असारदेखि ग्वार्को ओभरपासमा गाडी सरर...
ललितपुरको ग्वार्कोमा बनिरहेको ओभरपासबाट गाडी चलाउन अब धेरै समय पर्खिनु पर्दैन ।
ओभरपासको सडक कालोपत्रे गर्न थालिएको छ । ग्वार्को चोकबाट बालकुमारीतर्फको ओभरपासमा प्राइमर हालेर कालोपत्रे गर्न ठिक्क पारिएको छ ।
ग्वार्को चोकबाट सातदोबाटो र बालकुमारी दुबैतर्फ पर्खाल बनाएर सकिएको छ । सातदोबाटोतर्फ क्र्यास ब्यारियर राख्ने र नाला बनाउने काम भइरहेको छ ।
जेठ महिनाभित्रै ग्वार्को ओरभपासको निर्माण सकिने सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए । असार महिनादेखि ग्वार्को ओभरपासबाट गाडी गुड्न थाल्ने उनको भनाइ छ ।
ग्वार्को चोकमा गाडीको चाप अत्यधिक भएपछि चक्रपथको बीच भागको मुख्य ४ लेन सडकमाथि आकाशेपुल बनाइएको छ । आकाशे पुललाई जोड्न बालकुमारी तर्फबाट ३२० मिटर र सातदोबाटो तर्फबाट १८५ मिटरको उकालो सडक अर्थात् र्याम्प तयार गरिएको छ ।
सडक उकालो बनाउन ‘मेकानिकल्ली स्टेबलाइज्ड अर्थ वाल’ लगाइएको छ । दुईतिर प्रिकास्ट प्यानलहरु जोडेर पर्खाल लगाएर माटो भरिएको छ र ग्वार्को चोकमा बनेको आकासेपुलको मुखसम्म जोडिएको छ । अहिले त्यही सडकमाथि कालोपत्रे गर्न थालिएको हो ।
यो ओभरपासको ठेकेदार कम्पनी आशिष समानान्तर रेलिगेयर जेभी हो । उसले २ वर्षभित्र बनाउने गरी २०७८ माघ २७ गते ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदारले अनुमानित लागतभन्दा करिब ३८.८ प्रतिशत कम मूल्यमा ठेक्का हात पारेको थियो । १७ करोड ६ लाख रुपैयाँमा ठेक्का लिएको कम्पनी ५ वर्षसम्म मर्मतसम्भार गर्न पनि तयार भएको थियो । ४ महिनामा डिजाइन बनाएर थप २० महिनाभित्रै ओभरपास बनाइसक्ने गरी सम्झौता भएको थियो ।
तर, कम्पनीले डिजाइन बनाउनै १० महिना लगायो । तर, डिजाइन स्वीकृत भएर काम सुरु हुन अर्को ६ महिना लाग्यो ।
२०८० को वैशाखबाट काम त सुरु भयो, तर ठेकेदारले पुलको डिजाइनअनुसार काम गर्न ठूला उपकरण नै ल्याउन सकेन । त्यसपछि डिजाइन नै परिवर्तन गरियो । पटक–पटक डिजाइन फेर्दा आयोजना भने लम्बिएको लम्बियै भयो ।
सुरुमा गरेको सम्झौता अनुसार २०८० फागुन ११ गते ओभरपास तयार हुनुपर्ने थियो । तर, काम नसकिएपछि २०८१ को असारसम्म र त्यसपछि पुससम्म गरी २ पटक म्याद थप गरियो । अहिले फेरि वैशाख मसान्तसम्म सक्ने लक्ष्यका साथ काम भइरहेको थियो ।
तर, ठेकेदार थप एक महिना समय माग्यो । सडक विभागले अहिले अन्तिम पटकका लागि भनेर जेठ मसान्तसम्मको समयसीमा दिएको छ ।
समयमै काम नभएपछि सडक विभागले ठेकेदार कम्पनीलाई प्रत्येक दिन कुल ठेक्का रकमको ०.०५ प्रतिशत हर्जना लगाइरहेको छ । यो भनेको दैनिक करिब ८८ हजार ५ रुपैयाँ हर्जना हो ।
यही हर्जनाका कारण पनि ठेकेदार कम्पनीले पछिल्लो समयमा ओभरपास निर्माणमा कामको गति बढाएको छ ।

प्रचण्डको ‘आत्मसमर्पण’, ओलीको जित

बजेटबारे छलफलमा बालेन, तर यस्ता छन् अडान

कान्छा सहससचिवविरुद्ध भ्रष्टाचार मुद्दाको नालीबेली

राजेन्द्र-धवल सम्बन्ध : मित्रताबाट तिक्ततातिर

बजेटमा प्रकाशमानको ब्रम्हलुट, पार्टी कार्यालय बनाउन बाँडे ३३ करोड
