नेभिगेशन
एक्सप्लेनर भिडियो

वाइवाइमाथि लागेको करेन्ट

सन् २०१९ ताका विश्वको चाउचाउ बजारमै नयाँ तरंग आयो । कोरियाको पिरो चाउचाउ रामेन खाएको भिडियोहरु युट्युब र सामाजिक सञ्जालमा यत्रतत्र आए ।  

यो चाउचाउ नेपालका एकाध स्टोरमा उपलब्ध थियो । तर नेपाली चाउचाउको तुलनामा निकै महंगो । त्यसैले रामेनले खासै बजार लिन सकेको थिएन । 

तर सामाजिक सञ्जालमा ‘द फायर नुडल्स’ नामक च्यालेन्ज नै सुरु भएपछि भ्लगर र टिकटर मात्रै होइन, सेलिब्रेटीहरु पनि देखिन थाले । नेपालमा पनि रामेनको माग बढ्यो । यसले नेपाली चाउचाउ उद्योगहरुको ध्यान तान्यो । 

नेपाली चाउचाउ बजारमा ठूलो हिस्सा ओगट्ने वाइवाइले बजार सानो भएकाले रामेनजस्तो प्रिमियम नुडल्स सेगमेन्टमा नजाने सोच बनायो । वाइवाइको बुझाइ थियो, महँगो चाउचाउ उपभोक्ताले रुचाउँदैनन्, पिरो खान परे वाइवाइमै खुर्सानी थपिहाल्छन् । 

तर यशोधा फुड्सले पिरो चाउचाउ नै उत्पादन गरेर बेच्न छलफल थाल्यो । लगानीकर्तामध्येका एक कमल मालपानीको प्रस्ताव थियो, रामेनको विकल्प दिने चाउचाउ ल्याऔं । अरु लगानीकर्ता पनि सहमत भएपछि उत्पादनको तयारी सुरु सुरु भयो । 

यही मौकामा एसियन थाइ फुड्सले चौका हान्यो । टूपीएम नुडल्सलाई रिब्रान्डिङ गरेर पिरो चाउचाउ बजारमा ल्यायो । नेपाली अकबरे खुर्सानीको स्वादमा भन्दै पीरो चाउचाउ ल्यायो । 
तर यशोधा फुड्स डराएन । उसले पनि करेन्ट चाउचाउ ल्यायो । जसको स्लोगन नै हट एन्ड स्पाइसी थियो । नाम पनि परम्परागत रोजेन । यति पिरो कि करेन्ट नै लगाउने जस्तो भन्ने अर्थ लाग्ने गरी नाम नै करेन्ट राख्योे । प्याकेटमा कोरियन अक्षर राख्यो । यसले रामेन पारखीलाई तान्यो । 

टुपीएम र करेन्टको प्रतिस्पर्धा सुरु भयो । यही बेला कोभिड १९ को महामारी सुरु भयो र देशब्यापी लकडाउन सुरु भयो । यो लकडाउनमा सबै मर्कामै थिए, तर पिरो चाउचाउको हकमा त्यसको उल्टो भयो । पिरो चाउचाउ खाने भिडियो च्यालेन्जको ट्रेन्ड बढ्न थाल्यो । 

टुपीएम र करेन्टको तुलना गर्दै रिभ्यु दिन थाले । धेरैले करेन्टलाई नेपाली रामेन भन्न थाले । 

यही बेला कम्पनीले सेलिब्रिटीहरुलाई यस्तो च्यालेन्जमा भाग लिन लगायो । प्रियंका कार्कीदेखि केकी अधिकारीहरुसम्म यसमा देखिए । यसले एकैपटक करेन्ट चाउचाउ मासमा पुग्यो । 

किशोर पुस्तादेखि ३० वर्ष उमेर समूहमा नयाँ ग्राहक बने । करेन्टको यो लोकप्रियता अरु उत्पादकले मात्र होइन, स्वयम् यशोदा फुड्सले अनुमान गरेको थिएन होला । तर करेन्ट यति लोकप्रिय भयो, वाइवाइलाई समेत ठूलो झड्का दियो । 

उसले पनि पिरो फ्लेभरमा वाइवाइ एक्सप्रेस र क्वीक पिरो नामका चाउचाउ बजारमा ल्यायो । तर, वाइवाइको नाम जुन स्वादका लागि बढी परिचित छ, त्यसैमा अडिन पुग्यो । 

अर्थात् वाइवाइको पिरो चाउचाउले राम्रो बजार पाएन । उपभोक्ताका लागि पिरो चाउचाउ भनेकै करेन्ट जस्तो भइसकेको छ । थप विवरण भिडियोमा :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो