नेभिगेशन
अर्थ

निजी क्षेत्रकै ठूलो जलविद्युत परियोजना, महिलाको नेतृत्वमा कसरी बन्दैछ ?

कर्णालीको कालीकोटमा एउटा यस्तो जलविद्युत् आयोजना बन्दैछ, जुन नेपालको निजी क्षेत्रले बनाउने सबैभन्दा ठूलो प्रोजेक्ट हो । 

तीला–१ जलविद्युत् आयोजना । यो आयोजनाको महत्व यसकारण पनि धेरै छ कि, यसले हाइड्रोपावर सेक्टरमा नेपाली निजी क्षेत्रको क्षमतामा नयाँ मानक स्थापित गर्दैछ ।

नेपालका नदीनालाबाट ४ हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन भइसकेको छ । तर बिडम्बना, कर्णाली र सुदूरपश्चिमममा ठूला आयोजना बन्न सकेका छैनन् । 

सम्भावना नभएर हैन । एक त, कर्णाली र सुदूरपश्चिम राज्यकै प्राथमिकतामा पनि पर्न सकेनन् । अर्को, दुर्गम भौगोलिक अवस्थाका कारण आयोजना बनाउन पनि कठिन छ, अनि लागत पनि धेरै पर्छ । अब त्यो दिनको अन्त्य हुँदैछ, कर्णालीमै एउटा गौरब गर्न लायक जलविद्युत आयोजनाको निर्माण सुरु भइसकेको छ । 

तिला–१ तयार भयो भने नेपालमा हालसम्म बनेका ठूला जलविद्युत् आयोजनामध्ये एक हुनेछ । नेपालमा अहिलेसम्मको ठूलो जलविद्युत आयोजना ४५६ मेगावाटको तामाकोशी हो । तर यो आयोजना सरकारी कम्पनीले बनाएको हो । तर तीला–१ सरकारले होइन, निजी क्षेत्रले बनाउँदैछ । 

तीला–१ आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रोजेक्ट होइन । ६ घण्टासम्म जलासयमा जम्मा पारेर बढी विजुली चाहिएका बेला चलाउन सकिने पिकिङ रन अफ दि रिभर (पीआरओआर) प्रविधिको हो । 

तिला–१ को निर्माण गर्दैछ, एससी पावर कम्पनीले । यो परियोजनाको कार्यकारी तथा रणनीतिक नेतृत्व सुशन कर्माचार्यले सम्हालेकी छिन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) की उपाध्यक्ष हुन् । ४४० मेगावाटको मेगा प्रोजेक्टको नेतृत्व एक महिलाले गर्दैछिन् । जुन नेपालका लागि गर्वको विषय पनि हुनसक्छ । 

यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन अर्थात् डीपीआर एसएनसी लावलिन इन्जिनियरिङ इन्डियाले तयार पारेको हो । पहाडी क्षेत्रको भौगर्भिक जटिलता, भूकम्पीय जोखिम र उच्च जलप्रवाहको अवस्थालाई सूक्ष्म रुपमा विश्लेषण गरी यसको डिजाइन गरिएको छ । 

परियोजनाको अनुमानित लागत करिब ५९ अर्ब ४० करोड रुपैयाँ  छ । यो आयोजनाका लागि गत भदौमा १३ वटा बैंकहरुले ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन अर्थात् फाइनानिन्सयल क्लोजर भइसकेको छ । 

यो कन्सोर्टियमको नेतृत्व एनएमबी बैंकले गरेको छ । एनएमबी बैंकले १० अर्ब, ग्लोबल आइएमई बैंकले ७ अर्ब, हिमालयन बैंक र प्रभु बैंकले ५–५ अर्ब, नबिल बैंकले ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् । बाँकी ऋण अन्य बैंकहरुको रहनेछ । 

बैंक ऋण बाहेकको १४ अर्ब ८५ करोड रुपैयाँ प्रवद्र्धक कम्पनी आफैंले लगानी गर्नेछ । लामो समयको अध्ययन, अनुमति र लगानी व्यवस्थापनको चरण पार गर्दै आयोजना अब निर्माणको चरणमा जाँदैछ । 

आयोजनाको प्राविधिक पक्ष 

तीला कर्णाली नदी प्रणालीको प्रमुख सहायक नदी हो । यो नदीमा हिउँ पग्लेर आउने पानी र मनसुनी वर्षाको पानी दुबै मिसिन्छन् ।

जलविद्युत निकाल्न नदीमा पानीको सतही बहाव मात्र पर्याप्त हुँदैन । वर्षभरि पानीको उपलब्धता कस्तो छ ? सुख्खायाममा पानी कति घट्छ, वर्षायाममा बाढी आउँदा नदीमा कति पानी बग्छ ? र विजुली निकाल्न पानीलाई कति उचाइबाट खसाल्न सकिन्छ भन्ने प्राविधिक पक्ष धेरै महत्वपूर्ण हुन्छ । 

तीला–१ को बाँधस्थलसम्म नदीको जलाधार क्षेत्र ३ हजार ३५५ वर्ग किलोमिटर छ । यसमध्ये ३ हजार ८० वर्ग किलोमिटर वर्षामा आधारित क्षेत्र हो भने २७५ वर्ग किलोमिटर स्थायी हिउँ रेखा भएको हिमाली क्षेत्र हो । यही दोहोरो स्रोतका कारण सुख्खायाममा समेत नदीमा पानीको बहाव निरन्तर कायम रहन्छ ।

आयोजनाको बाँध तीला नदी र रुरु खोलाको दोभान भन्दा केही तल बन्नेछ । विद्युत निकाल्ने पावर हाउस भने बाँधस्थलभन्दा तल सेरीघाट गाउँ नजिक नदीको दायाँ किनारमा बन्नेछ । 

रोचक कुरा के छ भने यो आयोजनाको पावरहाउस लगायत धेरै महत्वपूर्ण संरचनाहरु सुरुङभित्र बन्नेछ । 

बाँध र पावरहाउस बीचको उचाइको अन्तर अर्थात् ग्रस हेड ५१०.५ मिटर छ । यसमा ऊर्जामूलक उचाइ अर्थात् नेट हेड ४७८.१७ मिटर छ । विद्युत आयोजनामा ४७८ मिटर नेट हेड हुनु अत्यन्तै लाभदायक मानिन्छ, किनकि यति उचाइबाट पानी खसाल्दा कम पानीबाट पनि धेरै विजुली निकाल्न सकिन्छ । 

बाँध बनाउनुभन्दा अगाडि तीलाको पानीलाई ४६२ मिटर लामो र ७.६ मिटर व्यासको सुरुङ खनेर डाइभर्सन गरिन्छ । निर्माण अवधिभर नदीको पानी यही सुरुङबाट बगाएर मुख्य बाँध निर्माणस्थललाई सुख्खा बनाइन्छ ।

त्यसपछि नदीमा ५५ मिटर अग्लो र १८२.४ मिटर लामो कंक्रिट ग्राभिटी ड्याम निर्माण गरिन्छ । बाँध बनाएपछि यो जलासयमा २३ लाख घनमिटर पानी जम्मा पार्न सकिन्छ । त्यसमध्ये १७ लाख घनमिटर पानी दैनिक ६ घण्टाको पिकिङ उत्पादनका लागि प्रयोग गर्न सकिन्छ । 

जोखिम नहोस् भनेर बाँधमा ७.७ मिटर फराकिलो र १३.५ मिटर अग्लो ७ वटा रेडियल स्पिलवे गेट जडान हुनेछन् । यी गेटबाट एक सेकेण्डमा १३ हजार ८२१ घनमिटर पानी छाड्न सकिन्छ । 

हिमालबाट बग्ने नदीहरुमा ढुंगामाटो र गेग्रान अत्यधिक बगेर आउँछन् । यस्तो पानी सिधै टर्बाइनमा पठाउँदा बालुवाले टर्बाइन छिटै बिगार्छ ।

यस्तो समस्या नहोस् भनेर भूमिगत रुपमा दुईवटा ठूला डुफोर–प्रकारका डिसिल्टिङ च्याम्बरहरु निर्माण गरिनेछ । प्रत्येक च्याम्बर २९० मिटर लामो, १२ मिटर फराकिलो र १८.८ मिटर अग्लो हुनेछ । बाँधको पानीलाई पहिला यीनै भूमिगत ट्यांकीमा जम्मा पारिनेछ । 

यी लामा भूमिगत ट्यांकीमा पुगेपछि पानीको गति निकै सुस्त हुन्छ । जसले गर्दा पानीमा रहेका बालुवा तथा ढुंगा थिग्रिन्छन् । थिग्रिएको बालुवालाई छुट्टै ‘सिल्ट फ्लसिङ टनेल’ मार्फत पुनः नदीमा पठाइन्छ भने सफा भएको पानीलाई मुख्य सुरुङतर्फ पठाइने छ । 

डिसिल्टिङ बेसिनबाट सफा पानीलाई पावरहाउसमा पुर्‍याउन पहाडभित्र १३.७७ किलोमिटर लामो हेडरेस टनेल खनिनेछ । ६ मिटर भित्री व्यास भएको यो मूल सुरुङलाई कंक्रिट लाइनिङ गरेर मजबुत बनाइनेछ । 

एकै मुखबाट कडा र पत्रे चट्टान भएको पहाडमा यति लामो सुरुङ खन्न धेरै समय लाग्छ । त्यही भएर ६ वटा अडिट टनेलहरु अर्थात सहायक सुरुङहरु खनिनेछ । अडिट टनेलबाट कामदार र ठूला मेसिनहरु मुख्य सुरुङका विभिन्न खण्डमा एकैसाथ पुर्‍याइन्छ । अनि ड्रिल र ब्लास्ट प्रविधिबाट सुरुङ खनिनेछ । यो सुरुङ नै बाँधको पानी पावरहाउससम्म पुग्ने मूल बाटो हुनेछ । 

साढे १३ किलोमिटर लामो सुरुङमा उच्च गतिमा बगिरहेको पानीलाई टर्बाइनमा अचानक रोक्नुपर्दा वा एक्कासी बहाव बढाउनुपर्दा सुरुङभित्र अत्यधिक चाप पर्छ । जसलाई इन्जिनियरिङ भाषामा ‘वाटर ह्यामर’ भनिन्छ । यसले सुरुङलाई क्षति पुर्‍याउन पनि सक्छ । 

यस्तो जोखिम नहोस् भनेर सुरुङको अन्तिम बिन्दुमा १२८ मिटर अग्लो र १० मिटर व्यासको खुला सर्ज साफ्ट अर्थात् ठाडो सुरुङ निर्माण गरिनेछ । जब टर्बाइन बन्द गरिन्छ, अतिरिक्त पानीको चाप सर्ज साफ्टभित्र माथि उठेर सन्तुलित हुन्छ । 

अनि जब टर्बाइनमा पानी पठाइन्छ, सर्ज साफ्टमा सञ्चित पानीले तत्काल आपूर्ति दिएर प्रणालीलाई सुरक्षित राख्छ ।

सर्ज साफ्ट हुँदै पानीलाई करिब ५०० मिटरको उचाइबाट तीव्र दबाबका साथ पावर हाउसमा झारिनेछ । त्यो पानीलाई ४ वटा टर्बाइनमा पठाउन ३.२५ मिटर व्यास भएका दुईवटा मुख्य भूमिगत स्टिल प्रेसर साफ्टहरु निर्माण गरिनेछन् । 

उच्च गुणस्तरको बाक्लो स्टिल प्लेटबाट बनेका यस्ता साफ्टहरु चारवटा शाखा पेनस्टक पाइपहरुमा विभाजित हुन्छन् । जसले चारवटै टर्बाइन युनिटमा समान दबाबका साथ पानी पुर्‍याउँछन् । अनि त्यसले नै टर्बाइन चलाउनेछ र विजुली निकाल्नेछ । 

सेरीघाट क्षेत्रमा पहाडभित्र चट्टान काटेर विशाल गुफा यस्तै भूमिगत संरचना तयार पार्नका लागि बनाइनेछ । यहाँ १८.५ मिटर चौडा र ६९.५ मिटर लामो मुख्य मेसिन हल तथा १६ मिटर चौडा र १२१.९ मिटर लामो ट्रान्सफर्मर हल निर्माण गरिने छ ।

मेसिन हलभित्र ११० मेगावाट क्षमताका ४ वटा पेल्टन टर्बाइन युनिटहरु जडान गरिनेछ । सुरुङबाट साफ्ट हुँदै आउने पानीको शक्तिशाली धारले ४ वटा टर्बाइनका ब्लेडलाई तीव्र गतिमा घुमाउँछ र त्यससँग जोडिएको जेनेरेटरबाट कुल ४४० मेगावाट विद्युत् उत्पादन हुन्छ । बिजुली उत्पादन गरिसकेपछि पानीलाई छोटो टेलरेस सुरुङमार्फत पुनः तीला नदीमै मिसाइनेछ ।

जेनेरेटरबाट उत्पादन भएको ११ भोल्टको विद्युत्लाई शक्तिशाली ट्रान्सफर्मरहरुको सहायताले ४०० किलोभोल्टमा रुपान्तरण गर्नेछ । लामो दूरीसम्म बिजुली पठाउँदा ऊर्जा चुहावट कम गर्न उच्च भोल्टेज आवश्यक पर्छ ।

उत्पादित बिजुलीलाई राष्ट्रिय ग्रिडमा समाहित गर्न आयोजना स्थलबाट करिब ६ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । त्यसपछि तीला–१ बाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको फुकोट हब सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको चुनौती 

यो परियोजनाका लागि सबैभन्दा ठूलो च्यालेन्ज भनेको सडकमार्ग हो । हामीलाई पनि थाहा छ, कर्णाली राजमार्गको अवस्था राम्रो छैन ।

यो विशाल परियोजनाका लागि सयौं टनका पेल्टन टर्बाइन, जेनेरेटर, पावर ट्रान्सफर्मर र स्टिल प्लेटहरु कालीकोटको पहाडी भूभागसम्म पुर्‍याउनु पर्छ । यसका लागि नेपालगञ्ज नाकास्थित सुख्खा बन्दरगाहदेखि आयोजना स्थलसम्म २७५ किलोमिटर कर्णाली राजमार्गको प्रयोग गर्नुपर्छ ।

राजमार्गबाट आयोजना स्थलसम्म पुग्न पहुँचमार्ग पनि बनाउनुपर्छ । त्यसैले  साँघुरा मोड, पुलहरुको भारवहन क्षमता, वर्षायाममा बाढी र पहिरो आयोजनाका लागि ठूला चुनौती हुनेछन् । 

अनि आयोजना बनाउँदा केही वातावरणीय र सामाजिक चुनौतीहरु त आउँछन् नै । स्थानीय प्रभावितलाई खुशी बनाएर काम गर्नुपर्ने हुन्छ । तीला–१ परियोजनाबाट कालिकोट जिल्लाअन्तर्गत पाखा, दाहाँ, मान्म, कालिका, गेला, सुकाटिया तथा भर्ता क्षेत्र प्रभावित हुनेछन् ।

यो क्षेत्रका लागि यस्तो आयोजना नयाँ हो । त्यसैले स्थानीय बासिन्दालाई विश्वासमा लिएर आयोजना बनाउने र स्थानीय बासिन्दाको सरोकारलाई सम्बोधन गर्नु व्यवस्थापकीय चुनौतीको काम हो । 

यहाँ थाहा पाउनुपर्ने एक महत्वपूर्ण प्राविधिक पक्ष के छ भने आयोजनाको कुल डिजाइन तथा जडित क्षमता ४४० मेगावाट हो । तर नेपाल विद्युत् प्राधिकरणसँग २९८.७५ मेगावाट विजुली किनबेचका लागि मात्र विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । 

प्रवर्द्धक कम्पनीले सुरुको चरणमा २९८.७५ मेगावाटको व्यावसायिक उत्पादन सुनिश्चित गरेको छ । अनि बाँकी १४१.२५ मेगावाट विजुलीका लागि आवश्यक नीतिगत स्वीकृति र पीपीए प्रक्रिया अघि बढाउने रणनीति लिएको छ । 

तर बाँध, मुख्य सुरुङ र अन्य सिभिल संरचनाहरु सुरुदेखि नै ४४० मेगावाटकै लागि निर्माण गरिँदैछ, ताकि भविष्यमा बाँकी क्षमता थप्दा मुख्य पूर्वाधार पुनः भत्काउन वा विस्तार गर्न नपरोस् । त्यसैले यो आयोजनाका लागि पीपीए नभएको बिजुली बेच्नु पनि एउटा चुनौतीकै रुपमा छ । 

आयोजनाको फाइदा 

नेपालमा अधिकांश जलविद्युत् आयोजनाहरु सामान्य नदी प्रवाही प्रकृतिका छन्, जसले नदीमा जति पानी बग्छ त्यति नै बिजुली निकाल्छन् । तर तीला–१ पिकिङ रन–अफ–रिभर आयोजना हो । 

यसको अर्थ, जुन समयमा विद्युत्को माग कम हुन्छ, त्यो समयमा विजुली निकाल्ने गरी जलासयमा पानी जम्मा पार्न सकिन्छ । 

नेपालमा धेरैजसो बिहान र साँझको समयमा विजुलीको माग धेरै हुन्छ । त्यसैले दिनभरिको पानीलाई बाँधमा जम्मा पारेर साँझको समयमा लगातार ६ घण्टा बिजुली निकाल्न सकिन्छ । अनि रातभरि पानी जम्मा पारेर बिहानमा पनि ६ घण्टा बिजुली निकाल्न सकिन्छ । 

यसले राष्ट्रिय प्रसारण प्रणालीको फ्रिक्वेन्सी र भोल्टेज सन्तुलन जोगाउन र सुख्खायाममा भारतबाट विजुली किन्नुपर्ने बाध्यता घटाउनेछ । 

अनि यसको सबैभन्दा ठूलो लाभ कर्णाली प्रदेश, अझ कालीकोटले उठाउनेछ । दशकौंसम्म विकासको मूल प्रवाहबाट पछाडि परेको कर्णाली प्रदेशमा एउटै आयोजनामा करिब ६० अर्ब रुपैयाँ लगानी हुने आफैँमा ऐतिहासिक हो । 

तीला–१ ले स्थानीय स्तरमा हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ, स्थानीय उत्पादन र सेवा क्षेत्रको बजार विस्तार गर्नेछ र कालीकोटको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात गर्नेछ । यो आयोजनाका लागि सडकको अवस्थामा मात्रै सुधार गरियो भने त्यो कर्णालीका लागि ठूलो उपलब्धी हुनेछ । 

यो आयोजनामा ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण नेपाली बैंकहरुले नै दिएका छन् । यसले नेपालको बैंकिङ क्षेत्र अब ठूला पूर्वाधार परियोजनाहरुमा लगानी गर्न सक्षम भइसकेको प्रमाणित गरेको छ । 

नेपालमा कतिपय आयोजनाहरु बनिसकेपछि प्रसारण लाइन नहुँदा बिजुली खेर जाने समस्या देखिएको छ । तर तीला–१ लाई फुकोट हब सबस्टेसनमार्फत ४०० केभी कर्णाली करिडोरमा जोड्ने स्पष्ट र सुनिश्चित योजना बनिसकेको छ । 

यसले उत्पादित बिजुली सहजै राष्ट्रिय प्रणालीमा प्रवाह मात्रै हुने छैन, भविष्यमा कर्णालीमा अरु आयोजना बनाउँले आधार पनि तयार गर्नेछ । विद्युत र सडक पूर्वाधार बन्यो भने कर्णालीमा थप लगानी पनि भित्रिनेछ । 

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत भइसकेको छ । नदीको पारिस्थितिक प्रणाली र जलचरहरुको संरक्षणका लागि बाँधबाट केही पानी निरन्तर छाड्ने व्यवस्था गरिएको छ । अनि आयोजनाको महत्वपूर्ण पूर्वाधार जमिनमुनि हुने भएकाले वन विनाश र बस्ती विस्थापनको चुनौती अत्यन्तै कम छ । 

अनि यस्तो आयोजनाले नेपालको निजी क्षेत्रलाई ठूला आयोजनामा लगानी गर्न पनि मनोबल बढाउनेछ । तीला–१ ले कर्णालीमा सम्भावना मात्रै देखाउने छैन, यसले नेपालको निजी क्षेत्रमा रहेको लगानीको प्रतिवद्धता र क्षमतालाई पनि झल्काउनेछ । 

तीला–१ ले विद्युत् उत्पादन अनुमतिपत्र, पीपीए, ४०० केभी ग्रिड कनेक्सन सम्झौता, ईआईए स्वीकृति र वित्तीय व्यवस्थापनजस्ता सबै जटिल प्रशासनिक तथा आर्थिक चरणहरु पार गरिसकेको छ ।

स्थलगत रूपमा पहुँच सडक निर्माण, भौगर्भिक अध्ययन, डायमन्ड कोर ड्रिलिङ र एक्सप्लोरेटरी अडिट उत्खननका प्रारम्भिक कामहरु अघि बढिसकेका छन् । अब मुख्य सिभिल संरचना र सुरुङ खन्ने कामलाई तीव्रता दिनुपर्ने छ । 

कम्पनी र ऋणदाता बैंकहरुको प्रक्षेपणअनुसार २०८७ पुस १५ भित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ । सञ्चालनमा आएको पहिलो वर्षमै बिजुली बेचेर ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुनेछ । आयोजना रहेको स्थानीय तहले रोयल्टीवापत ठूलो रकम प्राप्त गर्नेछ । जुन स्थानीय तहले आफ्ना योजनाहरुमा खर्च गर्न सक्नेछ । 

तीला–१ जलविद्युत आयोजनाले कर्णालीमा जलविद्युत विकासको जग बसाउनेछ । यो आयोजनामा नेपाली लगानीकर्ता र इन्जिनियरहरुको क्षमता र निजी क्षेत्रको उच्च व्यावसायिक साहस पनि देखिनेछ । 

कठिन भूगोल र अनेकन चुनौतीका बाबजुद बन्न लागेको परियोजना ऊर्जामा आत्मनिर्भर बन्ने नेपालको चाहनामा सहयोगी त हुने नै छ, सँगै कर्णालीको बिजुली सम्भावनालाई पनि उजागर गर्नेछ । निर्धारित समयसीमा भित्र यसको निर्माण भयो भने तीला–१ ले कर्णालीमा अनेकन इतिहास रच्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ