नेभिगेशन
एक्सप्लेनर भिडियो

सीईओको राजीनामा माग्दै केयूकेएलका कर्मचारी आन्दोलनमा

केही दिनदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरु काम छाडेर आन्दोलनमा छन् ।  

उनीहरुको एउटै माग हो, प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोककुमार पौडेलको राजीनामा । पौडेलले राजीनामा नदिए सरकारले नै पदमुक्त गर्नुपर्ने उनीहरुको माग छ । उनीहरु दैनिक रुपमा सीईओ कार्यकक्ष घेर्न पुग्छन् । 

केयूकेएल त्यही संस्था हो, जसले काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्छ, ढल प्रणालीको मर्मत सम्भार गर्छ । मेलम्चीको पानी समेत केयूकेएलमार्फत नै वितरण हुन्छ । 

यो कम्पनीमा अशोककुमार पौडेल २०८० चैत २ गते सीईओ नियुक्त भएका थिए । उनी इन्जिनियर होइनन्, राष्ट्र बैंकका पूर्वजागिरे हुन् । 

नियुक्तिका लागि एड्भान्स घुस दिएको विषयमा उनी केयूकेएलमा नआउँदै विवादमा तानिएका थिए । केयूकेएल सञ्चालक समितिले नियुक्ति पौडेललाई नियुक्तिपत्र दिन नपाउँदै खानेपानी तथा सरसफाइ मन्त्रालयले यसबारे छानबिन अघि बढाएको थियो । 

तर, केयूकेएलका तत्कालीन अध्यक्ष तिरेशकुमार खत्रीले पौडेललाई नै सीईओ नियुक्त गरेका थिए । सेटिङमा सीईओ बनाएको भन्दै कर्मचारीहरु सुरुदेखि नै बेखुश थिए । तर नयाँ नेतृत्वले संस्था सुधार्छ कि भन्ने आशा पनि थियो । किनभने यसअघिका सीईओ मिलन शाक्यले पनि संस्था सुधारमा काम गर्न सकेका थिएनन् । 

तर पौडेल आएपनि त झन् भद्रगोल भयो । संस्थाको बक्यौता बढिरहेको छ । असन्तुष्ट कर्मचारीहरुको माग सम्बोधन नगरिँदा खानेपानी र ढल प्रणालीको मर्मत सम्भार प्रभावित छ । महसुल संकलन निराशाजनक छ । 

मेलम्चीको खानेपानी वितरण समानुपातिक ढंगले हुन सकेको छैन । संस्था कचिंगलमा फसेपछि नयाँ धारा जडानको काम प्रभावित भएको छ । मिटर जडान र मिटर रिडिङको काम नियमित ढंगले हुन सकेको छैन । 

त्यसमाथि भएका जनशक्तिको उपयोग नगरी कम्पनीमा निजी ठेकेदार कम्पनीबाट कर्मचारी भर्ती गरेका छन् । सीईओ पौडेलले विगतमा कर्मचारीसँग गरेको सहमति पनि नमान्ने बताएका छन् । 

यसका कारण केयूकेएलका कर्मचारी ट्रेड युनियनहरु रुष्ट मात्रै भएनन्, गत वैशाख १५ गते नै पौडेललाई ३१ वैशाखभित्र राजीनामा दिन अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाए । तर, पौडेलको राजीनामा आएन । थप विवरण भिडियोमा : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो