एक्सप्लेनर भिडियो
बिजुली बस चलाउँदा पनि किन घाटामा छ साझा ?
- काठमाडौंभित्र कुदिरहेका हरिया साझा यातायातका बसहरु प्रायः खचाखच नै हुन्छन् । यात्रामा केही बढी समय लाग्छ । अरु गाडी नचल्ने लामा रुटहरुमा चलिरहेकाले साझाको विकल्प छैन । त्यसैले बस स्टपहरुमा साझा नै कुर्ने यात्री प्रशस्तै हुन्छन् ।
- ठूलो बसमा एकैपटक धेरै जनाले आरामदायी यात्रा पाउँछन् । बसभित्र उभिने ठाउँ फराकिलो छ । ह्यांगरहरु पनि छन् । त्यसैले उभिएरै यात्रा गर्न पनि अरु बसको भन्दा साझामा सजिलो छ । यस्तै कारणले धेरै यात्रुको रोजाइमा छ साझा यातायात ।
- तर पत्याउनु हुन्छ ? साझा यातायात बसहरुले जति कमाउँछन्, त्यो भन्दा बढी खर्च गर्छन् । अर्थात् तपाईं हामी चढ्ने गरेको साझाका बसहरु घाटामा चल्छन् ।
- साझा यातायात सहकारी संंस्थाले चलाउँछ, साझा बस । साझा यातायातको कुल ३ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर छ । नेपाल सरकार र स्थानीय तहहरुसहित साझामा २२९ जनाको सेयर छ । सरकारका मात्रै ६४ वटा निकाय र ४ वटा स्थानीय सरकारहरु छन् । ७ वटा संस्था र १५४ जना व्यक्ति पनि छन् ।
- साझामा ६ हजार ४ सय कित्ता पूर्वराजपरिवारकै पनि सेयर छ । साझा यातायातमा नेपाल सरकारको मात्रै ३ अर्ब २६ करोड १४ लाख रुपैयाँको सेयर छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित महालक्ष्मी र गोदावरी नगरपालिकाको पनि २३ करोड ७५ लाख रुपैयाँको सेयर छ ।
- सरकारको लगानीका कारण साझा बस किन्दा लिएको ऋण र ब्याजको किस्ता तिर्नुपर्ने दबाबमा छैन । बसहरु चलिरहेकै छन्, यात्रुको कमी पनि छैन । कमै यात्रु पाइने बेलुका ८ बजेपछिको समयमा बसहरु सेवामा पनि छैनन् । तर साझा यातायातका बसहरुले आफ्नै सञ्चालन खर्च उठाउन सकिरहेका छैनन् ।
- आर्थिक वर्ष २०७६/७७ मा साझाका बसले १० करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । तर १६ करोड ९० लाख रुपैयाँ बस चलाउन मात्रै खर्च भयो ।
- आर्थिक वर्ष २०७७/७८ मा बसहरुबाट ४ करोड १४ लाख मात्रै आय भयो । खर्च १० करोड २८ लाख । त्यतिबेला साझालाई ६ करोड १४ लाख घाटा थियो ।
- आर्थिक २०७८/७९मा १३ करोड १२ लाख कमाइ गरेका साझाका बसले १९ करोड ७० लाख खर्च गरेको छ । त्यो वर्ष बसको घाटा ६ करोड ५८ लाख पुग्यो ।
- आर्थिक वर्ष २०७९/८० मा २१ करोड ८२ लाख आम्दानी भयो । तर खर्च ३० करोड ८७ लाख पुग्यो । त्यो वर्ष बसको ह्रासकट्टी खर्चसहित १४ करोड ५२ लाख घाटा भयो ।
- गत आर्थिक वर्ष २०८०/८१ मा बसहरुले २३ करोड ७५ लाख अम्दानी गरे । तर, खर्च बढेर ३४ करोड ७७ लाखमा पुग्यो । ह्रासकट्टीसहित गत वर्ष बस सञ्चालन गर्दा मोटामोटी १७ करोड २४ लाख घाटा भयो ।
- ठूला बस चलाइरहेका कतिपय निजी कम्पनीहरुले बैंक ऋण तिरेर नाफा समेत कमाइरहेका छन् । बस थपेर सेवा विस्तार गरिरहेका छन् । ऋणको दबाबमा समेत नभएको साझाले बस चलाएरै आफ्नै आयबाट थप बसहरु किन्न सक्नुपर्ने हो । तर, साझा आर्थिक रुपमा त्यति सबल अवस्थामा देखिएको छैन ।
- अहिले साझा यातायातले ४० वटा बिजुली बस चलाइरहेको छ । बिजुली बसको सञ्चालन खर्च न्युन छ । यसले डिजल बस चलाउँदा भएको घाटा पूर्ति गर्न सघाउनुपर्ने थियो ।
- तर त्यसो भइरहेको छैन । विगत र अहिले पनि बसको सञ्चालन आय र व्ययको अन्तर उस्तै छ ।
- त्यसैले प्रश्न छ, १११ वटा बस चलाउँदा वर्षमा साझाले किन २३ करोड मात्रै कमाइरहेको छ ? अनि २३ करोड कमाउने बसहरुले कसरी ३४ करोडसम्म खर्च गरिरहेका छन् ?
प्रकाशित मिति:
बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
शुक्रबार, वैशाख २५, २०८३
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
मंगलबार, वैशाख २२, २०८३
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
सोमबार, वैशाख २१, २०८३
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
आइतबार, वैशाख २०, २०८३
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?
शुक्रबार, वैशाख १८, २०८३
घर–घरमा किन लालपूर्जा टाँस्दैछन् नदी किनारका घरधनी ?
शुक्रबार, वैशाख १८, २०८३
ट्रेन्डिङ




