नेभिगेशन
अर्थ

एमसीसी आयोजनाले ल्यायो सडकमा नौलो प्रविधि

दाङमा पछिल्ला दिनमा केही नौला र भीमकाय मेसिनहरु देखिएका छन्, के होला यी मेसिन, किन यहाँ ल्याइएको होला ? धेरैको चासो यही छ । 

यो मेसिनको नाम हो–‘कोल्ड रिसाइक्लर’ अनि ‘सोइल स्टेबलाइजर’ । नेपालका सडक योजनामा यस्ता मेसिन पहिलो पटक प्रयोग हुँदैछ । 

‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गत अमेरिकाले नेपाललाई सडक मर्मतका लागि यो नयाँ र विश्वस्तरीय प्रविधि हस्तान्तरण गर्दैछ । एमसीसी कम्प्याक्टअन्तर्गत पूर्व–पश्चिम राजमार्गको लमही–धानखोला सडक खण्डमा ‘पेभमेन्ट रिसाइक्लिङ’ प्रविधि नेपालमा पहिलो पटक प्रयोग हुन लागेको छ । 

कालोपत्रे नटिक्ने समस्याले गर्दा राजमार्गहरुको अवस्था कन्तविजोग छ । यसका कारण दुर्घटनाको दर पनि धेरै छ । करोडौं र अर्बौं रुपैयाँ खर्चेर बनाइएका कालोपत्रे सडकहरु नै सुरक्षाका हिसाबले निकै कमजोर साबित भइरहेका छन् । बर्षायाममा पानी पर्नेबित्तिकै सडकमा खाल्डो पर्ने र हिउँदमा धुलो उड्ने समस्याले गर्दा राज्यको ठूलो लगानी बालुवामा पानी भइरहेको छ । 

यही पुरानो र असफल सडक निर्माण शैलीलाई बदल्न एमसीसी अन्तर्गतको कम्प्याक्ट कार्यक्रममार्फत नयाँ प्रविधि ‘पेभमेन्ट रिसाइकलिङ’ नेपाल भित्र्याइएको हो । विशेष गरी पूर्वपश्चिम राजमार्गमा दाङको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक मर्मत तथा स्तरोनन्नतीको काम यही नयाँ प्रविधिमार्फत गरिँदैछ । 

यो प्रविधिलाई प्राविधिक भाषामा ‘फूल डेप्थ रिक्लेमेसन’ (एफडीआर) र ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट’ अर्थात् छोटकरीमा ‘सुपरपेभ’ पनि भनिन्छ । अमेरिका लगायत विश्वका विकसित मुलुकहरुमा सफल र प्रभावकारी मानिएको यो प्रविधि नेपालमा भने नयाँ हो । 

सडक विभागका अधिकारीहरुका अनुसार विदेशमा प्रयोगमा रहेको यो प्रविधि नेपाल भित्रिएपछि यहाँका इन्जिनियर र प्राविधिकहरुले पनि सिक्ने मौका पाउनेछन् । लमही–धानखोला खण्डमा प्रयोग भएपछि देशका अन्य राजमार्ग र सडकहरुमा पनि यो प्रविधि प्रयोग गर्न सकिन्छ । 

सडकको सतह मात्र टालटुल नगरी बेस कोर्स अर्थात् जगदेखि नै पुरानै सामग्रीलाई रिसाइकल गरेर मर्मत गरिने भएकाले नेपालमा यो प्रविधि उपयोगी हुने विश्वास छ ।

के हो त एफडीआर र सुपरपेभ प्रविधि ? 

हामीकहाँ अहिलेसम्म सडक मर्मत गर्दा पुरानो कालोपत्रे भत्कियो भने त्यसैमाथि अलकत्रा र गिट्टीको अर्को पत्र थपिन्छ । यसलाई ओभर ले भनिन्छ । 

सडक धेरै नै बिग्रियो भने पुरानो पिचलाई कोतरेर फालिन्छ र नयाँ गिट्टी–बालुवा र अलकत्रा हालेर पिच गरिन्छ । यसो गर्दा सडकको भित्री जग कमजोर नै रहिरहन्छ । त्यही कारण नयाँ पिच गरेको सडक पनि छिट्टै भत्किन्छ ।

तर, ‘फूल डेप्थ रिक्लेमेसन’ (एफडीआर) प्रविधिमा त्यस्तो गरिँदैन । यो प्रविधिमा सडकको माथिल्लो कालोपत्रे अर्थात् अस्फाल्ट र त्योभन्दा मुनि रहेको रोडा, गिट्टी र माटोसहितको बेसकोर्सलाई पूरै मेसिन लगाएर भत्काइन्छ । 

‘कोल्ड रिसाइक्लर’ र ‘सोइल स्टेबलाइजर’ जस्ता ठूला मेसिनले पुरानो पिच र तलको माटो–गिट्टीलाई सडकको जगबाटै खनेर बाहिर निकाल्छन् । यसरी निकालेको सामग्रीलाई त्यसै खेर फालिँदैन । बरु त्यही पुरानो सामग्रीमा आवश्यकताअनुसार केही नयाँ गिट्टी, बिटुमिन अर्थात् अलकत्रा र विशेष खालका रसायनहरु मिसाइन्छ ।

यदि सडकको तल्लो भागमा माटो एकदमै कमजोर छ, दलदल हुने खालको छ, वा सवारी साधनको अत्यधिक चाप पर्ने उकालो–ओरालो छ भने त्यहाँ ‘सिमेन्ट स्टाबिलिटी’ प्रविधि पनि अपनाइन्छ । अर्थात्, त्यही मुछिएको माटो र गिट्टीमा सिमेन्ट मिसाएर तल्लो तहलाई ढलान जस्तै बलियो र स्थायी बनाइन्छ ।

यसरी रसायन, सिमेन्ट र बिटुमिन मिसाएर तयार पारिएको मिश्रणलाई मेसिनले नै सडकमा बराबर गरी फिँजाउँछ र सम्याउँछ । त्यसपछि ठूला ‘रोलर मेसिन’ लगाएर एकदमै कसिलो गरी खाँदिन्छ ।

यसको माथिल्लो तहमा ‘सुपरपेभ’ प्रविधिको प्रयोग गरी कालोपत्रे गरिन्छ । सुपरपेभ भनेको यस्तो उच्च गुणस्तरीय कालोपत्रे प्रविधि हो । यसमा स्थानीय हावापानी र सडकमा गुड्ने लोड गाडीको भारवहन क्षमता हिसाब गरेर अलकत्रा र गिट्टीको अनुपात मिलाइएको हुन्छ । यसले गर्दा चर्को घाममा पिच पग्लिएर ढिस्को उठ्ने र चिसोमा फुटेर खाल्डा पर्ने समस्या आउँदैन ।

संक्षेपमा भन्नुपर्दा परम्परागत प्रविधिले सडकको अनुहारमा मात्र मेकअप गरेजस्तो काम गथ्र्यो । तर, एफडीआर र सुपरपेभ प्रविधिले सडकको भित्री भागदेखि नै उपचार गरेर नयाँ जीवन दिन्छ ।

किन महत्वपूर्ण छ यो प्रविधि ? 

नेपाल जस्तो विकासोन्मुख र भौगोलिक रुपले संवेदनशील देशका लागि यो प्रविधि भित्रिनु राम्रो हो । यसका बहुआयामिक फाइदाहरू छन्, जसलाई आर्थिक, वातावरणीय र प्राविधिक दृष्टिकोणबाट हेर्न सकिन्छ । 

यो प्रविधिमा सडकको तल्लो बोसकोर्सदेखि नै सिमेन्ट र रसायन हालेर बलियो बनाइने भएकाले सडकको आयु धेरै वर्षसम्म टिक्छ । सामान्य तरिकाले बनाएको सडक २–३ वर्षमै भत्किन्छ । तर, यो प्रविधिबाट बनेको सडक १० देखि १५ वर्ष वा त्यो भन्दा पनि बढी टिक्ने दाबी एमसीए नेपालको छ । पटक–पटक मर्मत गरिरहनुपर्ने झञ्झट नहुँदा राज्यको अर्बौं रुपैयाँ जोगिन्छ ।

अर्को फाइदा भनेको पुराना सामग्रीको पुनः प्रयोग हो । यस प्रविधिको सबैभन्दा सुन्दर पक्ष भनेको ‘रिसाइक्लिङ’ हो । सडकमा पहिले नै बिछ्याइएका गिट्टी, बालुवा र पुराना अस्फाल्टलाई बाहिर फाल्नुपर्दैन, तिनैलाई प्रशोधन गरेर पुनः प्रयोग गरिन्छ । 

अझ रोचक कुरा त के छ भने पिच जति पुरानो भयो, त्यसलाई प्रशोधन गरेर प्रयोग गर्दा त्यति नै बलियो हुन्छ । नयाँ गिट्टी–बालुवा कम चाहिने हुँदा निर्माण लागत पनि वचत हुन्छ । 

अनि यो वातावरणमैत्री प्रविधि पनि हो । पुराना निर्माण सामग्री नै पुनः प्रयोग हुने भएपछि खोलानाला र खानीको दोहन यसै कम हुन्छ । अर्कोतर्फ परम्परागत तरिकामा अलकत्रा र गिट्टी पकाउन धेरै दाउरा वा इन्धन बाल्नुपर्छ ।

जसले धुवाँ र प्रदूषण बढाउँछ । तर ‘कोल्ड रिसाइक्लिङ’ प्रविधिमा चिसो अवस्थामा नै मेसिनले सामग्री मुछ्ने भएकाले इन्धनको खपत निकै कम हुन्छ । यसले हानिकारक हरितगृह ग्यासको उत्सर्जन पनि कम गर्छ, त्यसैले यो प्रविधि वातावरणमैत्री पनि छ भन्न सकिन्छ । 

अनि पुराना सामग्री खनेर अन्तै फाल्ने र टाढाबाट नयाँ सामग्री ओसार्ने झञ्झट नहुने भएकाले सडक निर्माणको काम छिटो हुन्छ । व्यस्त राजमार्गमा लामो समयसम्म सडक बन्द गरेर काम गर्न कठिन हुन्छ । यो मेसिनले एकैपटकमा पुरानो बाटो भत्काउने, त्यसलाई मिक्स गर्ने र सम्याउने काम गर्ने भएकाले धेरै समय यातायात अवरुद्ध पनि हुँदैन ।

एमसीसी अन्तर्गतको यो आयोजनाले सडकमा नयाँ प्रविधिको प्रयोग सुरु गराएको छ । सँगै एमसीएले उपलब्ध गराउने प्राविधिक सहयोगबाट नेपालको सडक विभाग र सडक बोर्ड नेपालको क्षमता अभिवृद्धि हुनेछ । 

भविष्यमा सडक मर्मतसम्भार सम्बन्धी योजना कसरी बनाउने, गुणस्तर कसरी मूल्याङ्कन गर्ने र नियमित मर्मत कसरी गर्ने भन्ने विषयमा नेपाली इन्जिनियरहरुले अन्तर्राष्ट्रिय स्तरको सीप सिक्नेछन् ।

एमसीसी कम्प्याक्ट अन्तर्गत नेपालमा मुख्य दुईवटा ठूला परियोजना छन्–एउटा ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र अर्को सडक मर्मत आयोजना ।  

सुरुमा एमसीसीमार्फत यो नयाँ प्रविधि प्रयोग गरेर देशका विभिन्न पाँचवटा सडकहरु सुधार गर्ने योजना थियो । तर, पछि सवारी साधनको कम चाप भएका साना सडकहरुमा यति महँगो र अत्याधुनिक प्रविधि प्रयोग गर्नु आर्थिक रुपले त्यति उपयुक्त नहुने निष्कर्षसहित यसलाई मुख्य राजमार्गमै प्रयोग गर्ने निर्णय भयो ।

अनि एमसीसीले सडकका लागि दिने अनुदान प्रसारणलाइनतर्फ समेत खर्च गर्नुपर्ने अवस्थाले पनि यो ४० किलोमिटर खण्ड रोजिएको हो । 

अहिले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडक खण्डमा यसका लागि काम गरिँदैछ । कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लाको सीमा नजिक पर्ने यो सडक खण्ड पूर्व–पश्चिम राजमार्गकै सबैभन्दा जोखिमपूर्ण क्षेत्रमध्ये एक हो ।

यो क्षेत्र संवेदनशील चुरे पहाडको फेदीमा पर्दछ । चुरेको कमजोर भूगोलका कारण वर्षायाममा यहाँ पटक–पटक पहिरो जाने, माटो बग्ने र बाटो अवरुद्ध हुने समस्या छ । अर्कोतर्फ दाङको देउखुरी उपत्यका क्षेत्रमा पर्ने यो राजमार्ग साँघुरो पनि छ । दैनिक सयौं मालवाहक ट्रक र यात्रुवाहक बसहरु यही बाटो भएर गुड्ने भएकाले यहाँ सवारी चाप अत्यधिक छ । 

साँघुरो बाटो, चुरेको जोखिम र सवारी चापका कारण परम्परागत तरिकाले यहाँ काम गर्न निकै कठिन र लामो समय लाग्ने अवस्था थियो । 

एमसीए–नेपालका अनुसार यस्तै कठिन र व्यस्त सडकमा छिटो र बलियो काम गर्नका लागि नै एफडीआर प्रविधि लागू गरिएको हो ।

यो सडक योजनाको काम कसरी अगाडि बढिरहेको छ र निर्माण सम्पन्न भएपछि यो सडक कस्तो देखिएला भन्नेबारे ।

यस सडक खण्डको स्तरोन्नतिका लागि २०८२ पुस ७ गते एमसीए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । २०८३ वैशाखमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यस सडक योजनाको शिलान्यास गर्दै निर्माण कार्यको सुरुवात गरेका थिए । 

यो आयोजनाको निर्माणको जिम्मा नेपाली निर्माण कम्पनी ‘शर्मा–कुमार जेभी’ले पाएको छ । यो आयोजनाको सुपरिवेक्षण इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिले गर्दैछ । यसरी अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा नेपाली निर्माण व्यवसायीहरु प्रत्यक्ष संलग्न हुनुले स्वदेशी निर्माण क्षेत्रको क्षमता विकासमा पनि ठूलो टेवा पुग्ने देखिन्छ । 

निर्माण कम्पनीले भ्याटबाहेक २ करोड ८ लाख अमेरिकी डलर अर्थात् करिब ३ अर्ब नेपाली रुपैयाँमा यो सडक स्तरोन्नतिको जिम्मा लिएको छ । दुई वर्षभित्र काम सक्ने समयसीमा तोकिएको छ । ठेक्का लागेको करिब एक वर्षपछि बल्ल यहाँ नयाँ प्रविधिको मेसिन फिल्डमा आइपुगेको छ । अब यी मेसिनले काम सुरु गर्नेछ । 

सडकको स्वरुप र मापदण्डको कुरा गर्दा नेपाल सरकारको आधुनिक राजमार्ग मापदण्डअनुसार यसलाई फराकिलो र सुरक्षित बनाइँदैछ । निर्माण सम्पन्न भएपछि यो सडकमा मुख्य सवारी साधन गुड्ने भाग अर्थात् क्यारिज वे ७ मिटर चौडा हुनेछ । 

त्यसैगरी, सडकको दुवैतर्फ २.५–२.५ मिटरको कालोपत्रे सोल्डर हुनेछ  जुन, आकस्मिक रोकिने वा साना सवारी र साइकलयात्रीका लागि सुरक्षित भागका रुपमा रहनेछ । यसरी यो सडकको कुल कालोपत्रे चौडाइ १२ मिटर कायम गरिनेछ । अहिलेको ७ मिटरको साँघुरो बाटोको तुलनामा १२ मिटर चौडा र चिल्लो सडक बनेपछि यहाँको यात्रा निकै सहज र सुरक्षित हुनेछ ।

एमसीए–नेपालले यस आयोजनामा अन्तर्राष्ट्रिय प्राविधिक मापदण्ड मात्र नभई वातावरणीय र सामाजिक सुरक्षाका मापदण्डहरूलाई पनि कडाइका साथ लागू गरेको छ ।

निर्माणका क्रममा स्थानीय बासिन्दालाई धुलो–धुवाँबाट कम असर परोस्, श्रमिकहरुको सुरक्षा सुनिश्चित होस् र चुरे क्षेत्रको वातावरणमा न्यूनतम क्षति पुगोस् भन्ने कुरामा विशेष ध्यान दिइएको आयोजनाले जनाएको छ ।

यसरी लमही–धानखोला सडकमा एउटा फरक प्रविधि प्रयोग हुँदैछ । अनि यस्तो प्रविधिको प्रयोग सुरु हुनले वर्षौंदेखि हामीले भोग्दै आएको पिच गर्ने र भत्किने दुष्चक्रलाई तोड्न सघाउन पुर्‍याउने अपेक्षा छ । फूल डेप्थ रिक्लेमेसन (एफडीआर) र सुपरपेभ प्रविधिले एकातिर पुराना सामग्रीको पुनः प्रयोग गरेर राज्यको पैसा र प्राकृतिक स्रोत जोगाउनसक्छ भने अर्कोतिर बलियो, टिकाउ र वातावरणमैत्री सडक निर्माणको मानक बनाउनेछ । 

अबको १३ महिनापछि यहाँ नयाँ प्रविधिमा बनाएको १२ मिटर चौडा सडक तयार हुनेछ, त्यो भविष्यका लागि यो प्रविधि नेपालका लागि कति अनुकुल छ भनेर परीक्षण गर्ने अवसर हुनेछ । यदि यसले राम्रो नतिजा दियो भने देशको सडक आयाताको अवस्था सुधार गर्न नयाँ प्रविधिमा जाने बाटो खुल्नेछ ।

यहाँबाट सिकिएको यो प्रविधि र सीपले भविष्यमा मेचीदेखि महाकालीसम्मका अन्य राजमार्गहरुको मुहार फेर्न पनि पक्कै योगदान गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ