ३ वर्षभित्र यो होटल चलिसक्छ, हामी यति ठूलो लगानीको परियोजनामा अलमल गर्ने पक्षमा छैनौं,’ उनी भन्छन् ।
कुलेखानीपछिको बलियो ब्याकअप हाइड्रो प्रोजेक्ट
ग्लोबल आइएमई बैंकले उत्तरढोकामा बनाउँदैछ १२ तले कर्पोरेट टावर
एक हप्तामै त्रिशूलीमा बन्ने पन्टुन ब्रिज कस्तो, अनि कसरी चल्छ ?
कोशी ब्यारेजको सट्टामा नयाँ पुल, कसरी बन्छ ४३ किमी लामो चार लेन सडक ?



-1793372443.jpeg)



