नेभिगेशन
अर्थ

कुलेखानीपछिको बलियो ब्याकअप हाइड्रो प्रोजेक्ट

पहाड फोडेर बनाइरहेको यो कुनै चिनियाँ परियोजना होइन, नेपालकै हो ।  

रात–रातभर पनि काम भइरहेको यो परियोजना नेपालको ऊर्जा प्रणालीको नयाँ पिलरका रुपमा खडा हुँदैछ । हो, यो नेपालको नयाँ ‘पावर ब्याक अप’ हुनेछ । 

अहिलेसम्म नेपालको पावर ब्याक अप भनेको कुलेखानी जलविद्युत आयोजना हो । अबको केही समयपछि त्यो सूचीमा थपिँदैछ– तनहुँ हाइड्रोपावर । 

१४० मेगावाट क्षमताको यो आयोजना पूर्ण जलाशययुक्त अर्थात् फूल रिजभ्वर्यार त हैन । तर विद्युत बढी माग हुने बेलामा धेरै विद्युत उत्पादन गर्न पानी थुनेर राख्न मिल्ने खालको परियोजना हो । 

यसले संकटको समयमा राष्ट्रिय ग्रिडलाई स्थिर राख्ने छ । भोल्टेजको उतारचढावलाई नियन्त्रण गर्न सघाउनेछ । सुक्खायाममा साँझमा बिजुली आपूर्ति गर्न ब्याट्रीजस्तै ब्याकअपको काम गर्नेछ । 

नेपालको जलविद्युत क्षेत्र ठूलो विरोधाभासबाट गुज्रिरहेको छ । हाम्रा अधिकांश जलविद्युत आयोजनाहरु नदीको बहावमा आधारित अर्थात् ‘रन–अफ–द–रिभर’ आरओआर प्रविधिका छन् । 

वर्षायाममा हाम्रा नदीमा पानीको बहाव यति धेरै हुन्छ कि उत्पादित बिजुली खपत गर्न नसकेर खेर फाल्नुपर्ने अवस्था सिर्जना हुन्छ । 

तर, सुक्खायाम अर्थात् हिउँदमा नदीहरुमा पानीको बहाव ह्वात्तै घट्छ । हिउँ पग्लिन छाड्ने र वर्षा नहुने भएकाले आयोजनाहरुको उत्पादन क्षमता ६० देखि ७० प्रतिशतसम्मले खस्किन्छ ।

तर त्यही बेला देशमा बिजुलीको माग भने धेरै हुन्छ । त्यसैले अहिलेसम्म नेपालले हिउँदमा ऊर्जा संकट टार्न कि त भारतबाट महँगोमा बिजुली आयात गर्छ, कि त उद्योगहरुमा बिजुली काट्नुपर्छ ।

यही असन्तुलनलाई कम गर्न हामीलाई हिउँदमा पनि पूरा क्षमतामा चल्ने जलाशययुक्त विद्युत आयोजनाहरु आवश्यक छन् । जलाशययुक्त आयोजनाले वर्षायामको खेर जाने पानीलाई बाँधमा सञ्चित गरेर राख्छ ।

सुक्खायाममा जब अन्य आयोजनाहरुको उत्पादन घट्छ, तब यी आयोजनाहरुले बाँधमा जम्मा भएको पानीलाई प्रयोग गरेर पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न सक्छन् । 

यस्तै आवश्यकता पूरा गर्न निर्माण भइरहेको छ– तनहुँ जलविद्युत आयोजना । 

यो तनहुँ जिल्लामा सेती नदीमा बनिरहेको आयोजना हो । यो आयोजना सन् २००० तिर पहिचान भएको थियो । पछि  जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारको पहलमा सेती नदीको जलस्रोत उपयोग गर्ने सम्भावनाबारे विस्तृत अध्ययन गरियो । 

भौगर्भिक स्थिति, वातावरणीय प्रभाव र जलाधार क्षेत्रको पानीको मापन गरेपछि यसलाई जलाशययुक्त आयोजनाका रुपमा विकास गर्न सकिने निष्कर्ष निकालिएको थियो । 

आयोजनालाई व्यवसायिक, दक्ष र स्वायत्त ढंगले अगाडि बढाउन २०६९ मा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा ‘तनहुँ हाइड्रोपावर लिमिटेड’को स्थापना गरियो । 

जलाशययुक्त आयोजना भएकाले ठूलो क्षेत्र डुबानमा पर्ने निश्चित थियो । तनहुँको व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र भिमाद नगरपालिकाका प्रभावित बासिन्दाहरुलाई मुआब्जा वितरण, पुनर्वास र पुनस्थापनाका कार्य चरणबद्ध रुपमा अघि बढाइयो । 

बहुपक्षीय अन्तर्राष्ट्रिय दातृ निकायहरुसँग सम्झौता गरेर यसको लगानीको ढाँचा तय गरियो । 

तनहुँ जलविद्युत आयोजनाको निर्माणलाई कुशल व्यवस्थापन र शीघ्र कार्यान्वयनका लागि तीनवटा मुख्य प्याकेजमा विभाजन गरिएको छ ।

ती तीन प्याकेजमा एउटा हो, मुख्य बाँध अर्थात् हेडवक्र्स, सुरुङ, भूमिगत विद्युतगृह लगायतका सिभिल संरचना । दोस्रो प्याकेज हो, बाँधको गेटलगायतका हाइड्रो मेकानिकल काम । 

तेस्रो हो, टर्बाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनको काम । 

हालसम्म यो आयोजनाको समग्र भौतिक प्रगति ७९ प्रतिशत पुगिसकेको छ । यसको निर्माण २०२७ को अन्त्य अर्थात् २०८४ पुसमा सक्ने लक्ष्य छ । 

प्याकेज १ मा मुख्य बाँध, रिभर डाइभर्सन सुरुङ र अरु सिभिल संरचनाहरु बनाउन भियतनामको सोङ्दा कर्पोरेसन र नेपालको कालिका कन्सट्रक्सनको ज्वाइन्ट भेन्चरले काम गरिरहेको छ । यो प्याकेजमा ६४ प्रतिशत काम भइसकेको छ । 

प्याकेज–२ मा सुरुङ, विद्युतगृह र इलेक्ट्रोमेकानिकल/हाइड्रोमेकानिकलतर्फको काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । मुख्य सुरुङ, पेनस्टक पाइप जडान, भूमिगत विद्युतगृह, टेलरेस सुरुङ, स्वीचयार्ड र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको काम यही कम्पनीले गर्दैछ । दोस्रो प्याकेजमा ८० प्रतिशत काम भइसकेको छ । 

प्याकेज–३ मा २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण हुँदैछ । यस अन्तर्गत दमौलीदेखि चितवनको भरतपुरसम्म ३४.७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण हुँदैछ । 

यो काम भारतको केइसी इन्टरनेसनल लिमिटेडले गरिरहेको छ । प्रसारण लाइनको समग्र निर्माण प्रगति ८४ प्रतिशत पुगेको छ । ९४ वटा टावरहरुमध्ये ८३ वटाको जग निर्माण गरिएको छ, ८१ वटा खडा गरिएको छ भने २ किलोमिटर तार तानिएको छ ।  

पावरहाउस सुरुङभित्रै

तनहुँ जलविद्युत आयोजना आधुनिक इन्जिनियरिङ र जटिल सिभिल डिजाइनको उत्कृष्ट नमुना हो । सेती नदीलाई तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमानामा बाँध बाँधेर थुनिन्छ । यहाँको बाँध कंक्रिट ग्रेभिटी बाँध हो । यसको उचाइ १४० मिटर अग्लो हुनेछ ।  

यो बाँधले सेती नदीको विशाल जलप्रवाहलाई थुनेर ठूलो जलाशय निर्माण गर्छ । बाँधको डिजाइन प्राकृतिक विपत्ति, भूकम्पको धक्का र ठूलो बाढी सहनसक्ने गरी बन्दैछ ।   जलाशयबाट पानीलाई सुरुङतर्फ पठाउन इनटेक पनि बन्दैछ । 

इनटेकदेखि पेनस्टक पाइप रहने स्थानसम्म १ हजार ४९३ मिटर लामो सुरुङ निर्माण गरिएको छ । यो सुरुङ खन्ने काम सकिसकेको छ । सुरुङमा कंक्रिट लाइननिङको काम पनि पूरा भइसकेको छ । 

यो जलविद्युत आयोजनाको पावरहाउस पनि सुरुङभित्र छ । 

मुख्य सुरुङबाट आएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत पावरहाउसमा खसाइन्छ । हाल यहाँ पेनस्टक पाइपको जडानको काम भइसकेको छ । 

भौगर्भिक सुरक्षा र वातावरणीय प्रभाव न्यूनीकरणका लागि पावरहाउसलाई पूर्ण रुपमा भूमिगत अर्थात् अन्डरग्राउन्डमा बनाइएको छ । विद्युतगृह बनाउने काम अन्तिम चरणमा पुगेको छ । अब यसमा उच्च क्षमताका इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान गरिँदैछ ।

विद्युत उत्पादन गरिसकेपछि पानीलाई पुनः सेती नदीमै फर्काउन टेलरेस संरचना निर्माण गरिएको छ, जसको निर्माण पूरा भइसकेको छ । 

तनहुँ जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर अर्थात साढे ७५ अर्ब रुपैयाँ भन्दा बढी छ । यसभित्र ग्रामीण विद्युतीकरण र निर्माण अवधिको ब्याजसमेत पर्छ । 

तर, जापानी येनको डलरसँगको अवमूल्यन, मूल्यबृद्धि, केही संरचनाको डिजाइन परिवर्तनलगायतका कारणले लागत झण्डै ६० करोड डलर पुग्ने अनुमान रहेको छ । 

यो लागतभित्र मुख्य जलविद्युत आयोजनाको निर्माण, २२० केभी प्रसारण लाइन, प्रभावित क्षेत्रमा ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत समावेश छ ।

यो आयोजनाका लागि नेपाल सरकारले बहुपक्षीय अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँग मिलेर बलियो लगानी मोडल बनाएको थियो । यसमा एसियाली विकास बैंकले १५ करोड डलर ऋण लगानी गरेको छ । जुन कुल लागतको २९.७ प्रतिशत हो । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको १८ करोड ४० लाख डलर अर्थात् ३६.४ प्रतिशत ऋण लगानी छ । युरोपियन लगानी बैंक (ईआईबी)को    ८ करोड ५० लाख डलर ऋण लगानी पनि छ । नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्दैछ । यसरी वैदेशिक ऋण र स्वदेशी पूँजीमा यो आयोजना बन्दैछ । 

इनर्जी ब्याकअप

तनहुँ जलविद्युत आयोजनाले पक्कै पनि नेपालको प्रणालीमा १४० मेगावाट बिजुली थप्ने नै छ । तर, यो नेपालको राष्ट्रिय पावर ग्रिडका लागि एउटा रणनीतिक महत्वपूर्ण पूर्वाधार हो । यसले नेपालको विद्युत् प्रणालीलाई पुर्‍याउने फाइदाहरु धेरै छन् । 

यसको सबैभन्दा बलियो पक्ष हो, सुक्खायामको इनर्र्जी ब्याकअप । 

नेपालका धेरै आरओआर आयोजनाले हिउँदमा क्षमताको ४० प्रतिशत पनि बिजुली उत्पादन गर्न सक्दैनन् । वर्षायाममा १०० मेगावाट विजुली उत्पादन गर्ने विद्युत आयोजनाले हिउँदमा ४० मेगावाट मात्र विजुली दिन्छन् । 

तर, तनहुँको १४० मिटर अग्लो बाँधमा जम्ने पानीले लगातार ६ घण्टासम्म १४० मेगावाट बिजुली दिनेछ । तनहुँ हाइड्रोको ड्यामबाट वातावरण कानून बमोजिम छोड्नु पर्ने पानीको प्रयोग गरेर २ मेगावाट विजुली निकाल्ने अर्को विद्युतगृह पनि निर्माणाधीन छ ।

यसले हिउँदमा भारतबाट महँगोमा बिजुली आयात गर्नुपर्ने बाध्यतालाई कम गर्छ । राष्ट्रिय ऊर्जा सुरक्षालाई बलियो बनाउँछ ।

बिजुलीको माग बिहान र बेलुकीमा उच्च हुन्छ । यस्तो पिक आवरको मागलाई धान्न तनहुँ आयोजनाको ‘पिकिङ’ले सघाउनेछ । माग उच्च भएको समयमा यसको विद्युतगृह चलाएर राष्ट्रिय ग्रिडमा १४० मेगावाट पावर थप्न सकिन्छ । यसले ग्रिडलाई ब्ल्याकआउट र भोल्टेज ड्रप हुनबाट पनि जोगाउँछ ।

अनि दमौलीदेखि भरतपुरसम्म निर्माण भइरहेको ३४.७ किलोमिटरको २२० केभी डबल सर्किट प्रसारण लाइनले मध्य नेपालको विद्युत प्रसारण सञ्जाललाई सुदृढ बनाउँछ । 

यसले काठमाडौं, पोखरा र भरतपुर शहरमा बिजुलीको भोल्टेजको गुणस्तर सुधार गर्न सघाउँछ । दीर्घकालीन रुपमा प्रसारण चुहावट पनि घटाउँछ । 

अर्ध जलाशययुक्त आयोजना भएपनि यसले हरित गृह ग्यास उत्सर्जन गर्दैन । यसले थर्मल वा जीवाष्म इन्धनमा आधारित ब्याकअप प्लान्टहरुको आवश्यकतालाई विस्थापित गर्छ । साथै  आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निर्माण गरिएका सडक, खानेपानी, विद्यालय र ग्रामीण विद्युतीकरणले तनहुँ र आसपासका क्षेत्रको सामाजिक–आर्थिक स्तर उकासेको छ ।

अर्को पनि विद्युत आयोजना

तनहुँ जलविद्युत आयोजनाको अर्को ठूलो प्राविधिक र आर्थिक विशेषता भनेको यसको तल्लो तटीय विकास हो ।

तनहुँ हाइड्रोको विद्युतगृहबाट निस्कने पानी र नजिकैको मादी नदीको पानी मिसाएर १२६ मेगावाट क्षमताको ‘तल्लो सेती जलविद्युत आयोजना’ अगाडि बढाउने योजना छ । 

तनहुँ हाइड्रोपावरले पानी रेगुलेट गरिसकेकाले तल्लो सेती आयोजनाका लागि छुट्टै बाँध वा संरचना बनाइराख्नुपर्दैन । १४० मेगावाटको माथिल्लो आयोजनाबाट बिजुली निकालेर निस्किएको पानीलाई फेरि प्रयोग गरेर अर्को आयोजनाबाट बिजुली निकालेछ ।

यसले प्रतिमेगावाट निर्माण लागत निकै घटाउँछ । एउटै नदीको पानीलाई फेरि प्रयोग गरेर कुल २६६ मेगावाट क्लिन इनर्जी उत्पादन गर्न सकिन्छ । अनि तनहुँ आयोजनाका लागि निर्माण गरिएका प्रसारण लाइन, पहुँचमार्ग र प्रशासनिक संरचनाहरुको उपयोग तल्लो सेती आयोजनाले समेत गर्न पाउने हुँदा नयाँ आयोजनाको कार्यान्वयन छिटो र सस्तो हुनेछ । 

यसरी तनहुँ जलविद्युत आयोजना नेपालको ऊर्जा क्षेत्रको एउटा ठूलो उपलब्धी हुनेछ । सेती नदीमा बनिरहेको यो आयोजनाले नेपालको विद्युत् प्रणालीलाई सुक्खायाममा दरिलो सहारा दिनेछ । यसले आगामी दिनमा १२६ मेगावाटको तल्लो सेती आयोजनाका लागिसमेत बलियो जग बसालेको छ । त्यसैले तनहुँ हाइड्रोपावर साँचो अर्थमा नेपालको ऊर्जा सुरक्षाको ‘नयाँ ब्याकअप परियोजना’ हो ।

यो आयोजना बनेपछि पावर ब्याकअपका लागि कुलेखानीमा मात्र भर पर्ने दिनको अन्त्य हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ