सुरु हुँदैछ जनकपुर–अयोध्या सीधा रेल सेवा, नेपाललाई के फाइदा ?
भारतको अयोध्याबाट सिधै रेल चढेर जनकपुरको यात्रा, अनि जनकपुरबाट अयोध्या ।
भारतले रेल चलाएरै प्राविधिक परीक्षण पनि गरिसक्यो, रुट तय भइसक्यो, अब प्रधामनन्त्रीको भारत भ्रमणको प्रतीक्षा छ ।
मंसिर ६ गतेदेखि हुने प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवा औपचारिक रुपमा सुरु हुनेछ ।
जनकपुरमा सन् १९३७ मा रेल समेत आएको थियो । जयनगरदेखि जनकपुरसम्म सञ्चालनमा आएको रेलले सुरुमा मालसामान र काठ बोक्थ्यो । विस्तारै यात्रु पनि बोक्न थाल्यो ।
यो त्यस्तो समय थियो, जतिबेला सडक यातायात आजको जस्तो विकासित थिएन । भारतको बजाररसँग जोडिएको र आवतजावत गर्न रेल चलेका कारण जनकपुर व्यापारिक केन्द्र जस्तै बन्यो ।
सन् १९६५ मा चुरोट कारखाना समेत खुलेपछि जनकपुर औद्योगिक रुपमा समेत अरु भन्दा अगाडि रह्यो । तर जब पूर्व पश्चिम राजमार्गको निर्माण सुरु भयो, नेपालको आर्थिक गतिविधिको स्वरुप नै बदलियो । राजमार्ग आसपासमा नयाँ बजार बने, उद्योग र व्यापारका लागि पनि नयाँ सम्भावना खोल्यो ।
तर समयक्रममा जनकपुर जसरी विकासित हुनुपथ्र्यो, त्यो हुन सकेन । समय–समयमा प्राविधिक कारणले जनकपुरमा भने रेल पनि चलेन । खुलेका कारखाना पनि बन्द भयो । जनकपुरको विकासले गति लिनै सकेन ।
झन् २०६३ को मधेश आन्दोलन र सशस्त्र समूहका गतिविधिले जनकपुरलाई राजनीतिक, जातीय र भाषिक रुपमा गिजोलिदियो । जनकपुरबाट पहिलो चरणमा ठूलो पहाडी समुदाय विस्थापित भए, अर्को चरणमा मधेसी समुदायकै हुनेखाने काठमाडौं बस्न थाले । त्यसैले जनकपुर अरु शहरको तुलनामा विकासमा पछाडि परेको थियो ।
पछिल्लो समय मधेश प्रदेशको राजधानी बनेपछि सडक फराकिला भए, पूर्व–पश्चिम राजमार्ग जाड्ने ६ लेनको सडक बन्यो । विमानस्थलको नयाँ टर्मिनल बन्यो, रेल पनि न्यारोगेजबाट ब्रोडगेजमा अपग्रेड भयो । अब सुरु हुन लागेको जनकपुरदेखि अयोध्यासम्मको सिधा रेल सेवाले गतिलो आर्थिक अवसर जुटाउन सक्छ ।
रामायणको साइनो
धार्मिक ग्रन्थ रामायणका अनुसार अयोध्या रामको जन्मभूमि हो भने जनकपुर उनकी पत्नी सीताको । त्यसैले नेपाल र भारतका दुई शहरको सम्बन्ध धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छ ।
अब रेलमार्गबाट अझ नजिक ल्याउन खोजिएको छ । त्यो हो, अयोध्याबाट जनकपुर सिधा रेल सेवा ।
गएको असारमा काठमाडौंमा बसेको नेपाल–भारत रेलवेसम्बन्धी संयुक्त बैठकमा जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवाका लागि आवश्यक स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युरबारे छलफल भएको थियो । त्यसपछि दुवै देशका रेलवे, भन्सार, अध्यागमन र सुरक्षा अधिकारीहरूबीच छलफल भयो ।
गत कात्तिक १९मा दुईवटा इन्जिनसहित १७ डिब्बाको भारतीय विशेष रेल जयनगरबाट जनकपुरको कुर्थासम्म आइपुग्यो । अब रेल कुन–कुन दिन चल्छ, कुन रुट भएर जान्छ भन्ने पनि टुंगो लागेको छ ।
भारतीय रेल मन्त्रालयका अनुसार रेल हरेक शनिबार जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ । सोमबार अयोध्याबाट जनकपुर फर्किने छ । करिव ६०४ किलोमिटर लामो रेलमार्ग विहार र उत्तर प्रदेशका शहरहरु भएर जानेछ । टर्मिनल स्टेशनहरु बाहेक जयनगर, मधुवनी, शिशु, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मानकापुर र अयोध्यामा बिसौनीहरु हुनेछन् ।
रेल सेवा सञ्चालनसँगै जनकपुर र अयोध्याको धार्मिक यात्रा सहज हुनेछ । सँगै स्थानीय अर्थतन्त्रलाई पनि लाभ हुनेछ ।
किनकी उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा भएपछि धार्मिक पर्यटकको आकर्षण बढेको छ । उत्तर प्रदेश सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा अयोध्यामा ५ करोड ७६ लाखभन्दा बढी पर्यटक पुगेका थिए । सन् २०२४ मा यो संख्या बढेर करिब १६ करोड ४४ लाख पुग्यो भने सन् २०२५ मा झण्डै ३० करोड पर्यटकले अयोध्याको भ्रमण गरेका छन् ।
सिधा रेल सेवा सञ्चालनसँगै ठूलो संख्यामा पर्यटक जनकपुरसम्म आउने अपेक्षा गरिएको छ ।
त्यही सम्भावनालाई हेरेर सिधा बस सेवा सञ्चालन गरिएको थियो । २०७५ साल वैशाखमा जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका थिए, मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर अयोध्या सिधा बस सेवा उद्घाटन गरेका थिए । तर रुट, भाडा, बस स्टप लगायतका विषय टुंगो नलागेका कारण बस सेवाले निरन्तरता पाउन सकेन ।
यसपटक भने धेरै विषय अहिले नै टुंगिएकाले रेल सेवा नियमित रपमा सञ्चालन हुने अपेक्षा राखिएको छ । जनकपुरको पर्यटनसँगै आर्थिक–सामाजिक विकासमा योगदान पुर्याउने नेपाली पक्षको अपेक्षा छ ।
किनकी जनकपुरमा धार्मिक पर्यटन बढ्नु भनेको केबल मन्दिरमा आउने भक्तजनको संख्या मात्र बढ्नु होइन ।
आर्थिक गतिविधि पनि बढ्छ । जनकपुर आउने पर्यटकले होटलमा कोठा लिन्छन् । रेस्टुरेन्टमा खाना खान्छन् । ट्याक्सी वा स्थानीय यातायातका साधान प्रयोग गर्छन् । धार्मिक सामग्री किन्छन् । मिथिला चित्रकला र स्थानीय हस्तकलाका सामग्री खरिद गर्छन् । यसरी पर्यटकले गर्ने खर्च धेरै व्यवसायसम्म पुग्न सक्छ । स्थानीय स्तरमा रोजगारीका अवसरहरु समेत सिर्जना हुन्छन् ।
अनि नेपालीहरुलाई जनकपुरबाट सिधै भारतीय मूल रेल्वे नेटवर्कमा प्रवेश गर्न पनि यो सेवाले सहयोग गर्नेछ । काठमाडौं र पोखराबाट जनकपुरमा आएर रेल चढेर भारतका शहरहरुसम्म पुग्न सकिने छ । यसले जनकपुरमा थप आर्थिक गतिविधि बढाउनेछ ।
तर रेल सेवालाई नियमित, सुरक्षित र आर्थिक रुपमा उपयोगी बनाइराख्नु पनि त्यतिकै चुनौतीपूर्ण हुनेछ ।
अहिले पनि जनकपुर जयनगर रेल दैनिक चल्छ । तर स्थानीयका अनुसार जनकपुर रेल स्टेशनको अवस्था सन्तोषजनक छैन । रेल चढ्ने र ओर्लिने यात्रीहरुका लागि सहज व्यवस्था गर्नुपर्छ, यात्रु प्रतीक्षालयमा खानेपानी, शौचालय उचित प्रबन्ध गर्नुपर्नेछ । रेल–वे क्रसिङमा दैनिक जसो सडक दुर्घटना हुने गरेको छ । त्यहाँ छेकबारका लागि आवश्यक प्रबन्ध गर्नुपर्नेछ ।
रेलसेवालाई सम्भाव्य बनाउन मालबाहक बग्गी पनि चलाउनेतर्फ ध्यान दिनुपर्ने स्थानीय व्यापारीहरु बताउँछन् । उनीहरुका अनुसार अहिले पनि भारतबाट आलु, प्याज, चामलदेखि कोइलासम्म आउँछ । सडकबाट भन्दा रेलबाट ढुवानी गर्ने हो भने लागत किनै घट्छ, यसले उपभोक्तालाई अहिलेभन्दा कम मूल्यमै सामान पाउँछन् भने रेल कम्पनीलाई पनि धेरथोर आम्दानी हुन्छ ।
जनकपुर मन्दिरै मन्दिर र पोखरी तलाउले भरिएको शहर हो । राम मन्दिर, राजदेवी मन्दिर, जनक मन्दिर, संकचकोट मन्दिर लगायतका ऐतिहासिक तथा पुरातात्विक संरचनाहरु उचित संरक्षण तथा प्रवर्द्धन हुन सकेको छैन ।
गंगासागर, धनुषसागर, रत्नसागर, विहार कुण्ड लगायतका ऐतिहासिक पोखरीहरु छन्, त्यसको संरक्षणसँगै प्रवद्र्धन गर्न जरुरी छ । अतिक्रमित संरचनाहरु हटाएर यसको प्रवद्र्धन गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारले मिलेर काम गर्नुपर्ने हुन्छ ।
जानकी मन्दिर विश्व सम्पदा सूचीमा पर्न सकेको छैन । यसका लागि पनि संघीय सरकारले पहल गर्न जरुरी छ ।
अहिले पनि जनकपुरमा भन्सार कार्यालय छैन । त्यहाँबाट करिव १५ किलोमिटर टाढा जटहीमा छ । भन्सार कार्यालय नभएकै कारण आफ्नै सवारी साधनमा आएका पर्यटकहरुले अनावश्यक हैरानी खेप्नु परेको छ ।
त्यसैले पर्यटकका लागि सहज अध्यागमन सुविधाका लागि आवश्यक कार्यलयहरुको जनकपुरमै प्रबन्ध गर्न जरुरी छ । पर्यटकहरुको सुरक्षामा पनि उत्तिकै ध्यान दिन जरुरी छ । ताकि जानकी मन्दिरको दर्शन गरेर फर्किने पर्यटकलाई जनकपुरमै थप समय बिताउन प्रेरित गर्न सकियोस् ।
पछिल्लो समय जनकपुरमा धेरै होटलहरु खुलेका छन् । चार तारे होटलहरु प्रशस्तै छन् भने ४/५ वटा फाइभ स्टार होटलहरु बन्ने क्रममा छ । अबको एक वर्षभित्र जनकपुर क्षेत्रमा स्तरीय होटलको कुनै कमी नहुने उद्योग वाणिज्य संघ, जनकपुरको निवर्तमान अध्यक्ष जितेन्द्र महासेठ बताउँछन् । उनी भन्छन्, ‘पर्यटन जति बढ्यो, त्यति लगानी गर्न निजी क्षेत्र तयार छ । सरकारले सहज वातावरण भने बनाइदिनुपर्छ ।’
जनकपुरका वरिष्ठ पत्रकार राजेश कर्ण पनि राम्ररी व्यवस्थापन गर्न सके अयोध्याबाट हजारौं पर्यटक जनकपुर आउनसक्ने देख्छन् । तर त्यसका लागि नेपाल र भारत दुबै पक्षले मिलेर काम गर्नुपर्छ, अनि अयोध्या केन्द्रित प्रचार प्रचार गर्नुपर्छ । त्यसो भएमा जनकपुरको अर्थतन्त्र पनि फस्टाउने छ ।
जनकपुरधाम–अयोध्या रेलसेवाको सफलता पनि दुई सहर जोडिनु मात्रै होइन, धार्मिक सम्बन्धलाई आर्थिक अवसरमा बदल्नुमा हुनेछ ।
नेपालको सबैभन्दा लक्जरियस होटल, कसले बनायो १५ अर्बको प्रोपर्टी ?
ग्यास पाइलाइन र भण्डारण केन्द्रको ३० अर्बको प्रोजेक्ट
सरकार नै ढाल्ने त्यो आईजीपी प्रकरण
पोखराको बाटोमा पहिलो चार लेनको सिग्नेचर पुल



-1793372443.jpeg)

-1793700912.jpeg)


