सिफारिस समितिमा थिए, आफैं गभर्नर बने
अर्थविद् विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज जेठ ६ गते बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
राष्ट्र बैंकका निवर्तमान गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गते सकिएको थियो । तर सत्तारुढ कांग्रेस र एमाले नेतृत्वबीच कसलाई गभर्नर बनाउने भन्ने सहमति जुट्न सकेन ।
सोमबार विहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई महिनासम्म चलेको गभर्नर नियुक्तिको गलफत्ति टुंग्याएका थिए । लगतै
एकपछि अर्को निर्णय भयो र पौडेल १८ औं गभर्नर नियुक्त भएका हुन् ।
सोमबार ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्यो र ५ बजे मन्त्रिपरिषदको बैठक बोलाइयो ।
संयोग नै भनौं, सोमबार नै सर्वोच्च अदालतले पौडेललाई गर्भनर बनाउनु हुन्न भनेर आएको निवेदन दरपिठ गर्ने प्रशासनको निर्णय सदर गर्यो ।
त्यसपछि सिंहदरबारमा गभर्नर सिफारिस समितिको बैठक बस्यो । अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सिफारिस समितिको बैठकले विश्व पौडेललाई पहिलो नम्बरमा सिफारिस गरेको थियो ।
दोस्रो नम्बरमा राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना र तेस्रोमा पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गर्यो । त्यसपछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्यो, जसले पहिलो नम्बरमा सिफारिस भएका पौडेललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
जतिबेला गभर्नर नियुक्तिको प्रक्रिया सुरु भएको थियो, पौडेल सिफारिस समितिको सदस्य थिए । अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिमा उनी अर्थविद्का रुपमा सदस्य बनेका थिए ।
तर कसलाई गर्भनर बनाउने भन्ने सहमति हुन नसक्दा समितिको बैठक नै बसेन । गभर्नर कांग्रेसले लिने राजनीतिक सहमति त थियो, तर कसलाई बनाउने भन्नेमा समझदारी बनेन ।
कांग्रेसको कोटाबाट ज्ञानेन्द्र ढुंगाना, राजेन्द्रकिशोर क्षेत्री लगायतका थुप्रै नाम चर्चामा थिए । तर सबभन्दा बलियो दावेदार राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट थिए ।
तर उनले कार्यकारी निर्देशक पदबाट राजीनामा पनि दिएका थिए । तर डेपुटी गर्भनर निलम ढुंगानाले उनको राजीनामा नै स्वीकृत गरिनन् । एमालेको आडभरोसा पाएकी उनी आफैं गभर्नर हुन चाहन्थिन् ।
त्यसपछि गर्भनरको रेसमा पौडेलको इन्ट्री भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरको बचन दिएपछि उनले सिफारिस समितिबाट राजीनामा दिए ।
मन्त्रिपरिषद्ले पुरानो गभर्नर सिफारिस समिति भंग गर्दै नयाँ बनायो । जसमा अर्थविद्का रुपमा पोषराज पाण्डे आए भने अर्थमन्त्री पौडेल र पूर्व गर्भनर अधिकारी कायमै रहे ।
तर पौडेलको नियुक्ति प्रक्रिया सहज रुपमा अगाडि बढेन । सत्ता गठबन्धनमै हलचल आउने सक्ने भएपछि बल्ल एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पौडेललाई गभर्नर बनाउन सहमत भएका हुन् ।
गभर्नर बनेका पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । उनले २०७९ मा कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा चुनाव लडेका थिए ।

प्रचण्डको ‘आत्मसमर्पण’, ओलीको जित

बजेटबारे छलफलमा बालेन, तर यस्ता छन् अडान

कान्छा सहससचिवविरुद्ध भ्रष्टाचार मुद्दाको नालीबेली

राजेन्द्र-धवल सम्बन्ध : मित्रताबाट तिक्ततातिर

बजेटमा प्रकाशमानको ब्रम्हलुट, पार्टी कार्यालय बनाउन बाँडे ३३ करोड
