चेक बाउन्समा नयाँ कानुन : जरिवाना घट्यो, जेल सजाय बढ्यो
चेक त दियो, तर खातामै पैसा छैन ।
चेक बाउन्स गरिदिऊँ, मुद्दा मामिलाको झञ्झट ।
मुद्दा मामिला नगरुँ पैसा कसरी उठाउने ?
पछिल्लो समय लेनदेन कारोबारमा चेक बाउन्सको घटनाले धेरैलाई हैरान बनाएको छ ।
अदालतमा चेक बाउन्सको मुद्दाका चाङ लागेका छन् ।
१०/२० हजार लेनदेन मिलाउन नसक्नेहरु पनि कालोसूचीमा परेका छन् ।
अनि लाखौं ठगी गर्नेहरु कानुनी कारबाहीबाट उम्किरहेका छन् ।
यही जेठ १ गतेदेखि चेक बाउन्समा नयाँ व्यवस्था लागू भएको छ ।
यसले सामान्य असावधानीका कारण हुने चेक बाउन्सका घटना रोक्ने र नियतवश चेक बाउन्स गराउनेलाई कडा कारबाहीको व्यवस्था गरेको छ ।
बैंकिङ कसुर तथा सजाय ऐनले भने चेक बाउन्सलाई अपराध मानेको छ । अनि यसमा संलग्नबाट व्याजसहित पैसा असुल्ने, जरिवाना तिराउने र कैद सजाय गर्नेसम्मको व्यवस्था गरेको छ ।
सरकारले हालै मात्र बैंकिङ कसुर तथा सजाय ऐनलाई दोस्रो पटक संशोधन गरेको छ ।
गत वैशाख २४ गते राजपत्रमा प्रकाशित संशोधनको व्यवस्था २०८२ जेठ १ गतेदेखि लागू भएको छ ।
नयाँ कानुनले गरेको पहिलो कुरा हो, चेक बाउन्सको प्रष्ट परिभाषा ।
यसअघि चेक बाउन्स भनेको के हो भनेर परिभाषा लेखिएको थिएन । बैंकले पर्याप्त ब्यालेन्स छैन भनेर लेखिदिएको आधारमा मुद्दा चल्ने गरेको थियो ।
नयाँ कानुनमा चेक बाउन्स अर्थात् चेक अनादरलाई प्रष्ट रुपमा परिभाषित गरिएको छ ।
अहिले चेक अनादरको परिभाषामा लेखिएको छ,– चेक अनादर भन्नाले खातावालाले जारी गरेको चेकमा उल्लिखित रकम भुक्तानी माग्दा निजको खातामा आवश्यक रकम मौज्दात नरहेको कारणबाट धारकलाई भुक्तानी दिन नसकिने भनी बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले प्रमाणित गरेको अवस्था सम्झनुपर्छ ।
यस अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र सहकारी विकास बैंकको चेकमा मात्र चेक बाउन्सको उजुरी लाग्छ । सहकारी संस्थाहरुको चेकमा चेक बाउन्सको मुद्दा लाग्ने छैन ।
कस्तो अवस्थामा उजुरी लिएर जाने भन्ने पनि अहिले प्रष्ट रुपमा आएको छ ।
चेक साट्न गएपछि खातामा पैसा छैन भने बैंकले चेक फिर्ता दिइहाल्छ ।
त्यसपछि चेक लिएर जाने मान्छेले चेक बाउन्स भएको प्रमाणित गराउन चाहेमा बैंकलाई भन्नुपर्छ । बैंकले खातावालालाई खातामा पैसा नभएर चेक साटिएन भनेर खबर गर्नुपर्छ र ४५ दिनभित्र खातामा पैसा जम्मा गर्न सूचना दिनुपर्छ ।
पहिला बैंकले यसरी खातावालालाई खबर गर्ने व्यवस्था कानुनमा थिएन ।
४५ दिनपछि फेरि त्यही चेक लिएर चेक धारक बैंकमा जान्छ । यो अवधिमा बैंक खातामा पैसा जम्मा भयो र चेक साटियो भने मुद्दा मामिलामा जानै परेन ।
तर अझै खातामा पैसा आएको छैन भने बैंकले ३ दिनभित्रमा चेक बाउन्स भएको प्रमाणित गरिदिनुपर्छ । बैंकहरुले चेक बाउन्स भएको प्रमाणित कसरी गर्ने भन्ने कार्यविधि भने राष्ट्र बैंकले बनाउनै बाँकी छ । थप जानकारी भिडियोमा :
चितवन ३ मा रेनु कि सोविता ?
दल बदलु उम्मेदवारको बोलवाला भएको एउटा क्षेत्र
चितवन २ मा रविलाई पहिलाजस्तो छैन सजिलो
सुदनको इन्ट्रीले माओवादी गढमा फेरिएको हिसाब किताब
बहालवाला प्रधानमन्त्री हारेको त्यो चुनाव





