नेपालको सबैभन्दा लक्जरियस होटल, कसले बनायो १५ अर्बको प्रोपर्टी ?
काठमाडौंको केशरमहलसँगै एउटा अग्लो आधुनिक टावर खडा भएको छ । लामो समयदेखि बनिरहेको यो टावर अब निर्माणको अन्तिम चरणमा पुगेको छ ।
निर्माण सुरु गर्दा यहाँ शेराटन होटल चल्ने भनिएको थियो, तर अहिले शेराटनभन्दा बढी विलासी होटल खुल्दैछ, लाजुमी, अ लक्जरी कलेक्सन ।
यो होटल चानचुने लगानीमा बनिरहेको छैन, यसमा करिब १५ अर्ब लगानी भएको छ । र, अबको केही महिनामा यो होटल खुला हुनेछ ।
यो होटल बनाइरहेका छन्, नेपाली मूलका अष्ट्रेलियन व्यवसायी शेष घलेले । घलेले यसलाई नेपालमा ड्रिम प्रोजेक्टका रुपमा अघि बढाएका थिए तर, उनले सोचेजसरी सजिलै यो होटल बनेन । लगानी मात्रै थप्नु परेन, प्लानहरु नै चेन्ज गर्नुपर्यो ।
यो होटल नेपालकै टप लक्जरी होटलका रुपमा निकट भविष्यमै सञ्चालनमा आउँदैछ ।
को हुन् शेष घले ?
लमजुङमा जन्मिएका शेष घलेको बाल्यकाल अरु सामान्य नेपालीको भन्दा फरक थिएन । एसएलसीमा प्रथम श्रेणी नआएको भए शायद उनी लाहुरे हुन जान्थे होला । गाउँमा लाहुरेको ठूलो इज्जत थियो । उनको शरीर पनि बलियो थियो । तर एसएलसीको सफलताले लाहुरे बन्नबाट रोक्यो र ओभरसियर पढ्न काठमाडौं आए ।
टप टेनमा परेपछि तत्कालीन सोभियत संघमा छात्रवृत्तिमा इन्जिनियरिङ पढ्ने अवसर पाए । सन् १९८६ मा सिभिल इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि शर्तअनुसार नेपाल फर्किए ।
यातायात विभाग अन्तर्गत राजमार्ग परियोजनामा इन्जिनियरका रुपमा काम गरे । करिव ४ वर्ष काम गरेपछि अस्ट्रेलिया गए र एमबीए गर्न भिक्टोरिया युनिभर्सिटी भर्ना भए ।
त्यो समयमा होटलमा भाँडा माझे, भुइँ पुछे, घरघरमा पत्रिका पुर्याउने काम गरे । पढाइ सकेपछि एउटा कलेजमा मार्केटिङको काम पाए । उनले त्यसमै राम्रै भविष्य देखेका थिए । तर एक्कासी कलेज बन्द भयो ।
त्यसबेला शेष घलेले बोल्ड निर्णय लिए–अब जागिर नखाने, आफ्नै कलेज खोल्ने । यो यस्तो समय थियो, जतिबेला विश्वका विभिन्न देशबाट विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया पुगिरहेका थिए ।
उनले त्यसमै अवसर देखे । व्यवसाय, इन्जिनियरिङ र सूचना प्रविधिसम्बन्धी उच्च शिक्षा उपलब्ध गराउने संस्थाका रूपमा सन् १९९६ मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) स्थापना गरे ।
शेष घले प्रमुख कार्यकारी अधिकृत बने, जमुना गुरुङले व्यवस्थापकीय नेतृत्व सम्हालिन् । समयसँगै एमआईटी विस्तार भयो । मेलबर्नपछि सिड्नीमा पनि क्याम्पस स्थापना भयो । वर्षमा चार हजारभन्दा बढी विद्यार्थी भर्ना हुन थाले । यसरी एमआईटीमार्फत छोटो समयमा नै शेष घलेको व्यवसायिक पहिचान बन्यो ।
उनलाई धनी बनाएको चाहिँ रियल इस्टेटले हो । सन् २००० को दशकको सुरुवातदेखि उनीहरूले कमर्सियल घर जग्गामा लगानी गर्न थालेका थिए । शेषले मेलबर्नको सेन्ट्रल बिजनेश डिस्ट्रिक क्षेत्रमा भवन तथा व्यवसायिक सम्पत्ति खरिद गर्ने र त्यसलाई व्यवस्थापन तथा पुनर्विकास गर्ने काम गरे । यसबाट मनग्य कमाए ।
रियल इस्टेटबाट जोडेको सम्पत्तिले नै शेष र जमुना दम्पत्तिलाई सन् २०१३ मा पहिलो पटक अस्ट्रेलियाकै धनी २०० सूचीको उभ्यायो ।
त्यतिबेला उनीहरूको सम्पत्ति करिब २६५ मिलियन अस्ट्रेलियन डलर अनुमान गरिएको थियो । आज करिब १.२१ अर्ब डलर पुगेको छ ।
यसरी हेर्दा, विद्यार्थीका रुपमा अष्ट्रेलिया गएर तीन दशकभन्दा कम समयमा शेष घले र जमुना गुरुङले जे गरे, त्यो असाधारण छ ।
०००
शेष घले र जमुना गुरुङ दम्पती जब अष्ट्रेलियाका अर्वपतिहरुको सूचीमा परे, एकाएक नेपालमा उनीहरुको चर्चा सुरु भयो । त्यही बेला उनीहरु नेपालसँग नजिक भए । त्यसको कारण हो, गैरआवासीय नेपाली संघ
एनआरएनएको अध्यक्षमा निर्वाचित हुनु ।
एनआरएनए गैरआवासीय नेपालीहरुको छाता संगठन हो । २०१३ मा पहिलो पटक एनआरएनएको अध्यक्ष बनेका घले दोस्रो कार्यकाल पनि चुनिए । यसरी चार वर्ष एनआएनएको नेतृत्वमा रहँदा उनले गैरआवासीय नेपालीलाई नेपालको विकासमा जोड्ने, उनीहरुको पुँजी र सीप नेपालमा भित्र्याउन भूमिका खेले ।
घले आफैंले चाहिँ एनआरएनको अध्यक्ष बन्नु अगाडि नै नेपालको पर्यटन क्षेत्रमा ६ अर्बको लगानी गर्ने घोषणा गरेका थिए ।
त्यतिबेला उनले नेपालमा धेरै खर्च गर्ने पर्यटकलाई लक्षित गरेर खुलेका स्तरीय होटलको अभाव देखेका थिए । उनको तर्क थियो—नेपाल विश्वकै आकर्षक पर्यटकीय गन्तव्य हो । तर यहाँ आउने धेरै खर्च गर्ने पर्यटकलाई आवश्यक स्तरको आतिथ्य सेवा उपलब्ध गराउन अझै धेरै काम गर्न बाँकी छ । त्यही सम्भावना देखेर शेष घले र जमुना गुरुङले होटल व्यवसायमा लगानी गर्ने निर्णय लिए ।
सन् २०१४ अक्टोबर ११ मा काठमाडौंको कान्तिपथस्थित केशरमहल नजिक शेराटन काठमाडौं होटलको शिलान्यास पनि भयो । त्यतिबेला करिब ८ अर्ब रुपैयाँ लगानीमा १७ तले पाँचतारे होटल बनाउने घोषणा गरिएको थियो ।
सन् २०१८ को फेब्रुअरीसम्म होटल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो ।
तर योजनाअनुसार काम भएन । सन् २०१५ मा विनाशकारी भूकम्प आयो । लगत्तै भारतीय नाकाबन्दीले निर्माण सामग्री र आपूर्ति व्यवस्थामा समस्या ल्यायो ।
कोरोना महामारीले निर्माण क्षेत्र र पर्यटन व्यवसाय दुवै प्रभावित भए । होटल निर्माणमा निर्माणमा ढिलाइ भयो । लागत बढेर करिब १५ अर्ब रुपैयाँ पुग्यो ।
यो होटल पहिले शेराटन ब्रान्डमा सञ्चालन गर्ने योजना थियो । तर, भनेको समयमा निर्माणको काम भएन । त्यसैले अहिले म्यारियट इन्टरनेशनल अन्तर्गतको अर्को प्रतिष्ठित ब्रान्ड द लक्जरी कलेन्सनमा सञ्चालन गर्ने सम्झौता भएको छ ।
त्यसका लागि होटलको अपग्रेड गर्ने काम भइसक्यो । सञ्चालनको अन्तिम तयारी भइसकेको छ ।
र, होटल यो म्यारियटको व्यवस्थापनमा चल्ने नेपालकै पहिलो लक्जरी कलेक्सन हुने छ ।
काठमाडौंको केशरमहल नजिकै करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलको नाम लाजुली, ए लक्जरी कलेक्सन होटल राखिएको छ ।
त्यही नाममा ट्रेडमार्क दर्ता भएको छ । होटल व्यवस्थापनको जिम्मेवारी लिएको म्यारियटले कर्मचारी छनोटको प्रक्रिया सुरु गरिसक्यो ।
यो वर्षको अन्त्यमा होटल सञ्चालनमा आउनेछ । औपचारिक रुपमा भने २०२७ मा खुल्नेछ । यो होटलले अन्तर्राष्ट्रिय स्तरको लक्जरी आतिथ्य सेवा दिनेछ । १७ तले भवनमा २२५ वटा कोठा रहने छ ।
सबैभन्दा आकर्षण प्रेसिडेन्सियल सुइट हुनेछ । विदेशबाट आउने प्रधानमन्त्री, राष्ट्रपतिजस्ता उच्च पदस्थ अधिकारीलाई राख्न मिल्ने गरी होटलको १५ र १६ औं तलामा प्रेसिडेन्सियल सुइट बनाइएको छ । यहाँ विशिष्ट पााहुनासँगै सुरक्षा अधिकारीलाई बस्ने छुट्टै कोठा, निजी बैठक गर्न मिल्ने मिटिङ रुम लगायतका सुविधाहरु हुनेछ ।
ठमेलको जीवन्त पर्यटकीय क्षेत्र, दरबारमार्गको प्रिमियम किनमेल केन्द्र र नारायणहिटी दरबार संग्रहालयको आडैमा रहेकाले यसको लोकेसन आकर्षक छ ।
डिजाइन, कला र मौलिकता ‘द लक्जरी कलेक्सन’ ब्रान्डको मुख्य विशेषता नै हो । यो ब्रान्डले विश्वस्तरीय विलासिता र स्थानीय कला–संस्कृतिको समिश्रण खोज्छ । त्यसैले यो होटलको इन्टेरियरमा नेपालको परम्परागत काष्ठकला, प्रस्थरकला र हिमाली मौलिकता झल्किने छ । होटलका कोठा तथा रुफटपबाट काठमाडौं उपत्यका र हिमश्रृंखलाको मनोरम दृश्य देखिने गरी संरचना तयार पारिनेछ ।
यहाँ विश्वस्तरीय फाइन–डाइनिङ रेस्टुरेन्ट, रुफटप बार, लाउन्ज र स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार पस्किने विशेष आउटलेटहरु रहनेछन् । होटलमा कुल चारवटा रेस्टुरेन्ट हुनेछन् ।
अति धनाढ्य पर्यटकलाई लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको लक्जरी स्पा, वेलनेस सेन्टर, हिटेड स्वीमिङ पुल र आधुनिक फिटनेस क्लब पनि चलाइनेछ ।
अन्तर्राष्ट्रिय सम्मेलन, कर्पोरेट बैठक र भव्य ‘डेस्टिनेसन वेडिङ’ का लागि अत्याधुनिक प्रविधियुक्त ठूला ब्यांक्वेट र कन्फरेन्स हलहरु पनि छन् ।
म्यारियट इन्टरनेशनलले नेपालमा काठमाडौं म्यारियट, फेयरफिल्ड, अलोफ्ट, मोक्सी र सोल्टी अटोग्राफ कलेक्सन सञ्चालन गरिरहेको छ । तर ‘द लक्जरी कलेक्सन’ ती सबैभन्दा माथिल्लो स्तरको हुनेछ । यसले नेपालको होटल उद्योगमा सेवाको गुणस्तरमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।
नेपाल पर्यटकीय सम्भावना भएको देश हो । नेपालको पर्यटन व्यवसायमा लामो समयसम्म ट्रेकिङ, पर्वतारोहण र बजेट पर्यटनको ठूलो भूमिका रह्यो । पछिल्लो समय लक्जरी पर्यटन, वेलनेस पर्यटनको सम्भावनालाई हेरेर काठमाडौंमा अन्तर्राष्ट्रिय होटल ब्रान्डहरु थपिँदै छन् । शेष घले र जमुना गुरुङ दम्पतीले पनि अस्ट्रेलियामा कमाएको सम्पत्तिबाट नेपालमा १५ अर्बको होटल खोलेका हुन् ।
यो परियोजना उनीहरुका लागि जति महत्वपूर्ण छ, नेपालको पर्यटन उद्योगको भविष्य, लगानी वातावरण र विदेशमा सम्पत्ति बनाएका नेपालीहरुलाई स्वदेशमा लगानी गराउन पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।
खासगरी नेपालमा खर्चालु पर्यटकको संख्या बढिरहेको छ, भविष्यमा क्वालिटी टुरिजमतर्फ जान चाहिरहेको छ ।
नेपालमा हाइइन्ड अर्थात खर्चालु पर्यटक भित्र्याउन यस्तो होटलले विभिन्न तरिकाबाट सहयोग पुर्याउन सक्छ ।
जस्तो कि म्यारियट इन्टरनेसनलसँग विश्वभर २० करोडभन्दा बढी ‘म्यारियट बोनभोय’ सदस्यहरु छन् । यो म्यारियटको लोयल कस्टमर नेटवर्क हो ।
यस्तो नेटवर्कमा आबद्ध अति धनाढ्य र कर्पोरेट यात्रुहरु म्यारियटका प्रिमियम ब्रान्ड नै रोज्ने गर्छन् । नेपालमा ‘लक्जरी कलेक्सन’ खुलेपछि ती पर्यटकको रोजाइमा काठमाडौं पनि पर्नसक्छ ।
यसले नेपालको टुरिज्म सेक्टरको हाइट पनि भारत र श्रीलंकाजस्ता छिमेकी मुलुकहरुका स्तरमा पुर्याउन भूमिका खेल्नेछ ।
‘लक्जरी कलेक्सन’ म्यारियटको यस्तो ब्रान्ड हो, जसले विश्वस्तरीय विलासितासँगै स्थानीय सम्पदा, कला र मौलिकतालाई विशेष स्थान दिन्छ । खर्चालु पर्यटकहरु महँगो कोठा मात्र होइन, मौलिक सांस्कृतिक अनुभव खोज्छन्, जुन यस होटलको मुख्य विशेषता रहनेछ ।
अनि नेपालमा अन्तर्राष्ट्रिय स्तरका ठूला कर्पोरेट सम्मेलन, कूटनीतिक बैठक र उच्च–पदस्थ व्यक्तिहरुको भ्रमणका लागि नेपालमा विश्वस्तरीय पूर्वाधारको कमी महसुस भइरहेकै छ ।
करिब १५ अर्बभन्दा बढीको लगानीमा बनिरहेको यो होटलले त्यस्ता उच्च–स्तरीय कार्यक्रम र विशिष्ट पाहुनालाई भित्र्याउन बाटो खोल्नेछ ।
यस्ता अति–विलासी होटलमा बस्ने पर्यटकको दैनिक औसत खर्च उच्च हुन्छ । उनीहरु होटलमा मात्रै बस्दैनन्, हेलिकप्टर चार्टर गर्छन् । गल्फ खेल्छन्, महंगा हस्तकलाका सामान किन्छन् । प्रिमियम रेस्टुरेन्ट र क्लबहरुमा पुग्छन् । यसले समग्र पर्यटन अर्थतन्त्रमा ‘मल्टिप्लायर इफेक्ट’ पर्छ ।
अनि म्यारियटको विलासी होटलको उपस्थितिले अन्तर्राष्ट्रिय टुर अपरेटर र ट्राभल एजेन्सीहरुलाई नेपाललाई ‘लक्जरी गन्तव्य’ का रुपमा मार्केटिङ गर्न आधार दिन्छ ।
यद्यपि, होटल मात्र खुलेर खर्चालु पर्यटक आउँदैनन्, यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सिधा अन्तर्राष्ट्रिय हवाई उडानको विस्तार र सहरको सरसफाइ तथा ट्राफिक व्यवस्थापन अनि चार्टर विमानका लागि सहज सुविधा दिन जरुरी हुन्छ ।
जे होस्, यस्तो ब्राण्डले काम थालेपछि नेपालमा हाइइन्ड टुरिस्टहरु ल्याउन के गर्ने भन्नेबारे बहस सुरु हुनेछ । व्यवसायिक क्षेत्रले नीतिगत सुधारको पहल थाल्नेछन् । सरकारले पनि त्यसअनुसारका नीति नियमहरु बनाउन थाल्नेछ ।
समग्रमा यो होटलले काठमाडौंमा खचार्लु पर्यटक मात्रै बढाउने हैन, यस्ता पर्यटकको अनुभवलाई पनि विश्वमाझ पुर्याउन सहयोग गर्नेछ । यसले भविष्यमा नेपाल महंगो खर्च गर्न रमाउने पर्यटकको पनि रोजाइको गन्तब्य बन्नसक्छ ।
सुरु हुँदैछ जनकपुर–अयोध्या सीधा रेल सेवा, नेपाललाई के फाइदा ?
ग्यास पाइलाइन र भण्डारण केन्द्रको ३० अर्बको प्रोजेक्ट
सरकार नै ढाल्ने त्यो आईजीपी प्रकरण
पोखराको बाटोमा पहिलो चार लेनको सिग्नेचर पुल



-1793372443.jpeg)

-1793700912.jpeg)


