नेभिगेशन
एक्सप्लेनर भिडियो

काठमाडौंमा पाँचवटा मेट्रोलाइन, २० खर्बको प्रोजेक्ट

मेट्रो रेल ठूला शहरमा यातायात प्रणालीलाई सहज बनाउने पूर्वाधार हो, तर विश्वभर मेट्रो रेललाई यातायातका पूर्वाधारका रुपमा मात्र होइन, सिंगो शहर व्यवस्थित बनाउने एउटा माध्यमका रुपमा हेर्ने गरिएको छ । 

मेट्रोलाइन नै आधार मानेर बिजनेस हब, रेसिडेन्सियल एरिया, खुला क्षेत्र, साँस्कृतिक क्षेत्र जस्ता ठाउँ बनाउने गरिन्छ । मेट्रो रेलले सडकले जति ठूलो स्पेस पनि लिँदैन, तर एकै पटक दर्जनौं बसहरुमा अटाउने जति यात्रु ओसार पसार गर्न सक्छ । ट्राफिक जाम झेल्नुपर्दैन, टाढा टाढासम्म पनि छोटो समयमा नै पुग्न सकिन्छ । 

त्यसैले मेट्रोले यातायात सहज बनाउनुका साथै आर्थिक गतिविधि बढाउँछ, धेरै रोजगारी सिर्जना गर्छ, सरकारलाई कर पनि धेरै उठ्छ । ठूला शहरमा लामो अवधिका लागि यातायात व्यवस्थापनको प्लानिङ गर्दा मेट्रो रेल नै प्रमुख विकल्प बनेको छ । 

सडक यातायातमा मात्र भर पर्दा मान्छेको संख्या बढेसँगै यातायातका साधनहरु पनि थप्दै लैजानुपर्छ । धेरै सवारी साधनका लागि सडक फराकिलो बनाउँदै लैजानुपर्छ । 

शहरमा सडकका लागि सधैं ठाउँ थपिरहन सम्भव हुन्न । अनि जाम बढ्छ, ध्वनि प्रदूषण र धुवाँधुलो बढ्छ । यातायात प्रणालीकै कारण मानिसहरुको पैसा र समय अनावश्यक खर्च भइरहेको हुन्छ, स्वास्थ्य बिग्रिरहेको हुन्छ । 

काठमाडौं उपत्यकामा बसोबास गर्ने र दैनिक आउने जाने मानिसहरुको संख्या ५० लाख हाराहारी छन् । काठमाडौंको बस्ती बढेर मुख्य शहरी केन्द्रबाट १०–१५ किलोमिटर भन्दा पर पुगिसक्यो । 

तर रिङरोड बाहिर ब्यापारिक क्षेत्र विकास नभइसकेका कारण मानिसहरु काम गर्न, पढ्न र किनमेल गर्न पनि रिङरोडभित्रै आउनुपर्छ । शहरी केन्द्रमा आउन जान यातायातको भरपर्दो व्यवस्था छैन । १०–१५ किलोमिटरको यात्रा गर्न एक डेढ घण्टा लाग्छ । 

त्यसैले आर्थिक क्षमता भएका मानिसहरुमा आफ्नै निजी बाइक र कार किन्ने क्रम बढेको छ । यसले हाम्रो देशमा दैनिक अर्बौं रुपैयाँका निजी गाडी र मोटरसाइकल भित्रिरहेका छन् भने पेट्रोलियम पदार्थ पनि उत्तिकै आइरहेको छ । 

यातायात व्यवस्था सुधार्न सडक फराकिलो पार्ने, अण्डर पास र ओभरपास बनाउने द्रुत बस चलाउने अनेक विकल्प प्रयोग भइसकेको छ । अझै पनि अन्डरपास र ओभरपासका योजनाहरु छन् । तर ती योजनाहरु सिंगो उपत्यकाको यातायात सुधार्नका लागि होइन, केबल एउटा–दुईटा चोकको आवागमन सहज बनाउनमा केन्द्रित छन् । 

२०८० सालमा भक्तपुरदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गरियो । तर त्यसका लागि छुट्टै डेडिकेटेड लेन नभएका कारण द्रुत बसले पनि द्रुत सेवा दिन सकेन । अहिले त बन्द नै हुन पुग्यो । 

यातायात प्रणालीमा देखिएका यस्तै अव्यवस्थाका कारण मेट्रो रेल चाहिन्छ भन्नेहरु बढेका छन् । विदेशमा मेट्रो रेल चढेका र त्यसको सिष्टम बुझेकाहरु त मेट्रो रेललाई एकमात्र विकल्प ठान्छन् । 

उनीहरुको भनाइ छ, अब यातायात प्रणाली सुधार्ने हो, भने सिंगो काठमाडौं उपत्यकालाई समग्रमा हेर्नुपर्छ । २–४ वर्षका लागि होइन, कम्तीमा १०० वर्षका लागि सोच्नुपर्छ । त्यसैले यसको एक मात्र विकल्प मेट्रो रेल नै हो । 

मेट्रो रेलको विस्तृत योजना 

नेपाली इन्जिनियरहरुको एउटा समूहले लामो अध्ययन र अनुसन्धानबाट मेट्रो रेलबारे एउटा विस्तृत खाका तयार पारेको छ । त्यसको नाम छ, ग्रेटर काठमाडौं भ्याली मेट्रो रेल डेभलपमेन्ट स्ट्राटेजिक कन्सेप्ट २०२५ । 

यो समूहमा नेपालमै काम गरिरहेका इन्जिनियर पनि छन् र विश्वका विभिन्न देशमा मेट्रो रेलमा काम गरिरहेकाहरु पनि छन् । उनीहरुले सन् २०१० देखि नै काठमाडौंमा मेट्रो रेल चलाउनेबारे आफ्नो समूहमा छलफल सुरु गरेका थिए । 

विभिन्न देशमा रहेका उनीहरुले वर्षौंदेखि भर्चुअल माध्यमबाट छलफल गरिरहेका थिए, स्वतन्त्र रुपमा मेट्रो रेलको सम्भावनाबारे अध्ययन अनुसन्धान गरिरहेका थिए, त्यसको निश्कर्ष आफ्नो समूहमा सुनाउँथे । 

त्यो समूहमा रहेकाहरुले ग्रेटर काठमाडौं भ्याली मेट्रो रेल प्रमोसन ग्रुप नामको एउटा समूह पनि बनाए । त्यही समूहले काठमाडौंको मेट्रो रेलको विस्तृत योजनासहितको पुस्तक नै प्रकाशन गरेको छ । यो पुस्तकमा करिब ४० जना इन्जिनियर र अन्य विज्ञहरुले लेख रचनामा कन्ट्रिब्यूसन गरेका छन् । 

काठमाडौंमा मेट्रोरेल किन चाहिन्छ, कतिवटा रुटमा मेट्रो चनाउन सकिन्छ, स्टेशनहरु कहाँ कहाँ राख्ने, बनाउन कति खर्च लाग्छ, पैसा कसरी जुटाउन सकिन्छ, आदि विषयमा विस्तृत रुपमा पुस्तकमा जानकारी दिइएको छ ।

यो अध्ययनलाई नेपालमा मेट्रो रेलको विषयमा अहिलेसम्म भएको अध्ययनहरुमध्ये सबैभन्दा ठूलो र विस्तृत मान्न सकिन्छ । 

मेट्रोको पाँचवटा लाइन 

यो पुस्तकमा काठमाडौं उपत्यकामा पाँच वटा मेट्रो लाइन प्रस्ताव गरिएको छ । कुल मेट्रो लाइन १९२ किलोमिटर लामो हुनेछ । ती मेट्रोलाइन कुन कुन हुन्, एक एक गरेर कुरा गरौं । 

१.पहिलो हो, काठमाडौं लाइन

काठमाडौं लाइन काठमाडौं उपत्यकालाई पूर्वपश्चिम जोड्ने मेट्रोरेल लाइन हो । यो लाइन बनेपाबाट सुरु हुन्छ र भृकुटीमण्डप हुँदै थानकोटसम्म पुग्छ । 

अनि काठमाडौं लाइनकै दोस्रो सेक्सनका रुपमा साँखुदेखि भृकुटीमण्डपसम्मको अर्को मेट्रो लाइन पनि प्रस्ताव गरिएको छ । बनेपादेखि थानकोटसम्मको मेट्रो लाइनको लम्बाइ ३६.५ किलोमिटर छ । अनि साँखुदेखि भृकुटीमण्डपसम्मको मेट्रो लाइनको लम्बाइ १७.५ किलोमिटर छ । 

२. दोस्रो हो, पाटन लाइन 

पाटन लाइनले काठमाडौं उपत्यकालाई उत्तर दक्षिण जोड्छ । यसको पनि दुईवटा सेक्सन छ । एउटा सेक्सन गोदावरीबाट सुरु हुन्छ र सातदोबाटो–भृकुटीमण्डप, बाँसबारी हुँदै बूढानीलकण्ठसम्म जोडिन्छ । यसको लम्बाइ २६ किलोमिटर छ । अनि अर्को सेक्सन चापागाउँबाट सुरु भएर सातदोबाटोमा आएर जोडिन्छ । यसको लम्बाइ ८ किलोमिटर छ । 

३. तेस्रो हो, विष्णुमती लाइन 

विष्णुमती लाइनचाहिँ विष्णुमती र बागमती नदी किनार–किनारै चल्ने प्रस्ताव गरिएको छ । यो मेट्रो लाइन दक्षिणकालीबाट सुरु भएर चोभार, बल्खु, कालीमाटी, नयाँ बसपार्क हुँदै धर्मस्थलीसम्म पुग्छ । कुल लम्बाइ २०.५ किलोमिटर छ । 

४. चौथो लाइन हो, चक्रपथ लाइन

चक्रपथ लाइन भनेको अहिलेको चक्रपथ वरपरकै मेट्रो लाइन हो । कलंकी, नयाँ बसपार्क, बाँसबारी, बौद्ध, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै कलंकीमै गएर जोडिन्छ । यसको लम्बाइ ३०.५ किलोमिटर हुने प्रस्ताव गरिएको छ । 

५. पाँचौं लाइन हो, भ्याली लाइन 

भ्याली लाइन भनेको काठमाडौं उपत्यकालाई बाहिरी फन्को मार्ने मेट्रोलाइन हो, यो चाहिँ सतुंगलबाट सुरु हुन्छ, रामकोट, धर्मस्थली, टोखा, कपन, गोकर्ण, सल्लाघारी, लुभु, बाडेगाउँ, बुङ्मती, कीर्तिपुर हुँदै सतुंगलमै गएर जोडिन्छ । यसको लम्बाई ५३.५ किलोमिटर रहेको छ । 

कस्तो हुन्छ मेट्रो लाइन ? 

रमाइलो पक्ष के छ भने यो प्रस्तावअनुसार मेट्रो लाइन बनाउँदा काठमाडौंको अहिलेको संरचना जस्ताको तस्तै रहन्छ । कुल १९२.५ किलोमिटर मेट्रो लाइनमध्ये ८५ किलोमिटर सुरुङभित्र रहन्छ । 

अनि १०७.५ किलोमिटर चाहिँ इलेभेटेड सेक्सन वा भायोडक्ट रहन्छ । अर्थात् जमिनमाथि पुल हालेर मेट्रो लाइन बनाइन्छ । उपत्यकाको कोर सिटी अर्थात् रिङरोड बाहिर कतै कतै मात्र जमिनको सतहमा मेट्रो लाइन रहनेछ ।

जमिनमुनि १५ देखि ३५ मिटर तलसम्म सुरुङभित्र मेट्रोलाइन बन्नेछ । सुरुङहरु औसतमा २० मिटर गहिराइमा मेट्रोलाइन बन्नेछ । उपत्यकाका खोला र नदीमुनिसमेत सुरुङ खनेर मेट्रो लाइन बनाउने प्रस्ताव गरिएको छ । 

काठमाडौं मेट्रो रेलबारे विस्तृमा बुझ्नका लागि यो भिडियो हेर्नुहोला : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो