भैरहवा एयर रुटको नालीबेली : कति फाइदा, किन जोखिम ?
भारत नेपाललाई भैरहवाबाट नयाँ एयर इन्ट्री प्वाइन्ट दिन सहमत भयो । यसलाई सरकारले निकै ठूलो सफलता भनेको छ ।
खासमा नेपालको महेन्द्रनगरमा थियो, तर भारतले भैरहवा भनेर सरप्राइज दियो ।
जे होस्, एक दशक लामो पहलपछि बल्ल पश्चिम नेपालबाट रुट पाउने अवस्था बनेको छ । त्यसैले उपलब्धि नै मान्नुपर्छ ।
तर अझै नयाँ एयर रुट पाइयो भनेर उत्साहित हुने बेला भइसकेको छैन । किनकी प्राविधिक तहमा भारतसँग जटिल र महत्वपूर्ण सहमति हुनै बाँकी छ । ती प्राविधिक विषयले मात्रै नयाँ एयर रुटको औचित्य पुष्टि गर्ने छ ।
के हो एयर रुट र इन्ट्री प्वाइन्ट ?
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको आसपासमा एयर रुट र एयर इन्ट्री रुटको चर्चा धेरै नै भयो ।
जमिनमा हामी सडक, राजमार्ग र चोक देख्छौं, आकाशमा त्यस्तो बाटो हुने कुरै भएन । तर पाइलट र एयर ट्राफिक कन्ट्रोलरका लागि आकाशमा पनि तोकिएको हवाई मार्गहरु हुन्छन्, जसलाई एयर रुट वा एयरवेज भनिन्छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार आकाशलाई विभिन्न उचाइ र दिशामा विभाजन गरिएको हुन्छ । हरेक हवाई मार्गको एउटा निश्चित कोड वा नाम हुन्छ, जस्तै बी ३४५ ।
यो रुट कुन दिशामा जाने हो ? कुन उचाइमा उड्न मिल्ने हो ? र, यो कुन रेडियो वा स्याटेलाइट नेभिगेसन प्रणालीमा आधारित छ भन्ने कुरा नक्सा र उडान प्रणालीमा स्पष्ट तोकिएको हुन्छ ।
त्यसैले हवाइजहाजहरु उड्ने बाटो नै एयर रुट हो भनेर बुझ्दा हुन्छ ।
इन्ट्री प्वाइन्ट भनेको चाहिँ के हो त ? जब कुनै जहाज एउटा देशको फ्लाइट इन्फर्मेसन रिजन (एफआईआर) अर्थात् उडान सूचना क्षेत्रबाट अर्को देशको एफआईआरमा प्रवेश गर्छ, तब उसले एउटा तोकिएको भौगोलिक बिन्दु पार गर्नुपर्छ । त्यसैलाई एयर इन्ट्री प्वाइन्ट वा हवाइ प्रवेश विन्दु भनिन्छ ।
यसलाई सजिलो उदाहरणबाट बुझौं । मानौं वीरगञ्ज नाका भएर कुनै विदेशी नागरिक नेपाल छिर्दैछ, उसले वीरगञ्ज सीमाको अरु कुनै खुला क्षेत्र भए नेपाल पस्छु भन्यो भने पाउँदैन, उसले वीरगञ्जको अध्यागमन कार्यालय रहेको नाका क्षेत्र भएर मात्रै नेपाल छिर्न पाउँछ ।
हवाई उडानमा पनि एउटा देशको आकाशबाट अर्को देशको आकाशमा छिर्दा तोकिएको इन्ट्री प्वाइन्टबाटै छिर्नुपर्छ र त्यहीँबाट त्यो विमानको कन्ट्रोल ह्यान्डओभर हुन्छ ।
एयर रुटहरु पनि वान वे र टू वे हुन्छन् ।
एकतर्फी अर्थात् युनिडिरेक्सनल रुटमा जहाजहरु एउटा दिशामा मात्र उड्न पाउँछन् । जस्तै, हाल नेपालका लागि जनकपुर, भैरहवा, महेन्द्रनगर, विराटनगर, काँकडभिट्टा रुट । नेपालबाट बाहिर जाने जहाज यो रुटबाट जान सक्छन् । तर बाहिरबाट नेपाल भित्रिने जहाजले यही बाटो सिधै प्रयोग गर्न पाउँदैनन् ।
विदेशी जहाज नेपाल प्रवेश गर्ने तीन इन्ट्री प्वाइन्ट छन् । भुटानको जहाज मेची–तुम्लिङटार र चीनको विमान सगरमाथा क्षेत्रबाट भित्रिन्छन् ।
अनि दुईतर्फी अर्थात् बाइडिरेक्सनल रुटमा दुवै दिशाबाट जहाज आउजाउ गर्न सक्छन् । नेपालमा सिमरा, तुम्लिङटार र सगरमाथा नै बाइडिरक्सेनल रुट हुन् ।
यस्ता दुईतर्फी रुटमा सुरक्षाका लागि वा जहाजहरु ठोक्किन नदिन भर्टिकल सेपरेसन अर्थात् उचाइको अन्तर र होरिजेन्टल/लंगिच्युडनल सेपरेसन कडाइका साथ कायम गरिन्छ । सामान्यतया पूर्व–पश्चिम वा उत्तर–दक्षिण दिशाअनुसार अड र इभन गरेर फ्लाइट लेभल छुट्याइएको हुन्छ ।
नेपालको हवाइ आकाशमा लामो समयदेखि एउटा असन्तुलन छ । पश्चिम, मध्यपूर्व, युरोप वा भारतका कतिपय सहरबाट आउने जहाजहरु सिधा पश्चिम वा दक्षिण–पश्चिमबाट नेपाल पस्न पाएको भए उडान समय र दूरी धेरै छोटो हुन्थ्यो ।
तर नेपाल भित्रिने करिब ९० प्रतिशत उडानहरु सिमराबाट नै नेपाल छिर्नुपर्न बाध्यता छ । सिधा आउन सकिने ठाउँमा घुमेर आउनुपर्दा जहाजले अतिरिक्त दूरी तय गर्नु परिरहेको छ ।
यसले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा एयर ट्राफिक बढाएको छ । एउटै प्रवेश विन्दुमा धेरै उडानको चाप पर्दा होल्डिङ अर्थात् आकाशमै फन्को लगाउनुपर्ने अवस्था पनि छ ।
आकाशमा धेरै उड्दा हवाई इन्धन पनि बढी खपत हुने भइहाल्यो । सँगै नेपालको सिमराको आकाशमा सधैं जहाजको भीड लाग्छ ।
यसका साथै भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । यो विमानस्थल लुम्बिनीजस्तो विश्वप्रसिद्ध बौद्ध तीर्थस्थलको प्रवेशद्वार मात्र होइन, पश्चिमी तथा मध्य नेपालको ठूलो जनसंख्यालाई सेवा दिन सक्ने महत्वपूर्ण पूर्वाधार पनि हो ।
तर अन्तर्राष्ट्रिय उडानहरुलाई आकर्षित गर्न र नियमित राख्न आवश्यक पर्ने सहज हवाई प्रवेश मार्गको अभाव छ । अनि पोखरामा बनेको विमानस्थलका लागि पनि पश्चिम नेपालबाट सहज हवाई प्रवेश विन्दु र एयर रुट चाहिएकै छ । त्यसैले पछिल्ला वर्षमा नेपालबाट हुने उच्चस्तरीय भारत भ्रमणमा एयर रुट एजेण्डा बन्थ्यो । तर भारतले अनेक बहना बनाएर रुट दिन मान्दैनथ्यो ।
तर, यसपटक ब्रेक थ्रु भयो । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भैरहवा हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ । संयुक्त वक्तव्यमै यो सहमतिबारे उल्लेख गरिएको छ ।
यसको मतलब हो, अहिले नेपालबाट भैरहवा हुँदै ाहिरिन विमानले प्रयोग गर्ने एयर रुट सिमरा जस्तै भित्रिने विमानका लागि पनि प्रयोग गर्ने ।
यो एयर रुटको नाम ‘बी ३४५’ हो । यो काठमाडौं–भैरहवा–लखनऊ रुट हो । अहिलेसम्म एकतर्फी रुपमा मात्र प्रयोग भइरहेको यो रुटलाई दुवैतर्फ सञ्चालन गर्ने सहमतिले नेपालको उड्डयन क्षेत्रमा नयाँ आशा जगाएको छ ।
तर महत्वपूर्ण कुरा, कूटनीतिक वक्तव्यमा लेखिँदैमा एयर रुट तुरुन्तै खुल्दैन । अर्थात् अब भटाभट विमान उड्न पाउँछन् भन्ने होइन ।
एयर ट्राफिक कन्ट्रोल, फ्लाइट लेभल, अप्रोच प्रोसिड्युर, नेभिगेसन एड्स र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) का कडा नियमका विभिन्न विषयहरु छिनोफानो हुन बाँकी छ ।
भैरहवालाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिमै रुट तय गर्न आवश्यक कार्यविधि र प्रक्रिया टुंग्याउन तथा नागरिक उड्डयनका अन्य विचाराधीन विषयमा प्राविधिक छलफल गर्ने सहमतिमा उल्लेख छ ।
यसको मतलब, यो भारतको लखनऊ क्षेत्र हुँदै भैरहवाको हवाई प्रवेश विन्दुबाट अन्तर्राष्ट्रिय जहाजहरु नेपाल प्रवेश गर्ने बाटो खोल्ने राजनीतिक सहमति मात्रै हो ।
यो सहमति किन आशा जगाउने खालको भयो भने भैरहवा बिन्दुबाट जहाजहरु अहिले नै बाहिरिने गरेका छन् । त्यसैले त्यहाँको भौगोलिक अवस्था, राडार, सञ्चार सम्पर्क र आधारभूत उडान तथ्यांकहरु शून्यबाट सुरु गर्नुपर्ने अवस्था छैन । तर, बाहिरिने रुट र भित्रिने प्रवेश विन्दुको सञ्चालन प्रक्रियामा फरक प्राविधिक आवश्यकता हुन्छन्, जसलाई मिलाउन भने बाँकी छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुका अनुसार यदि यो रुट प्राविधिक रुपमा सहज र व्यवहारिक सर्तसहित सञ्चालनमा आयो भने नेपाललाई बहुआयामिक फाइदा पुग्न सक्छ ।
जहाज इन्ट्रीका लागि सिमरा पुग्न नपर्ने भएकाले काठमाडौं आउँदा लाग्ने १७ देखि २० मिनेट समय वचत हुन्छ । पोखरा पुग्न झन्डै १४ देखि १७ मिनेट समय कम लाग्छ । अनि भैरहवा विमानस्थलका लागि त झण्डै सिमारा पुगेर भैरहवा फर्किन लानग्ने करिब २५ मिनेट समय जोगिन्छ ।
उड्डयन सेक्टरमा १७, २० वा २५ मिनेट भनेको छोटो समय होइन । लामो वा मध्यम दूरीको उडानमा हरेक मिनेटले ब्लक आवर अर्थात् जहाज पार्किङबाट गुडेर अर्को विमानस्थलको पार्किङमा नरोकिउन्जेलको कुल समय घटाउँछ ।
ब्लक आवर घट्दा जहाजको छिटो टर्नअराउन्ड हुन्छ । पाइलट र क्रुको ड्युटी समयको व्यवस्थापन सजिलो हुन्छ । अनि इन्धन खर्च कटौती हुन्छ । विमानमा इन्धन खर्च घट्यो भने त्यसको लाभ कम्पनीलाई मात्र होइन, यात्रुसम्म पुग्छ ।
विशेषगरी ठूला वा न्यारोबडी/वाइडबडी जेट जहाजहरुमा समय बचत हुँदा सञ्चालन लागतमा उल्लेखनीय फरक पर्छ । त्यसको सकारात्मक प्रभाव हवाई भाडादरमा पनि पर्न सक्छ । यात्रुहरुले सस्तो र छिटो यात्रा गर्न पाए भने हवाई यात्रा अझ सुलभ बन्नसक्छ ।
अनि भैरहवा रुट खुले पनि यसको लाभ नेपालको तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलले उठाउन पाउँछन् । खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने धेरै विमानले वैकल्पिक प्रवेश मार्ग पाउँछन् । यसले एयर ट्राफिक व्यवस्थापन गर्न र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको तालिका मिलाउन सहज हुन्छ ।
तर, भैरहवा विमानस्थलका लागि भारतले दिने एयर रुट कति उपयोगी हुन्छ भन्ने प्रश्न बाँकी छ । किनकी अहिलेसम्म भैरहवाबाट रुट दिने सहमति मात्रै भएको हो, प्राविधिक रुपमा भारतले दिने रुटको फ्लाइट लेभल टुंगो लाग्न बाँकी छ ।
यही कुरामा यो रुटको सन्दर्भिकता बढी जाँच हुनेछ । किनकी कुनै पनि जहाज ३५ हजार भन्दा माथिको उच्च फ्लाइट लेभलमा उडिरहेको हुन्छ । जब त्यो जहाज अवतरण गर्ने विमानस्थल नजिक आउँछ, विस्तारै उचाइ घटाउँदै तल झर्नुपर्छ । यसलाई डिसेन्ट भनिन्छ ।
जहाजलाई एकैपटक ठाडो तल झार्न मिल्दैन, निश्चित दूरी र कोणमा विस्तारै उचाइ घटाउनुपर्छ । भैरहवा विमानस्थल त नेपाल भारत सीमा क्षेत्रमै छ ।
त्यसैले पश्चिम रुटबाट आएर भैरहवा विमानस्थलमा अवतरण गर्ने विमानले भारतको आकाशमै धेरै उचाइ घटाउन पाउनुपर्छ । जहाज भैरहवाको प्रवेश विन्दुसम्म आइपुग्दासम्म उसले धेरै उचाइ घटाइसकेको हुनुपर्छ ।
तर, भारतले आफ्नो आकाशमा उचाइ घटाउन नपाउने र हाइ लेभलमै विमान नेपाल छिराउनुपर्ने शर्त राख्यो भने के हुन्छ ? त्यसो हुँदा जहाज भैरहवा छिर्दा पनि धेरै माथि हुनेछ ।
भैरहवामा अवतरण गर्न होस् वा पोखरा/काठमाडौं जान होस्, नेपाली आकाशभित्रै थप दूरी तय गर्दै वा फन्को मार्दै उचाइ घटाउनुपर्ने हुन्छ । यस्तो हुँदा नयाँ रुटबाट पाउने भनिएको समय र इन्धनको बचतको लाभ अपेक्षाअनुसार नपाइने सम्भावना हुन्छ ।
भैरहवाको हकमा हेर्ने हो भने पहाडी क्षेत्र वरपर उचाइ घटाउँदै फन्को लगाउनु सुरक्षाका हिसावले पनि उचित हुँदैन ।
त्यसर्थ फ्लाइट लेभल हाइ नै राख्ने शर्त भारतले राख्यो भने रुटको व्यावहारिक उपयोगिता सीमित बन्न सक्छ । यदि प्राविधिक छलफलमा जहाजको उचाइमा अनावश्यक बन्देज नराखी व्यावहारिक रुपमा कम गरेर नेपाली आकाशमा प्रवेश गर्न पाउने व्यवस्था मिलाइयो भने जहाजले सिधै सहज अप्रोच र डिसेन्ट पाउँछ ।
यसबाटै भैरहवा, पोखरा र काठमाडौं जाने उडानहरुलाई वास्तविक फाइदा पुग्छ । यसले भैरहवा विमानस्थल चलाउन सहयोग पुग्छ । किनकी सिधा र छोटो प्रवेश मार्ग पाएपछि एयरलाइन्सहरुलाई भैरहवामा उडान भर्न थप प्रोत्साहन मिल्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री कम्तीमा भैरहवाबाट छिर्ने विमानले भारतीय आकाशमा २० हजार फिटसम्म उड्न पाउने अवस्था भयो भने सहज हुने बताउँछन् ।
उनका अनुसार भारतीय आकाशमा फ्लाइट लेभल हाइ राखेर भैरहवा रुट खोलियो भने त्यसबाट नेपालले पर्याप्त लाभ लिनसक्दैन ।
त्यसैले एयर रुटका लागि कूटनीतिक तहमा सहमति हुनु पहिलो खुड्किलो पास हुनु हो । अब भारतीय र नेपाली उड्डयन अधिकारीहरुबीच जहाज कुन बिन्दु र कुन उचाइमा हस्तान्तरण गर्ने भन्ने विषयमा स्पष्ट प्राविधिक सहमति हुनुपर्छ ।
सञ्चार फ्रिक्वेन्सी, समन्वय प्रक्रिया र आपतकालीन अवस्थाको व्यवस्थापन प्रक्रिया पनि यसैमा तय हुन्छ । दुवै देशका प्राविधिक टोलीले आवश्यक कार्यविधि तयार पार्छन् र दुवै पक्षबीच औपचारिक सहमतिपत्रमा हस्ताक्षर हुन्छ ।
दुई देशबीच प्राविधिक विषय टुंगिएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) लाई जानकारी गराउनुपर्ने हुन्छ, ताकि विश्वव्यापी एभियसन नक्सा र नियमअनुसार रुटको स्थिति अपडेट होस् ।
त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रिफ्लाइट इन्फर्मेसन बुलेटिन वा सम्बन्धित एरोनटिकल सूचना प्रकाशित गरेपछि मात्र नयाँ रुट औपचारिक रूपमा सञ्चालनमा आउँछ । त्यसपछि मात्र एयरलाइन्सहरुले आफ्नो फ्लाइट प्लानमा यो रुट राखेर नियमित उडान गर्न सक्छन् ।
यहाँ सबैले बुझ्नुपर्ने कुरा के हो भने यो एयर रुटबारे प्राविधिक सहमतिहरु भएर नेपाललाई पायक पर्ने गरी यसको सञ्चालन गर्ने कुरा बढी महत्वपूर्ण छ । अहिलेको राजनीतिक सहमतिले मात्रै यसको टुंगो लागेको हैन ।
अनि यो रुटको टुंगो लगाउँदा भैरहवा विमानस्थलमा जडान भएको इन्स्ट्रूमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) पनि मुद्दा बन्नुपर्ने अवस्था छ ।
आईएलएस भनेको जहाजलाई कम भिजिबिलिटीमा पनि रनवेमा सुरक्षित रूपमा अवतरण गराउन सघाउने भरपर्दो ग्राउन्ड–बेस्ड नेभिगेसन प्रणाली हो ।
जब बाहिर बाक्लो हुस्सु लाग्छ र, पाइलटले आँखाले रनवे स्पष्ट देख्न सक्दैनन् त्यतिबेला आईएलले जहाजलाई सुरक्षित रुपमा जहाज अवतरण गर्न गाइडलाइन दिन्छ ।
यो प्रणाली भैरहवा विमानस्थलमा जडान गर्ने हो भने त्यसको फ्रिक्वेन्सी भारतीय क्षेत्रमा पनि पुगेको छ । त्यही कारण देखाएर भारतले अहिलेसम्म आईएलएस चलाउन सहमति दिएको छैन । त्यसैले अब यो विषयमा पनि स्पष्ट प्राविधिक सहमति आवश्यक छ ।
उड्डयन प्राधिकरण्का पूर्वामहानिर्देशक राजकुमार क्षेत्रीकाअनुसार भैरहवा क्षेत्रमा जाडो याममा लाग्ने बाक्लो हुस्सुका कारण हुने उडान रद्द वा डाइभर्सनको समस्या घटाउन यसले ठूलो भूमिका खेल्न सक्छ ।
यसका लागि भारतसँग दरिलो प्राविधिक तयारीसहित नेपाली पक्ष प्रस्तुत हुनसक्नुपर्छ । अनि राजनीतिक तबरमा पनि यो सहमतिलाई कार्यान्वयन गर्न आवश्कय थप प्राविधिक सहमति र तयारीका लागि भारतसँग कुरा गरिरहनुपर्छ ।
किनकी यसअघि २०७५ सालमा पनि भारतले विराटनगर र जनकपुर हुँदै काठमाडौंका लागि हवाईमार्ग खोल्न सैद्धान्तिक सहमति जनाएको थियो ।
क्रसबोर्डर उडानका लागि महेन्द्रनगर प्रवेश विन्दु खुला गर्ने विषयमा पनि समेत सहमति बनेको थियो । तर, ती सहमति प्राविधिक तहमा अघि बढ्न सकेनन् र व्यवहारमा लागू भएनन् । त्यसैले सहमति भयो भन्नेबित्तिकै तुरुन्तै कार्यान्वयन हुन्छ भन्नेमा आशंका छ ।
समग्रमा भन्दा नेपालले भैरहवाभन्दा पनि महेन्द्रनगरको हवाई प्रवेश विन्दुलाई दुईतर्फी बनाउने विषयलाई बढी प्राथमिकताका साथ उठाउँदै आएको हो । तर, भारतले भैरहवामा सहमति जनाएको छ ।
अब भैरहवा हवाइ रुटलाई दुईतर्फी बनाउन र प्रवेश विन्दुलाई नेपाल अनुकुल वा व्यवहारिक बनाउन पनि धेरै काम गर्नुपर्ने छ । नत्र विगतका सहमति जस्तै यो सहमतिमै सीमित हुने जोखिम हुन्छ ।
एमसीसी आयोजनाले ल्यायो सडकमा नौलो प्रविधि
भैरहवा बोर्डरमा साढे २ अर्बको अत्याधुनिक पूर्वाधार, हटाउनेछ भन्सारको कचिङ्गल
निजी क्षेत्रकै ठूलो जलविद्युत परियोजना, महिलाको नेतृत्वमा कसरी बन्दैछ ?
एनसेलले आईपीओ ल्याउला ? निर्णय सरकारको हातमा



-1793372443.jpeg)

-1793700912.jpeg)



