एक्सप्लेनर भिडियो
बिजुली बस चलाउँदा पनि किन घाटामा छ साझा ?
- काठमाडौंभित्र कुदिरहेका हरिया साझा यातायातका बसहरु प्रायः खचाखच नै हुन्छन् । यात्रामा केही बढी समय लाग्छ । अरु गाडी नचल्ने लामा रुटहरुमा चलिरहेकाले साझाको विकल्प छैन । त्यसैले बस स्टपहरुमा साझा नै कुर्ने यात्री प्रशस्तै हुन्छन् ।
- ठूलो बसमा एकैपटक धेरै जनाले आरामदायी यात्रा पाउँछन् । बसभित्र उभिने ठाउँ फराकिलो छ । ह्यांगरहरु पनि छन् । त्यसैले उभिएरै यात्रा गर्न पनि अरु बसको भन्दा साझामा सजिलो छ । यस्तै कारणले धेरै यात्रुको रोजाइमा छ साझा यातायात ।
- तर पत्याउनु हुन्छ ? साझा यातायात बसहरुले जति कमाउँछन्, त्यो भन्दा बढी खर्च गर्छन् । अर्थात् तपाईं हामी चढ्ने गरेको साझाका बसहरु घाटामा चल्छन् ।
- साझा यातायात सहकारी संंस्थाले चलाउँछ, साझा बस । साझा यातायातको कुल ३ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर छ । नेपाल सरकार र स्थानीय तहहरुसहित साझामा २२९ जनाको सेयर छ । सरकारका मात्रै ६४ वटा निकाय र ४ वटा स्थानीय सरकारहरु छन् । ७ वटा संस्था र १५४ जना व्यक्ति पनि छन् ।
- साझामा ६ हजार ४ सय कित्ता पूर्वराजपरिवारकै पनि सेयर छ । साझा यातायातमा नेपाल सरकारको मात्रै ३ अर्ब २६ करोड १४ लाख रुपैयाँको सेयर छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित महालक्ष्मी र गोदावरी नगरपालिकाको पनि २३ करोड ७५ लाख रुपैयाँको सेयर छ ।
- सरकारको लगानीका कारण साझा बस किन्दा लिएको ऋण र ब्याजको किस्ता तिर्नुपर्ने दबाबमा छैन । बसहरु चलिरहेकै छन्, यात्रुको कमी पनि छैन । कमै यात्रु पाइने बेलुका ८ बजेपछिको समयमा बसहरु सेवामा पनि छैनन् । तर साझा यातायातका बसहरुले आफ्नै सञ्चालन खर्च उठाउन सकिरहेका छैनन् ।
- आर्थिक वर्ष २०७६/७७ मा साझाका बसले १० करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । तर १६ करोड ९० लाख रुपैयाँ बस चलाउन मात्रै खर्च भयो ।
- आर्थिक वर्ष २०७७/७८ मा बसहरुबाट ४ करोड १४ लाख मात्रै आय भयो । खर्च १० करोड २८ लाख । त्यतिबेला साझालाई ६ करोड १४ लाख घाटा थियो ।
- आर्थिक २०७८/७९मा १३ करोड १२ लाख कमाइ गरेका साझाका बसले १९ करोड ७० लाख खर्च गरेको छ । त्यो वर्ष बसको घाटा ६ करोड ५८ लाख पुग्यो ।
- आर्थिक वर्ष २०७९/८० मा २१ करोड ८२ लाख आम्दानी भयो । तर खर्च ३० करोड ८७ लाख पुग्यो । त्यो वर्ष बसको ह्रासकट्टी खर्चसहित १४ करोड ५२ लाख घाटा भयो ।
- गत आर्थिक वर्ष २०८०/८१ मा बसहरुले २३ करोड ७५ लाख अम्दानी गरे । तर, खर्च बढेर ३४ करोड ७७ लाखमा पुग्यो । ह्रासकट्टीसहित गत वर्ष बस सञ्चालन गर्दा मोटामोटी १७ करोड २४ लाख घाटा भयो ।
- ठूला बस चलाइरहेका कतिपय निजी कम्पनीहरुले बैंक ऋण तिरेर नाफा समेत कमाइरहेका छन् । बस थपेर सेवा विस्तार गरिरहेका छन् । ऋणको दबाबमा समेत नभएको साझाले बस चलाएरै आफ्नै आयबाट थप बसहरु किन्न सक्नुपर्ने हो । तर, साझा आर्थिक रुपमा त्यति सबल अवस्थामा देखिएको छैन ।
- अहिले साझा यातायातले ४० वटा बिजुली बस चलाइरहेको छ । बिजुली बसको सञ्चालन खर्च न्युन छ । यसले डिजल बस चलाउँदा भएको घाटा पूर्ति गर्न सघाउनुपर्ने थियो ।
- तर त्यसो भइरहेको छैन । विगत र अहिले पनि बसको सञ्चालन आय र व्ययको अन्तर उस्तै छ ।
- त्यसैले प्रश्न छ, १११ वटा बस चलाउँदा वर्षमा साझाले किन २३ करोड मात्रै कमाइरहेको छ ? अनि २३ करोड कमाउने बसहरुले कसरी ३४ करोडसम्म खर्च गरिरहेका छन् ?
प्रकाशित मिति:
बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो

कंगो, भुटान र सोमालियासँग पनि नेपालको व्यापार घाटा
आइतबार, साउन १८, २०८२
-1754133271.jpg)
रेशम चौधरीको महत्वाकांक्षाले पार्टी नै तहसनहस
शनिबार, साउन १७, २०८२

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र
शुक्रबार, साउन १६, २०८२

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध
बिहीबार, साउन १५, २०८२

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै
मंगलबार, साउन १३, २०८२

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द
सोमबार, साउन १२, २०८२
ट्रेन्डिङ