नेभिगेशन
एक्सप्लेनर भिडियो

महिला क्रिकेट टिमले रच्यो इतिहास

१८ वर्षदेखि नेपाली महिला टोलीले देखेको एउटा सपना । जुन अब एक कदम मात्र टाढा छ । 

सोमबार यूएईलाई ५ विकेटले हराउँदै नेपाल पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । यो जितले एसिया छनोटको जिङ्क तोडिएको छ । 

अब ग्लोबल छनोट पार गर्न सके महिला टोलीले पनि २०२६ मा विश्वकप खेल्ने छ । 

नेपालमा महिला क्रिकेटको सुरुवातको श्रेय पूर्वकप्तान एलबी क्षेत्रीलाई जान्छ । 

उनले नै नेपालमा महिलाहरुलाई क्रिकेट खेलाउन थालेका थिए । 

जतिबेला उनले महिला क्रिकेटको सपना देखेका थिए, धेरैले केटीले पनि क्रिकेट खेल्ने ? भनेर प्रश्न गरेका थिए । तर उनले हार मानेनन् । बाँकेका विभिन्न विद्यालयहरुमा पुगेर प्रशिक्षण दिए । विस्तारै माहौल बन्दै गयो । 

२०६१ साल फागुन १५ गते पहिलो पटक नेपाली किशोरीहरु ब्याट बोकेर मैदान उत्रिए । २०६४ सालमा बाँके र रुपन्देही महिला टोलीबीच मैत्रीपूर्ण क्रिकेट खेल भयो । 

पछि नेपाल क्रिकेट संघले नेरी थापाको कप्तानीमा राष्ट्रिय टोली बनायो । नेपाल छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नजरमा पर्‍यो । 

सन् २००६ मा आईसीसीले नेपाली महिला टोलीलाई आईसीसी ग्लोबल एनिसिएटिभ अवार्ड प्रदान गर्‍यो । 

अर्को वर्षदेखि नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेक्यो । 

मलेसियामा भएको एसीसी वुमन च्याम्पियनसिपमा उपविजेता बनेर फर्कियो । त्यसपछि २००८ देखि २०१० सम्म लगातार तीन वर्ष यू–१९ एसीसी कप महिला च्याम्पियनसिप जितेर युवा टोलीले धुम मच्चायो । 

त्यो बेला यस्तो लाग्थ्यो, पुरुष भन्दा महिला क्रिकेट अगाडि छ । तर त्यसो भएन । बरु महिला क्रिकेट अस्तित्व रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्थामा पुग्यो । 

सुरुमा क्रिकेट संघको प्राथमिकतामा पुरुष टिम पर्‍यो । राजनीतिक हस्तक्षेप, अपारदर्शीता जस्ता कारण क्रिकेट संघ नै निलम्बन परेपछि महिला क्रिकेट थप मारमा पर्‍यो । 

एकाध घरेलु प्रतियोगिता वा आईसीसी र एसीसीको छनोट खेल भएका बेला मात्र महिला क्रिकेटलाई सम्झिन थालियो । 

एउटा समय त यस्तो पनि आयो कि कप्तान स्वयंले सार्वजनिक रुपमै कुन पाप लागेर क्रिकेटमा लागेछु भन्ने दिन आयो । 

किनकी अन्तर्राष्ट्रिय मात्र होइन, राष्ट्रिय प्रतियोगिता समेत हुन छाडेको थियो । राष्ट्रिय टोलीका एकसेएक खेलाडीहरु क्रिकेटबाट पलायन भइसकेका थिए । 

क्रिकेट संघमा नयाँ टिम आएपछि महिला क्रिकेटमा फेरि आशा पलाउन थाल्यो । 

क्यानले महिला टोलीका लागि अन्तर्राष्ट्रिय मैत्रिपूर्ण प्रतियोगिताहरु राख्न थाल्यो । त्यहीबेला यू–१९ टोली विश्वकपमा पुग्न सफल भयो । 

यो वर्ष त क्यानले १९ जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखेको छ । १२ मध्ये करिव ८ महिना महिला टोलीलाई व्यस्त राख्ने कार्यतालिका बनाएको छ ।

वर्षको सुरुमा नेपाली महिला टिमले घरेलु प्रतियोगिता प्रधानमन्त्री कप खेल्यो । लगत्तै नेदरल्याण्ड्स र थाइल्याण्डलाई नेपालमै बोलाएर सिरिज खेल्यो । त्यसपछि युगाण्डा गएर चार देशको सिरिज खेल्यो । अनि हङकङ टूरमा गयो । 

त्यहाँबाट फर्किएपछि काठमाडौंमा बन्द प्रशिक्षण भयो । भैरहवामा गएर पनि प्रशिक्षण गर्‍यो । त्यहीँबाट भारत गयो र, एसिया छनोट खेल्न बैंकक पुग्यो । 

यति लामो तयारीको प्रतिफल पनि आयो । पहिलो पटक टी—२० विश्वकपको ग्लोबल छनोटमा पुग्यो । त्यो पनि यूएईलाई ५ विकेटले हराएर । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो