पूर्वी नेपालमा ३५ अर्बको रोड प्रोजेक्ट, कहिले बनिसक्छ 'एसियन हाइवे' ?
तपाईं पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काकडभिट्टाबाट बिर्तामोड, दमक, उर्लाबारी, पथरी, बेलबारी हुँदै इटहरी आउनुभयो भने सडक विस्तारको काम भइरहेको देख्नुहुन्छ । तर यो सडक विस्तारमा फटाफट काम चाहिँ भएको छैन, एकदमै सुस्त गतिमा काम भएको छ ।
यसै पनि यो राजमार्गमा सवारी चाप उच्च हुन्छ । मालवाहक ठूला ट्रक र कन्टेनरको लस्कर लाग्छ । अनि बस, मोटरसाइकल, अटो, सिटी सफारी र अन्य स्थानीय गाडीको भीड पनि छ ।
यो राजमार्गलाई सहज र आधुनिक बनाउन भनेर काँकडभिट्टादेखि सुनसरीको लबिपुरसम्मको सडकलाई दुई लेनबाट कम्तीमा चार लेनमा विस्तार गर्न लागिएको छ ।
काँकडभिट्टादेखि–लौकहीसम्मको सडकको लम्बाई करिब १२० किलोमिटर छ, तर अहिले त्यसमध्ये ९५.७६ किलोमिटर खण्डको स्तरोन्नति भइरहेको छ ।
यो कुनै सामान्य सडक मर्मत वा टालटुल मात्र गर्ने प्रोजेक्ट हैन । यसमा एसियाली विकास बैंक र नेपाल सरकारको करिब ३४ अर्ब ९० करोड रुपैयाँ लगानी हुँदैछ ।
यो कामलाई पाँचवटा छुट्टाछुट्टै ठेक्का प्याकेजमा बाँडिएको छ । तीनवटा प्याकेज सडक विस्तारका लागि छन् भने दुईवटा प्याकेज छ वटा ठूला पुल बनाउनका लागि ।
किन सडक र ठूला पुललाई अलग–अलग ठेक्कामा राखियो त ? किनकि सडक खन्ने, पुलको जग बसाल्ने र कालोपत्रे गर्ने काम सँगसँगै अघि बढ्न सक्छ भनेर यसो गरिएको हो ।
अब सडक विस्तारका तीनवटै प्याकेजलाई पालैपालो हेरौं ।
पहिलो प्याकेजमा काँकडभिट्टादेखि केरखा नजिकको सीतापुरीसम्म ४५ किलोमिटरमा काम हुँदैछ । यो पूरा खण्ड झापा जिल्लामा पर्छ । यसको ठेक्का १० अर्ब ६ करोड ९४ लाख रुपैयाँमा लागेको हो । यो खण्डको निर्माण इभ्रास्कन–कालिका जेभीले गरिरहेको छ ।
२०८० माघदेखि यहाँ काम सुुरु भएको हो । यो ठेक्का अनुसार पुरानो दुई लेनको सडकलाई चार लेनमा फराकिलो बनाउने, कालोपत्र गर्ने, नाला बनाउने र कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ ।
यसको आधाभन्दा बढी खण्डमा कम्तीमा एकतर्फी कालोपेत्र भइसक्यो । यो ४५ किलोमिटरभित्र निन्दा, बिरिङ र कन्काईजस्ता ठूला नदी पर्छन् । ती नदीमा ठूला पुलको काम यो सडक ठेक्काभित्र छैन । ती पुल छुट्टै पुल प्याकेजमा बनिरहेका छन् ।
दोस्रो सडक विस्तार प्याकेजमा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको ४० किलोमिटर खण्ड पर्छ ।
यो खण्डको विस्तारमा ९ अर्ब १३ करोड ८२ लाख रुपैयाँ खर्च हुँदैछ । सीआरएफजी–तुँदी जेभीले यो खण्डको काम गरिरहेको छ ।
यहाँ पनि सडकलाई चार लेनमा विस्तार गर्ने, साना पुल तथा कल्भर्ट बनाउने, नाला बनाउने र कालोपत्र गर्ने मुख्य काम हुँदैछन् ।
यो खण्डमा पर्ने रतुवा, बक्राहा र लोहेन्द्र खोलाका ठूला पुल पनि अर्को छुट्टै पुल प्याकेजमा राखिएका छन् ।
तेस्रो प्याकेज गोठगाउँदेखि सुनसरीको लौकहीसम्मको १०.७६ किलोमिटर सडक खण्ड हो । लम्बाइका हिसाबले यो सबैभन्दा छोटो खण्ड हो, तर कामका हिसाबले कम चुनौतीपूर्ण छैन ।
यसको ठेक्का रकम ४ अर्ब ७ करोड ३५ लाख रुपैयाँ छ । कोभेक–सीआरईजीसी–तुँदी जेभीले निर्माण गरिरहेको यो खण्डमा सडक विस्तारसँगै सहरी क्षेत्रका अतिरिक्त संरचना पनि व्यवस्थापन गर्नुपर्ने छ ।
खासगरी इटहरी आसपासका क्षेत्रमा बिजुलीका पोल सार्ने, खानेपानीका पाइप मिलाउने र अन्य सहरी संरचना व्यवस्थापन गर्ने कामले गति र समन्वय दुवै माग्छ ।
अब पुल निर्माणका दुई प्याकेजबारे पनि जानौं । सडक चौडा भएर मात्र पुग्दैन, बाटोमा पर्ने ठूला खोला र नदी तर्न सुरक्षित र बलियो पुल पनि चाहिन्छ ।
यो आयोजनामा छवटा ठूला नदीका पुललाई सडक विस्तारको ठेक्काभन्दा छुट्टै राखेर दुई प्याकेजमा बनाइँदै छ ।
यहाँ सबै पुलहरु आर्क र प्रिस्ट्रेस्ड कंक्रिट (पीएससी) मोडल मिक्स गरेर बनाइँदैछ । आर्क भनेको पुलको तल वा माथिल्लो भागमा घुमाउरो धनुषाकार संरचना बनाइन्छ ।
यसले पुलमाथिको भारलाई दुवै किनारका आधारतर्फ पुर्याउँछ । पीएससीमा चाहिँ कंक्रिटको गर्डर वा स्ल्याब प्रयोग गरिन्छ, यसैले पुलको भार धान्छ ।
यस्तो मेडलमा लामो दूरीसम्म नदीको बीचमा पिलर नराखी पुल बनाउन सकिन्छ । आर्कले भारलाई दुवै किनारमा धकेल्छ । पीएससीले पुलको संरचनालाई बलियो बनाउँछ । पुल बलियो हुनुका साथै आकर्षक पनि देखिन्छ ।
यसअनुसार बन्ने पुलको पहिलो प्याकेजमा निन्दा, बिरिङ र कन्काई पुलहरु निर्माण हुनेछन् । यसमा करिब ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ खर्च हुँदैछ ।
निन्दा खोला पुलको लम्बाइ ३१८.६० मिटर छ । यसमा १५९.३० मिटर आर्क र १५९.३० मिटर पीएससी संरचना रहनेछ ।
बिरिङ खोला पुल ३९८.२५ मिटर लामो बनाइँदैछ । यसमा १५९.३० मिटर आर्क र २३८.९५ मिटर पीएससी संरचना रहनेछ ।
कन्काई नदी पुल यो प्याकेजको मात्र होइन, समग्र आयोजनाकै सबैभन्दा ठूलो पुल हो ।
यसको प्रस्तावित लम्बाइ ७०२ मिटर छ । यसमा ३५१ मिटर आर्क र ३५१ मिटर पीएससी संरचना रहनेछ ।
दोस्रो पुल प्याकेज अन्तर्गत रतुवा, बक्राहा र लोहेन्द्र खोलामा पुलहरु बन्दै छन् । यो प्याकेजमा ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँ खर्च हुँदैछ । रतुवा नदी पुलको लम्बाइ ५८५ मिटर छ । यसमा २६३.२५ मिटर आर्क र ३२१.७५ मिटर पीएससी संरचना रहनेछ ।
बक्राहा खोला पुल ३१८.६० मिटर लामो हुनेछ । यसमा आर्क र पीएससी दुवै संरचना १५९.३० मिटरका हुनेछन् ।
लोहेन्द्र खोला पुलको लम्बाइ ३८४.३० मिटर रहनेछ । यसमा १७०.८० मिटर आर्क र २१३.५० मिटर पीएससी संरचना प्रस्ताव गरिएको छ ।
५० मिटरसम्म फराकिलो सडक
यो आयोजनाको एउटा महत्वपूर्ण विशेषता के हो भने सबै ठाउँमा सडकको चौडाइ एउटै छैन । ठाउँको बस्ती, सहरीकरण र प्रयोगअनुसार चौडाइ फरक राखिएको छ ।
दमक, उर्लाबारी र इटहरीजस्ता सहरी क्षेत्रमा कुल ५० मिटर चौडाइको सडक संरचना प्रस्ताव गरिएको छ । यहाँ चार लेनको मुख्य राजमार्गसँगै दुवैतर्फ सर्भिस लेन, फुटपाथ, साइकल लेन रहनेछ ।
बस्ती अलि पातलो तर चहलपहल भएको अर्धशहरी क्षेत्रमा ३३ मिटर चौडाइको संरचना रहनेछ । ग्रामीण बस्ती र वन क्षेत्रमा २४ मिटर चौडाइको सडक बनाउने डिजाइन छ ।
यहाँ चार लेनको मुख्य सडकसँगै पक्की सोल्डर, डिभाइडर र पानी निकासका संरचना रहनेछन् ।
सहरी क्षेत्रमा ५० मिटरको संरचना बन्दैमा त्यो छ लेनको मुख्य राजमार्ग हुने होइन । मुख्य राजमार्ग चार लेनकै हुन्छ, तर त्यसको छेउमा स्थानीय सवारीसाधनका लागि सर्भिस लेन थपिने भएकाले कुल चौडाइ धेरै देखिने हो ।
यसको उद्देश्य लामो दूरीमा तीव्र गतिमा गुड्ने गाडी र सहरभित्रै यताउता गर्ने अटो, रिक्सा, साइकल वा स्थानीय गाडीलाई छुट्टाछुट्टै बाटो दिनु हो, जसले गर्दा जाम र दुर्घटना दुवै घटाउन सकियोस् ।
यो आयोजना पुल बनाउने र सडक कालोपत्रे गर्ने काममा मात्र सीमित छैन । सडक विभागका अनुसार यसमा थुप्रै सहायक तथा सुरक्षासम्बन्धी संरचना पनि जोडिएका छन् ।
यहाँ २६९ वटा बक्स कल्भर्ट बन्दैछन् । २ हजार ९७० वटा सडक बत्ती जोडिँदैछ । १ हजार ७९७ वटा ट्राफिक संकेत पनि राखिनेछ ।
अनि सबैभन्दा महत्वपूर्ण यो खण्डमा १० वटा ओभरपास र पैदलयात्रीलाई वारपार गर्न कम्तीमा १८ वटा क्रसिङ पनि राखिँदैछ ।
आवश्यक ठाउँमा रेलिङ, क्रयास बेरियर, पानी निकास हुने नाला, बस स्टपहरु बन्नेछन् । जोखिमपूर्ण ठाउँमा सुरक्षा संरचना राखेर आवश्यक स्थानमा नदी कटान नियन्त्रणका काम पनि गरिनेछ ।
यो आयोजनाको सबैभन्दा संवेदनशील पाटो भनेको ओभरपास र अन्डरपास नै हो । यहाँ मान्छे, गाडी र वन्यजन्तु तीनवटैको आवागमनलाई ध्यानमा राखिएको छ ।
मुख्य राजमार्गमा गाडी तीव्र गतिमा गुडिरहँदा सहायक वा स्थानीय सडकबाट आउने गाडीले सीधै राजमार्ग पार गर्न खोज्दा दुर्घटना हुने सम्भावना धेरै हुन्छ । त्यसैले केही मुख्य चोकमा ओभरपास र ग्रेड सेपरेटेड जङ्सन बनाउने योजना छ ।
सडक विभागका अनुसार चारआली, बिर्तामोडको मुक्तिचोक, चारपाने, बाँसबारी, इटहरी र पकली क्षेत्रमा यस्ता संरचना बनाइँदैछ ।
यी ओभरपासहरु अहिले ललितपुरको ग्वर्कोमा बनेको जस्तै हुनेछन् । राजमार्गको चार लेनमा गुडेका सवारी ओभरपास हुँदै पार हुनेछन् । मुनि चोकका लागि क्रसिङ हुनेछ ।
काँकडभिट्टा–सीतापुरी खण्डमा पैदलयात्रीका लागि ६ वटा अन्डरपास प्रस्ताव गरिएका छन् ।
यी अन्डरपासहरु तीनै गाडी गुड्ने ओभरपासको र्याम्पको बीचबाट बनाइनेछ । यसको खुला भित्री आकार ३ मिटर चौडाइ र ३ मिटर उचाइको हुनेछ । र यो आरसीसी बक्स कल्भर्ट शैलीमा अर्थात् सडकमुनि कंक्रिटको बाकसजस्तो सुरुङ बनाएर यस्तो अन्डरपास निर्माण गरिनेछ ।
पश्चिम खण्डतर्फ पनि दमक क्षेत्रमा तीनवटा र इटहरी क्षेत्रमा चारवटा सवारी ओभरपास बनाउने योजना छ । यहाँ पनि कुल कम्तीमा १२ वटा पैदलयात्रीका लागि अन्डरपास निर्माण गर्ने योजना छ ।
यो आयोजनाको वातावरणीय हिसाबले निकै मत्ववपूर्ण छ । विशेष गरी चारआलीको जंगल क्षेत्र वन्यजन्तुको करिडोर हो ।
यो क्षेत्रमा जंगली हात्तीको आवतजावत हुने भएकाले बाटो फराकिलो बनाउँदा हात्तीको बाटो थुनिनु हुँदैन ।
चारआली जंगलमा एउटा पुरानो बक्स कल्भर्ट हात्तीले सडक वारपार गर्न प्रयोग गर्दै आएको छ । त्यसलाई करिब १५ मिटर लामो र ६.५ मिटर अग्लो पुल संरचनामा स्तरोन्नति गर्ने प्रस्ताव छ । यसको भुइँ प्राकृतिक स्वरुपमै राख्ने र दुवैतर्फ नाली तथा वन्यजन्तु अनुकूल सतह बनाउने योजना छ, ताकि हात्ती र अरु वन्यजन्तु सडकमुनिबाट सहजै वारपार गर्न सकून् ।
किन भइरहेको छ ढिलाइ ?
ठेक्का अनुसार त यो आयोजना २०८३ माघसम्म सकिनुपर्ने हो । तर यहाँ लक्ष्यअनुसार काम भएको छैन । सडक विभागले ठेकेदारलाई जिम्मेवार बनाउन सकेको छैन । फिल्डमा परेका समस्या फुकाउन पनि सकेको छैन ।
सडक विभागको एडीबी निर्देशनालयका प्रमुख चुडाराज ढकालका अनुसार यहाँ बिजुलीका पोल सार्नुपर्ने र खानेपानीका पाइप व्यवस्थापन गर्नुपर्ने कामले जटिलता ल्याएको छ ।
कतिपय खण्डमा सरकारी निकायले नै सहयोग नगरेको सडक विभागको गुनासो छ ।
अनि माटो, ढुंगा गिट्टी बालुवा र अन्य निर्माण सामग्री स्थानीय तवरमा सजिलै नपाएकाले पनि समस्या भएको छ । स्थानीय तहहरुसँग समन्वय भइरहे पनि कतिपय ठाउँमा समस्या हल हुन नसकेको विभागको भनाइ छ ।
अनि ठेकेदारले आवश्यक मात्रामा उपकरण र जनशक्ति परिचालन पनि गरेको छैन । त्यसैले समयसीमाभित्र काम सक्न गाह्रो छ ।
जे होस्, यो ९५.७६ किलोमिटर सडकको स्तरोन्नति भएपछि पूर्वी नेपालको लाइफलाइन सहज हुनेछ । मुख्य चोकहरुमा सवारी रोकिन पनि नपर्ने भएकाले यात्रा सहज र छिटो हुन्छ । दुई लेनको साँघुरो बाटोमा उछिनपाछिन र जाममा फस्नुपर्ने समस्या घट्छ ।
चार लेनको आधुनिक राजमार्गमा यात्रा गर्न पाइन्छ । दमक, उर्लाबारी र इटहरीजस्ता बजारमा मुख्य राजमार्ग र स्थानीय गाडी छुट्याउन सर्भिस लेनले सघाउँछ ।
दोस्रो कुरा, सडक सुरक्षा बढ्छ । नयाँ ठूला पुलले नदी तर्न सजिलो र सुरक्षित बनाउँछ ।
फुटपाथ, सडक बत्ती, रेलिङ, मेडियन फेन्सिङ, सवारी ओभरपास र पैदलयात्री अन्डरपासले दुर्घटनाको जोखिम घटाउन मद्दत गर्छन् ।
चारआलीमा बन्ने हात्तीमैत्री संरचनाले वन्यजन्तुको आवागमन र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा टेवा पुर्याउँछ ।
अनि यो आयोजनाको लाभ स्थानीय बासिन्दाले मात्रै पाउने हैन । यो सडक एसियन हाइवे–२ तथा दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) को क्षेत्रीय यातायात सञ्जालसँग जोडिएको छ ।
भारततर्फ यसलाई एशियन हाईवे भनिने भएकाले नेपालतर्फ पनि स्थानीयले यसलाई एसियन हाईवे भन्ने गरेका छन् ।
यो सडक स्तरीय बनेपछि काँकडभिट्टा नाकाबाट आउने मालवाहक गाडीलाई पूर्व–पश्चिम राजमार्ग हुँदै देशका अन्य भागमा पुग्न सजिलो हुन्छ । र नेपाललाई भारत हुँदै बंगलादेशका बन्दरगाहसम्म जोड्ने क्षेत्रीय व्यापारिक करिडोरको क्षमता पनि बलियो बन्छ । तर, आयोजनामा भइरहेको ढिलासुस्ती अझै पनि चिन्ताको विषय हो । यसमा सरकारको ध्यान जान आवश्यक छ ।
काठमाडौंमा पाँचवटा मेट्रोलाइन, २० खर्बको प्रोजेक्ट
निर्माण मजदुरलाई विदेशमा भन्दा राम्रो तलब
नयाँ एयर रुट दिन भारतको शर्तैशर्त, आकाश साट्न तयार होलान् बालेन ?
नेपालको सबैभन्दा लक्जरियस होटल, कसले बनायो १५ अर्बको प्रोपर्टी ?

-1795616566.jpeg)





