नेभिगेशन
अर्थ

पहिलो पर्यटकीय रोयल होटल, कसरी खुल्यो र किन भयो बन्द ?

अहिले निर्वाचन आयोगको कार्यालय रहेको भवनमा कुनै बेला ठूलो होटल चलेको थियो । त्यसको नाम थियो, रोयल होटल । 

यो होटल चलाउन आएका थिए एक जना रुसी नागरिक । 

यो होटल यसको नामले भन्दा पनि यसका सञ्चालकको नामले बढी चिनिन्थ्यिो । 

ती मान्छे थिए, बोरिस लिसानेभिच । 

जो सन् १९१७ मा आफ्नो देशमा युद्ध चर्किएपछि भागेर फ्रान्स पुगे । त्यहाँ उनी रेष्टुराँ र बारहरुमा नाच्ने गर्थे । तर फ्रान्समा धेरै अडिएनन् । 

भारतको कोलकातामा आएर सन् १९३६ मा एउटा बार सञ्चालन गरे । त्यसको नाम थियो, क्लब ३०० । यो क्लब भारतको सम्भ्रान्त वर्गमा निकै लोकप्रिय थियो । 

सन् १९४४ मा राजा त्रिभुवन कोलकाता भ्रमणमा जाँदा त्यही क्लबमा पुगे । त्यही क्लबका सञ्चालक बोरिस लिसानेभिचसँग राजा त्रिभुवनको मित्रता भयो । 

सन् १९५१ अर्थात् २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि राजा त्रिभुवनले बोरिसलाई काठमाडौंमा बोलाए । 

सन् १९५१ को सेप्टेम्बरमा राजा त्रिभुवनको निम्तोमा बोरिस काठमाडौं आए । त्यतिबेला काठमाडौंमा जताततै हरिया फाँटहरु थिए, उपत्यकाबाट उत्तरतर्फ हिमालहरु टल्किन्थे । 

त्यो देखेर बोरिस निकै लोभिए । उनले त्यतिबेला भनेका थिए, यहाँ जस्तो स्वच्छ हावामा स्वास फेर्न कहाँ पाइन्छ, यहाँ त म अन्त भन्दा १५ वर्ष बढी बाँच्न सक्छु । 

त्रिभुवनका साथी 

बोरिस खासमा नेपालमा होटल खोल्नकै लागि आएका थिएनन् । उनले सुरुमा डिस्टिलरी अर्थात् रक्सी उद्योग खोलेका थिए, मोरङको विराटनगरमा । 

त्यो बेला १ लाख रुपैयाँ लगानी गरेका बोरिसले विभिन्न फलफूलको स्वादमा रक्सी उत्पादन गर्थे । त्यतिबेलासम्म नेपालमा उद्योगबाट उत्पादित मदिरा खाने चलन थिएन । घरेलु मदिराकै ठूलो बजार थियो । यो रक्सी उद्योगका कारण त्यहाँका १२ सय रक्सी पसलको ब्यापार धरापमा परेको थियो । 

रक्सी उद्योगका कारण घरेलु मदिराको बिक्री हुन छाड्यो । घरेलु रक्सी उत्पादक र बिक्रेताहरुले विरोध गरे । अनि सरकारले एक्कासी उनको मदिरा उद्योगको लाइसेन्स नै खारेज गरिदियो ।

त्यसपछि नेपालमै बस्न बोरिसलाई नयाँ व्यवसाय चाहिएको थियो । बोरिसले नयाँ व्यवसायका रुपमा होटल सुरु गरे, त्यो पनि तत्कालिन राजा त्रिभुवनका छोरा बसुन्धरासँग मिलेर । 

राणा शासन रहँदासम्म नेपाल विदेशीका लागि खुला थिएन । अहिले झैं विदेशीहरु घुम्नका लागि नेपाल आउन पाउँदैनथे । 

२००७ साल अर्थात् सन् १९५१ मा प्रजातन्त्र स्थापना भएपछि विदेशीहरु पनि नेपाल आउने क्रम बढ्न थाल्यो । तर विदेशीले बास बस्ने राम्रा होटल थिएनन् । बोरिसको सम्पर्क बम्बईमा ट्राभल एजेन्सी सञ्चालक थोसम कुकसँग थियो । उनले नै बोरिसलाई नेपालमा होटल खोल्न प्रेरित गरेका थिए । 

एक दिन बोरिसले राजा त्रिभुवनसँग होटल खोल्ने प्रस्ताव राखे । तर त्रिभुवनले पत्याएनन्, हाम्रो देशमा के हेर्न आउलान् र पर्यटक, अनि उनीहरुले लिएर जाने के कुरा होला र ? 

बोरिसले त्रिभुवन र उनका कान्छा छोरा बसुन्धरालाई नेपालमा पर्यटक आउन सक्छन् र त्यसबाट आम्दानी हुन्छ भन्ने विश्वास दिलाए । उनीहरुले हाल निर्वाचन आयोग रहेको बहादुर भवनको एउटा खण्ड बोरिसलाई होटल चलाउन दिने भए । 

कस्तो थियो रोयल होटल ? 

बहादुर भवन राणा प्रधानमन्त्री जुद्ध शमशेरका माइला छोरा बहादुर शमशेरको स्वामित्वमा थियो । त्रिभुवनका छोरा बसुन्धराकै सहयोगमा बोरिसलाई यही बहादुर भवनमा होटल चलाउन दिइएको थियो । यो होटलमा बसुन्धरा र बोरिस पार्टनर बनेका थिए । 

रोयल फ्यामिलीसँगको सम्बन्धकै कारण बोरिसले होटलको नाम रोयल होटल राख्न पाएका थिए । 

बोरिसले १९५४ मा होटल खोल्ने अनुमति पाए । उनले कलकत्ताबाट होटलका लागि सामानहरु झिकाए । नेपाली र भारतीय कालीगढले बहादुर भवनको पहिलो र दोस्रो तलामा धमाधम पाटेसन गरे, बाथरुमहरु बनाए । सुरुमा २० देखि २५ जनाका लागि होटलका कोठाहरु तयार पारिएको थियो । अनुमति पाएको ७ महिनामै होटल तयार भयो र सन् १९५५ को फेब्रुअरीदेखि रोयल होटल सञ्चालनमा आयो । 

राणाकालीन दरबारमा सञ्चालन भएको रोयल होटलका कोठाहरु दरबारकै कोठाजस्तै बनाइएको थियो । होटलका कोठामा बाघ, भालु र मृगका छाला राखिएको थियो । राणा शासकहरुको विभिन्न भाव भंगीमा र भेषभूषाका ठूला तेलिया चित्र पनि राखिएको थियो ।  

त्यो बेलासम्म नेपाल सरकारले पर्यटक भिसा नै जारी गरेको थिएन । बोरिसले यो विषयमा राजा त्रिभुवनसँग कुरा गर्न खोजेका थिए । तर उनी बिरामी भएर उपचारका लागि स्वीटरल्याण्ड गएका थिए । 

उनले तत्कालिन युवराज महेन्द्रलाई पर्यटकका लागि भिसा जारी गर्न आग्रह गरे । जहाज चढेर नेपाल आउने विदेशीलाई एयरपोर्टमै अन अराइभल भिसा दिन सकिने उनको सुझाव थियो । महेन्द्रलाई कन्भिन्स गरेपछि नेपाल आउने पर्यटकका लागि भिसा जारी हुन थाल्यो । 

रोयल होटलमा पहिलो बास बस्ने ग्रुप बेलायतको थियो । आरएमएस क्यारोनिया बेलायतको एलिटहरुको एउटा समूह थियो, जो समुद्री यात्रा गर्ने पर्यटक थिए । उनीहरुको २४ जनाको समूह भारतको पटनाबाट विमान चढेर काठमाडौं ओर्लिएको थियो । 

यो समूहलाई बोरिसले सक्दो आतिथ्यता दिए । यो समूह नेपालबाट फर्केपछि नेपालले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा धेरै ठूलो कभरेज पायो । न्यूयोर्क टाइम्स, क्रिष्टियन साइन्स मनिटर, ट्राभल म्यागजिन, न्यूजविक जस्ता मिडियाले नेपालबारे धेरै समाचारहरु लेखे । अमेरिकाको प्रसिद्ध म्यागजिन लाइफले त ४ वटा पेजमा नेपालकै फोटो छापेको थियो । 

नेपालमा त्यसपछि पर्यटक आउने क्रम बढ्दै गयो, त्यसले नेपालको एक्सपोजर पनि बढ्दै गयो । 

पर्वतारोहीको रोजाइ

सन् १९५३ मा पहिलो पटक सगरमाथामा मानव पाइला पुग्यो । 

तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको खबर विश्वभरि फैलियो । त्यसपछि विश्वका धेरै पर्वतारोहीहरु नेपालतिर आकर्षित भए । 

यो खबरले विश्वलाई नेपालबारे चिनायो । नेपाल आउने पर्वतारोहीहरुको रोजाइ रोयल होटल नै थियो, किनकी त्यतिबेलासम्म अरु पर्यटकस्तरका होटल थिएनन् ।

सन् १९५५ पछि नेपालमा जति पर्वतारोही आए, तीमध्ये धेरैले रोयल होटलमै बास बसेका थिए । विदेशी कुटनीतिज्ञ, प्रसिद्ध कलाकारहरु रिसर्चर, अमेरिकी पिस कर्पस्का भोलिन्टियरहरु पनि रोयल होटलमा बस्थे । 

बोरिसले रोयल होटल सुरु गर्दासम्म नेपालमा कुक र वेटरहरु पनि पाइँदैनथ्यो । उनले कुक, वेटर र क्लर्कहरु भारतबाटै ल्याएका थिए । रोयल होटलमा बढारकुडार गर्ने, गार्डेनमा काम गर्ने र लुगा धुनेहरु मात्र नेपाली थिए । 

बोरिसले भारतीयहरुसँगै केही नेपालीलाई पनि कुक र वेटरको काममा राखे । भारतीय सहकर्मीबाट उनीहरुले पनि सिक्दै गए । एक वर्षमा नेपाली म्यानपावर तयार भएपछि भारतीय कर्मचारीलाई फिर्ता पठाए । त्यसपछि भने उनले होटलमा ठूलो इभेन्ट गर्दा मात्र विदेशबाट कुक र वेटरहरु झिकाउँथे । 

त्यतिबेला बोरिसलाई अंग्रेजी बोल्ने कर्मचारी भेट्न भने निकै गाह्रो परेको थियो । नेपाली कर्मचारीहरुले सांकेतिक रुपमा वा मुस्कानबाट मात्र ग्राहकहरुसँग कुराकानी गर्न सक्थे ।  उनले अंग्रेजी बोल्न सक्ने म्यानेजर भारतबाटै ल्याएका थिए । 

पछि उनले सेन्ट जेभियर्स स्कुलबाट एसएलसी पास गरेका अशोक शर्मा नामका एक व्यक्तिलाई पर्यटकलाई काठमाडौंका विभिन्न पर्यटकीय क्षेत्र घुमाउँदा गाइडका रुपमा काममा लगाएका थिए । 

बोरिसले होटल बाहिरको खाली ठाउँमा करेसाबारी बनाएका थिए, जहाँ नेपालमा नपाइने धेरै तरकारीहरु फलाएका थिए । उनका छोरा माइकल लिसानेभिचका अनुसार स्ट्रबेरी, मसरुम, चुकन्दर, ब्रोकाउलीलगायतका तरकारी र फलफूल उनले नै नेपालमा प्रचलनमा ल्याएका थिए । 

बोरिसले धेरै खाद्य परिकारहरु पनि नेपालीलाई चखाएका थिए । नेपालमा पाउरोटी र केक उनले नै बनाउन सुरु गरेका थिए । 

रोयल होटलमा धेरै जनावर पनि पालिएको थियो । हरिण, न्याउरी मुसा, पाण्डा,  हिमाली भालु लगायतका जनावरहरु थिए, होटल मिनी चिडियाखाना जस्तो थियो । 

त्यतिबेला खाना पकाउने ग्यास थिएन, दाउराबाटै खाना पकाइन्थ्यो ।  कोठा तातो बनाउन पनि आगो र कोइला बाल्नुपर्थ्यो । 

रोयल होटललाई विस्तार गरेर पछि ४८ वटासम्म गेस्ट रुम बनाइएको थियो । यो होटलको जति प्रचार थियो, त्यसको तुलनामा यसको क्षमता धेरै सानो थियो । त्यसैले ग्राहकको कहिल्यै कमी भएन । 

भुइँतलाका कोठाहरु ठूला कोठालाई पार्टिसन गरेर बनाइएका थिए, ती साना र अध्यारा थिए । माथिल्लो तलामा भने भीआईपी रुमहरु थिए । 

त्यतिबेला काठमाडौं उपत्यकामा बिजुलीको राम्रो सुविधा थिएन । भोल्टेजको समस्या थियो, त्यसैले तातोपानीमा नुहाउनुपर्ने पर्यटकले २ घण्टा अगाडि नै खबर गर्नुपर्ने हुन्थ्यो । 

त्यतिबेला नेपाल भ्रमणमा प्रसिद्ध व्यक्तिहरु भन्दा पनि धनाढ्य पर्यटकहरु धेरै आउँथे, अनि युवाहरु भन्दा उमेर ढल्केकाहरु धेरै आउँथे । जसले पैसा खर्च गर्न कुनै कन्जुस्याइँ गर्दैनथे । रोयल होटल यस्तै पर्यटकको रोजाइ बनेको थियो । 

नेपालमा त्यतिबेला ट्राभल एजेन्सी थिएनन् । टेलिफोनको सुविधा पनि सीमित थियो । त्यसैले रोयल होटल बुक गर्न कयौं विदेशीलाई कठिन थियो । उनीहरुले नेपालमा रहेको आफ्नो देशको दूतावासबाट होटल बुकिङ गराउँथे ।

रोयल होटल स्थापना भएपछि नै नेपाली बजारमा पानी पिउने गिलास, चक्कु चम्चा काँटा जस्त चिज काठमाडौंमा बिक्री हुन थालेको थियो । काठमाडौंका व्यापारीहरुले किचन र बेडमा चाहिने सामानहरु बेच्न ल्याउन थालेका थिए । 

महेन्द्रको राज्याभिषेक र एलिजावेथको भ्रमण

त्यतिबेला नेपालमा ठूला इभेन्ट गर्न पनि धेरै कठिन थियो । रोयल होटलले केही स्पेशल इभेन्टहरु पनि म्यानेज गरेको थियो ।

रोयल होटलले गरेको ठूलो एभेन्ट थियो, राजा महेन्द्रको राज्याभिषेक समारोह । 

उपचारका लागि स्वीटजरल्याण्ड गएका राजा त्रिभुवनको सन् १९५४ को अक्टोबरमा उतै निधन भयो । त्रिभुवनको निधनलगत्तै बोरिस पक्राउ परे । सुरुमा नेपाल आउँदा उनले खोलेको रक्सी उद्योगले १ लाख ७५ हजार रुपैयाँ कर नतिरेको आरोपमा पक्राउ परेका थिए । उनी करिब साढे २ महिना जेल बसे । 

जब राजा महेन्द्रको राज्याभिषेक समारोहको तयारी भयो, त्यतिबेला मात्र बोरिस रिहा भए । 

जेलबाट छुट्नेवित्तिकै उनलाई ठूलो चुनौतीपूर्ण काम आइलाग्यो । राजा महेन्द्रको राज्याभिषेकका लागि आउने विदेशी पाहुनाको खाना र बसोबासको बन्दोबस्त रोयल होटलमा गर्ने । बोरिसले त्यो च्यालेन्ज स्वीकार गरे । उनले भारतबाटै होटलका कुक, वेटरलगायतका दक्ष मान्छेहरु झिकाए, खानाका परिकार पनि उतैबाट मगाए । 

न्यूयोर्क टाइम्सले सन् १९५६ अप्रिल २९ मा लेखे अनुसार बोरिसले भारतबाट ४ हजार कुखुरा, २ हजार हाँस, १३० जना सर्भिसम्यान र २५ हजार अण्डा मगाएका थिए । 

३० वटा बाथरुम हवाइजहाजबाट ल्याइएको थियो । 

भारतबाट सामान ल्याउन ३ वटा भाडाका जहाज पटना–काठमाडौं चलिरहन्थे । भारतबाट ल्याएका धेरै कुखुराहरु मरेको पाइएपछि नेपालकै पहाडी गाउँहरुबाट कुखुरा खोजिएको थियो । राजा महेन्द्रको राज्याभिषेकमा करिब ४ हजार विदेशी पाहुना आएका थिए । बोरिसले उनीहरुको खाना र बासको प्रबन्ध गरे । त्यतिबेला रोयल होटलको प्रांगणमा पनि टेन्ट टाँगेर सुत्ने ठाउँ बनाइएको थियो । 

रोयल होटलले गरेको अर्को ठूलो इभेन्ट थियो, बेलायती महारानी एलिजाबेथ र राजकुमार फिलिपको नेपाल भ्रमण । 

सन् १९६१ मा बेलायती महारानी एलिजाबेथको भ्रमणका बेला बोरिसले हङकङबाट सामान ल्याएका थिए । 

त्यतिबेला उनले ४८ टन सामान ल्याएका थिए । त्यसमा खाना, फ्रिजर, क्याम्पमा प्रयोग गर्ने स्टोभ, कुर्सीहरु थिए । एलिजाबेथ त्यतिबेला नारायणहिटी दरबारमै बास बसेकी थिइन् । अनि उनका लागि नेपालका राजाले दिएको राजकीय भोज सिंहदरबारको स्टेट हलमा गरिएको थियो । तर त्यसको व्यवस्थापन रोयल होटलले गरेको थियो । 

भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको नेपाल भ्रमणको व्यवस्थापन पनि रोयल होटलले नै गरेको थियो । 

बोरिसले सिंहदरबारमा पनि धेरै पटक भोज आयोजना गरेका थिए । 

याक एण्ड यती बार

रोयल होटलको दोस्रो तलामा एउटा बार सञ्चालन गरिएको थियो, जसको नाम थियो, याक एण्ड यती बार । त्यतिबेला काठमाडौंका सम्भ्रान्तहरुको जमघटस्थल थियो ।

राज परिवारका सदस्य, राणा परिवारका सदस्य, विदेशी राजदूत र दूतावासका कर्मचारी, पाइलटहरु बारका नियमित ग्राहक थिए । सञ्चारको सुविधा पनि राम्रो नभएको काठमाडौंमा यो बार नै धेरै खबरहरु थाहा पाउने माध्यम थियो । 

बार सबैका लागि खुला थियो । होटलमा ग्राहक कम हुँदा पनि बार भने सधैं भरिभराउ हुन्थ्यो । बोरिसकी पत्नी राम्रो इन्टेरियर डिजाइनर थिइन् । उनले नै बारलाई विशेष प्रकारले सजाएकी थिइन् । यही बारको नाममा दरबारमार्गमा यका एण्ड यती होटलको स्थापना भयो । 

बोरिसले रोयल होटल खोल्ने बेलासम्म नेपालमा पर्यटनबाट आम्दानी गर्न सकिन्छ भन्ने धेरैलाई लागेको थिएन । होटलको सञ्चालनपछि नै धेरैले पर्यटनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाए । सन् १९६० को दशकमा नेपालमा पर्यटकहरु पनि धेरै आउन थाले ।

सन् १९६५ मा सोल्टी होटल खुल्यो । सन् १९६६ मा दरबारमार्गमा अन्नपूर्ण होटल खुल्यो । सोल्टीमा राजा महेन्द्रका माइला भाइ हिमालय संलग्न थिए भने अन्नपूर्णमा हिमालयकी पत्नी अधिराजकुमारी हेलेन शाहको संलग्नता थियो । 

सोल्टी र अन्नपूर्ण खुलेपछि लक्जरी टुरिस्टका लागि रोयल होटलको अप्सन भयो । अब बोरिसले राजपरिवारकै अरु सदस्यसँग होटल बिजनेसमा प्रतिस्पर्धा गर्नुपर्ने भयो । यद्यपि उनीसँग पनि राजा महेन्द्रका भाइ बसुन्धरा पार्टनर थिए । 

सरकारले त्यही बेला होटलको र्‍यांकिङ पनि गर्‍यो । सोल्टीले फाइभ स्टार, अन्नपूर्णले फोर स्टार र रोयल होटलले थ्रीस्टार र्‍यांकिङ पायो । यो र्‍यांकिङ बोरिसलाई चित्त बुझेन ।

तर १९५४ मा होटल सञ्चालन हुँदा रोयल होटल जस्तो थियो, १० वर्षपछि पनि त्यस्तै रहिरहेन । 

नयाँ होटलहरु बढी सुविधासम्पन्न थिए, रोयल होटल पुरानो भइसकेको थियो । समय अनुसार यसको मर्मत सम्भार र सुधार हुन सकेको थिएन ।

मुख्य समस्या बोरिस विदेशी नागरिक थिए, त्यही कारण रोयल होटलको स्वामित्व उनीसँग थिएन । 

बसुन्धरासँग उनको पार्टनरसिपमा पनि विवाद भयो । यही विवादका कारण उनीहरुको दुई वर्षसम्म बोलचाल पनि भएन । 

यही विवादका बीच सन् १९६९ को एक दिन बोरिस पुनः पक्राउ परे । उनीमाथि पूरातात्विक सम्पदा चोरीको आरोप लगाइयो । उनको अपार्टमेन्टमा राजा त्रिभुवनले गिफ्ट दिएका केही पूरातात्विक बस्तुहरु थिए । 

पछि बोरिसले केही अन्तर्वार्तामा उनले आफूले दुःख पाएको विषयलाई नेपालीहरु इष्स्र्यालु रहेको कमेन्ट गरेका थिए ।

सन् १९६९ मा सरकारले रोयल होटल बन्द गर्ने, त्यहाँको लिज एग्रिमेन्टहरु पनि सबै खारेज गर्ने र बहादुर भवनलाई सरकारी प्रयोगमा लगाउने निर्णय गर्‍यो । त्यसपछि रोयल होटल सदाका लागि बन्द भयो । 

किन भयो बन्द ? 

रोयल होटल करिब १५ वर्ष चलेर बन्द भयो । तर यो होटलले नेपालमा पहिलो पुस्ताका पर्यटक ल्याउन ठूलो भूमिका निर्वाह गर्‍यो । बोरिसले आफ्नो सामाजिक सम्बन्ध प्रयोग गरेर काठमाडौंमा एलिट टुरिस्ट ल्याए । अनि नेपालका अधिकारीलाई कन्भिन्स गरेर विदेशी पर्यटकका लागि भिसाको बन्दोबस्त गराए । 

बोरिस र रोयल होटल जति प्रख्यात थियो, त्यसको व्यवस्थापन पक्ष भने त्यति सफल भएन । उनले होटल बुकिङका लागि आधुनिक प्रविधि प्रयोग गरेनन् । स्वदेशी तथा विदेशी टुर अपरेटरसँग आवद्ध भएनन । आफ्नो बिजनेसको कतै विज्ञापन गरेनन् । त्यसैले उनी व्यवस्थापनमा भने असफल भए । तर एक जना विदेशीलाई त्यो बेला नेपालमा आएर सफल बिजनेसम्यान हुन त्यति सजिलो थिएन । 

नेपालमा बोरिसलाई कतिपयले फादर अफ नेपाली टुरिजम पनि भन्छन् । तर कतिपयले असहमति राख्छन् । यद्यपि नेपालको पर्यटन क्षेत्रमा उनको र रोयल होटलको ठूलो योगदान रहेकामा भने विमति छैन । 

आज रोयल होटल रहेको भवनमा निर्वाचन आयोगको कार्यालय छ । एक समय त उपराष्ट्रपतिको कार्यालय समेत थियो । त्यसैले यो बहादुर भवन नेपालको राजनीतिको मात्रै होइन, पर्यटकीय इतिहासको पनि केन्द्र हो । एउटा ऐतिहासिक धरोहर हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ